टुकुचाको सुरु काठमाडौंको बाँसबारीबाट भएको देखिन्छ ।
काठमाडौँ । साउन १२ गते काठमाडौं महानगरपालिकाले एउटा सूचना जारी गर्यो । सूचनामा स्पष्टसँग स्थान तोकिएको थियो ।
सूचनामा लेखिएको थियो – “काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवन काठमाडौं प्लाजाको उत्तरतर्फदेखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रमा काठमाडौं महानगरपालिकाका सहरी व्यवस्थापन विभागबाट जारी गरिएको स्वीकृत नक्साविपरीत, भवन निर्माण मापदण्डविपरीत र नक्सा स्वीकृत नै नलिई घर टहरा निर्माण गरेको देखिएको हुँदा त्यस्ता प्रकृतिका भवनहरु यो सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र हटाउनुहुन सम्बन्धित सबै घरधनीहरुलाई जानकारी गराइन्छ । अन्यथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ७ र कामपाको नियमानुसार कारबाही गरिने व्यहोरासमेत सम्बन्धित सबै घरधनीहरुलाई सूचित गरिन्छ ।”
यसरी स्थान नै तोकेर जारी भएका सूचना निकै कम रहेको महानगर स्रोत बताउँछ ।
त्यसअघि बालेनले काठमाडौंमा अनधिकृतरुपमा बनेका टहरा भत्काउने अभियान थालिसकेका थिए । बानेश्वरदेखि न्युरोडसम्म डोजर लिएर आफैँ पुगेका थिए ।
त्यसले काठमाडौंवासीलाई केही झस्काएको थियो भने सामाजिक सञ्जालदेखि मिडियासम्म बालेनको वाहवाही भइरहेको थियो ।
टुकुचा के हो ?
टुकुचाको सुरु काठमाडौंको बाँसबारीबाट भएको देखिन्छ । गंगालाल अस्पताल हुँदै आउँछ । बाँसबारी, चन्डोल, बालुवाटार, चिनियाँ दूतावासको छेऊ, नारायणहिटीको कुना, जयनेपाल हुँदै गएर काठमाडौं प्लाजापछि भृकुटीमण्डपको छेउबाट अन्ततः त्रिपुरेश्वरमा वाग्मतीमा मिसिन्छ ।
पहिले काठमाडौंका चारवटा नदीको मात्रै मापदण्ड तोकिएको थियो । वाग्मती, विष्णुमती, मनोहरा र धोबीखोलाको ।
योबाहेक अरु खोलाको मापदण्ड थिएन । विसं २०६४ साल मंसिर १ गते नेपाल सरकारले निर्णय गरेर अरु खोलाको पनि मापदण्ड तोक्न थालिएको थियो । खोला छोप्न पाइँदैन भन्ने मापदण्ड पनि त्यसबेला नै बनेको हो ।
टुकुचामै मापदण्ड मिचेर बनाइएको भनेर केही स्थानमा सम्पत्ति रोक्का पनि भएका छन् । खोला किनारबाट चार मिटर नछाडी बनाएपछि कारबाहीका लागि सिफारिस गरिएको थियो ।
नापी विभागले पनि टुकुचा खोलाको सतहको रेखांकन गर्न कानुनीरुपमा नमिल्ने जवाफ महानगरपालिकालाई लिखितरुपमा नै दिइसकेको छ ।
विसं २०३२ सालमा गरिएको नापीमा टुकुचा खोला नै नदेखिएकाले अहिले रेखांकन गर्न नमिल्ने जवाफ महानगरलाई दिएको नापी विभाग स्रोतले जानकारी दियो ।
काठमाडौंमा २००० सालमै जमिन नापी गरिएको थियो । त्यसपछि २०२१ र २०३२ मा गरिएको थियो ।
विसं २०३२ सालको नापीमा पनि जय नेपाल हलदेखि कमलादी मोडसम्मको ४४० मिटर क्षेत्रमा टुकुचा खोला देखाइएको छैन ।