बिहिबार , मंग्सिर १४, २०८०

काठमाडाैं नजिकै सूर्यचौरमा सुचारु भयो प्याराग्लाइडिङ (भिडियाे)

प्याराग्लाइडिङ सूर्यचौरको अर्को आकर्षण बनेको छ । प्राकृतिक पर्यटनका लागि चर्चित गन्तव्य सूर्यचौर अब साहसिक पर्यटनको लागि पनि उत्कृष्ट गन्तव्य बन्ने भएको छ ।

image

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका-७ स्थित सूर्यचौरमा प्याराग्लाइडिङ सुचारु भएको छ । वर्षा सुरु भएपछि बन्द भएकाे प्याराग्लाइडिङ मौसम खुल्न थालेसँगै पुनः सुचारु भएको हो ।

आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गरेको सूर्यचौरमा नेपाल प्याराग्लाइडिङ ले २०७६ देखि प्याराग्लाइडिङ सञ्चालन गरिरहेको छ । सुरु भएदेखि नै कोभिड महामारीबाट प्रभावित भएपछि व्यवस्थित ढङ्गले निरन्तर सञ्चालन गर्न नसकेको नेपाल प्याराग्लाइडिङका सञ्चालक निरञ्जन घिमिरेले बताए । अब दशैँ पछिदेखि भने निरन्तर सञ्चालन गरिने उनले बताए ।

प्याराग्लाइडिङ शिवपुरी गाउँपालिका-७ स्थित सूर्यचौरबाट उडान भएपछि लिखु गाउँपालिकाको छहरे भन्ने ठाउँमा ल्यान्डिङ हुन्छ । शिवपुरी र लिखु गाउँपालिकाको आकाशमा घुम्न पाइन्छ ।

उडानका लागि विभिन्न स्किमहरू छन् । नर्मल फ्लाइट (उडेपछि सरासर गएर ल्यान्डिङ गर्ने) का लागि जम्मा ६ हजार रुपैयाँ तोकिएको छ । मिडियम फ्लाइट (केहीबेर आकाश घुमेर ल्यान्डिङ गर्ने)का लागि आठ हजार पाँच सय रुपैयाँ लाग्ने र लक्जरी फ्लाइटका लागि दश हजार पाँच सय रुपैयाँ लाग्ने सञ्चालक घिमिरेले जानकारी दिए । लक्जरी फ्लाइटमा यात्रुले चाहेका ठाउँहरूको आकाशमा घुमाउने र बढीमा डेढ घण्टासम्म उडाउने उनले बताए ।

कस्ताे ठाउँ हाे सूर्यचाैर ? 

प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीय ठाउँ सूर्यचौर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा पर्दछ । शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरमा पर्ने सूर्य चौर काठमाडौं उपत्यकाबाट करिब २५ किलोमिटरको दूरीमा रहेको छ । समुन्द्री सतहबाट २३ सय मिटरको उचाइमा अवस्थित सूर्यचौर प्रकृतिप्रेमीहरूका लागि प्राकृतिक सुन्दरता अवलोकन गर्न उत्कृष्ट गन्तव्य हो । जहाँबाट उत्तरतर्फ लामबद्ध हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।  माछापुच्छ्रे, गणेश, लाङटाङ, जुगल  लगायत हिमाललाई आँखै अगाडि देख्न सकिने भएकाले हिमालको दृश्यावलोकन गर्नका लागि पनि उत्कृष्ट गन्तव्य हो सूर्यचौर । सेता हिमशृङ्खला, काला चट्टानी पहाड, हरिया डाँडादेखि नागबेलीझैँ बगिरहेका नदीसम्म सूर्यचौरबाट अवलोकन गर्न सकिन्छ । भनौँ, जहाँबाट प्रकृतिका सबै रङ्गहरू हेर्न पाइन्छ । सुन्दरताका सबै रङ्गहरू नियाल्न पाइन्छ ।

राष्ट्रिय निकुञ्जभित्रको बाटोमा यात्रा गर्नुको आनन्द अर्कै छ । घना जङ्गलबिचको बाटो, चराचुरुङ्गीको चिरबिर, किरा फट्याङ्ग्राको आ-आफ्नै आवाज, झरनाको छङछङ, सबैको सम्मिश्रणबाट बनेको प्राकृतिक सङ्गीतको जादु, आहा १, जसले त्यहाँ पुग्ने जोकोहीलाई अर्कै संसारमा पुर्‍याइदिन्छ ।

प्याराग्लाइडिङ सूर्यचौरको अर्को आकर्षण बनेको छ । प्राकृतिक पर्यटनका लागि चर्चित गन्तव्य सूर्यचौर अब साहसिक पर्यटनको लागि पनि उत्कृष्ट गन्तव्य बन्ने भएको छ ।  प्याराग्लाइडिङको लागि काठमाडौंबाट सबै भन्दा नजिकको गन्तव्य सूर्यचौर बनेको छ ।

कसरी पुग्ने ?

काठमाडौंको सामाखुसी चोकबाट करिब २५ किलोमिटरको दुरीमा रहेको सूर्यचौरमा सबै खालका सवारी साधन लिएर सजिलै पुग्न सकिन्छ । त्यहाँ जान काठमाडौंको सामाखुसी चोकबाट यात्रा सुरु गर्न सकिन्छ । सामाखुसी चोकबाट ग्रान्डी अस्पताल, टोखा, पन्जेटार, झोर, जगाती बसपार्क हुँदै गुर्जु भन्ज्याङ पुग्छ । गुर्जु भन्ज्याङदेखि चाहिँ तेस्रो जानुपर्दछ । जहाँबाट सूर्यचौर देख्न पनि सकिन्छ ।

राष्ट्रिय निकुञ्ज परिसर भएकाले सूर्यचौर जान टिकेट काट्नुपर्दछ । निकुञ्जले प्रतिव्यक्ति एक सय ५० रुपैयाँको टिकेट काट्ने गरेको छ । मोटरसाइकल भए थप एक सय रुपैयाँ तिर्नुपर्दछ ।

तस्बिरहरू: 

 

भिडियो

सम्बन्धित समाचार