शुक्रबार , जेठ ८, २०८३

सुन्दर खप्टडको सौन्दर्य: २२ वटा पाटन र ५३ वटा थुम्का

सन १८८० मा भारतको कश्मीरको नेहरु परिवारमा जन्मिएका खप्तड बाबा विक्रम संवत् १९८६ मा नेपाल आएका थिए । उनले तप, ध्यान र अनेक खोज गर्दै ५० वर्ष खप्तडमै बिताए ।

image

आज थोरै कुरा गरौँ, खप्तडको । यो बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थल हो । धार्मिक आस्थाको धरोहर र प्राकृतिक सौन्दर्यको खानी । यहाँ २२ वटा पाटन र ५३ वटा थुम्का छन्, जसले यहाँको भूगोललाई अद्भुत बनाइदिएको छ ।

खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत प्रख्यात रहेको छ । पौराणिक कालमा सिद्ध तथा ऋषिमुनिहरूले तपस्या गरेको यस क्षेत्रलाई पुराणमा समेत खेचरादी पर्वतका रूपमा वर्णन गरिएको पाइन्छ । खप्तड राष्ट्रिय निकुञ्जभित्र पर्ने खप्तड क्षेत्र समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

खप्तड क्षेत्र भ्रमण गर्नका लागि यो नै उपयुक्त मौसम भन्ने हुँदैन । जेठ, असार, साउन, भदौ र असोजसम्म महिना हरियाली विशाल फाँटहरूमा रङ्गीबिरङ्गी फूलहरू फुलेका हुन्छन् भने कात्तिक-मङ्सिर, पुस, माघ र फागुनको अन्त्यसम्म सेताम्मे हिउँले ढाकिन्छ । त्यसै गरी चैत र वैशाख महिना फाँटहरू सुनौलो रङ्गहरूमा देखिन्छन् ।

khaptad

तस्बीर : Nepal’ 8th wonder of the world

खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहर्ष लिङ्ग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरूले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् भने खप्तडमा जेठ महिनाको पूर्णिमाको दिन त्रिवेणीमा मनाइने गंगादशहरा मेलासमेत हुने गर्दछ । मेलामा देशभर बाट भक्तजनहरू आउने गर्दछन् । खप्तड पुग्नका लागि डोटी, अछाम, बाजुरा र बझाङका विभिन्न क्षेत्रबाट खप्तड पुग्न सकिन्छ । तर चलन चल्तीमा भने सहज डोटी जिल्लाबाट रहेको छ । यात्रामा परिचित रुट गाइडको आवश्यकता भने अनिवार्य हुन्छ ।

खप्तड बाबा र आश्रम

सन १८८० मा भारतको कश्मीरको नेहरु परिवारमा जन्मिएका खप्तड बाबा विक्रम संवत् १९८६ मा नेपाल आएका थिए । उनले ५० वर्ष खप्तडमै बिताए, तप, ध्यान र अनेक खोज गर्दै । यस क्रममा उनले जीवन र जगतका धेरै कुरा सुने, बुझे, मनन गरे र पुस्तकको रूपमा उतारे । उनको पुस्तक जीवन दर्शन, प्राकृतिक उपचार आदिसँग सम्बन्धित छन् ।

उनी आध्यात्मिक गुरु र विचारक हुन् । संन्यास लिनुअघि उनी चिकित्सक थिए । कोलकातास्थित ट्रपिकल मेडिकल कलेजबाट एमबीबीएस र बेलायतबाट शल्यचिकित्सा अध्ययन गरेका थिए । काशीको दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन अध्यापन गरेका थिए । उनको धर्म विज्ञान, विचार विज्ञान, म र मेरो कर्तव्य लगायतका झन्डै डेढ दर्जन भन्दा बढी पुस्तक प्रकाशित छन् ।

खप्तडबाबाको विक्रम संवत् २०५३ साल ज्येष्ठ कृष्ण सप्तमीका दिन निधन भएको हो । खप्तड बाबाको निधन पश्चात् खप्तड बाबा बसेको घरलाई संग्राहालय बनाइएको छ । संग्राहालयमा खप्तड बाबाले प्रयोग दैनिक जीवनमा प्रयोग गर्ने कपडा, लत्ता, जुत्ता, पादुका, ओछ्यानलगायतका सामग्रीहरू सहित संगीतका साधनहरू पनि अवलोकन गर्न पाइन्छ ।

शैलेश्वरी मन्दिर

धनगढीदेखि खप्तड जाँदा बाटोमा पर्छ शैलेश्वरी मन्दिर । डोटीको सिलगढी नगरमा रहेको शैलेश्वरी मन्दिर हिन्दूहरूको आस्थाको केन्द्र मानिन्छ । मन्दिरको वर्तमान स्वरूप वि सं २०२८ मा योगी नरहरिनाथका सक्रियतामा निर्माण भएको हो । यहाँ देवीको नित्य पूजा सिलगाउँ निवासी भट्ट ब्राहृमणद्धारा गरिन्छ । प्रत्येक वर्ष ज्येष्ठ र कात्तिक पूर्णिमाका दिन विशेष पूजा र प्रत्येक १२ वर्षमा लक्षहवन महायज्ञ परम्परागत रूपमा प्राचीनकादेखि हुँदै आएको छ ।

त्रिवेणी

खप्तड क्षेत्रको प्रमुख केन्द्र हो त्रिवेणी । डोटीको सिलगढी बाट खप्तड क्षेत्र पुग्नु अगावै पर्दैछ त्रिवेणी । तीनवटा खोलको सङ्गम स्थल भएकाले यसलाई त्रिवेणी भनिएको हो । यो मन्दिरमा आफूले मनमा चिताएको पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ । मन्दिर भित्र शिव, गणेशको मूर्ति छ ।

khaptad

तस्बीर : Nepal’ 8th wonder of the world

सहर्ष लिङ्ग

खप्तड क्षेत्रको सबैभन्दा उच्च स्थानमा रहेको क्षेत्र हो सहर्ष लिङ्ग । यो क्षेत्र पुग्नका लागि खप्तडबाट दुई घण्टा लाग्दछ । घना जङ्गलको उकालोबाट भएकाले यो क्षेत्र कमै मानिसहरू पुग्ने गर्दछन् । ढुङ्गै ढुङ्गाको माथि शिवको मूर्तिलगायत शिव लिग रहेको छ । मौसम सफा भयो भने यो क्षेत्रबाट भारतको नन्दादेवी हिमालदेखि दार्चुलाको अपी, बझाङ सैपाल र बाजुराको बडीमालिकालगायत एक दर्जनभन्दा बढी हिमाल हेर्न पाइन्छ ।

खाप्पर दह

खप्तड क्षेत्रमा रहेका बास बस्ने स्थान खप्तडबाट एक घण्टाको पैदल यात्रा पश्चात् पुग्न सकिन्छ खाप्पर दह । जङ्गलको बीचमा रहेको खाप्पर दह धार्मिक हिसाबले पनि महत्त्वपूर्ण रहेको छ । खप्तड क्षेत्रमा लाग्ने मेलाहरूमा यहाँ स्नान गरेर मात्र पूजा गर्ने परम्परा रहेको छ । तालको छेउमा मस्टको थान समेत रहेको छ । मस्टको दर्शन गर्न आउँदा पनि यहाँ नुहाउने प्रचलन रहेको छ ।

तस्बीर : Nepal’ 8th wonder of the world

पाटनहरू

खप्तड क्षेत्रमा विशेष गरी ठुला साना गरी २२ वटा पाटनहरू रहेका छन् । घोडादाउन फाँट यस क्षेत्रको प्रख्यात पाटन हो । मौसम सफा भएको अपी हिमालको काखमै जस्तो देखिन गर्दछ घोडादाउन फाँट ।

कसरी पुग्ने ?

काठमाण्डूदेखि धनगढीसम्म हवाई जहाजमा १ घण्टा दश मिनेट ।
धनगढीदेखि झिग्रनासम्म ९ घण्टा गाडीमा यात्रा । झिग्रनासम्म कालोपत्रे सडक भएका कारण अधिकांश यात्रीहरू यही बाटो भएर जान्छन् ।

झिग्रानामा खप्तड होम स्टे रहेको छ बास बस्नका लागि । झिग्रानादेखि निकुञ्जको क्षेत्र सुरु हुन्छ । झिग्रनादेखि खप्तड पुग्न ८ घण्टा । झिग्रनादेखि यात्रा गर्दा सिधै उकालो ५ घण्टा यात्रा पश्चात् पुग्न सकिन्छ बिचपानी । बिचपानीदेखि खप्तड नपुग्दासम्म पनि होटेलहरू छैन । बझाङ छान्ना दारु गाउँदेखि खप्तडसम्म ८ घण्टा पैदल यात्रा तय गर्नु पर्दछ ।

khaptad

तस्बीर : Nepal’ 8th wonder of the world

कुन समय जाँदा उपयुक्त ?

खप्तडमा वर्षैभरि घुम्न सकिन्छ । हिउँदको समय अलि असहज भए पनि बन्दोबस्तीका साथ समूहमा जाँदा राम्रो । जेठ, असार साउन र भदौको पहिलो हप्ता सम्ममा खप्तडका पाटनहरू रङ्गीबिरङ्गी भुईंफूलहरूले ढकमक्क हुन्छ ।

असोज, कात्तिक, मङ्सिर, पुष, माघ, फागुनसम्म हिउँले ढपक्क छोपेको हुन्छ । चैत्र, वैशाखमा रंगीविरंगी फूलेका लालीगुराँसले खप्तड क्षेत्र ढाकिएको हुन्छ । खप्तडमा सात प्रकारका लालीगुराँस फुल्छन् । मौसम सफा रह्यो भने खप्तड क्षेत्रबाट आँखै अगाडि भारतको नन्दादेवी हिमालदेखि दार्चुलाको अपी, बझाङ सैपाल र बाजुराको बडीमालिकालगायत एक दर्जनभन्दा बढी हिमाल हेर्न पाइन्छन् ।

सम्बन्धित समाचार