बिहिबार , अषोज ८, २०८३

ऐतिहासिकस्थल तनहुँसुरमा विश्व पर्यटन दिवस मनाइँदै

image

दमौली । तनहुँको व्यास नगरपालिका–११ को ऐतिहासिकस्थल तनहुँसुरमा ४३ औँ विश्व पर्यटन दिवस मनाइदैछ । तनहुँसुर सुन्दर, शान्त एवं सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नका लागि ‘रिथिङकिङ टुरिज्म’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो ।

तनहुँसुर देवस्थल सामुदायिक घरवास (होमस्टे) र तनहुँसुर घरवास (होमस्टे) को व्यवस्थापनमा पर्यटन दिवस मनाउने तयारी भएको पर्यटनविद् एवं सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरुङले जानकारी दिए । उनका अनुसार दिवसका अवसरमा होमस्टेको अवलोकन, होमस्टेको सामुदायिक भवनको अवलोकन, ‘रिथिङकिङ टुरिज्म’ को विषयमा अन्तरक्रिया गरिने, स्थानीय क्लब र होमस्टेको सांस्कृतिक कार्यक्रम गरिनेछ । कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ ।

तनहुँसुरमा आएका पर्यटकलाई यहाँका पर्यटकीय क्षेत्र घुमाउने प्रबन्ध मिलाइएको पर्यटनविद् गुरुङले बताए । तनहुँसुर मुलुककै महत्त्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विकस्थल भएकाले ती सम्पदाको संरक्षण, विकास एवं प्रवर्द्धन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन कार्यक्रमले सहयोग पुग्ने गरी यहाँ दिवस मनाउने प्रबन्ध मिलाइएको हो ।

तनहुँसुर प्राकृतिक सम्पदा एवं जैविक विविधताको समेत भण्डार रहेकाले उक्त सम्पदाको संरक्षण र विकास गर्नुका साथै स्थानीय जनसहभागिता वृद्धि गर्न, यस क्षेत्रमा विकास हुँदै गरेको तनहुँसुर इको ट्रेक, घरवास, कृषि तथा फलफूल खेतीलगायत ग्रामीण एवं पर्यटनका ११ विभिन्न गन्तव्य तथा उपजको प्रचारप्रसार गर्नका लागि कार्यक्रम तनहुँसुरमा राखिएको उनले बताए ।

Tags:

सम्बन्धित समाचार