बुधबार , बैसाख १९, २०८१

उक्ति-प्रतियुक्ति : बर्खायाम लागेसँगै तपाईँ केकस्ता कुराहरू सम्झिनुहुन्छ ?

झरी पर्न थालेको छ । झरी परेसँगै आँप, लिची, आरुबखडा, आल्चा, आरु, नास्पाती, खनायो, फर्सीको मुन्टा, लगायत फलफूल र तरकारीहरूको याद आउँदो हो । आफूले बालककालमा काँक्रो चोरेको, काँचो आँप खाएको, जामुनो टिपेको पनि सम्झना हुँदो हो ? बर्खायाम लागेसँगै तपाईँले सम्झिने मीठो सम्झना के हो ? केकस्ता कुराहरू सम्झिनुहुन्छ ?

image

उक्ति-प्रतियुक्ति (अंक-३):

प्रथमपटक झरीमा कहिले रुझेँ, ठ्याक्कै याद छैन । तर यस्ता धेरै झरीहरू याद छन्, जसले मलाई अहिले पनि रुझाइरहन्छन् । एउटा भन्थ्यो, ‘मान्छे तातो दिनलाई भन्दा चिसो दिनलाई बढ्ता याद गर्दछ ।’ ऊ सायद सही भन्थ्यो । मलाई गर्मीयामका घटनाहरू उति साह्रो याद छैनन् । भएका पनि हराइजाउन् भन्ने कामना बाँकी नै छ । 

ऊ पहाडको मनुवा थियो, हिमाल या चिसा ठाउँका मनुवाहरू यसो नभन्दा पनि हुन् । जे होस्, झरीको सम्झनाको कुरा हुँदै छ, अन्यत्र किन अलमलिनु ? अप्रत्याशित प्रसंगहरूको छत्री ओढेर जलमग्न सम्झनाका बाछिटाहरूलाई किन तर्काउनु ? दर्के झरीसँग किन तर्किनु?

एउटा बिरालो थियो । खैरो-खैरो, सेतो-सेतो । आँखा साना । नङ्ग्रा लामा । ‘म्याउँ’ को आवाज अझ मसिनो । मेरो मस्तिष्कमा झरी भन्दा पहिले सो बिरालोको सम्झना छ । खरको छानोदेखि ब्वाङ्ग हामफालेर उसले’ म्याउँ’ गरेको थियो । त्यो म्याउँ नै मेरो पहिलो सम्झना हुनुपर्दछ, जो झरीसँग सम्बन्धित छ । कसैले जबजब शहरमा छत्री छोडेर भिज्दै कतै ओत खोज्न पुग्छु, ‘कस्तो भिजेको बिरालो जस्तो’ भनिदिन्छ, मलाई उसैगरी ‘म्याउँ’ गरिदिन मन लाग्छ । ..म्याउँ । 

बहुत सम्झनाहरू छन् । दर्किरहूँ क्यार !

यो त्यतिबेलाको कुरा, जतिबेला गाउँघरका वन ‘सखापान्मुख’ थिए । माओवादी द्वन्दले गाउँ मात्रै होइन वनलाई पनि तर्साइरहेको बखत थियो । भन्नेहरू भन्थे, ‘यस्ता झरी परेका दिन माओवादीहरू वन छिर्छन्, त्यतै सेल्टर लिन्छन् ।” भन्नेहरू यो पनि भन्थे कि, “बासबोटे वनमा बाघ छ, स्याउला काट्न जाँदा होसियार हुनुपर्दछ ।” मैले धेरैपछि बुझे, माओवादीलाई बाघ भन्नेहरू र बाघलाई माओवादी भन्नेहरू नै गाउँलेलाई डराएर वन फँडानी गर्दा रहेछन् । दाउरा र स्याउलामा लडिबुडी गर्दा रहेछन् । 

पछि बुझेको कुरा अघिअघि नै किन भन्नु ? पहिले, पहिल्यैको कुरा गरौँ न । जरादेखि पलाउनुको मजा नै बेग्लै छ नि यार..। 

त्यो दिन । त्यो दिन बिहानैदेखि झरी परेको थियो । दिनभर झरीमा रुझ्नु रुझेको त्यो पहिलो दिन होला ।  केशव, समीर दाइ र म बासबोटे वन कुर्न गएका थियौँ । बासबोटे वनमा बाँस चाहिँ उति थिएन । उसो त, हाम्रो काम बासबोटे वनमा बाँस थियो कि थिएन भनेर हेर्ने भन्दा पनि वनमा स्याउला/दाउरा चोर्न आउनेहरूलाई समात्ने थियो । 

वन कुर्ने चलन गजबको थियो । गाउँपिच्छे एक-एक वटा लौरो थियो । तीन गाउँमा तीन लौरो । मेरो डाँडागाउँ । अघिल्लो दिन बेलुका नै वन कुरेर फर्किएका कृष्ण दाइले हाम्रो घरमा लौरो पठाइसकेका थिए । हरेक बेलुका लौरो आइपुग्नुको मतलब भोलिपल्ट बिहान सो लौरो टेक्दै दिनभर वन कुर्नु हुन्थ्यो । वन कुर्ने बहानामा अन्यत्र टहलिएमा, कुनै विदेश भागेको नवदुलाहाको नवदुलहीसँग मस्किएमा या दूध पसेका मकैका घोगा पोलेर खोलाछेउमै रंगमंगिएमा दोस्रो दिन फेरी वन कुर्नु पर्थ्यो । दोस्रो दिन पनि नसुध्रिएमा, अनेकन् हर्कत देखाइरहेमा वन खुलेका दिनहरूमा दाउरा, काठ ल्याउनबाट सो घरलाई वञ्चित गरिन्थ्यो । 

घरका अलि जीऊ-ज्यान भएकाहरू झरी परेसँगै खेत ल्याउन जान्थे, रोपाई गर्न बार्बिसे-अर्चले पुग्थे । हामी १०-१२ वर्षका ठेट्नाहरू चाहिँ झरीमा रुझ्दै ‘माओवादी उर्फ बाघ उर्फ वन डकैत’ बाट प्राण भन्दा प्यारो ‘हरियो बासबोटे वन, मैदेलीको धन’ जोगाउन युद्धमोर्चामा होमिन्थ्यौँ । वन कुर्ने दिन असारमासमा पर्थ्यो, स्कुलमा यसै बन्द हुने नै भए । असारे होमवर्कलाई एकातिर मिल्काएर लौरो समाएर युद्ध मोर्चाको अंग्रपंक्तिमा होमिनुको मजै बेग्लै थियो, स्वादै अर्कै थियो । (यतिखेर सम्झँदा एकपटक मुटु भुक्लुक्क भयो..।)

वन कुर्नुको साहसिकतामा रोमाञ्चकता त थियो नै वन छिचोल्नुको कष्टसाध्यहरू पनि अत्यन्त थिए । वनमा काफलको बुट्यान भेटिँदा भने वन साह्रो प्रिय हुन् आइपुग्थ्यो । एकनास झर झरले एउटा त्रासमय वातावरण पनि सिर्जना गर्दो रहेछ । तर, समूहमा हुनुको फाइदा, हामी बासबोटे वनको एकनासतालाई चिर्न सफल रह्यौँ ।  वन कुर्दा पालन गर्नुपर्ने नियमहरू भने साह्रो थियो । नियम पालना पनि गर्नु थियो, झरीदेखि ओतिनु पनि थियो । बेलुका कुनै ‘वन सीआइडी’ले ममी-बुबासँग काम ठगेको कुरा सुनाइदिएमा चाकको फिलोमा परेको रातो डाम नियाल्न अनेक हत्कण्डा लगाउँदा तीन दिन मुन्टो एकातिर मात्रै बटारिनुको आंगेबांगे परिस्थितिसँग रुझ्नुको विकल्प रहन्न थियो । 

हामी तीन युद्ध मोर्चामा होमियौँ तर वन सीआइडीहरूके के चाल पाए भने, तीनै जना ठेट्नाहरू मात्रै भए । यिनीहरूलाई आजको सिङ्गो दिन वन छोडेर हुँदैन । यसपछि गाउँका एकजना असल स्वाभाविक प्रौढ आइमाई हाम्रो पछि लागिन् । ती प्रौढ आइमाई ठ्याक्कै मेरो ठुलोममी पर्थिन् ।..पछि बडो फकाइफुल्याई ठुलोममीलाई घर फर्काइयो ।

यसपछि के थियो र ? झरी थियो, हामी थियो । थियौँ सियौँ गोली मारौँ । हामी पनि थियो, झरी पनि थियो । हाहा..

पारी भित्तो हुस्सु र कुहिरो भित्र हराएको थियो । निर्झर वनमा एकनास झरझर मात्रै थियो । वन र झरी अनि झरीले रुखका पातलाई हिर्काउँदा आएको आवाज ।..निःशब्दता यति खेरै हो आउने । अवाक् यस्तै बेला हो हुने । सम्झँदा त अवाक् छु, भोग्दा कति थिए होला ? मुटु एकफेर पनि भुक्लुक्क गर्‍यो ।

Rain in the jungle - Free Stock Photo by Janis Urtans on Stockvault.net

त्यसदिन वन कुर्ने त्यस्तै यस्तै भयो । खोला छेउ भिजेका हाँगाबिँगा बटुलौँ र पल्लो भित्ताको मकैबारी छिरेर एक थुन्से जति दुधे मकै भाचेयौं । जामुनाको फेद मुनि मनकामना होइन, धुवाँ रंगमंगियो । कति मकै पोलिएन, पिल्सियो मात्रै । कति मकैका घोगा दाँतमै फसिगए । कतिकति जिब्रोमै डढेर सखापै भए । रमाइलो के भयो भन्दा जामुनाको बोटमुनि धुवाँ पुत्पुतियो । हाम्रा लागि त्यही ठुलो कुरा भयो । झरीले निथ्रुक्क भिजेर दुधे मकै चपाएको त्यस दिनलाई सम्झँदा यतिबेला मलाई लागिरहेछ, “ज्या, बित्थैमा उमेरको भइएछ ।” 

त्यस दिन खाएको ऐँसेलु, जामुनो, दुधे मकै, केशवको एन्ड्रोइड फोनमा पहिलोपटक हेरेको ब्लु फिल्म, खोलामा बगाएको चप्पल, आँप टिप्न जाँदा चिप्लिएको अनि बेलुका घर फर्किँदा चिसोले दाँत ‘किटकिट, किटकिट’ गरेको सबै सम्झनायोग्य छ । बासबोटे वनलाई एक दिउँसो बिताउँदा हामी तिनले एउटा मात्रै के गरेनौँ भने, ‘हामीले आफूलाई सम्झिएनौ ।’ यसप्रकार त्यसपछि म कहिल्यै हराएको छैन, यो हराईलाई सम्झँदा पनि सामुन्नेको कफी चिस्सिएको मैले थाहा पाइन् । यार..

त्यस दिनको भोलिपल्ट छेर्नु छेरेको प्रसङ्ग अरू कुनै बेला सुनाउला अनि त्यही दिन वनमा स्याउला र दाउरा चोर्न आएकाहरूसँग मिलेर मकै खाएको प्रसङ्ग पनि त्यतिबेलै सुनाउला । त्यो दिन झरीले एउटा के फाइदा गरेको थियो भने, वन पाले उर्फ वन सीआइडीले हाम्रो बदमासी पक्डिएन । पाले दाइ, त्यो दिन मध्य दिनमा वनमा हुस्सु होइन, चिसो दाउरा पुत्पुतिएको थियो । ..

अर्को घटना सुनाऊ ? नसुना भने पनि म मान्ने वाला छैन क्यारे !

खरको छानो । माटोको पिँढी । दुबो उम्रिएको आँगन । चिप्लो बाटो । रातो माटो । यति भएपछि देउसिरे भन्नु नि यार.. । तर कुरा मध्य श्रावणको हो । 

भयो के भन्दाखेर, पधेरोमा पानी लिन जाँदा प्लास्टिकको गाग्री माख्लो कान्लोमा र म तल्लो कान्लोमा पुगेको थिएँ । चप्पल एक्कासि छिन्दा सानो लडिएन । लड्नुको जम्माजम्मी एउटी कारण थियो, काँधमा प्लास्टिक गाग्री बोकेर परिरहेको पानी मुखमा पार्छु र घुटुक्क निल्छु भन्दै बाटो छोडेर कान्लातिर अघि बढ्नु । कुट्मिरोको हुर्कँदै गरेको पोथ्रामा खुट्टा अल्झिएपछि गाग्री माख्लो कान्लोमा पुग्नु पनि एउटा ताजुबलाग्दो घटना लाग्छ । 

यसपछि स्टिलको गाग्री बोक्न पर्‍यो । जसमा ४ माना पानी बढी जान्थ्यो । तर, त्यो गाग्री पनि कुच्च्याइयो । दोष झरीको थिएन, न चिप्लो बाटोको नै । दोष के थियो भन्दा दुई घण्टासम्म पधेरोभन्दा माथि बसेर आकाशको पानीले गाग्री भर्छु भन्ने बालसुलभ मुर्ख्याइँको थियो । दुई घण्टा त्यसो गर्दा पनि पानी नभरिएपछि रिसको झ्वाँकमा एक लात हान्दा गाग्री ‘चाल्नो’ भएको थियो । यसपछि घरमा मेरो विशेषण ‘ढङ्ग नभाको’ भन्ने परेको थियो । आजभोली पनि कुनै काम बिग्रँदा यो विशेषण घरतर्फबाट मेरो कानसम्म आइपुगिरा हुन्छ ।..

अझ अर्को,  

साउनेपानीमा साउन लागेसी मूल फुट्थ्यो । यसैले खनायोको बोटमुनिको त्यस ठाउँको नाम खनायोपानी नभए ‘साउनेपानी’ रहन पुगेको थियो । पहाडमा हुर्किएकाले पिउने पानीको दुख थियो । ठुल्पँधेरो पानी भर्नेको ठुलो लाम हुन्थ्यो तर, साउनेपानीमा हाम्रो (डाँडागाउँ)को मात्रै हकदाबी लाग्थ्यो । उसो त, साउनेपानी कृष्ण दाइको जग्गामा पर्थ्यो । उनले साउने पानी जस्तो कलकल बग्दो मुहान प्रकृतिबाट बक्सिस स्वरूप पाएका थिए । यसकारण उनको नाक सानो लामो हुँदैन थियो । यसो निहुरिएर चिया खाँदा नाकको टुप्पोले गिलासको पिँध नै भेट्ला जस्तो । ..बढ्तै लाम्चो थियो यार त्यो बुढाको नाक । 

छोडौं । साउनेपानी पुराण कहौँ । त, भयो के भन्दाखेर, साउनेपानीमा एक वर्ष मूल फुटेन । साउनको पहिलो हप्ता निख्रिन लागिसकेको थियो, साउनेपानी रसाउने सुरसार गरेन । कृष्ण दाइको नाक नै हराए जस्तो भयो । कल्पना गर्नुस् त, एउटा मान्छेको अनुहारमा नाकै छैन । लौ ठ्याक्कै त्यस्तो खोपिल्टे अनुहारलाई सम्झँदै किस्सा-ए-झरीलाई सम्झिऊ । 

अब गर्न सकिने केही पनि होइन, त्यही भूमे पूजा, नाग पूजा आदित्यादी बाहेक । गरियो । तर, साउनेपानीले सामसुम केही गरेन । दुईटा तीतेपातीको पात निखारेर दुई तिर ठडाइयो । अनि तिनमा कपास बेरियो । गाइको गोबरलाई हातले बटारेर ठ्याक्कै पुरुष जननेन्द्रिय (नाग) आकार दिइयो । पुच्छर तिर अलिकति गोबर निमोठेपछि चाहिँ नाग हो भन्ने जस्तो देखियो । नागलाई अझ रुपाकार दिन दुई/दुई गेडा मासको दाना गोबरको टाउको तिर राखियो । यसपछि रातो अबिर र पहेँलो केशरी दलियो । लोग्नेस्वास्नी नाग देवताहरूलाई आह्वान गरियो । तर, न नाक पलायो, न पानी रसायो । बेफ्वाँकमा साउनेपानीमा हुलदङ्गा मात्रै भयो । 

अघिल्लो वर्षहरूमा हुन्थे भन्थे, यस ठाउँमा केराका बोक्रा ल्याएर धारा बनाइवरी जनै बटार्दै कृष्ण दाइले गायत्री मन्त्र भट्याइरहेका हुने थिए । शिव दाइले पित्तलको गाग्री भरिरहेका हुन्थे । सुवास दाइले काठमाडौंबाट बोकी ल्याइएको ‘कालो झोल (कोक)’ को रित्तो बोतल भरिरहेका हुन्थे । हजुरआमाले साउनेपानीबाट एक गाग्री पानी ल्याई तुलसीमा पानी हालिरहेकी हुन्थिन् । पल्लाघरे काकी दिउँसोपख आफ्ना मास्टर लोग्नेका कपडामाथि पिना दलिरहेकी हुन्थिन् । तल्लाघरे भाउजू पेटिकोट बाँधेर मध्यान्हमा जिउ पखालिरहेकी हुन्थिन् । 

तर, यी सब यतिखेर ठुल्पँधेरोको बडेमानको लाइनमा ठिङ्ग उभिएर एक गाग्री पानीको लागि हानथाप गरिरहेका थिए । गैरी गाउँलेहरू डाँडा गाउँलेहरूमाथि बडो तिखो नजर वाण हानिरहेका थिए । उनीहरू मनमनै सोचिरहेका थिए, “काकाकुले यी डाँडागाउँले साउनेपानी पनि छोड्दैनन्, ठुल्पँधेरो पनि छोड्दैनन् । कुन दिन पेट फुल्लिएरै मर्छन् यिनीहरू । मरुन्, आनन्दै हुन्छ ।” 

सुक्दै छन् पानीका मूल, जोगाउने कसरी?

तर, डाँडा गाउँलेहरू पीरमर्का कसले बुझ्ने ? यहाँ म आफैँ ५/७ दिनदेखि बलेसी थापेको पानीले गु धोइरहेको थिए । उतिबेला आजजस्तो ‘खुला दिसामुक्त क्षेत्र’ भन्ने नै थिएन । तिँदुको बोटमा कोइलीले कागका बच्चालाई दाना खुवाइरहँदा म शौच गरिरहेको हुन्थे । असुरोको पातले दिसा पुछ्नु हुन्न भन्ने अर्ति बुबाबाट पाएकाले एक अम्खोरा पानी म लिएर गएकै हुन्थे । कहिलेकाहीँ त यस्तो हुन्थ्यो कि, चर्पी गरेर फर्किँदा जिऊ पुरै भिजेको हुन्थ्यो ।  

जे होस्, साउनेपानीमा त्यस साल पानी आएन । त्यसपछिका सालहरू पनि पानी आएन । पछि म सहर छिरीसकेपश्चात्को कुनै वर्खायाममा साउनेपानीमा मूल फुट्यो रे भन्ने सुनेको थिएँ, त्यसयता त्यो पनि बन्द छ। 

आज बुझ्दछु, साउनेपानीमा मूल फुट्नु छोड्नुको एकै कारण थियो, गाउँले आफ्नो छातीबाट सडक हिँडाउनु । सडक खन्ने क्रममा साउनेपानीको मूलमा दखल पुगेको थियो । तर, यो कुरा त्यतिबेला कृष्ण दाइले बुझेका थिएनन्, डाँडा गाउँले पानी । आजभोली देख्छु, साउनेपानीमा एक दुई प्लास्टिकका खानेपानी बोतल मिल्किरहेका छन् । मन साह्रो दुख्छ । मेरो अनुहारमा पनि आजभोली नाक छैन । विकासको नाम गरिएको विनाशको लज्जाबोधले मलाई साह्रो निमोठिरहन्छ, चिमोटिरहन्छ ।

अरू सुनाऊ ? होइन अरूको सुनौँ क्यार !


नवीनबन्धु पहाडीको अनुभव :

May be an image of 2 people, people standing and outdoorsमेरा लागि कहिले मधुमय आह्लाद र कहिले आपद् र कहिले जीवनका रङ्गमय सपना जस्तै स्मृतिका कुनाकानीमा चलचित्रका बिम्बमय छाप छ।

वर्षाको आरम्भसँगै मकै हुर्किँदै गएका र हरिया घाँसपातले बाटोघाटो डम्म ढाकेका हुन्थे । चोर आयो भनेर रात पर्नासाथ हुल्लादङ्गा प्रशस्त हुन्थे । हात हातमा अगुल्टो बोकेर चोर लखेट्न भन्दै कान्ला हाम्फालेको सम्झना ताजै छ । ठूला मान्छेहरू चोर लखेट्न जाने र हामी केटाकेटीहरू गुन्द्रीको भकारी बनाएर लुकी बसेको सम्झँदा आजभोलि हाँसो उठेर आउँछ । 

‘त्रिशूली नदीमा पुल बनेको छ रे । त्यहाँ मान्छे काटेर हाल्छन् । बोरामा हालेर भुरा लगे रे’ भन्ने अनेक अफवाहले गाउँ आक्रान्त हुन्थ्यो, हाम्रो बालवय र त्यो पनि वर्षायाममा । यस्तै यस्तै हल्लाहरूले डरमर्दो भएर एक्लै सुत्नु, बस्नु र कतै जानु भनेको यमराजको मुखमा गएजस्तै हुन्थ्यो । 

झमझम वर्षे झरी झम्किएपछि खोलानाला मात्र नभएर खोल्सा खोल्सीले पनि आतङ्क मच्चाउँथ्यो । हजुरआमा कालिमाली वर्षा भन्नुहुन्थ्यो । घर ओरपर र बाटोघाटो सबै लतालहरा तथा हाँगा बिङ्गा लर्केर छोपिसकेका हुन्थे । उसमाथि आकाशमा कालो बादल र अन्धरो-बन्धरो वर्षाद्ले घेरिएपछि कसलाई डर नलाग्दो हो ?

साथी सबैभन्दा माथि बालवयमा नै हुँदो रहेछ । नेवारपानीबाट गोठालो जाने १०, १५ जनाको टोली हुन्थ्यो । निमारे डाँडा र पोखरे खोलाको आसपास गाई/बाख्रा लगिन्थ्यो । तरुना तन्नेरीहरू एक्ला एक्ले सियाँल बस्न जान्थे । हामी केटाकेटी घर बनाइ खेल्ने, उन्यूको सोत्तर काट्ने गर्थ्यौँ । नजिकै बिरोटा खेत थियो । त्यहाँ अग्ला अग्ला मकै हुन्थे र एक एक हातका घोगा फल्थे तन्नेरहरू मकै चोरेर ल्याउँथे र हामीले सँगालेका उन्यू, दाउराका उरुङ्खात खलियो लगाएर खोस्टै समेत पिर्सल्ने, पोल्ने र खाने चलन थियो । काम भने हामीले धेरै गर्थ्यौँ तर मकै भने हामीलाई प्रसाद दिएजस्तै अलिकति दिइन्थ्यो । भोक लागेर हो कि, धेरै जना भएर हो त्यो बेला खाएको मकै अग्घोरै मिठो लाग्थ्यो । मकै पोल्दा पोल्दै घाम डुब्दै जान्थ्यो, अँध्यारोले जमिन छोप्दै ल्याउँथ्यो । आकाशबाट बिजुलीको चहकले आँखा तिरिमिरी बनाउँदै अगुल्टो फाल्थ्यो मेरो मन भने डरको मारे कायल हुन्थ्यो र अँध्यारामा ठुटो देखे पनि भूत वा भुराचोरको सन्त्रासले डल्याउँथ्यो । 

छाता हुँदैनथ्यो । केराको पात वा पिँडालुका पातको छाता बनाएर पानी निकै छेकेजस्तो गरिन्थ्यो तर, प्रकृतिलाई प्रकृतिको उपहार किन हुन्थ्यो र ? 

साउन १ गते लुतो फाल्ने सक्रान्ति भनिन्थ्यो । जति झरी परे पनि कुकुर दाइनो, चुल्ने सिरु, कुरिलो, जोर अम्बा, जोर मकै, जोर नास्पाती आदि अनेक वस्तु जम्मा गरेर मोठमा पूजा गरी ‘लुतो लैजा पारि गाउँले’ भन्दै अगुल्टो चारै दिशा मिल्काउने अनौठो चलन सायद अहिलेका पुस्ताले देख्नै पाएनन् । जस्तै झरी परे पनि यो त्यतिबेलाको नित्यकर्म जस्तै थियो । 

झरीसँग पौठेजोरी खेल्दै सकी-नसकि रोपाइँमा बिउ बोक्नु, तन्नेरीहरूको हिलो र प्रेमको माझमा पर्ने पात्र बन्नु हाम्रा मनसबिम्बमा नउप्कने गरेर  टाँसिएका छन् ।


प्रज्वल अधिकारीको अनुभव :

May be an image of 2 people, beard and people sittingझरी परिरहेछ..,

झरीको आवाज सहरतिर अचम्मको हुन्छ । झरी परेपछि सहर आनन्द मनाउँछ । सफा गरिन्छन् बार्बे क्युहरू, भुत्ल्याइन्छ कुखुराहरू । तोडिन्छन् सिल प्याक रक्सीहरू र मौसमको च्यालेन्ज भन्दै मानिसहरू गाउँछन्- झरीको सबैभन्दा सुमधुर गीत । 

गाउँमा छँदाको कुरा..

जब धुम्मिन्थ्यो आकाश, आमा बिस्कुन उठाउने तयारी गर्नुहुन्थ्यो । बा खेत रुँग्न तयार रहनुहुन्थ्यो । झरीले निथ्रुक्क भिजेको खरको छानो बाफिन नपाउँदै फेरि भिज्नुपर्ने बाध्यताले निधारमा गाँठा पार्थ्यो र बलेसीमा तरक्क चुहिन्थ्यो । आमा मकै, भट्ट भुट्न भान्सा छिर्नुहुन्थ्यो र म पिँढीमा बसेर मकैका पात बजाउँदै नाचिरहेको झरीको उन्माद डराइ डराइ हेर्थेँ ।

झरी जब वर्षामा परिणत हुन्थ्यो, घर पछाडिको कान्लो करेसालाई अँगालो मार्न आउँथ्यो । घर अगाडिको आँगन मकैबारीमा लम्पसार पर्थ्यो । करेसाबाट सुटुक्क पस्थ्यो पानी अगेनाको आगो खान र एकैपटक चिसो हुन्थ्यो- अगेनो, मकै र मन । 

दिनभर र रातभर परेको पानी थाम्न नसकेको खरको छानोले आत्मसमर्पण गर्थ्यो र सुतिरहेका हाम्रो ओछ्यानमा वर्चस्व जमाउँथ्यो, पानी । आमा अँध्यारोमा टुकी बालेर ताउलो, लोटा, अम्खोरा, डेक्ची थाप्न व्यस्त हुनुहुन्थ्यो । पिँढी हिलो हुन्थ्यो, तलो हिलो हुन्थ्यो, अंगेनो, चुलो र ओछ्यान एकैपटक भिज्थे र हामी बार्दलीमा बसेर पानी रोकिने कामना गर्थ्यौँ । 

मलाई झरी कहिल्लै रमाइलो लागेन । झरी परेपछि हाम्रो पुरानो घर खुब रुन्थ्यो । घरका भित्ताबाट माटोका पाप्राहरू निस्किन्थे, पिँढीको डिल भत्किन्थ्यो, आँगनमा लेउले आफ्नो आधिपत्य जमाउँथ्यो । भर्खर रोपेर सकिएको धान खेत पहिरिन्थ्यो । पहिरिएको खेत रोक्न गएका बा ठाडो खोलो तर्न नसकेर घर आउनै सक्दैनथे । 

झरी परेपछि बाख्राका पाठाहरू साह्रै बिरामी पर्थे, उनीहरूलाई पखाला लाग्थ्यो । माउ बाख्राहरू पानीको मारले कुक्रुक्क परेर बसेका हुन्थे । आमा झरीसँग युद्ध लड्दै घाँस काट्न बारी छिर्नुहुन्थ्यो । भिजेको घाँस खान परेकोमा भैँसी नाक खुम्च्याउँथ्यो । भिजेको घाँस बोकेर आएकी आमालाई चिसोले समाथ्यो । ठाडो खोलासँग युद्ध जितेर आएका बा लखतरान देखिन्थे । भिजेको ओच्छ्यानबाट उठेको म ठगठग काँपिरहेको हुन्थेँ । घर काँप्थ्यो, बाख्रा काँप्थे, भैँसी काँप्थ्यो र पहिरोको डरले मकैका बोटहरू थर्थराउथे । 

कर्कलाको पातमा परेको झरीले निहुर्याइदिन्थ्यो, उसको शीर । काँक्रा, घिरौँला र चिचिन्डाका झ्यालहरू पहिरोभित्र हराउँथे । जब जब झरी पर्छ  म सम्झिन्छु हाम्रो घरको पुरिएको काली बाख्रो । टाउको पुरिएर अत्तालिएर खुट्टा फट्फटाइरहेको गज्जुवा गोरु र पहिरोको आक्रमण सहन नसकेर ज्यान फालेको काली भैँसी ।

आज सहरमा छु र पनि झरी मन पर्दैन मलाई । झरी परेपछि म पुनः गाउँको त्यही पुरानो घरमा पुग्छु । अँगेनो सुकाउन संघर्ष गरिरहेकी आमा, घर थाम्न टेको बनिरहेका बा र अगाडि पछाडिबाट पहिरोले च्याप्दै आइरहेको दृश्य देख्छु र नमिठो ऐँठनले चिच्याउँछु ।


अभिषेक राज सिंह थापाको अनुभव :

No photo description available.तनहुँकाे महिबाल कोट। कोट अर्थात् परापूर्व कालमा सेन राज्यको सहायक दरबार । एक्लो थापा खलक हामी मात्र गाउँमा थियौँ । मेरो हजुरआमा ८० वर्षको उमेरमा डाले घाँस काट्न रुख चढ्दा लड्नुभएको थियो, हाल हामीसँगै हुनुहुन्छ ९० वर्षको उमेरसँग दौतारी गाँसीरहनु भएको छ । 

उमेरले ९ वर्ष पूरा गर्ने केही दिनसम्मकाे त्यो अविस्मरणीय बाल्यकाल, बालसुलभ गुणहरू साँच्चै नै गज्जब अनि आनन्दमय थियो । 

घरकाे केही फराकिलो हिस्सामा रहेको सीमारेखा वरिपरि बडेमानको पर्खालद्वारा सुरक्षित गरिएको जङ्गली साथीहरू बाघ, भालू, चितुवा, स्याल, दुम्सी, बँदेल आदि जस्ता प्रकृतिका सुन्दर उपमाहरूबाट । हाम्रो पुर्खाहरू धेरै समयदेखि साधना, तन्त्र-मन्त्र-यन्त्र, योग पद्धतिमा रुचि राखेकाले हजुरआमाको वाणी “अहिले सम्म यो पर्खाल नाघेर कुनै जनावर अनि नराम्रो शक्तिले कदम राख्न सकेको छैन र राख्न पनि सक्दैन ।’ अहिलेसम्म सकेको छैन तर जङ्गली साथीहरूले चाहेको खण्डमा सहज रूपले घर आँगनमा आफ्नो जादुमय झलककाे दृश्यावलोकन गराउन कुनै तारतम्य गर्नुपर्दैन। 

कृषि अनि खेतीपातीबाटै नै हाम्रो जीवनशैली, बाँच्ने आधारसँगै जीवनयापन हुन्थ्यो । सानै छँदा कौतुहलतावश आमालाई ‘हाम्रो खतबारी कति छ’ भन्ने उत्सुकताका अंश अझै पनि उस्तै स्वर अनि ध्वनिमा गुन्जिन्छ, “तेरो आँखाले जहाँ जहाँसम्म देख्छस् त्यति नै हो, बेसीकाे बाहेक।” अझै पनि उस्तै लाग्छ, जति हेर्‍यो उत्ति नै आफ्नो लाग्छ । नलगी जाने कुरा अहिले बुझ्दैछु । 

जबसम्म देखेँ खरको छानो भएको घर नै देखेँ ।  दलिन उही घुँडा टेक्दा आँखाले आँगनबाट तलपट्टि केही हदसम्म बारीहरू हेर्न मिल्ने गरी बनेको थियो । मकै, भटमास, कोदो, धान, तोरी,  लगायतका अनेकन् थरीथरीका खानयोग्य उब्जाउहरू उब्जनी हुन्थ्यो । आँगन तल केराघारी, सुन्तला घारी, ऊँखु घारी, सखरखण्डकाे घारी, बेलौतीकाे बोट सँगै भोगटे अनि मुन्तला/ कागतीले आफ्नो कर्तव्य सधैँ निर्वाह गरे । सुख/दुःख नबुझे पनि हरेक चोटमा, खुसीमा, हाँसोमा, दुःखमा सधैँ एकतर्फी प्रेम ग रे। सम्झनामा सधैँ छन्। 

देउराली भन्ज्याङ नजिकै अनि खहरे खोला झैँ बग्न सामर्थ्य राख्ने खोल्साहरूले गाउँघरकाे वातावरण  निकै नै रमणीय बनाइरहे । अलि चिसो हुने ठाउँ भएकोले झरी खयर झरी झैँ लाग्थ्यो ।

त्यही झरी जसले झरीको आत्मनुभुद गरायो, बालापनको बालसखा, अधिक प्रेम भएको साथी । निराश अनि हतास कहिले पनि भएनौँ हामी । बेजोडसँग थर्थराएर आउनु अगावै नै छानाबाट मोतीका दाना झरेझैँ पानीका थोपाहरू खरको सुइरोबाट सललल बग्दै तल दलिनकाे बाटोलाई छिचोलेर तल मेरो मुखमा पर्दापर्दै सधैँ झैँ हावाले हो कि के ले हो, सधैँ झैँ आँखा नाक तिर पुग्थ्यो l 

बेलामौकामा यो प्रदूषित सहरको स्वच्छताप्रति काे घमन्डमा बहकिएर यसो झरी पर्दा टाउकोलाई आकाश तिर फर्काउँछु अनि आत्तिन्छु । एकैपल्ट मात्रै मुखमा पर्दा स्वर्गीय आनन्द आउँथ्यो, यो सौभाग्य पनि मेरो निधारमा श्रीखण्ड चन्दन अक्षता लगाइएको जस्तो सार्थक भए अनजानमा यसै । खल्तीमा भएको भुटेको मकै अनि पछाडि च्यातिएको जस्तो तर एक मुठ्ठी भटास् अटाउने खल्ती (बगली)काे भटास् पनि पानीले नरम बनाइदिन्थ्यो ।

‘खाऊँ भने दिनभरिकाे सिकार नखाऊँ भने कान्छा बाउका अनुहार’ भने झैँ हुन्थ्यो दिन झरी पर्दा । विद्यालय जानु पर्दैनथ्यो, बिमार भएर, चोटपटक लागेर होइन, ‘शिक्षक मा’ आएर पनि होइन । विद्यालयकाे छानाबाट पानी कक्षा कोठामा पसेर खुट्टा डुबाउने भएको हुँदा अक्सर झरीकाे महिना छुट्टी हुन्थ्यो । यस्ता दिनहरू कैयन बिते ।

सखरखण्डको व्यवस्था उपयुक्त समयमा नै हुन्थ्यो, दिदीहरूको हुकुम ‘पानी परेसी धनसार (मूल घरपछि गाई वस्तुहरू राख्ने घर)मा गएर मकै पोलेर, सखरखण्ड उसिनेर  खानुपर्छ, अहिले हतार नगर’ भन्ने हुन्थ्यो । समयकाे महत्त्व त्यही थियो हाम्रो – कटुस खान, काफल खान चिनेका नचिनेका साना विशाल पहाडहरूसँग दोस्ती बनाउँदै अनेकन् खनायोबाट मज्जा लुटेर, बारी बारी अगाडि आउने मकैका वित्तहरूबाट दुधालु मकै कोपार्दै गाउँ घर डुल्ने । नास्पाती, आरु, त्यस्तै मज्जाले पाइने घरपिच्छे । 

हजुरआमा प्राय जसो, कोदोकाे ढिँडो अनि काँडे पतनाकाे आचारसँगै आफ्नै बारीको मासकाे दाल बनाउनु हुन्थ्यो, अनि सुत्ने बेलामा तात्तातो दूध दुई डाडु सबैलाई, म सानो भएर कुराउनीसँगै एक डाडु बढी पाउँथे । 

सिस्नु टिप्न झरीकाे दिन निकै दौड धूप गर्नु पर्थ्यो । पानी पर्दा सिस्नुले जति स्वतःस्फूर्त पोल्ने भन्दा कम पोल्थ्यो,  टिप्न सहज हुन्थ्यो ।

पोलेको मकै /भुटेको मकै अनि साथै गुन्द्रुक काे अचार सिमसिमे झरीमा बारी बारी हिँड्दै खेतालालाई खाजा पुर्‍याउन जाँदा बाटोमै केही गुन्द्रुक खाँदै गर्दा  सबै खाजा भिज्थ्यो, अनि सबैको सब कुरा सुन्न पर्थ्यो।

आफ्नै बारीमा हलुवावेद, काँक्रा, आरु, अनार, आँप लगायत अन्य धेरै थरी थरीका वनस्पतिहरू भएकोले होला चोर्न भन्दा पनि बढी बाँड्ने गर्थे। झरीको अर्को फाइदा भनेको, घर मथि गुफा थियो मेरो लागि, चितुवा बस्छ, कतिले बाबा बस्ने गर्थे, अहिले छैन, धेरै भयो कोही जाँदैनन् भन्ने कुरा गर्थे । म झरीकाे केही समय त्यहाँ गएर झरीले रुझाईरहेको गाउँ हेर्ने गर्थे । हिजोआज झरी काम पर्ने गरेको रहेछ, सायद मलाई पो बोलाइरहेको हो कि? 

के बहकीयूँ की त फेरि अनायासै?

“कहिले काहीँ लाग्छ सन्किएर बेपत्ता भइदिऊ
कहिले काहीँ लाग्छ मात्तिएर अथाह माया गर्दिऊ
फगत जिन्दगीभर
ए झरी !’

जस्तै आरु धेरै खाएर रगतमासी भएको घटना ताजा नै छ । काँचो आँपकाे अचार अनि नुन खोर्सानीसँग रुखमै बसी दिन बताएको समय पनि याद छ ।  मेला लाग्ने गर्थ्यो झरी महिनामा महादेव काे मन्दिरमा,  खुँदो पानी खूब खाइन्थ्यो । ठुला बडा ले हाम्रो रमिता उनीहरूलाई समय व्यतीत गर्ने तरिकाले खुदोमा रक्सी मिसाइदिएर मज्जा लुट्ने प्रयासमा सफल भएका अझै याद आउँछ। यस्ता उस्ता कहानीहरू त धेरै पो छन् त !


जीवन खत्रीको अनुभव :

No photo description available.म सम्झिन्छु, ‘जताततै हरियो । हेरिरहूँ लाग्ने । आँखालाई शीतल दिने । कोमल पाउला, लहलहाउँदा मकैमा बोटहरू । कोदो र धानको ब्याड । झपक्क हरियै संसार…!’

रामेछापको पहाडी भूभाग, कमेरो र रातमाटोले पोतेको घर । बेला बेला परिरहने झरीले बगाएर घर मैलो हुन्थ्यो । बिहान पोतेको दलन दिउँसो पानीले ओसिन्थ्यो । आँगनको कच्याक कुचुक्क हिलो अगेनोसम्मै पुग्थ्यो । पाखो नाघेपछि भेडीखोरको जङ्गल, काफल पाकेर रातै । जति खाए पनि भयो ।

बर्खाको बेला स्कुल छुट्टी हुन्थ्यो । मेरै भागमा आइपुग्थ्यो बाख्रा चराउने काम । नागबेली परेका बाङ्गाटिङ्गा बाटा, बाटामाथि र मुनी लहरै फलेका ऐँसेलुका सुनौला दाना । ऐँसेलुका कोप्रा परेका काँडाले घोच्दाको चस्स दुखाई, अलि मास्तिर गुराँस फुल्ने पाखा । 

भर्खर उम्रेका सिरुका हरिया पात । बाख्रा चरिरहन्थे । अलि पर्तिर चुथ्रो पाकेर नीलै हुन्थ्यो वन, चुथ्रो टिप्यो खायो । साथीहरू बारीबाट असारे आरु ल्याउँथे, र ल्याउँथे खोस्टामा बेरेर नुन खुर्सानी । आहा..अचेल सम्झिदा पनि पानी आउँछ मुखमा । 

असारको पहिलो हप्तातिरै मूल फुटेर छताछुल्ल हुन्थ्यो । बग्दै गरेको पानीलाई कुलो खन्दै जोडेर बाँसको सुप्लाबाट पानी बगाएर गुराँसको पातको घट्ट बनाएर घुमाउँदाको आनन्द । आहा..!

पानीलाई कुलोमा बगाउँदै पोखरीमा जम्मा गर्थ्यौँ र पौडेझैँ पानीमा छप्लाक छुप्लुक्क पार्नु पनि खुब सुखद कुरा हुन्थ्यो । रोपाइँ पनि असारमै त हुन्थ्यो, खेत खन्नु, जोत्नु र हिल्याउनु, आली ताछ्नु, र चिल्याउनु, ब्याड ओखल्नु, खेतालाहरूसँगै मिठो खानु.सबैभन्दा धेरै त हिलो खेल्नु आहा..!

झमझम परिरहेको पानीमा भिज्नु । पानी नपरेको दिन रुख हल्लाएर पातको पानीले रुझ्नु, प्लास्टिकको छाता नओढी भिज्दै भिज्दै घर पुग्नु र बुबाआमाको गाली खानु पनि सम्झना सुन्दर हुन अब सकियो नि ती दिनहरू..!


अविनाश श्रेष्ठको अनुभव : 

No photo description available.मेरो बाल्यकालको पाँच वर्षदेखि नौ वर्षसम्मको उमेर कुश्मा, पर्वतमा बितेको हो । त्यति बेला गाउँघर वरपर, बारीहरू भएका एकान्तस्थलहरू अनि गाउँबाहिरका बगैँचा र चउरछेउछाउ रुखैरुखले भरिएका थिए । जताततै चराहरूले गुँड लाएका देखिन्थे । जता हिँड्दा पनि चराचुरुङ्गीहरूको कलरवको सङ्गीत घन्किरहेको सुन्न पाइने, गजबको समय थियो त्यो । साँच्ची नै स्वर्गजस्ता थिए विसं २०१८ देखि २०२३ सम्मका मैले देखेका नेपालका गाउँहरू । 

वर्षातको समयमा गाउँका खरको छानो भएका घरहरू निथ्रुक्क रुझ्थे । खरका छानाबाट बलेनीमा झर्ने पानीमा रुझ्दै कुदिरहन्थ्यौँ हामी । घरका आँगनतिर, करेसाबारीतिर झरीमा रुझ्दै दगुरादगुर गर्दा आमा, दिदीहरू, फुपूहरूले पानीमा रुझ्नुहुँदैन भनेर फकाउँथे, नमान्दा झपार्थे । कहिलेकतै आमले रिसाएर सातो काढ्नुहुन्थ्यो ।

आफ्नै बारीमा आरुबखडा, लिची र आँपका केही बोट थिए । थाँक्राहरूमा लटरम्म फलेका हुन्थे क्राँकाहरू, कतै चोर्न जानै पर्दैनथ्यो । लिची त कति धेरै फल्दथ्यो भने छरछिमेक र इष्टमित्रहरूलाई बाँढ्नुहुन्थ्यो आमा । हो, हामी चुत्रो, ऐँसेलु, बयर खोज्दै घरबाट केही टाढा खोल्सा र पाखापखेरा चाहार्थ्यौं- झरीपानीमा रुझ्दै वा स्याखु ओढेर । 

झरी वर्षातकै याममा वनमा बेल पाक्थे र वनै बसाउँथ्यो, मनै मगमगाउँथ्यो । हामी झुन्ड बनाएर बेल झार्न घोँचा बोकेर रनबन चाहर्थ्यौँ । केटाकेटी बेलाका एकजना चकचके साथी थिए, नामै उनको चोरे । उनी अरूका बगैँचामा पस्थे र काँचा आँपका चिचिलाहरू चोरेर ल्याउँथे । हामी घरबाट पिधेंर ल्याएका नूनखुर्सानीमा डोब्दै मज्जा मान्दै काँचा आँपको अमिलो मोहनीमा रमाउँथ्यौ । 

केटाकेटी बेलामा धेरै नै झरी वर्षातमा रुझेकाले होला आज यो उमेरमा पनि झरी दर्कन थालेपछि मेरो मनभित्र अनेकौँ विगत स्मृतिहरू ओहोरदोहोर गर्न थाल्छन् । वर्षाकालका अनेकौँ बिम्बहरूले मनमस्तिष्कमा अनन्त सपनाहरू रच्ने गर्छन्  आज पनि मभित्र । 

वर्षाॠतु मेरो प्रिय ऋतु हो । त्यसैले वर्षाऋतु वर्षैभरि रहिदेओस् भन्ने लागिरहन्थ्यो एउटा उमेरको बाटोमा  हिँडिरहँदा..!


गोविन्द गिरि प्रेरणाको अनुभव:

No photo description available. वर्षा लाग्दा सिमसिमे पानीमा रुझेको, रुझ्दै भिज्दै चिचिला काँक्रा, बोडी झ्याङबाट लुकिलुकी टिपेर खाएको, ओठ चिसोले थर्थराएको रमरमी यादले झस्काउँछ ।


जनक कार्कीको अनुभव :

No photo description available.`म सधैँ वर्षातमा घुम्न रुचाउँछु किनभने कसैले म रोएको पत्ता लगाउन सक्दैन ।´ चार्ली चापलिनको यो भनाई निकै प्रसिद्ध छ । वर्षातमा भिजेको बेला रुँदा कसैले नचिने पनि भोलिपल्ट जब चिसोले समातेर नाक रुन थाल्छ नि त्यसपछि त औडाह भइहाल्छ । 

झरी आफैँमा प्रकृतिको सुन्दर उपहार हो । रातभर झरी परेपछिको बिहानीमा ताजगी हुन्छ । डाँडाकाँडाले स्नान गरेर निर्मल हाँसो हाँसिरहेको जस्तो लाग्छ । झरीको रातमा सुत्नुको आनन्द कुनै ध्यानमा समाधिको नजिक-नजिक पुगे जस्तो अनुभव हुन्छ । 

झरी आफैँमा एउटा सुन्दर सङ्गीत जस्तो लाग्छ । जब जस्ता पाताको ड्रमसेटमा झरीको स्टिकले तालमा ताल मिलाउन थाल्छ, यो मन चङ्गा भइजान्छ । झरीको रात इन्सोमिनिया हुनेहरू पनि निदाउन सक्छन् जस्तै लाग्छ । झरीसँग प्रत्येक मान्छेको संस्मरण लुकेको हुन्छ । प्राय झरी र बालापनको सम्झना धेरै हुन्छ मान्छेको जीवनमा । 

झरी पर्दा घर छेउको सडकमा बगेको पानीको भेलमा हस्तकलाको पहिलो सीप कागजको डुङ्गा बनाएर बगाउँदाको खुसी कौन बनेगा करोडपतिमा जितेको करोड भन्दा पनि अमूल्य रहेको स्मरण हुन्छ । अनि ती डुङ्गा बनाएर भेलमा बगाएको दिन सम्झिँदा याद आइहाल्छ भारतका गजल सम्राट जगजित सिंहको गीत ।

`ये दौलत भी ले लो शोहरत
भी ले लो भले छीन|
मुझसे मेरी जवानी मगर
मुझको लौटा दे
बचपन का सावन
वह कागज़ की कश्ती
वो बारिश का पानी
वह कागज़ की कश्ती
वो बारिश का पानी ।´

के गर्नु गएको समय फर्केर आउने भए यति धेरै महत्त्वपूर्ण कहाँ लाग्थ्यो होला र ? झरी कहिलेकाहीँ एक्लै आउँदैन, झरी साथी लिएर पनि आउँछ । झरीको मिल्ने साथी हो हुरी । जब झरीले हुरीले लिएर आउँछ, त्यसपछि झरीको मजा सजामा बदलिन बेर लाग्दैन । त्यो बेला मेरो घरको अगाडि पीपलको बूढो रुख थियो । हुरीले बूढो रुखको हड्डी भाँचेर जस्ताको छानालाई कच्याककुचुक पार्न आउने हो कि भनेर त्यस्तो रात प्राय छिमेकीहरू हाम्रो घरमा शरण किन आउँथेँ । 

बालापनकै स्मृतिमा जम्मा भएको अर्को झरीको याद भनेको कहिलेकाहीँ ठुलो झरी पर्दा आउने भेल घरभित्र पस्थ्यो, एकाएक घर ‘मिनी फेवाताल’ हुन्थ्यो । कहिलेकाहीँ मस्त निन्द्रामा सुतेको म बबुरोको कञ्चटमा जस्ताबाट बाटो खोज्दै थोपाथोपा पानीले स्पर्श गर्थ्यो । 

झरीको बेला भिजेर नाँच्न पनि खुब मनपर्थ्यो । एउटा गीत छ, कुन फिल्मको हो थाहा भएन, `रेन इज फलिङ छमाछम छ्म, लड्की ने आँखा मारी गिर गए हम´ यो गीतमा भिजेर नाँच्दा आफू धर्मेन्द्र नै हो र हेमा मालिनीले आँखा झिम्काएको फील हुन्थ्यो ।

अहिलेको झरी मन परे पनि बच्चामा जस्तो निस्फिक्री झरीलाई आत्मसात् गर्न सकिँदैन । आजभोली झरी पर्‍यो छाता खोजिन्छ, रेनकोट झिकिन्छ । बरु सुरुप्प दुईचार गिलास कफी रन्काइन्छ भुटेको मकैसँग ।


मारुती सापकोटाको अनुभव :

झरीमा रुझ्दै स्कुल गएको, झरीमा पानीसँगै खेल्नका लागि स्कुल जाँदा चप्पल लगाउन मन लाग्ने अनि जहिल्यै पनि झरीमा चप्पल नै लगाएर हिँड्ने गर्थेँ विशेषत खेतमा गएर हिलो खेल्दै रोपाई गरेको अनि असारे गीत सुनेको बढी याद आउँछ मेरो घरको नजिकै बारीमा आल्चा, आरुको बोट थियो मज्जाले फल्थ्यो साथीहरूलाई बाँड्दै खाएको ती दिनहरू आजभोलि पनि सम्झिरहन्छु

 

 

 

 

 


रोशन परियारको अनुभव :

No photo description available.एक शब्दमा भन्ने हो भने बर्खायाम लाग्ने बित्तिकै म खरको (फुसको) छानो सम्झिन्छु । जहाँबाट पानी रसाएर अथवा यसो भनौँ न प्वालहरूबाट पानी चुहिएर सारा जिन्दगी भिजाउँथ्यो । म नचुहिने कुनामा बसेर भोलिपल्टको घाम पर्खिरहेको हुन्थेँ । 

मेरो बचपनले मसँग गरिबीको निकै यादगार लडाइँ लडेर बिदा भएको छ । आजभोलि पनि बर्खायाम लागे पछि पहिरोमा परेर घर बगाई दिन्छ भन्ने त्रासले निद लाग्दैन ।हुन त झरी परेपछि कविहरू मीठा कविताको रचना गर्छन् । मलाई झरीले आज पनि डरलाग्दो युद्धका लागि आव्हान गरिरहन्छ ।

अर्को कुरा त फेरि केही गुलिया पाटाहरू पनि छन् । तर तितोको मात्रा ज्यादा भोगेको जिन्दगीले गुलियो भुल्दो रहेछ, भुल्न बाध्य भइँदो रहेछ अर्थात् समयले सम्झिनै दिँदो रहेनछ ।

 

 

 

 


यो पनि पढ्नुहोस्;

बचपनका रमाइला खेलहरूलाई सम्झँदा 

उक्ति प्रत्युक्ति : रुनुहुन्छ ? किन पो रोइँदो रहेछ ?

सम्बन्धित समाचार