‘गुराँस’को राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले क्षेत्र अन्तर्गत तेह्रथुमको तीनजुरे, संखुवासभाको जलजले र ताप्लेजुङको मिल्के क्षेत्र मिलेर (टीएमजे) संरक्षित क्षेत्र हो । यो क्षेत्रलाई तीन जिल्लाको सङ्गमस्थलको रुपमा समेत चिनिन्छ । टिएमजे क्षेत्रभित्र गुराँस बाहेक अन्य प्रजातिका वनस्पति साना र पोथ्रा मात्र छन् ।
यहाँका उच्च भागहरुमा चौकी, गुफा, मंगलबारे, चाँगे, सम्दु, साँघु जस्ता साना–ठूला वस्तीहरु रहेका छन् । संरक्षित क्षेत्रको रुपमा तेह्रथुमका मोराहाङ, श्रीजुङ, पौठाक, ओयाक्जुङ, इसिवु, सम्दु, खाम्लालुङ, वसन्तपुर, सुङनाम, सोल्मा, जिरिखिम्ती र आम्बुङ गाउँ तोकिएका छन् । सो क्षेत्रभित्र ताप्लेजुङका हाम्पाङ, चाँगे, ढुङ्गेसाँघु, साँघु, फाकुम्बा र थिङ्लाबु तथा संखुवासभाका तामाफोक, मादीमूलखर्क, नूनढाकी, सिद्धपोखरी, जलजला र सभापोखरी गाउँहरु पर्दछन् ।
गुराँसका प्रजातिको अवलोकनकै लागि यहाँ वर्षेनी हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । समुद्री सतहदेखि एक हजार ७०० मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइमा टिएमजे क्षेत्र फैलिएको छ । यो क्षेत्र तीन जिल्लाका १३ वटा स्थानीय तह अर्थात् साविकका २५ वटा गाविसमा फैलिएको छ । पदयात्राका लागि रमणीय यो क्षेत्रमा प्रत्येक वर्ष ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने अनुमानित तथ्याङ्क छ ।
नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस यहाँ एकै ठाउँमा पाइने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनिएको छ तर, अहिले गुराँसे वन मासिएर कुल वन क्षेत्रको करीब १५ प्रतिशत मात्रै गुराँस रहेको तथ्याङ्क छ ।
टिएमजे क्षेत्रको गुराँसे वन, विविध प्रजातिको कुहिरे वन, जैविक विविधता, जडीबुटी, सिमसार र तालपोखरी, दुर्लभ प्रजातिका चराचुरुङ्गी तथा वन्यजन्तु लगायतको संरक्षण गर्न स्थानीय स्तरमा राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समिति गठन भएको थियो । टिएमजे क्षेत्रमा चिराइतो, पाखनवेद, लौठसल्ला, बिख्मा, पाँचऔँले, मजिठो, जटामसी, हडचुर, टिमुर लगायत जडीबुटीहरु पाइने गरेका छन् ।
अहिले यो क्षेत्रमा चिराइतोको भने व्यावसायिक खेती समेत भइरहेको छ । बाँकी जडीबुटीहरुको खेतीको सम्भावना भएपनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुगेको छैन । टिएमजे क्षेत्रमा ३३ वटा भन्दा बढी पोखरी रहेका छन् । तीमध्ये सभापोखरी, गुफापोखरी, लामपोखरी, पाँच पोखरी लगायतका पोखरीहरु चर्चित छन् ।
तीनजुरे मिल्के जलजले पर्यटन प्रवद्र्धन केन्द्रले तीनजुरे मिल्के जलजले क्षेत्रको गुफाबजारमा पहिलो पर्यटक सूचना केन्द्र संचालनमा आएको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमको रुपमा रहेको यो क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई एकै ठाउँबाट धेरै जानकारी प्रदान गर्न पर्यटन सूचना केन्द्र स्थापना गरिएको हो । स्थानीय युवाहरुको पहलमा गठन भएको तीनजुरे मिल्के जलजले पर्यटन प्रवद्र्धन केन्द्रले नेपाल ग्रामीण पुननिर्माण संस्थाको आर्थिक सहयोगमा सूचना केन्द्र स्थापना गरेको हो ।
धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुले भरिपूर्ण यो क्षेत्र प्रदेश नं १ कै उत्कृष्ट पर्यटकीय आकर्षणको केन्द्रको रुपमा विकास भइरहेको छ । यस क्षेत्र हुँदै कञ्चनजंघा र मकालु हिमाल भ्रमण गर्ने, तमोर नदीमा र्या्फ्टिङ गर्ने र टिएमजे क्षेत्रमा घुम्न आउनेको संख्या पनि उच्च छ । उनीहरुलाई यस क्षेत्रको महत्वबारे दर्शाउन पर्यटन सूचना केन्द्रसँगै संग्रहालय पनि स्थापना गरिएको छ । संग्रहालयमा यो क्षेत्रको ऐतिहासिक पहिचान, लोक संस्कृति तथा परम्परा झल्किने बस्तुहरु राखिएको छ ।