मंगलबार , भाद्र ३०, २०८३

किसानको थाप्लोमा नाचिरहेका टिकटकेहरू

image

नेपाल एक कृषि प्रधान देश हो । व्यवहारमा देख्न नपाए पनि यो रटिरहेको कुरा हो । तर, अहिले समय बदलिएको छ । नेपाल ‘टिकटक प्रधान देश’ भएको छ । मान्छेहरू टिकटकबाट नाम धेरै मात्रामा र अर्थ थोरै मात्रामा कमाउन लालायित भएका छन् । अहिले लोकप्रिय हुनु नै सम्पत्ति भएको छ । या भनौँ लोकप्रियता नै धन बनेको छ ।

बचेखुचेको कृषिले पनि बिस्तारै आत्महत्या गर्ने स्थिति आइसकेको छ । सरकार यसै पनि कृषकहरू प्रति क्रूर बनिरहेको अवस्थामा, प्रविधि र त्यसका प्रयोगकर्ताले झन् क्रूरता देखाइरहेका छन् । पहिला-पहिला खेतबारीमा जनावर लाग्थे, बाढी लाग्थ्यो, पहिरो लाग्थ्यो, यदाकदा सरकार पनि लाग्थ्यो । तर, समाजको साथले कृषकले तिनलाई भगाउन सक्ने तागत राख्थे । या, कुनै समाधानको उपाय निकाल्न सक्थे । अहिले दुस्मनै समाज भएपछि उनीहरूको पनि के लाग्छ? अरुणा लामाको एक गीतले भने झैँ  ‘यसपालि त मनै फाट्यो केले सिउने केले टाल्ने हो?’  को अवस्थामा बाँच्न बाध्य छन्, कृषकहरू ।

हामीले उखु किसानका आशु आफ्नै आँखाले देखेका छौँ । उब्जाएको धानले राम्रो बजार नपाउँदा चिन्तित भएका कृषकहरूको आत्मालाई महसुस गरेका छौँ । मलखाँदको आफ्नो रुवाइ त छदै छ । खेताला/ट्र्याक्टर/हलो/कुलो आदिको जोहो गरेर कृषकले बल्लतल्ल खेतमा बाली लगाउँछ । अब हामी त्यो नष्ट गरेर त्यसको आनन्द लिइरहेका छौँ । किनभने हामी प्रविधिमय समयको हिस्सा हौँ । हामीलाई भोलि के खाने पटक्कै चिन्ता छैन । चिन्ता एउटै छ- भाइरल कसरी हुने ? एक थान मोबाइल बोकेर हामी कुद्छौँ नामको खेती गर्न । हामीले ती किसानको चिन्ता गर्न उहिल्यै बिर्सिसक्यौँ । कसैको मिहिनेतको कदर गर्ने जमाना होइन यो । सायद मिहिनेतको परिभाषा परिवर्तन भएर पनि होला । अचेल अरूले लगाएको खेत खेतमा कम्मर मर्काउनु मिहिनेत हो । बाली नास्नु मिहिनेत हो । किसानले रगत, पसिना बगाएर गरेको मिहिनेत खाइदिने पहिला बिचौलियाहरू हुन्थे । उनीहरू आर्थिक रूपमा मोटाउँथेँ पनि, तर हामीलाई मनोरञ्जनको मोटोपन चाहिएको छ । नामको मोटोपन चाहिएको छ । कसैको रुवाइ देख्न छोडेका छन् हाम्रा आँखाले, देख्यौँ भने पनि त्यसलाई कसरी आफ्नो फाइदाका लागी प्रयोग गर्ने भन्ने सोच हाबी भइसकेको छ हामीभित्र ।

नेपालले बर्सेनि अरबौँको धान लगायतका कृषिजन्य सामग्रीहरू आयात गर्ने गर्छ । त्यसैगरि वार्षिक करिब ५० हजार टन खपत हुने तोरीको ९५ प्रतिशत देशले आयात गर्दै आएको छ । पछिल्लो केही तथ्याङ्कका अनुसार देशले करिब ४२ अर्ब रुपैयाँ बराबरको धान, गहुँ, कनिका, फापर, कोदो, जौँ आदि आयात गर्ने गरेको छ । वर्षैपिच्छे आयात बढिरहेको र निर्यात घटिरहेको अवस्था छ । यस्तो अवस्थामा किसानहरूलाई सहयोग गर्ने त कुरै छोडौँ, उल्टै उनीहरूको खेती मास्न देशका युवावर्ग लागेका छन् ।

केही समयअघि रामपुर नगरपालिकामा ढकमक्क फुलेको व्यावसायिक सूर्यमुखी खेतीमा टिकटक बनाउनेहरूको हुल पुगेको थियो । त्यस्तै बेनी नगरपालिका-१ रत्नेचौरको तोरीबारी पनि भाइरल भयो । भाइरलभन्दा पनि दशा लाग्यो भन्दा ठिक होला । मान्छेहरू फुल चुँड्दै, बारी मास्दै रमाइरहेको भिडियोहरूमा देख्न सकिन्थ्यो । बारी जोगाउन स्थानीय प्रशासनले प्रहरी नै तैनाथ गर्नुपर्ने स्थिति आयो । भर्खरै मात्र बेतना सिमसारमा टिकटकेहरूले आतङ्क नै मच्चाए । टिकटक बनाउनेले कुल्चिएर मात्रै ३० लाखभन्दा बढीको जडीबुटी नास पारे । इटहरीको तरहरामा पनि टिकटकेहरूको भिड पुग्यो र मास्यो क्यामोमाइल खेती । क्यामोमाइलको तेलबाट क्यान्सरको औषधि लगायतका औषधिजन्य सामग्री बनाउने गरिन्छ । वर्षौँ लगाएर गरिएको खेतीमा लापरवाह भएर टिकटक बनाउनेहरू जाइलागे । केही भिडियोमा किसान रोएको पनि देखियो । तर कम्मर मर्काएको हेर्ने बानी परेका आँखा अघि त्यो भिडियो ओझेल पर्‍यो ।

यो यत्तिकै थामिने आँधी भने होइन । भोलि यो भिड धानखेत, गहुँ खेत, तरकारी बारी जाहीँ पनि पुग्न सक्छ । जे पनि नष्ट गर्न सक्छ । केही लाइक र भ्युको आधारको कसैको वर्षभरिको सपनामा ताण्डव गर्न सक्छ । जमाना बदलिएको छ । पहिला पो घरैपिच्छे मान्छेहरू खेती किसानी गर्थे । किसानका पिर मर्का बुझेर कविहरूले कविता लेख्थे । गीतकारले गीत लेख्थे । गायकले गाउँथे । धेरथोर सरकारको पनि ध्यान जान्थ्यो । अहिले किसानको थाप्लोमा नयाँ समस्या आइलागेको छ । टिकटकेहरू, जसबाट आफ्नो हातमुख जोड्ने सम्पत्ति बचाउन उनीहरूलाई हम्मे हम्मे पर्न थालेको छ । अब नेपाललाई कृषि प्रधान देश बनाउन हामी लागी पर्ने की टिकटक प्रधान बनाउन तिर लाग्ने त्यो हाम्रो हातको कुरा भयो । कृषि क्रान्ति गरेर समृद्ध भएका देशहरू झैँ नेपाललाई समृद्ध हुन सहयोग गर्ने, या १५ सेकेन्डको भिडियोका लागी किसानको थाप्लोमा नाच्ने?

Tags:

सम्बन्धित समाचार