शुक्रबार , अषोज १४, २०७९

लियो टाल्सटायले आफ्नी पत्नीलाई लेखेको अन्तिम पत्र

image

चर्चित उपन्यासकार लियो टाल्सटाय रुसको यास्नाया पल्यानामा ४२ वटा कोठा भएको आलिसान महल, चार हजार एकड भन्दा धेरै जग्गाजमिन, तीन सयभन्दा बढी नोकर चाकर राखिएको सम्भ्रान्त परिवारमा जन्मिएका थिए तर उनले कहिल्यै भौतिक सुख पाउन सकेनन् ।

यति धेरै सम्पतिका मालिक भएका उनको नौ वर्षको हुँदा नै बाबु र आमाले संसार छाडेका थिए । त्यसपछि उनी सबथोक भएर पनि रित्तै भएका थिए ।  एक असाधारण साहित्यकार बनिसकेका टाल्सटायको रेल्वे स्टेसनमा साधारण मृत्यु भएको थियो भने उनको मृत्यु भएको दुई/तीन दिनसम्म पनि कसैलाई थाहा भएको थिएन ।

यो सँगै उनको प्रेम र वियोगको कथा पनि उत्तिकै चर्चित छ । जसमा उनले आफ्नी प्रेमिकालाई पत्र लेखेका छन्  ।

प्यारी सोनिया, अब म सहनै नसक्ने भएको छु । बितेका तीन हप्तादेखि तिमीलाई आफ्नो मनको कुरा भन्ने अठोटमा छु । तर मलाई नै थाहा छैन म कस्तो, कस्तो एउटा अनौठो प्रकारको संकोच, पछुतो, डर र खुशीको अनौठो अनुभूति अनुभव गरीरहेको छु, जुन अनुभव म शब्दहरूमा वर्णन गर्न असमर्थ छु प्रिय ! आज राती मैले दिनभरीको समय कसरी बिताए भन्ने बारेमा सोचेर बिताए । अनि मैले आफूले आफैंलाई सोधे के मैले सबै थोक तिमीलाई बताए ?? जो तिमीले सोधेकी थियौ,खै मैले तिमीलाई के भन्नु पर्थो ? ति शब्दहरू मलाई नै थाहा भएन यो चिठी म साथमा राखिरहन्छु र यदि मैले मेरा मनका सारा कुराहरूलाई तिम्रो सामु भन्न सकें भने यो चिठी तिमीलाई दिन्न,यदि आफ्ना मनका कुरा तिमी सामु भन्न सकिन भने यो चिठी छुट्टिने बेलामा तिमीलाई दिने अठोट गरेको छु ।

मेरो विचारमा तिम्रा परिवारका मानिसहरूले म प्रति गलत धारणा बनाएका छन् । शायद उनीहरू म तिम्रो बहिनी एलिजावेथलाई प्रेम गर्छु भन्ने ठान्छन् तर त्यो सत्य होइन म त तिमीलाई प्रेम गर्छु केबल तिमीलाई । वास्तवमा तिमीसँगको प्रेमको कल्पनाले मात्र पनि म रोमन्चित हुन्छु र एउटा अनौठो दुनियाँमा विचरण गर्न पुग्छु । जसलाई तिमी प्रेम गर्छौ ऊ प्रति म न कहिल्यै इश्र्यालु थिए न हुनेछु । मेरो विश्वास छ कि म तिमीबाट त्यही आनन्द पाउने छु जुन आनन्दको कल्पना मैले बचपन देखी नै गर्दै आएको थिए ।

जब म इवित्सीमा थिए, त्यो वेला लेखेको थिए, तिम्रो आकृतिले अत्यन्त स्पष्टतासँग मलाई मेरो उमेरको सम्झना गराउँछ र तिमीलाई पाउनु पनि असम्भव लाग्छ ….।’ तर त्यही वेलादेखि म आफैंसँग झूठो बोल्दै आइरहेको छु । त्यस समयमा त म रोकिन सकें र आफ्नो अध्ययन कक्षमा परिश्रम गर्न सकें तर अब म यस्तो महसुस गर्दिन कि म तिमी र तिम्रो परिवारबाट टाढा हुँ, अर्थात् तिमीसँगको मेरो इमान्दार मित्रको व्यवहार, र मूल्यवान् सम्बन्ध सामाप्त गरू । म तिमीबाट टाढा न त जान सक्छु न त तिमीलाई भुल्न नै सक्छु । तिमी एक सच्चा केटी हौ । आफ्नो हात मस्तिष्कमा राखेर गहिरिएर सोचिदेऊ कि म के गरू ? तर मेरो कुरालाई हाँसोमा उडाएर तिमी निश्चय नै कुनै निर्णयमा पुग्न सक्दिनौं । एक महिना पहिले सम्म म वास्तवमा अर्कै थिए यदि कोही मसँग मलाई अहिलेको जस्तो धेरै सन्ताप मिल्छ भन्थ्यो भने म पेट मिची मिची हास्दथे ।

अब मलाई साचो साचो भनिदेउकि तिमी मेरी पत्नी बन्न चाहन्छौ या चाह्हनौ ? सही उत्तर तिमीले हृदयदेखि नै गहनतम् तरिकाले दिन सक्छ्यौ । यदि शंकाको छायाँ मात्र देखा परे पनि तिमीपूर्ण इन्कार गरिदेऊ । भगवानको लागि हृदयले छानविन गर । तिम्रो इन्कार मेरो लागि भयानक सजाय हुनेछ तर म त्यसकालागि मानसिक रूपमा पूर्ण तयार छु ,र त्यो स्विकार्ने शक्ति म सँग छ, तर एउटा कुरा म तिमीलाई अहिले नै भन्न चाहन्छु, जब म तिम्रो पति हुन्छु तिमी मलाई त्यति नै प्रेम गर जति म तिमीलाई गर्छु, त्यही नै मेरो लागि सबथोक हुनेछ……।

यो प्रेमपत्रपछि विहे गरेका उनको वैवाहिक जीवन सामान्य रहन सकेन । उनको जीवन एउटा उत्कृष्ट नाटकजस्तै भयो । त्यसको कारण उनीमात्र नभएर उनकी पत्नी पनि थिइन् ।

टाल्सटायको वैवाहिक जीवनको सुरुवाती समय प्रेमिल सम्बन्धका साथ अघि बढेको थियो । श्रीमान-श्रीमतीबीच प्रगाढ प्रेम  पनि थियो । उनीहरू एक अर्कालाई प्रेमले भरिएका पत्र लेख्थे । टाढा हुँदा सोही पत्रलाई छातिमा टाँसेर एक अर्काको यादमा हराउने गर्थे ।  एकले अर्काको आलिंगनमा संसार भुल्ने गर्थे । उनीहरूले सिंगो ब्रहृमाण्ड त्यसैमा भेट्थे । सृष्टिको नियम भुल्थे । यस्तै थियो उनीहरूको संसार ।

३४ वर्षका टाल्सटायले सन् १९८२ मा १८ वर्षीया किशोरीसँग विवाह गरेका थिए । सुन्दर अनुहार, चम्किला आँखा, धपक्क बलेको अनुहार, बाठी स्वभावकी कलाप्रेमी सोन्यालाई टाल्सटायको साहित्यले मोहनी लगाएको थियो भने टाल्सटायलाई उनको सुन्दरताले ।

एकातिर उनको साहित्यसँग मोहित भएकी सोफियालाई अर्काेतिर सम्पत्तिमा भने आशक्ति थियो । त्यसको ठीक विपरीत टाल्सटायको सम्पत्तिप्रतिको घृणा । उनीसँग पर्याप्त सम्पत्ति थियो । तर, उनी ती सबै सम्पत्ति गरिबलाई बाँड्न चाहन्थे । त्यो कुरा उनकी श्रीमती सोफियालाई मन पर्दैनथ्यो । तर, श्रीमतीको कुरा उनी सुन्दैनथे । टाल्सटायले सम्पत्ति बाँड्दै गर्दा सोफिया कराउँथिन् । रुन्थिन्, लडिबुडी गरेर चिच्याउँथिन् । तर, टाल्सटाय आफ्नी पत्नीसँगै रोइदिन्थे । तर, आफ्नो मनमा लागेको कुरा बन्द गर्दैनथे ।

टाल्सटायले आफ्नो जीवनमा जति नाटकीय पीडा भोगे, सबै पीडाहरू अन्तिम साहित्यिक कार्यका रूपमा रहेको ‘दि लाइट साइन्स इन द डार्कनेस’मा उतारेर गए । त्यही साहित्यमार्फत् नै उनले आफ्नो पारिवारिक जीवनको कठोर सत्यलाई जीवित गराए । आफ्नो दर्दनाक कहानीको लेखोट लेखे । आफ्नो सन्यासप्रतिको आशक्ति पोखे र समग्रमा जीवनको सारलाई नै सोही पुस्तकमा व्यक्त गरे ।

विवाहको १५ वर्षसम्म उनीहरू धेरै हदसम्म आफ्नै संसारमा हराएका थिए । गहिरो प्रेममा परेका थिए तर उनीहरूको त्यो प्रेम अझै लामो समय सम्म टिक्न सकेन ।

श्रीमतीसँगको प्रेममा बिस्तारै विराग बढ्दै थियो । सन्यास आश्रमतिरको बारेमा ज्ञान बढ्दै थियो । महाभारत र रामायण जस्ता पुस्तकहरूको अध्ययनसँगै तीक्ष्ण मस्तिस्क भएका उनलाई जीवन र जगतको ज्ञान बढ्दै थियो ।

उनका कूल १३ वटा र बाँचेका आठ बालबालिकामध्ये एउटी छोरी मारियासँग उनको विशेष लगाव थियो । उनी रुसी स्थानीय भाषामा उनलाई ‘माशा’ शब्दले बोलाउने गर्थे । स्थानीय भाषामा माशाको अर्थ महान वा शक्तिशाली महिला हो । तर, जीवनको अन्तिम क्षणमा उनले त्यो आशक्तिलाई पनि तोडेर गएका थिए ।

सन् १९१० को अक्टोबर २१ को दिन । श्रीमती सोनियाले टाल्सटायलाई पहिलेको प्रेमपत्र पल्टाएर हेर्न आग्रह गरिन् । त्यतिबेलासम्म टाल्सटायमा पहिलेको प्रेम, माया र विश्वास टुटिसकेको थियो । उनले बिहे हुनुभन्दा पहिले आफ्नी प्रेमिकालाई पठाएको एउटा पत्र खोलेर हेरे । त्यसलाई पढेर पनि सुनाए । त्यसमा प्रेमका कुराहरू थिए । कति कञ्चन प्रेम थियो ! त्यसलाई दुवैले सम्झिए । अँगालोमा बाँधेर धित मरुन्जेल रोए ।

तर, आँशु सुकेसँगै उनको पत्नीप्रतिको मरिसकेको प्रेम रसाउन सकेन । उनी सुख्खा भए । कठोर बने र सोही दिन दिउँसो ३ बजे घर छाडेर बिदा भएको उनीबारे लेखिएका विभिन्न पुस्तकमा उल्लेख छ । त्यसको ठीक ११ दिनपछि उनको लास घर नजिकैको एउटा रेल स्टेसनमा भेटिएको थियो ।

गृह त्याग गर्ने बेलामा उनले आफ्नी पत्नीलाई लेखेको अन्तिम प्रेमपत्र यस्तो थियो–

‘सोनिया … अब हामी दुईको मिलन असम्भव छ, किनभने म अब घर फर्किने असम्भव छ । तिमी उत्तेजक भएका बेला, रिसाएको बेला, बिरामी भएको बेला म फर्किए भने मेरो स्थिति अहिलेको भन्दा दु:खद हुनेछ । तिमीलाई म के सल्लाह दिन चाहन्छु भने जे भयो भयो, त्यसलाई तिमी स्वीकार गर र मबाट अलग्गै बस र आफ्नो स्वास्थ्यको राम्रो हेरविचार गर । म तिमीलाई मलाई प्रेम गर त भन्दिन तर मलाई घृणा पनि नगर । तिम्रो मनस्थिति अहिले अप्ठ्यारो छ । तिमीले आत्महत्या गर्ने कोशिस पनि गर्यौँ । तिमी आफूलाई सम्हाल्ने विषयमा किन यति कमजोर छौं । यस्तो अवस्थामा मैले फर्कने विषयमा त सोच्न पनि हुन्न । आफ्ना सारा शक्ति मेरो फिर्ताको विषयमा नलगाएर आफूलाई शान्त तुल्याउने र सन्तुलित तुल्याउनेतर्फ लगाउने कोशिस गर । बिदा, प्यारी सोनिया । ईश्वरले तिम्रो सहायता गरून् ।

सम्बन्धित समाचार