बुधबार , जेठ १३, २०८३

ठमेल पर्यटन विकास परिषद्को निर्वाचन हुँदै, को-को उत्रिए मैदानमा ? 

ठमेल पर्यटन विकास परिषद् (टीटीडिसी)को निर्वाचन असार ३२ गते हुँदै छ ।

image

काठमाडौं । ठमेल पर्यटन विकास परिषद् (टीटीडिसी)को निर्वाचन असार ३२ गते हुँदै छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारी घोषणा पनि हुन थालेको छ । दुई समूहले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेको छन् ।

परिषद्को अध्यक्षमा भविश्वर शर्माले असार २० गते सोमबार नै उम्मेदवारी घोषणा गरेका छन् । परिषद्का वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले राजधानीमा पत्रकार सम्मेलन गर्दै आफ्नो समूहको उम्मेदवारी घोषणा गरेका हुन् । शर्माको समूहबाट उपाध्यक्षमा सहदेव धमला र महासचिवमा बद्री तिमल्सिनाले उम्मेदवारी घोषणा गरेका छन् ।

शर्माले ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए छन् । उनले ठमेल क्षेत्रको सुरक्षाका लागि ५०० सिसिक्यामरा जडान गर्ने, सादा पोसाकमा प्रहरी परिचालन गर्ने, ठमेलभित्र ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

ठमेल क्षेत्रको फोहोर व्यवस्थापन, सडक तथा ढल व्यवस्थापन, तार तथा सडक बत्ती व्यवस्थापन, विकृतिमुक्त ठमेल, व्यवस्थित ठमेल, घरबेटी व्यवसायीबिच सुमधुर सम्बन्ध कायम गर्ने शर्माको प्रतिबद्धता छ ।

त्यसैगरी परिषद्को अध्यक्षमा ध्रुव अधिकारीले पनि घोषणा छन् । अधिकारीले असार २२ गते बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नो प्यानलसहितको उम्मेदवारी घोषणा गरेका छन् ।

‘अनुभवी र जिम्मेवार नेतृत्व आजको आवश्यकता, सफा सुन्दर र सुरक्षित ठमेल हाम्रो प्रतिबद्धता’को मुख्य नाराका साथ उम्मेदवारी घोषणा गरेका हुन् ।

परिषद्का वर्तमान महासचिव समेत रहेका अधिकारीले ठमेलले बर्षौँ देखी भोग्दै आएको पार्किङको समस्या, सडक अतिक्रमण, अव्यवस्थित ढलको समस्यालाई आफूले समाधान गर्ने दाबी गरे ।

अध्यक्ष अधिकारीको समूहबाट उपाध्यक्षमा राजु मान डङ्गोल र महासचिवमा राजीव पाण्डेले उम्मेदवारी घोषणा गरेका हुन।

सम्बन्धित समाचार