शुक्रबार , मंग्सिर २३, २०७९

दसैँलाई विशेष बनाउने उपाय ‘घुमघाम’ 

चाडपर्वमा एकै ठाउँमा बसेर धेरै दिनसम्म अत्यधिक खानपान र तास जुवा जस्ता खेलहरू खेल्नुभन्दा घुमघाम उत्तम हुन्छ ।

image

अहिले हिन्दु धर्मावलम्बीहरूले उनीहरूको ठुलो पर्व दसैँ मनाइरहेका छन् । यस वर्षको दसैँ असोज १० गतेबाट सुरु भएको छ । नेपालमा मात्रै नभएर विश्वका विभिन्न भूगोलमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरूले यो पर्व मनाउँछन् । दश दिनसम्म मनाइने यो पर्व मनाउने आफ्नै विधि र प्रक्रियाहरू छन् ।

समय र समाजसँगै दसैँ लगायत अन्य चाड पर्वहरू मनाउने तरिकामा पनि फेरबदल हुँदै आएको छ । खास गरी मानिसहरूको जीवनशैली परिवर्तन हुँदै जाँदा संस्कार संस्कृतिहरू पनि परिमार्जित हुँदै गएका छन् । यद्यपि विकृतिहरू पनि थपिँदै गएका छन् । जसले परम्परागत संस्कृतिको मौलिकतालाई लोप गराउँदै छन् ।

चाडपर्वले मानिसलाई खुसी दिने, पारिवारिक तथा सामाजिक सम्बन्धलाई बलियो बनाउने काम गर्दछ । यस्ता चाडपर्वमा विभिन्न तरिकाले मानिसहरू खुसी प्राप्त गर्दछन् । आनन्द प्राप्त गर्दछन् ।  घरपरिवार, नाता, आफन्त जमगढ गर्ने, खानपान गर्ने, सुख दुःख साटासाट गर्ने, आशीर्वाद बाँड्ने, नाचगान आदि गरेर यो पर्व मनाउने गर्दछन् । यी बाहेक पनि विभिन्न खेल खेल्ने, कार्यक्रमहरूको आयोजना गर्ने, पिङ खेल्ने आदि गरेर मानिसहरूले रमाइलो गर्दछन् ।

तर, पछिल्लो समय घुमघाम पनि एउटा नयाँ संस्कार बनेको छ । चाडपर्वमा अहिले देश विदेशमा घुमघाम गर्ने चलन पनि बढ्दो छ । राम्रो आर्थिक हैसियत भएकाहरू विदेश घुम्न जाने गरेको देखिन्छ । तर, यसरी विदेश वा टाढा घुम्न निस्कँदा परिवार र आफन्तसँगको सामिप्यता बाट टाढा हुन्छ । यस कारण रमाइलो ठाउँहरूमा पुगेपनि नरमाइलो पनि हुन सक्छ । त्यसैले यस्ता चाडपर्वमा आफ्नै देशभित्रका नजिकैका गन्तव्यहरूको घुमघाम गर्न सकिन्छ । यसो गर्दा परिवारसँगै चाड मनाउन पाइन्छ भने घुमघामको मजा पनि लिन पाइन्छ । दसैँ जस्तो दशौँ दिनसम्म मनाउने चाडमा आफ्नै देशभित्र दुई तीन दिन घुमघाम गरेर पनि बाँकी समय परिवार आफन्तसँग बिताउन सकिन्छ । स्वर्ग जस्तो देश नेपालमा घुम्नका लागि गन्तव्यहरूको कमी छैन । सामान्य मानिसहरूले पनि आफ्नै देशका विभिन्न स्थानको घुमघाम गरेर थोरै पैसामा नयाँ तरिकाले चाडपर्व मनाउन सकिन्छ ।

यसरी आफ्नै देशको घुमघाम गर्दा आन्तरिक पर्यटनको प्रवर्द्धन हुन्छ । पर्यटकीय क्षेत्र तथा सम्पदाहरूको प्रचारप्रसार हुन्छ । स्थानीय समुदायको आय बढ्छ । तपाई हामीले खर्च गरेको  पैसा आफ्नै देशमा रहन्छ । यसले राष्ट्रिय अर्थतन्त्रमा पनि राम्रो  टेवा पुराउँछ । त्यति मात्रै होइन, तपाईँ हामीले आफ्नो देशलाई झनै राम्रोसँग चिन्न पाइन्छ । ज्ञानको दायरा समेत बढ्न जान्छ ।

चाडपर्वमा एकै ठाउँमा बसेर धेरै दिनसम्म अत्यधिक खानपान र तास जुवा जस्ता खेलहरू खेल्नुभन्दा घुमघाम उत्तम हुन्छ । अत्यधिक खानापनले स्वास्थ्य बिग्रन सक्छ । तास जुवा जस्ता खेल खेल्दा ठुलो धनराशि हार जीत हुन सक्छ । यसले जित्नेलाई खुसी भएपनि हार्नेका लागि दुखी बनाउँछ । झैझगडा समेत हुन जान्छ । यसले नाता आफन्त र समाजसँगको सम्बन्ध बिगार्छ । समाजका तनाव अशान्ति सिर्जना हुनसक्छ ।

त्यसैले घुमघाम अत्यन्तै उपयुक्त तरिका हुन सक्छ । यसका लागि टाढा जानुपर्छ भन्ने छैन । आफ्नो घर गाउँ नजिकैका गन्तव्यहरूमा जान सकिन्छ । डाँडा, पाखा पखेरा, खोला, गुफा, झरना विभिन्न धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक स्थल लगायत ठाउँमा जान सकिन्छ । हाइकिङ जान सकिन्छ । साहसिक क्रियाकलापमा रुचि हुनेहरूले बन्जी, क्यानोइङ, बोटिङ, प्याराग्लाइडिङ, स्काइ साइक्लिङ गर्न सकिन्छ । तर, यी साहसिक खेल तथा सुविधा सबै ठाउँमा उपलब्ध नहुन सक्छ । यसरी आन्तरिक पर्यटक बनेर दसैँ लगायत चाडपर्वलाई विशेष बनाउन सकिन्छ ।

दार्शनिक सन्त अगस्टाइनले भनेका थिए कि, ‘यो संसार एउटा किताब हो, जो यात्रा गर्दैन, उसले एउटा पाना मात्रै पढ्छ ।’  हुन पनि हो, हामी एकै ठाउँमा मात्रै बसिरह्यौँ भने अर्को ठाउँको ज्ञान कसरी प्राप्त हुन्छ ? फेरि तपाईँले भन्नु होला, पढेर, सुनेर, अथवा स्क्रिनमा हेरेर एकै ठाउँमा बसेर संसार देख्न सकिन्छ । यो आंशिक सत्य हो । पुरा सत्य होइन । हामी आफैँले प्रत्यक्ष अनुभव गरेको जस्तो स्थायी ज्ञान अन्य स्रोतबाट प्राप्त गर्न सकिँदैन । भनिन्छ नि, ‘अरूले भनेको हजारौँ पटक सुन्नुभन्दा आफैले एक पटक हेर्नु राम्रो हुन्छ ।’

सम्बन्धित समाचार