शुक्रबार , मंग्सिर २३, २०७९

द पोइट आइडल : नेपाली साहित्य इतिहासको कान्छो प्रयोग

अमनप्रतापले कवितालाई केटाकेटीको तहमा ओराल्दैछन् । यसले कविताको स्तरोन्नति होइन, अवनतिमै योगदान गर्छ । एउटा खराब सिनेमाले दर्शकको मनस्थिति बिगारेर असल सिनेमाको दर्शक घटाएजस्तै हुन्छ । यो क्रियटीभ उपद्रव होइन, यसमा क्रियटिभिटी पनि केही छैन ।

image

भाषा जन्मियो, बन्यो, बढ्यो, फस्टायो, मौलायो र फैलियो । गर्भधारणको कुरामा नअल्झियौँ । कायममुकायम जति पनि भाषा छन्- तिनको बोली (लवज), इतिहास, सांस्कृतिक विरासतमा गहिराई, सतहीपन देखिँदै जाने र समयक्रममा विस्थापनको दैलोमा पुग्नु स्वाभाविकता हो । यस अर्थमा भाषालाई सनातन वा अपरिवर्तनीय भन्न नमिल्ला भन्ने मेरो दाबी । भाषामा निरन्तर कान्छा बोलीहरू देखिरहन्छन् । प्रखर समीक्षक रामकृष्ण शर्माका अनुसार, ‘खस, पर्वते, गोर्खाली भाषाहरूको कान्छो भाइ नेपाल भाषा हो ।’ कान्छोले सर्वप्रियतम हुने र कान्छो नै भइरहने राख्ने चेष्टा (चाह) त गर्ने नै भयो । तर वास्तविकता त्यस्तो छैन । सर्वप्रियतम नहोइरहनुको दुःख सबैलाई छ । भाषाको दुःखमा भाषाप्रेमीहरूलाई दुख्नु पनि नौलो कुरा भएन । तर, मलाई कहिलेकसो लाग्ने गर्दछ- ‘मान्छे डुल्ने, घुम्ने जात नै हो । नयाँ ठाउँमा गएर नयाँ श्वास फेर्ने क्रममा भाषिक अंशबन्डा भइरह्यो ।’

अब यता आऊ,

अक्षर पहिलेको संस्कृति मौखिक लोकसंस्कृति हो । राजनीतिक आन्दोलनका कारण मौखिक बोलीहरूले आफ्नो मातृभाषामा या नेपाली भाषामा लिपिबद्ध हुने चरण प्राप्त गर्दै थिए, प्रविधिको अप्रत्याशित पाइलो पर्‍यो । मौखिक संस्कृति अक्षरमा लिपिबद्ध हुन् खोज्दाखोज्दै डिजिटलाइजेशनको अम्बलमा फसिदियो । यो अम्बल सुर्ती-चुरोट भन्दा भयानक अम्बल हुन् पुग्यो । प्रक्रियागत झमेलाबाट मुक्त गर्ने र छरितो-फुर्तिलो भएकाले अक्षरमा लिपिबद्ध गर्नु भन्दा अडियो-भिडियोमा लिपिबद्ध गर्ने क्रम बढ्यो । आदतै बनिगयो । कोरोनापछाडि त यो लहड भयो, फेसन भयो र पछिल्लो दिनचर्या हुन् पुगेको छ । प्रविधिले चाडपर्वको मुहार फेरेसरह अभिलेख पद्धतिको मुखाकृति पनि फेरिरहेको हुँदा, यसको भविष्य के कस्तो हुन्छ-चिन्ता र चिन्तनको विषय रह्यो !  एआई प्रोग्रामहरू थुप्रै काममा मानव मस्तिष्कको अनुकरण गर्न र कतिपयमा मानिसलाई उछिन्नसमेत सक्षम भएका उदाहरणहरू पाइएकाले नवराज पराजुलीले ‘सगरमाथाको गहिराई’लाई पुस्तकको रूप दिएर ‘निकै’ गरेछन् कि जस्तो पो लाग्ने ! यसलाई यही रोकौँ ।

हरेक भाषा बोल्ने तरिका (ट्यून) हुन्छ र लिपि पनि देखिन्छ । ‘दुई हात उचालेको कपुरी क’ले देवनागरी लिपिसम्म आइपुग्दा एउटा हात कम्मरमा हालेको देखिएकै हो ।  लिपिलाई चाहिँ एनाटोमीको रूपमा बुझौँ- ‘स्थलाकृतिक संरचना विज्ञान ।’ मानव शरीरमा हड्डीको जून भूमिका छ, लिपिको पनि भाषा शास्त्रमा त्यही भूमिका रहन्छ । तर, फसाद कहाँ छ भन्दा- प्रविधिको लिपि अलि बटारिएको छ, तर्किरहने राँगो जस्तो । कुन बेला कता बटारिन्छ मेसै नहुने !

प्रविधिसँगै बिना बोलाइएको पाहुना बनेर आएको एउटा प्रश्न छ ‘’त्यस्तो कुनै कुरा छ, जुन कुरा गर्न प्रविधिलाई निषेध होस् ?’

‘छ’ भन्नेहरूका अनुसार चाहिँ प्रविधि ‘बफादार कुकुर वा घोडा मात्रै हो ।’ तर, मेरी शेलीको ‘फैंकेस्टाइन (१८१८)’ नामक किताब भन्छ- ‘प्रविधि राक्षस हो । यसको भावना मान्छेको भावनासँग मिल्दैन  (हरारी, सेपियन्स)।’ यो बहसको लागि म काँचै छु, तर यति चाहिँ भन्न सकियो- ‘प्रविधि राक्षस बन्नुपूर्व उसलाई सदुपयोग गर्ने कि ?’ खुङ्खार राक्षसलाई ‘मुलायम दिलवाला लाखे’ बनाएर नचाउनु पनि हाम्रै संस्कृति हो, सकिएला कि । यो काम अमनप्रतापबाट होला ? त्यसको लागि दशैं-तिहार मनाउनु नै पर्नेछ । मनाऊ ।

यो गन्थनको चुरो कुरा के हो भनेर भन्दाखेर, नेपाली भाषालाई कान्छो नै बनाइरहन क्रियाशीलहरूका अनुसार ‘पछिल्लो दशकयता प्रविधि (डिजिटलाइजेशन) अलि ठालु पल्टिरहेको छ । अक्षर शास्त्रको घरायसी (घरेलु) मान्यतालाई मच्चक्कै मिच्ने गरी प्रविधिको हेपाइ बढेको छ ।’ उनीहरूका अनुसार नेपाली भाषा र साहित्यप्रति हेपाइको नितान्त नौलो प्रस्तुति हो – द पोइट आइडल ।

***

‘साहित्य एउटा मौखिक परम्परा थियो । थिएन भन्ने को हो ?’, जो हो, उसले कोइलीसँग दोहरी गाउनु ।

‘संस्कृत साहित्यका आधारमा, संस्कृत वाङमयका विचारको प्राचुर्यमा नेपाली कविता जन्मियो’ भन्ने शर्माको विचारसँग म सहमत छु । कविशिरोमणि, युगकवि (बाहुन, नेवार) वा, प्रथम कवि सुवानन्द दास (भक्तिवाद), जोकोहीलाई यहाँनेर उदाहरणस्वरूप ठेल्दिदा होइजाने भयो । र, यहाँ त्यही गरियो- ठेलियो ।

संस्कृत साहित्य पारखी नेपाली कविहरू (कविशिरोमणि, युगकविका शुभचिन्तक) अनूदित ग्रन्थ (पश्चिमी विचार) को मायामोहमा परेर भासिए, सक्किए भन्नेहरू भर्खर भर्खर देखिएका हुन् । मार्क्सवाद, नारीवाद, अम्बेडकरवाद पछिल्लो नेपाली कविताको मूल जरो हुन् पुगेकाले अल्पांशमा परेकाहरूको यस खेमामा स्वरहरू उँचो हुनु अस्वाभाविक कदाचित होइन । यस्तो भन्नेहरूले आजभोलि एक दुई कुरा अरू पनि गरिरहेका छन् ।

‘नवराज पराजुलीले कविताको जग कोपरे ।’
‘अमनप्रताप अधिकारीले अति नै गरे- डोजर नै चलाए ।’

(बालेन शाहलाई यतिबेला सम्झिनु तपाईँको प्रदूषित स्मरणशक्तिको कमाल हो । मुबारक !)

***

अब फटाफट गाँठो फुस्कायौँ । गाँठो कस्ने काम भूमिकामार्फत आफैँले गरेकाले गाँठो फुस्काउनु पङ्क्तिकारको दायित्व हुन् आएको छ । बाँकी कथन-उपकथन सोही दायित्व निवारणको मेलोमेसो, है त ।

कताकति देखेजस्तो, कताकति सुनेजस्तो, होकि हो कि जस्तो, होइन क्यारे जस्तो, होलाहोला जस्तो, हुनु त पर्ने हो जस्तो लाग्ने आचरणगत मनोदशा नेपाली साहित्यको विशेषता हो । यस्तोमा कतै नदेखेको, कतै नसुनेको, कहिल्यै नपढेको कार्यक्रमको घोषणा अप्रत्याशित रूपमा अधिकारीबाट भइसकेको छ । यस घोषणापश्चात् साहित्यिक गल्लीहरूमा ‘द पोइट आइडल’को चर्चा-परिचर्चा-उपचर्चा-चियोचर्चा कायममुकायम भएका छन् । कथनअनुसार, ‘पोइट आइडलको आगमन नेपाली साहित्यको श्रीवृद्धिको हदमा उक्लन्छ, अन्यथा नेपाली साहित्यको भविष्य खङ्ग्राङखुङ्रुङ सोतर भएर जान्छ ।’

ठ्याक्कै के हुन्छ भनेर ठम्याइहाल्दा ‘हल्का जल्दी’ हुने भएकाले ‘तू थोड़ी देर और ठहर जा.. सोणेया’ गीत सुन्नु उपयुक्त छनौट लागिरहेको छ ।

बौद्धिक परनिर्भरता र प्रभावको सम्मिश्रणमा गतिशील भइरहेको समकालीन नेपाली कविता क्षेत्रले यो नवयुगीन लिपिविज्ञानलाई बुझ्नै पर्ने भएको छ, यसको आकारप्रकार र हड्डीहरू केलाउनै पर्ने भएको छ । कुनै पनि घटनाको कारण, व्यवधान, परिणाम घटनाकै सहउपस्थितिमा हुने हुनाले ‘पर्ख र हेर’को स्वप्नवृत्ति पङ्क्तिकारसँग भएको कुरा सोह्रै आना सही हो । यसैले पोइट आइडलको पहिलो एपिसोड पर्खिनु नै सर्वोपयुक्त निर्णय भएको ठान्दछु ।

‘तू थोड़ी देरबस थोड़ी देर और ठहर जा !’ – गीत त बजिरहेकै छ

तर, फिलहाल आइडललाई पठाइएको भनिएको केही कविता, अधिकारीको अन्तर्वार्ता र जजहरूको भनाई सार्वजनिक भइसकेकाले त्यसैलाई टेको बनाएर मुखाले नभई भएको छैन । एउटा नाट्यकर्मीको नाट्यकुशलता देखियो, अर्कोमा पप गीतको छनक पाएँ । तर, मातृभाषाको हकमा २५ प्रतिशत छुट्याइएको देख्दा दिलमा खुसहाली नै छ है !

‘कविता एउटा विचारधारा हो, विचारधाराले भाषा, भूगोल, घडी र सम्वतको सीमाना स्वीकार गर्दैन’ वाणीसँग सहमति भइजाँदा पङ्क्तिकारसँग आगे बढ्न मजा आउँछ । अन्यथा यहीनेर फुत्त निस्किएर म:म: खान जान यहाँहरूलाई अनुरोध छ । अघिको राँगो पनि त्यतै होला, है त !

गाँठो फेरी कस्ने काम भएकाले गुस्ताखी माफ होस् । गाँठो फुकाउने क्रममा गाँठो कसिनु व्यवहारतः सही भएकाले गुस्ताखी माफ भए होस्, नभए नहोस् ।

***

प्राविधिक शिक्षा (प्रविधिमैत्री शिक्षा) को भट्ट्याई प्रचलित ‘सत्ताबोली’ हो । नेपालको कथित शिक्षा प्रणाली प्रविधिको तीव्र विकाससँगै परिमार्जन हुनु नसक्नु सत्ताको नाकमा बसेको झिँगा हो । कसले धपाउने ? छोडौँ, यताको कुरा । तीन चौथाइले खेत जोत्न छोड्दा पनि ‘सानो छ बारी, सानै छ खेत’ पढाइनु पाठ्यविद्हरूका ज्यादती हो । को बोल्ने ? कसरी पो बोल्ने ? बोल्दा भन्दिछन्- ‘इतिहास संरक्षण गरेको ।” गर, तर साहित्य भनेर किन पढाउँछौ, इतिहास भनेर पढाऊ । माने पो त ! ‘ए, है ल ल’ जताततै छ ।

फेरी, डिजिटल प्रविधिको मुख्य काम अनुगमन (चियोचर्चा) भएको पछिल्ला बहसहरू पनि देखे-सुनेको तर मनन गर्न नसकेकै हौँ । त्यसो हुनुमा चाहिँ एउटा कारण छ, त्यो के भन्दा- प्रविधि के हो र कसो हो भन्नु भनेको छेपारोको रङबारे बताउनु भएको छ । बताउँदा-नबताउँदै उसको रङ परिवर्तन भइसक्छ । यस्तो ‘खहरे बगाईको स्थिति’मा हरेक कुरा नियमित आकस्मिकता भएका छन् । यहाँ जतिबेलै जे पनि हुन् सक्ने भयो । भयो, त्यही भयो- द पोइट आइडलको आगमन भयो ।

पोइट आइडलको आगमनसँगै साहित्य र प्रविधिबिचको भेद, लसपस र लुछाचुँडीबारे कुरा नगरी नहुने भयो । र, यहाँ त्यही गरियो ।

फोटो : The Poet Idol

पश्चिमी बौद्धिक कुशलता मानव चेतना तथा जिज्ञासालाई ‘Just Wait’ भनेर भौतिक युगको सृजना र भोगविलासको स्रोतसाधनमा सम्पन्न, धनाढ्य हुँदै गइरहेको छ । दैनिक आवश्यकताको परिपूर्तिमा सहज र सुगम स्थिति निम्ताइदिएर उत्पादन, उपभोग र वितरणको थिएटर चलाएर नाफाको ठूलो हिस्सा आफूले कुम्लाउनु उसको चारित्रिक विशेषता हो । यस विशेषताका कारण मानव चेतना तथा जिज्ञासाले आफू पर्खिबसेको कुराको छनक नै पाएको छैन ।

रचनात्मकता मानवको चरित्र थियो, हो तर हुनेछ भनेर भन्न नसकिने देखिन्छ । चार्ल्स डार्बिनले फ्रान्सेली क्रान्तिबारे एउटो कुरो भनेका रहेछन्, “यो सबैभन्दा असल समय हो, यो सबैभन्दा खराब समय हो ।” फ्रान्सेली क्रान्ति पछिल्ला सबैजसो क्रान्तिको अगुवा भएका कारण पोइट आइडलको सन्दर्भमा पनि भन्न सकियो- ‘यो नेपाली इतिहासमा सबैभन्दा असल कृत्य हो, यो सबैभन्दा खराब कृत्य हो ।’ असल भन्नुको कारण, पंक्तिकारको पेट भर्ने मेलोमेसो प्रविधिले नै भएको छ । खराब भन्नुको कारण- बैँसकै बेलामा ढाड व्यथाले ङ्याक्यो । 

हाउ छोडौँ- साहित्यका कुरा गरौँ ।

साहित्यलाई रासायनिक सुखसँग दाँज्ने काम गरौँ । कसरी गरौँ भन्दा- साहित्य मानसिक अवस्था हो । प्रदूषित एवं गाइडेड नभएको खण्डमा कुनै पनि साहित्य तत्कालीन समाजको मानसिक अवस्था न हो । मानसिक अवस्था विकृत हुनु वा स्वस्थ हुनुमा सामाजिक-राजनीतिक-धार्मिक गतिविधिहरूको हातपाउ भागीदार हुने भइहाले । ‘सुखको अनुभूति हुनुसँग साहित्यको अन्योन्याश्रित सम्बन्ध छ’ भनेर अर्को परिभाषा पनि पेश गर्न सकियो । सुख अनुभूत हुनमा जीवरासायनिक पदार्थहरूको भूमिका रहन्छ । यसप्रकार साहित्यलाई अभौतिक सुख पनि भन्न सकियो । अभौतिक सुखको पनि पुरस्कारबाजी ? यो प्रश्न पनि छ ।

निष्कर्षमा भन्नुपर्दा- साहित्य आफू निचोरिने कृत्य हो । बटुलबाटुल गरेर थाकेपश्चात् आफूलाई रित्याउने मेसो । भरिएपछि रित्तिनुको जीवनबोध । एउटा चौतारीजस्तो ।

अब यो चौतारीको फोटो खिचेर ‘चौतारो कस्तो लाग्यो ?’ भन्ने काम अधिकारीले गर्ने भएका छन् । कस्तो लाग्यो भन्नु ?

चौतारोमा ४ जना जज, पुरस्कारराशि र क्षेत्रप्रताप अधिकारी नामको हावाहुरी चलिरहेको देखिन्छ । अतः यस प्रश्नको उत्तरपुस्तिकामा निम्न चिन्तन-मननहरू देखिन सक्ला;

१.

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुआयामिक र बहुसांस्कृतिक विशेषतायुक्त देश हो । प्राकृतिक छटा र सुन्दरता नेपालको विशेषता हो’ भनेर आएकाहरूसँग कमबेसी भावुकता छ, परम्परागत मान्यता छ । फेरी प्रविधितर्फ फुत्तै बुर्कुसी मार्नुपर्ने बाध्यात्मक विवशताको कारण एउटा खुट्टो मर्किन पुगेको छ । त्यही मर्किएको खुट्टो यहाँनेर देखिएको हो । अन्यथा पोइट आइडलको नियत सफा छ । नियतको हकमा क्षेत्रप्रताप अधिकारीको साहित्यिक योगदान पनि जोडिएकाले अझ स्पष्ट छ, सपाटै छ, सेतै छ ।

२.

‘विज्ञान र प्रविधि धनराशीमैत्री छ, हामी नेपाली मनका धनी पर्यौं ।’ यो प्रविधिसँग हिँड्न नजान्दा खुट्टो मर्काएको अर्थशास्त्रको विद्यार्थीको भन्दा साहित्यकार, इतिहासकार, संस्कृतिप्रेमीहरूको बोली हो । कसैले हाम्रो मनलाई धनसँग जोड्न खोज्दै छ, गलत के छ ? भावुकता बिक्छ भने बेचौँ । यसखाले मानसिक हावापानीले नेपाली बौद्धिकता लावारिस भइगयो भन्नेहरू पनि छन्, यताको कुरा पछि गरौँला । पहिला दश लाख कुम्लाऊ ।

३.

कलाकार वा कवि अनुभूति सङ्कलन गर्दछन्, जसलाई माथि कतै समाजको मानसिक अवस्थाको चित्रण पनि भनियो । अनुभूति सङ्कलनको काम उसले सामाजिक गोरेटाहरू रहेर गर्ने तर, समाजको सामूहिक कल्पनालाई पनि सङ्गृहीत गर्न सक्ने खुबी उसमा हुनाले ऊ अलि विशिष्ट भइटोपल्छ । तर, समाजको एउटा रमाइलो बानी छ- ऊ तबसम्म कुनै पनि कलाकृति वा कवितालाई आफ्नो सम्पत्ति ठान्दैन जबसम्म त्यसबाट उसले केही प्राप्त गर्दैन । सचेत कवि/कलाकारबाट समाजले केही न केही पाउने हुनाले नै ऊ उसको संरक्षक बन्छ या बनिदिन्छ । समाज र कलाकार/कवि एकापसको ऋणी यसप्रकार बनिरहन्छन् । तर, प्रविधिको ‘छेपारे’ बानी र त्यसले निम्ताएको अनेकन् सामाजिक हलचलका कारण यी दुईको सम्बन्ध बिग्रिएको छ । समाज कविलाई ‘बौलाहा’ भनिरहेको छ र कवि ‘कविता कविताको लागि’ भनिरहेको छ । कला-साहित्य क्रमशः जनजीवनबाट टाढिँदै गइरहेको अवस्था बुझेर नै अधिकारीले केही गर्न खोजेका होलान्, गर्न दिऊँ ।

४.

रियालिटी शो’हरूको उद्देश्य ‘कमाइ खानु’ हो । अँगालो मार्दै भक्कानिएर रुनु र रुहाउनु यिनको विजनेश मोडल हो । भावुकता बेच्नु र कमाउनु यिनको व्यापारिक व्याकरण एवम् हिज्जे हो । विज्ञापनले जून नीति अपनाएर मिठो-गुलियो कुरा गर्दछ, त्यो कमबेसी यहाँ देख्न पाइन्छ । ‘विज्ञापन झुटो रहेछ या राजेश हमाल पनि सामान्य मान्छे रहेछ’ भनेर बुझेको पछिल्लो सामाजिक चेतनालाई आफू उपभोक्ता बनिरहेको पटक्कै ज्ञान छैन । त, यो सोही अज्ञानताको बुई चढेर आएको हात्ती हो । यसले लावण्य देशको नवराजलाई राजा बनाइदिन्छ। तर, वास्तविकता यस्तो छ कि- ‘न लावण्य देश थियो, न राजा नवराज’ नै । त, नवराजहरूलाई राजा भएकोमा बधाई दिऊ, हामी आफ्नो बाटो लागौँ । होइन, ढोगभेट नै गर्छु भन्नुहुन्छ भने तपाइँ बिरालो बन्नुभयो- म्वाऊ

५.

‘गाजल धुन आँसु नै चाहिन्छ, पानीले हुँदैन ।’ कविता दर्शकका लागि हुन् सक्दैन । दृश्य सङ्कुचित हुन्छ, यसले कविताको गहनतालाई साँघुरो बनाउँछ । कविताको सम्पादक थिए, प्रकाशक थिए, समीक्षक थिए अब निर्देशक पनि हुने भए, रमाइलै छ । देशै रमाइलो..। यो रोयल्टीले पिरोलिएका कवि-लेखकको दिन बियाँल्ने मेसो हो । भँगेरो आउला, बिस्कुन छर्देला !

६.

मानव स्पर्श र सुघाईको हकमा प्रविधिको भूमिका हालसम्म देखिएको छैन । तर, चित्रकार, मूर्तिकार र फोटोग्राफरहरूले आफ्नो कलाकर्ममा निखार ल्याउन, अझ परिष्कृत गर्न, कम्पोज गर्न, एक्सपेरिमेन्ट गर्नमा प्रविधि प्रयोग गरेको पाइएको छ  । उपन्यासकार, पत्रकार र कविहरूले नवीन प्रविधिहरूको उपयोगमार्फत आफ्नो लेखनलाई पहिले नसोचिएको दिशामा लैजान सकेको बताइरहेका छन्  । त्यस दिशातर्फको यो प्रथम खुड्किलो पनि त हुन् सक्यो, यसलाई राक्षस नै बताइहाल्न पनि पर्दैन । तपाई पनि.. रातीराती सस्पेन्स- थ्रिलर मुभी हेर्न छाड्नुस यार..! 

यसबाहेक अनगिनत टीकाटिप्पणी हुन् सक्ला । गर्न सकिएला । कुनै पनि घटनालाई समसामयिक  व्यक्तिले निष्पक्ष हृदयले जाँच्न ग्राहै छ । सोही गाह्रो मलाई पनि भएकाले म केही व्यक्तिसम्म पुगेको छु । सामूहिकतामा बल हुन्छ । अत: अब उहाँहरूकै कुरा सुनौँ;

१. कविता आफैँमा विशिष्ट विधा हो । यसलाई मजाक बनाउनु हुँदैन । कविता उज्यालो हो । यसले कयौँ निराश जिन्दगीलाई कयौंपटक उत्साह उमङ्ग भरिदिएको छ । यदि निर्णायक मण्डल र दर्शकले भागबन्डाको आधारमा दबाब महसुस नगरी निर्णय गर्छन् र कविता माथि न्याय गर्छन् भने कार्यक्रम महत्त्वपूर्ण साबित हुनेछ ।

अनुत्पादक क्षेत्र भनेर सधैँ हेयको दृष्टिकोणले हेरिरहेको साहित्य क्षेत्रलाई एउटा सम्भावना बोकेको स्रष्टा पाेइट आइडलको रूपमा उदाउनु राम्रो कुरा हो । आर्थिकस्तरलाई माथि उठाउन प्रोत्साहन पनि गर्ने भनिएको छ । मलाई लाग्छ, यस्तो प्रतियोगिताहरूले देशको प्रमुख समस्या, नेपालमा लेखिरहेका कविताको विषयवस्तुको बारेमा जानकारी दिन्छ नै । नवपुस्ताको अनुहार पनि बाहिर ल्याउँछ । प्रतियोगितामा पुरस्कार राखेपछि त्यो एक जनाले जित्छ नै तर, राम्रोले जितोस् भन्ने सदिच्छा छ । (अनिता न्यौपाने)


२. खासमा कविताको रियालिटी शो’को नौलो प्रयोग मलाई ठिक लागेको छैन । यसमा मेरो सहभागिता पनि रहन्न । यो कवितालाई सुपर मार्केटमा राखेर पुँजीवादीकरण गर्न लागेको हो ।  पहिलो कुरा, यसरी कविताको स्तरीयता बढ्दैन, स्वाङ गर्नु मात्रै हुन्छ । कविता हल्का कुरा हुँदै होइन । यहाँ केही धनराशिसहित कविताका ठूला प्रतियोगिता हुने गरेका छन्, तर हेर्नोस् बिजोग- कविता प्रतियोगितामा प्रथम भएको स्रष्टा नै कविताबाट गायब हुन्छ । रियालिटी शो त परको कुरा हो, हास्यास्पद कुरा हो । यसले कविको आर्थिक प्रोत्साहन त होला, तर वैचारिक हुने, कवि बन्ने भन्ने कुरा वाहियात हुन्छ । एक दिनमा कवि बनेको यहाँ को छ र ? आयोजक स्वयम्लाई कविताबारे थाहा छैन, अनि रियालिटी शो गर्ने रहर गरेर हुन्छ र ? बालकविता भने आउन सक्छन् ।

अमनप्रतापले कवितालाई केटाकेटीको तहमा ओराल्दैछन् । यसले कविताको स्तरोन्नति होइन, अवनतिमै योगदान गर्छ । एउटा खराब सिनेमाले दर्शकको मनस्थिति बिगारेर असल सिनेमाको दर्शक घटाएजस्तै हुन्छ । यो क्रियटीभ उपद्रव होइन, यसमा क्रियटिभिटी पनि केही छैन । ‘यसो गरौँ न’ भन्ने लहड चलेको हो । यो कविताप्रतिको अज्ञानता नै हो । यसले दर्शक र पाठकलाई कविताप्रति दिग्भ्रमित तुल्याउँछ । पहिले कविता कसरी सिर्जना हुन्छ, यसको अवधि र तौर तरिकाबारे ज्ञान त हुन पर्‍यो नि ।

कवितामा वाचन वा प्रस्तुतिको महत्त्वलाई इन्कार गर्न सकिन्न । तर, यो सम्पूर्ण होइन । अहिले गोपालप्रसाद रिमाल, भूपी शेरचन, पारिजातले कसरी कविता पढ्थे भनेर हुन्छ र ? तिनका कविता पढेर नै जानकारी लिइन्छ, त्यसको गुणवत्ता जाँचिन्छ । त्यसकारण, प्रस्तुति द्वितीय कुरा नै हो । यसलाई प्राथमिकतामा राखेर रियालिटी शो हुन गइरहेकोले नै विरोध भएको हो । अर्को कुरा कविताको क्षणिकतालाई कविले मान्दैनन् । कविता लेखिरहेकालाई थाहा छ नि कविताको सिर्जना कति महत्त्वपूर्ण र कति चुनौतीपूर्ण छ । नत्र, हरेक दिन कविता लेखिन्थे र ती अब्बल बन्थे!

जजको रूपमा यहाँ दुई जना अब्बल कवि छन्, कविता चेत छैन भन्ने होइन । अर्कोतर्फ अभिनयकर्तालाई कविताको जज बनाउनु झन् हास्यास्पद कुरा हो । पर्फमेन्स पोयम भनेर केही कविले प्रयास गरे, अभिनय र म्युजिकका साथ कविता पढे, दर्शक बढाए । तर, त्यसको दिगोपन के हो त ? सधैँ त्यसरी चल्छ त ? ती गल्न थालिसके, क्षणिक हुन थालिसके । त्यसकारण सिर्जना प्रमुख नै हो । यहाँ समालोचकले त कविताको मूल्याङ्कन गर्न सकेनन् भन्ने प्रश्न भइरहेको बेला अभिनयकर्तालाई राख्नु हाँसिउठ्दो छ । उपेन्द्र सुब्बा र विप्लव प्रतीक नबसेको भए हुन्थ्यो । कसरी झुक्किनु भो ? यसरी रियालिटी शोबाट कविता जन्मिने भए त कवितालाई दशकौँ वर्षको उमेर खर्च गर्नै पर्ने थिएन नि ? उहाँहरूले पनि कविता, कविता भनेर यतिका वर्ष हिँड्नु पर्ने थिएन । (केशव सिलवाल)


३. म सहभागी हुन्नँ । किनकि, साहित्यका निम्ति यो अनिवार्य शर्त होइन । व्यक्तिगतरूपमा  म कवितालाई  प्रतियोगितामा, प्रतिस्पर्धामा र प्रदर्शनमा देख्न नचाहने मान्छे हुँ ।  यस्ता शोहरू मार्फत कविताको स्तर बढ्ने कुरामा म त्यति विश्वास राख्दिनँ । केही आर्थिक सहयोग त अवश्य होला । लेखकलाई वैचारिक र थप साधनातिर प्रोत्साहित गर्ने भन्ने कुरा चाहिँ बजारिया भाषा हो । तर, आजको समयमा यस्ता कार्यक्रमहरूले पार्ने विविध प्रभावको समीक्षा जरुरी छ । कविता सबैका लागी हुनुपर्छ र सबै माध्यम मार्फत त्यो प्रकट हुनुपर्छ । तर, कविताको शाश्वत स्वरूप र कविताभित्रको जीवन्त मौनतालाई हल्लाहरूले कुल्चिनु हुँदैन । सृजनात्मक केही गर्छु भन्नेहरूलाई गर्न दिनुपर्छ । तर, उनीहरूले वस्तु बेच्ने तरिका मात्रै अपनाए, आफ्नो व्यापारिक पाटोलाई मात्रै हेरे र साहित्यको उच्च गरिमा एवम् मूल्यलाई बिर्सिए भने अनर्थ हुन्छ ।

विप्लव प्रतीक बाहेक उपभोक्तावाद र बजारवादले परीक्षण गरिसकेका तीन सृजनशील जजहरू छन् । नाटक, चल्ने चित्र र कवितामा एउटा सीमासम्म योगदान दिएका उनीहरूको जज गर्ने तपाईं हामी छौँ ।  कि कसो राजु जी ? (मौन आवाज)


४.  आजै मात्र यस शोका उद्घोषकले मेरो इन्बक्समा सूचना खसाल्नु भएको थियो । म उहाँसँग परिचित छैन तर पनि उहाँले कविता लेख्छ भन्ने थाहा पाएर यसो गरेको होला भन्ने लाग्यो । कार्यक्रम सफल पार्न गरिएको यो खोज प्रशंसनीय छ  । रियालिटी शो हेरिन्छ ।

नेपालको इतिहासमा हेर्ने हो भने ‘तिम्रो सुर मेरो गीत’ पनि निकै चर्चित शो मानिन्छ । रेडियो नेपालमा चौतारी भन्ने कार्यक्रम आउँथ्यो त्यो पनि रियालिटी शो नै हो भन्न सकिन्छ । अहिलेसम्म हेर्ने हो भने सफल रियालिटी शो बन्न गायनविधा सफल देखिन्छ । पछिल्लोपटक गायन, अभिनय, नृत्य हुँदै विभिन्न प्रतिभाको रियालिटी शो हुँदै आएको छ ।

विता प्रतियोगिता हुँदै आएको भए पनि कविताको रियालिटी सोलाई नयाँ मान्न सकिन्छ । यति बृहत् र व्यापक रूपमा पहिलोपटक नै हुन लागेको हो । १० लाखको प्राइज मनी र ५ लाखको कविता सङ्ग्रह कनट्र्याक्ट देख्दा मन लोभिएको हो तर कविता प्रतियोगितामा भाग लिएर क्लोज क्याम्पमा बसेर महिनौँ बिताउने समय कहाँ मिलाउन सक्नु र ? अनि भोटिङ सिस्टम देख्दा यस्तो लाग्यो १० लाख जित्न २० लाख त खर्च गर्नु पर्ने अवस्था आउँछ । यो प्रतियोगिताको केही कुरासँग सहमत पनि हुन सकिएन । छन्द कवि आयो भने कसले निर्णायकको भूमिका निभाउला यो प्रश्न मनमै छ । त्यसैले राजुजी म सहभागी हुन्न होला तपाईं के गर्ने ?

यो शो व्यवसायीक सो भएकाले यहाँ नौटङ्की धेरै हुने देखेको छु । यो हेर्ने शो भएपछि प्रदर्शन त यहाँ इन्द्रजात्रामा भन्दा बढी होला भन्छु म । यहाँ आँसु बेचिने निश्चित छ । कविहरू म ट्याक्सी चलाउँछु, म किसान हुँ, म घर बनाउने काम गर्छु आदि इत्यादि भनेर इमोस्नल ब्ल्याकमेल गर्छन् कि भन्ने लागिराछ । एकेडेमीले त देख्नुभएकै छ क्यारे एउटा प्रतियोगिता गर्छ त्यो पनि लाजमर्दो हिसाबले सेटिङ गरेर । कविताको पहिलो शर्त पाठक नै हो । आधुनिक समयको मागसँगै दर्शकका लागि हुनसक्छ तर यो दोस्रो शर्त हो ।

अमनजी नयाँ कन्सेप्टमा काम गर्न मनपराउने मान्छे हो । कविलाई प्रोत्साहन गर्न यो सो गरिएकोमा दुई मत छैन । उनको सोमा कवितालाई तयारी चाउचाउलाई जसरी पकाउन खोजेको पनि देखियो । उनीहरूले विषय दिएर कविता लेख्दा कस्तो कविता जन्मेला र खोइ ? वास्तविक कविताभन्दा स्ल्याम पोइट्री विधाका कविताहरूले बढी प्रशय पाउने सम्भावना देखेको छु । अँ, अमनजीलाई एउटा आइडिया दिन मनलाग्यो । ‘यदि वास्तविक कवि, कविता र स्रष्टाको आर्थिक सामाजिक स्तर माथि उठाउने हो भने नि देशभरबाट राम्रो कविको खोजी गर्नोस् प्रत्येक वर्ष । अनि उक्त कविको कविता सङ्ग्रह प्रकाशित गराइदिनोस् । सो कविलाई नेपालभर स्टेज दिनोस् ।’ यो गर्दा चाहिँ बहुतै उत्तम हुन्छ । निःशुल्क आइडिया दिए है । कपिराइट लाग्दैन । गर्दा हुन्छ ।

विप्लव प्रतीक र उपेन्द्र सुब्बा यो कार्यक्रमको लागि उपयुक्त निर्णायक मान्न सकिन्छ । उहाँहरूलाई यो अवसर पनि हो । अनुप बराल र सुरक्षा पन्त आकर्षणको लागि राखिएको होला । यो कार्यक्रममा सुहाउने जज त नवराज पराजुली पनि हुन जस्तो लाग्छ । किनकि यो कार्यक्रममा धेरै नवराज पराजुली आउने पक्का छ । कविता नलेख्नेले कविता बुझ्दैन भन्न त मिल्दैन । अनुप बराल कला र साहित्यमा राम्रो दक्खल राख्ने मान्छे हो । सुरक्षा पन्तले पनि कविता लेखेकी रहेछिन् । उनले लेखेका कविता जस्ता कवि धेरै आउने हुनाले उनले निर्णय राम्रै गर्लिन् नि । (जनक कार्की)


५. पाेयट आइडलप्रति मेरो खासै रुचि छैन, खासै टिप्पणी पनि छैन । निस्पृह छु । प्रतियोगीका रूपमा यसमा म हुँदिनँ ।

कविता लेखेर लोकप्रिय हुन्छु भन्ने धारणा नै गलत हो । यो मूलतः चेतनाको माध्यम हो । लोकप्रिय हुन लोभ गर्नेले कवि हुनुभन्दा अभिनेता, मोडल, खेलाडी, नृत्यकार, लोक दोहोरी गायक वा हास्य कलाकार कि जोकर हुनु राम्रो हो । यसले कवितालाई पनि प्रदर्शनको विषय बनाउन खोजेझैँ लाग्छ जसप्रति मेरो रुचि छैन । तर, मेरो रुचि छैन भन्दैमा त्यो गर्न दिनु हुँदैन भन्ने धारणा पनि गलत हो । कविता चेतना, हार्दिकता र अन्तर्दृष्टि हुनाले मूलतः यो पाठक र त्यसपछि श्रोताका लागि हो ।

यस्तो शोहरूमा वाचनको प्रस्तुति र हाउभाउलाई नै हेरिन्छ, त्यसैप्रति सबैको ध्यान जान्छ । सुनेका भरमा कवितामा निहित चेतना र हार्दिकताको गहिराइ नाप्न निर्णायकहरूलाई पनि मुस्किल पर्छ ।

जजहरू सबै आ-आफ्नो क्षेत्रका प्रवीण व्यक्तित्व हुनुहुन्छ । नाट्य निर्देशकका रूपमा अनुप र अभिनेतामा सुरक्षा मलाई एकदमै मनपर्ने व्यक्तित्व हुनुहुन्छ । उपेन्द्र र विप्लव चर्चित कवि । उहाँहरूलाई मेरो शुभकामना छ  । कविता नलेख्नेले बुझ्दैन भन्ने होइन,  लेख्ने जति सबैले बुझ्छन् भन्ने पनि होइन ।  उहाँहरूलाई यति भन्छु, कविता मञ्चको आकर्षक प्रस्तुति होइन चेतना, हार्दिकता र अन्तर्दृष्टि हो । कार्यक्रम आउन दिऊँ, के हुन्छ र ? हामीले नगर भन्दैमा कार्यक्रम नै नहुने पनि होइन । (अभय श्रेष्ठ)


६. The Poet Idol हेर्न सक्छु । सहभागिता रहँदैन । किनभने यस्ता प्रतियोगिताले कविताको स्तरीयता बढ्छ जस्तो मलाई लाग्दैन । मेरो विचारमा कवितालाई लोकप्रियताको तहमा पुराउने काम यस्ता डिजिटल माध्यम वा एकेडेमी सक्दैनन्, त्यसको जिम्मा पाठकहरूलाई दिनुपर्दछ । कविता प्रतियोगितामा प्रस्तुति पनि चाहिन्छ तर मुख्य कुरा कविताको गुणवत्ता हो । राम्रो लेख्नेले राम्रो प्रस्तुति दिन नसक्लान् र राम्रो प्रस्तुति दिनेको कविता नराम्रो पनि हुन सक्छ । मेरो विचारमा यस्ता खालका प्रतियोगितामा कविता प्रदर्शन गरिनु हुँदैन ।

कविता नलेख्नेले कविता बुझ्छन् जस्तो त मलाई लाग्दैन । घाउ नभई दुखाइको अनुभव कसरी हुन्छ ? आमा नभई प्रसव पीडाको अनुभव कसरी हुन्छ ? हो त्यस्तै हो  । अरू कुरा हेर्न बाँकी छ । राम्रा कविता र कवि छानिउन । अरू प्रतियोगितामा जस्तो राजनीति र कुट्निती नहोस् । यही कामना गर्छु ।  (रिमा केसी)


७. चर्चामा रहेको ‘द पोइट आइडल’ अवश्य हेर्नेछु । किनभने यो मेरो रुचिको विषयसँग बढी नै सम्बन्धित छ । अमनजीको प्रयासलाई म साधुवाद दिन चाहन्छु । कविताको क्षेत्रमा यो एक नयाँ प्रयोग हो र म प्रयोगलाई पनि प्रेम गर्छु । कार्यक्रम सफल होला, नहोला । इतिहास रच्ला या नरच्ला, त्यो त भविष्यले बताउनेछ । जे भएतापनि यसले जनमानसलाई कवितातर्फ ध्यानाकर्षण गराउने कुरामा म विश्वस्त छु । यस कार्यक्रमपछि धेरै मानिसहरूलाई कवि बन्ने रहर जाग्ने छ । काव्य साधनामा पनि सहभागिता बढ्नेछ । बढ्नुपर्छ ।

तर कवितालाई हल्काफुल्का रूपमा लिनु हुँदैन । कविता पठन मात्र हैन, श्रवणीय विधा पनि हो । मनिटरमा आएपछि हेर्ने र सुन्ने विधा पनि हुन्छ । तर जसरी गीतलाई सुन्दा मात्र जति शब्द र सङ्गीतको गहिराइमा डुब्न सकिन्छ । हेर्दा त्यसको भाव कलाकार र प्रकाशको चमकमा फिक्का पर्छ । कवितामा त्यस्तो हुने सम्भावना अझै बढी हुन्छ । किनभने कविता सुन्नु, पढ्नु र भावमा डुब्नु फरक अनुभूति हो ।

उपेन्द्र सुब्बा र विप्लव प्रतीक नेपालका प्रतिष्ठित कविहरू हुनुहुन्छ । उहाँहरूबाट कवितालाई पूर्ण न्याय होला भनेर अपेक्षा गर्न सकिन्छ । अनुप बराल पनि अनुभवबाट खारिएका अभिनेता/निर्देशक भएकोले काव्यको सौन्दर्यलाई अनुभूति गर्न सक्ने व्यक्तित्व हुनुहुन्छ । सुरक्षा पन्तको बारेमा म यसै भन्न सक्दिन । कविता नलेख्नेले कविता बुझ्न सक्दैन भन्नु सर्वथा गलत छ । कविताको सौन्दर्यको मज्जा त कविता नलेख्नेले पनि उत्तिकै आनन्दले लिनसक्छ र त्यो कविता बुझेरै हो । कविता एउटा भए पनि बुझाइ फरकफरक हुन सक्छ । व्यक्तिको क्षमता, योग्यता, मानसिक एवं संवेगात्मक स्तर, ऊ बाँचेको परिवेश, उसको भोगाई, उसले जीवन र जगतलाई हेर्ने दृष्टिकोण आदि अवस्था अनुसार बुझाइ फरक फरक हुनसक्छ । सौन्दर्यलाई हेर्ने दृष्टिकोण फरक भए पनि सौन्दर्यमा सबैलाई आल्हादित पार्ने गुण भनेँ समान हुन्छ । (लक्ष्मण थापा)


८. राजुजी, तीखाे सवाल उठानार्थ धन्यवाद । मलाई त व्यक्तिगत रूपमा कुनै पनि Idol मा विश्वास छैन, गर्नुपर्छ भन्ने पनि लाग्दैन । गर्न खोज्नेलाई रोक्नु सकिने पनि हैन, हुँदैन पनि । कविताको सवालमा पनि त्यही हो । लेखक या कविको प्रमुख अर्ग्यानिक दायित्व र अस्तित्व भनेकै सत्य-लेखन र सत्ताको प्रतिपक्षीय प्रतिरोधको संस्कृति निर्माण गर्नु हो, तसर्थ यस्ता औसत लाेकरिझ्याइँकेन्द्री अनुत्पादक शाे/कार्यक्रम, जसले आम मानिसलाई भ्रमात्मक भुलभुलैयामा क्षणिक आनन्द दिइने त गर्छन्, तर ती मूलतः उदार पुँजीवादी मिडिया-सत्ताकाे शोषणकारी साधन र समाजको अन्याय, असमानता र उत्पीडित  पक्षधरहीन चक्रव्युहकाे एक समसामयिक कडी हुन् । यस्ता शाे’मा संलग्न व्यक्ति विशेषभन्दा पनि प्रवृत्तिगत-संरचनागत भ्रष्टीकरण, वैचारिक विलासिता र तथाकथित सिर्जना-उत्थानक वा उद्धारकर्ता बन्न खोज्नु अर्को मूर्खतापूर्ण प्रदर्शन लाग्छ । (छम गुरुङ)


९. कुनै पनि कविता प्रतियोगितामा मेरो सहभागिता रहँदैन ।

अमनप्रताप आफैँमा कविको वंशज हुन्, उनको रगतमा कविता छ । यसैले उनको सोचाईमा मेरो भन्नु केही छैन तर, कविताको स्तरीयता बढाउन र कविलाई थप साधना (आर्थिक, वैचारिक दुवै) तर्फ प्रोत्साहन गर्न शो ल्याएको भन्ने भनाइमा म पूर्ण समर्थन भने गर्न सक्दिनँ । कविता शो’बाट हैन, साधनाबाट परिष्कृत र परिमार्जित हुन्छ ।

यस्ता कार्यक्रमले गैर साहित्यिक पाठकलाई पक्कै आकर्षित गर्छन् नै तर, म कविता प्रदर्शनको विषय होइन भन्छु । प्रचारप्रसारले कवितालाई पाठकको भेलसम्म पुर्‍याउन पक्कै मद्दत गर्छ । त्यसैले कार्यक्रम हुनु नराम्रो पनि होइन ।

उपेन्द्र सुब्बा र विप्लव प्रतीक राम्रा कवि हुन् । अनुप बराल अध्ययनशील कलाकार हुन्, यिनीहरूको साथमा सुरक्षा पन्तलाई पनि जोड्नुको कुनै कारण छ कि ? मैले सुरक्षालाई कलाकारका रूपमा चिनेकोले कविता कत्तिको बुझ्छिन् भनेर भन्न सकिनँ । वास्तवमा कविता लेख्नेले कविता बुझ्न नसक्ने भने होइन, तर कविताको अध्येता भने हुनु पर्‍यो । हाम्रा अधिकांश समालोचकले कविता कहाँ लेख्छन् र ? तर पढेका भने हुन्छन् । (गोवर्द्धन पूजा)


१०. यो कार्यक्रमले कवितालाई व्यापक बनाउन सहयोग गर्छ जस्तो लाग्छ । (अमर न्यौपाने)


११. हरेक क्षेत्रमा नौला प्रयोगहरू भइरहेका छन् । कवितामा पनि कार्यक्रम गर्छन् भने खुसी नहुनुपर्ने या कट्टर आलोचक हुनुपर्नेछ जस्तो मलाई लाग्दैन । आइडल बन्नैका लागि प्रतियोगितामा चाहिँ म जान्नँ । तर त्यसको ढाँचा, प्रकृति कस्तो छ मलाई जानकारी छैन । यदि असल किसिमको रहेछ भनेँ नयाँ भाइबहिनीहरूलाई भाग लिन प्रोत्साहन गर्छु ।

अमनप्रताप अधिकारी कवि क्षेत्रप्रताप अधिकारीको छोरा र बुबाको नाममा कार्यक्रम सञ्चालन गर्ने भन्ने समाचार पढेकी हुँ । अचेल, बाँचुन्जेल नचिनिएका मान्छेका नाममा स्थापित खुद्रामसिना पुरस्कार त थापिरहेका छन् लेखकले । कविको नाममा स्थापित कार्यक्रम हो भनेँ राम्रो हो । यहाँ, पञ्चायतलाई मलजल गरेको कवि भनेर पनि आलोचना आउला ! तर इतिहास फेर्न नमिल्ने कुरा भएकाले दिवङ्गत कविका राम्रा कुरा सम्झिएर नराम्रा कुरा गाड्नुपर्छ जस्तो लाग्छ । केही विषय मन नपर्दैमा त्यसको सारा योगदानलाई नजरअन्दाज गरिनुहुँदैन । हामी पनि इतिहास बन्छौँ । हाम्रा पनि कमजोरी हुन्छन् ।

जजलाई हेरेर बनेको धारणा अनुसार म धेरथोर आशावादी छु । सफल भए राम्रो, यदि असफल भए परीक्षण गरेको हो भनेर चित्त बुझाउनुपर्छ । चुप लाग्नु भन्दा केही गर्नु ठिक हो । यो समय हामी प्रविधिबाट टाढा छैनौँ । त्यसैले कविता प्रविधिका माध्यमबाट जाँदा गजबै हो ।

कविता लेख्ने, परिवर्तन नस्विकार्ने चाहिँ कवि चरित्र हैन । अब पनि कविता दर्शक कि पाठकका लागि भनिरहनु पर्दैन । पढेर रमाउनेले पढ्छन् । हेरेर सुनेर रमाउने हेर्ने सुन्ने गर्छन् । प्रविधिको अचाक्ली विकास र परिवर्तनले यही हो भनेर हामीलाई अडिनै दिएको छैन । तर म कविता पढेर रमाउने गर्छु । मेरो लागि कविता पढ्ने विधा हो । तर कोहीले कविता हेर्ने हो भने भनेँ म हस्तक्षेप गर्दिन । खुल्ला छोडिदिनुपर्छ भन्छु ।

मेरो विचारमा कविता बुझ्न कवितै लेख्नुपर्छ भन्ने लाग्दैन । यदि बुझ्दैनन् भनेँ बुझ्ने गरी लेख्नुपर्छ । मान्छेसँग धेरै विकल्प छन् अहिले । नबुझ्ने कुरामा खासै अल्झिँदैनन् । तर एउटा कुरा पक्का के हो भनेँ धेरैलाई कवि बन्ने रहर छ र कवि बन्न मुस्किल भएको समयचाहिँ हो है । कविता लेख्ने पनि कविताका बारेमा अलमलिएको स्थानमा पनि छौँ । अगाडि आएका नयाँ कुरा स्वीकार गर्न धेरैलाई सकस हुन्छ । साहित्वृत्तबाट पनि सामाजिक सञ्जालमा त्यस्तै स्वर सुनेकी छु । क्षमता हुने आनन्दले कविता लेख्नुस् । (सीमा आभाष)


१२. यो एक प्रकारको विजनेश पोलेसी हो, गायन, नृत्य यसमा छिरिसकेको छ । त्यसकारण कविता छिर्नु पनि अस्वाभाविक भएन । व्यवसायीहरू एटेन्सन क्रियट गर्न लागिरहेकै हुन्छन् । कविताले के काम गर्छ भन्ने कुरामा चाहिँ उहाँहरू स्पष्ट हुनुपर्छ । उहाँ (अधिकारी) व्यवसायी भए पनि यो कुरा बुझ्नुहुन्छ होला भन्ने ठान्दछु । कसैले कवितामा केही गर्छु भनेर उत्साह गर्छ भने ठिकै छ । लोकतन्त्रमा सबैले आफ्नो सृजनात्मक अभ्यास गर्न पाउनुपर्छ । आफूले गरेको मात्रै राम्रो भन्ने कुरा लोकतन्त्रको कल्पना त होइन नि । अमनजीलाई शुभकामाना छ।

म कवितालाई सामाजिक जस्टिसको एक शक्तिशाली माध्यमको रूपमा लिन्छु । कविता आफैँमा जीवनको अप्स-डाउनको लागि साइकोथेरापी पनि हो । कविताको ध्वनि भित्र छिर्न मलाई मनपर्दछ । म कविता पढेर आनन्द लिने मान्छे हो । मलाई सम्बन्धित कविले नै कविता वाचन गर्दा पनि मजा आउँदैन । मलाई आँखाले शब्द छाम्नुपर्छ । कविता आफैँमा प्रस्तुतिको विधा मात्रै भएर सीमित हुने हो कि भन्ने बहस चाहिँ हुन् सक्छ । कवितालाई बजारमा लगियो भनेको सुनियो तर, मलाई कविहरू बजारको बनिसके भन्ने लाग्छ । बजारको आलोचना गर्नेहरू नै बजारको लागि लेखिरहेका छन् । 

निर्णायकहरू कविता बुझ्ने मान्छे हुनुहुन्छ । अनुप बराल नाटकको व्यक्ति भए पनि कविता संस्कृति भित्र हुर्किएको मान्छे हो । राम्रो नाटक बुझ्ने मान्छेले कविता नबुझ्ने कुरा हुँदैन  । सुरक्षाको हकमा पनि त्यो कुरा लागू हुन्छ,  सिनेमा पनि कलाको क्षेत्र हो नि । सिनेमाको नायिकालाई त्यहाँ राख्दैमा ‘सो पिस’ भनेर बुझ्नु चाहिँ हाम्रो बुझाइको सीमा हो ।  त्यहाँ सरिता तिवारी, सीमा आभास वा सरस्वती प्रतीक्षा भएको भए के हुन्थ्यो भन्ने कुरा अर्कै भयो । बाँकी दुई जनाबारे बोल्नु नै परेन, उहाँहरू कवितासँग बाच्न रुचाउने कवि हुन् । तर, यहाँ बजारलाई गाली गर्ने कविहरू जजका रूपमा छैनन्, त्यो किन छैनन् त प्रस्टै छ ।

यस फर्म्याटका कार्यक्रमहरूको समस्या भोटमा छ, मध्यम कविता पनि भोट पाएर अगाडि जान सक्छ । यो विडम्बना चाहिँ यहाँ दोहोरिने वाला छ । अर्को कुरा, यस्ता कार्यक्रमका कारण कविता प्रस्तुतिको विधा मात्रै बन्न सक्ने खतरा हुन् सक्छ । भोटिङ सिस्टम आदिले गर्दा कविताको मर्म जजहरूको नियन्त्रणमा मात्रै पनि रहेन । पब्लिकले धेरै कुरालाई आधार मानेर भोट गर्छ । यो पनि समस्या हो । तर, अडियन्सको रूपमा हाम्रो पनि त मूल्याङ्कन हुन्छ, जज या निर्देशकले गल्ति गरे भने हामीले पनि बोल्न पाइहाल्छौँ ।

मेरो लागि पोइट आइडल भयङ्कर रुचीको विषय होइन । म साह्रै धेरै आलोचना गरिहाल्ने पक्षमा छैन । हेरौँ पहिले, उहाँहरूले कवितालाई कसरी प्रिजेन्ट गर्नुहुन्छ । केही नहुँदै त कसरी आलोचना गर्ने ? चीज हुँदै/नहुँदै हामीहरू हतारिने गर्छौँ । केही होस्, अनि टिप्पणी गर्छु भन्नेछ । (सरिता तिवारी)


१३. पोइट आइडल अत्यन्त नौलो र आधुनिक कुरा हो । आधुनिक कुरालाई स्वागत गर्नुपर्छ । परम्परागत कुरा नभएकाले म दर्शक बन्न इच्छुक छु । यो कार्यक्रममा राम्रा कविता आए भने काव्य-साहित्यको उत्थानमा मद्दत मिल्दछ । कविताको कन्सर्ट होस् भन्ने सदिच्छा राखिनु राम्रै हो । अमनजीलाई शुभकामना भन्न चाहन्छु । यसमा परम्परागत कविता लेख्ने वरिष्ठहरू बाधा आउने सम्भावना देख्छु । आइरहेको पनि देखेको छु ।

राम्रो कविता पढ्दा आनन्द आउँछ, कविको मुखबाट सुन्दा थप मजा आउँछ । मैले हरिभक्त कटुवाललाई सुनेको छु । यसका जज दुवैलाई सुनेको छु । यस्ता धेरै कविलाई सुन्दा म आनन्दित भएको छु । उपेन्द्र सुब्बा र विप्लव प्रतीक दुवै उच्चस्तरका कवि हुन् । उहाँहरू दुवैको वाचन पनि अब्बल छ । अनुप बराल र सुरक्षा जी चाहिँ प्रस्तुतिको मूल्याङ्कन गर्नको लागि हो कि भन्छु । प्रस्तुतिको थोरबहुत मूल्याङ्कन भएको राम्रै हो ।टिभी कार्यक्रम हो भने टिभीवालाको आफ्नै प्राथमिकता हुन्छ, उसले टीआरपीको लागि अलिअलि तलमाथि त गरिहाल्छ नै । (प्रमोद अमात्य)

अस्तु !

सम्बन्धित समाचार