शुक्रबार , जेठ १५, २०८३

‘भ्यालेन्टाइन्स् डे’ मनाउन उपयुक्त काठमाडाैं वरिपरिका गन्तव्यहरू

तपाईँ नेपालको सङ्घीय राजधानी काठमाडाैं उपत्यकामा हुनुहुन्छ र भ्यालेन्टाइन्स डे कहाँ गएर मनाउने अर्थात् कहाँ कुन ठाउँमा गएर आफ्नो प्रेमी/प्रेमीकालाई प्रेम व्यक्त गर्ने भन्ने सोच्दै हुनुहुन्छ भने सर्वप्रथम तपाईँलाई बधाई दिन चाहन्छाैँ, किनकि तपाईँ पहिलो सही गन्तव्यमा आइपुग्नु भएको छ । अब तपाईँले थुप्रै गन्तव्यहरूमध्येबाट एउटा छनौट गर्न सक्नुहुनेछ । हामीले काठमाडाैं उपत्यका वरपरका सुन्दर अनि शान्त पर्यटकीय गन्तव्यहरूबारे चर्चा गर्दै छौँ । जहाँ पुगेर तपाईँले आफ्नो प्रेम व्यक्त गर्न सक्नुहुनेछ ।

image

अहिले संसारभरि नै प्रेम गर्नेहरूको महोत्सव ‘भ्यालेन्टाइन्स वीक’ चलिरहेको छ । प्रत्येक वर्ष फेब्रुअरी ७ देखि १४ सम्म ‘भ्यालेन्टाइन्स वीक’ मनाउने चलन छ । सात दिन सात फरक-फरक प्रेम दर्साउने क्रियाकलापहरू गरेर यो सप्ताह मनाउने चलन छ ।

‘भ्यालेन्टाइन वीक’को पहिलो दिन फेब्रुअरी ७ रोज डे बाट सुरु हुन्छ । त्यसपछि प्रपोज डे (८ फेब्रुअरी), चकलेट डे (९ फेब्रुअरी), टेडी डे (१० फेब्रुअरी), प्रोमिस डे (११ फेब्रुअरी), हग डे (१२ फेब्रुअरी), किस डे (१३ फेब्रुअरी) र त्यसपछि फेब्रुअरी १४ मा भ्यालेन्टाइन्स डे मनाउने चलन छ ।

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको सुरुवात पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानीसँग सम्बन्धित छ । तत्कालीन रोमनको सम्राट क्लाउडियस द्वितीयलाई आफ्ना सैनिकहरू प्रेम र विवाहमा लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने डर थियो । त्यसैले आफ्नो राज्यमा प्रेम गर्न निषेध गरेका थिए । सोही राज्यका सन्त पादरी भ्यालेन्टाइनले सम्राट्को निर्णय धर्मविरुद्ध हो भन्ने मान्थे । उनलाई अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने लाग्थ्यो । त्यसैले भ्यालेन्टाइनले युवायुवतीलाई प्रेम गर्न प्रेरित गर्दै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे । आफ्नो आदेश नमानेको निहुँमा पादरी सन्त भ्यालेन्टाइनलाई सम्राट्ले ईपू २७० को १४ फेब्रुअरीका दिन मृत्युदण्ड दिए । उनै पादरीको सम्झनामा यो दिनलाई प्रणय दिवसको रूपमा मनाउने चलन सुरु भयो ।

एक हप्तासम्म प्रेम दर्साउने विभिन्न क्रियाकलाप गरेर भ्यालेन्टाइन्स वीक मनाए पनि अन्तिम दिन अर्थात् फेब्रुअरी १४ लाई विशेष महत्त्वका साथ मनाउने गर्दछन् । सो दिनलाई नै प्रेम दिवसको रूपमा मनाउने चलन छ । विशेषगरि पश्चिमा देशहरूमा मनाइँदै आएको यो दिवस केही वर्षदेखि नेपालका युवाले पनि विशेष रूपमा मनाउन थालेका छन् ।

युवायुवतीले एकार्काबीच व्यक्त गर्न नसकेको प्रेमलाई व्यक्त गर्ने र प्रेममा भएका जोडीले माया अझ प्रगाढ बनाउने दिनका रूपमा यस दिवसलाई उपयोग गर्छन् । विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रूपमा प्रणय दिवस मनाइन्छ ।

प्रेम दिवस मनाउन उपयुक्त वातावरणको आवश्यकता पर्दछ । भिडभाड, अशान्त अनि कोलाहल वातावरणमा प्रेम व्यक्त गर्न कठिन हुन्छ । प्रेम व्यक्त गर्नका लागि शान्त, सुन्दर र प्रेमील वातावरणको आवश्यकता पर्दछ, जहाँ दुई आत्माको मिलन हुन सकोस् ।

तपाईँ नेपालको सङ्घीय राजधानी काठमाडाैं उपत्यकामा हुनुहुन्छ र भ्यालेन्टाइन्स डे कहाँ गएर मनाउने अर्थात् कहाँ कुन ठाउँमा गएर आफ्नो प्रेमी/प्रेमीकालाई प्रेम व्यक्त गर्ने भन्ने सोच्दै हुनुहुन्छ भने सर्वप्रथम तपाईँलाई बधाई दिन चाहन्छाैँ, किनकि तपाईँ पहिलो सही गन्तव्यमा आइपुग्नु भएको छ । अब तपाईँले थुप्रै गन्तव्यहरूमध्येबाट एउटा छनौट गर्न सक्नुहुनेछ । हामीले काठमाडाैं उपत्यका वरपरका सुन्दर अनि शान्त पर्यटकीय गन्तव्यहरूबारे चर्चा गर्दै छौँ । जहाँ पुगेर तपाईँले आफ्नो प्रेम व्यक्त गर्न सक्नुहुनेछ ।

दक्षिणकाली–चन्द्रागिरि

चन्द्रागिरिकाे भालेश्वर महादेव मन्दिर

चन्द्रागिरि पदयात्रा दक्षिणकाली नजिकै सतिखेलबाट गर्नु उपयुक्त हुन्छ । जहाँबाट हात्तीवन रिसोर्ट हुँदै चन्द्रागिरितर्फ यात्रा अघि बढाउन सकिन्छ । चन्द्रागिरि हाइकिङ ट्रेलमा ढुङ्गा छापिएको बाटो छ । उकालो बाटोको सल्लाघारीमा चल्ने सिरेटोले ज्यानै शीतल बनाउँछ । एक घण्टाको ठाडो उकालोको यात्रापछि चम्पादेवी मन्दिर पुगिन्छ । मन्दिरको दर्शनसँगै तेर्सो बाटोको यात्रा पनि सकिन्छ । त्यसपछि उकालो बाटोको यात्रा सुरु गर्नुपर्छ । जङ्गलै जङ्गलको तेर्सो–उकालो यात्रा केही कष्टकर हुन सक्छ । चन्द्रागिरिबाट माछापुच्छ्रे, अन्नपूर्ण, मनासलु, गणेश, लाङटाङ, दोर्जेलाक्पा लगायत धेरै हिमशृङ्खला छर्लङ्गै देख्न सकिन्छ । यात्राका क्रममा भोक प्यास मेट्न प्रशस्त होटल, क्याफे भेटिन्छन् । लगभग एक घण्टाको उकालोपछि बल्ल २५ सय मिटर अग्लो चन्द्रागिरि पुगिन्छ । जहाँ भालेश्वर मन्दिर छ । फर्किँदा केबुलकार प्रयोग गरेर आनन्द लिन सकिन्छ ।

चित्लाङ–मार्खु

चित्लाङ उपत्यका

थानकोटबाट १६ किमि कच्ची बाटो उकालो–उरालो गर्दै पार गरेपछि मात्र चित्लाङ पुग्न सकिन्छ । मकवानपुर जिल्लामा पर्ने यो रमणीय सानो उपत्यकामा विशेष गरी बाख्राका दूधबाट बनेका चिज र ट्राउट माछाको स्वाद चाख्न पाइन्छ । साथै होमस्टेमा गरिने मिठो मुस्कानसहितको आतिथ्यले हरकोहीलाई दोहाेर्याएर त्यहाँ पुग्न लालायित पार्ने गर्छ । त्यस्तै कुलेखानी विद्युत् गृह भएको इन्द्र सरोवरको मनमोहक दृश्यले पनि त्यहाँ पुग्नेको मन लोभ्याउँछ । जहाँ तालमा ढुङ्गा सयर गर्न सकिन्छ । यहाँ पनि प्रशस्त होमस्टे रिसोर्ट र होटल छन् । जहाँ यात्रालाई विश्राम दिन सकिन्छ ।

चाँगुनारायण–नगरकोट

chisapani

नगरकाेटबाट देखिएकाे दृष्य

भक्तपुर चाँगुनारायण मन्दिर परिसरबाट तेलकोट हुँदै डाँडाकाँडा चहार्दै नगरकोट चुचुरो पुग्दा चिसो सिरेटोले आनन्दित बनाउँछ । पसिना पुछ्दै हिमशृङ्खला हेर्दा स्वर्गीय आनन्द प्राप्त हुन्छ । नगरकोटमा अत्याधुनिक होटल रिसोर्ट त छँदै छ । स्थानीय स्तरमा खुलेका लज र होमस्टेले पनि उत्कृष्ट सेवा दिन्छन्, जुन तुलनात्मक रूपमा ज्यादै सस्ता छन् । नगरकोटमा भ्युटावरबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य हेर्न पाइन्छ । काठमाडौंबाट २० किलोमिटर दूरीमा रहेको नगरकोट गर्मीमा पनि शीतल महसुस गर्न सकिन्छ । चाडबाडमा होटल बन्द हुन सक्छ । यात्रामा निस्कँदा रुटको होटल बुक गरेर मात्र जानु मनासिब हुन्छ ।

गोदावरी–फुल्चोकी

गाेदावरी

२८ सय मिटरको अग्लो फुल्चोकीबाट हिमालका चुचुरादेखि तराईका समथर सुन्दर फाँट देखिन्छ । गोदावरीकुण्डबाट छोटो बाटो चापाखर्क हुँदै फुल्चोकी पुग्न सकिन्छ । नौधाराबाट वैकल्पिक बाटो मोटरबाटो पनि छ । फुल्चोकीको टुप्पोबाट कचौरा आकारको काठमाडौं छर्लङ्गै देखिन्छ । सहरका हरिया फाँट, पहाडमा कपासझैँ बादलका रुवा छरिएको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यहाँ जङ्गल सफारीको क्रममा विभिन्न चरा अवलोकन गर्न पनि पाइन्छ । शिखरमा फुल्चोकी माईको दर्शनपछि फेदीमा गोदावरी कुण्ड, लाम कुण्ड ,गौरी कुण्ड, नौधारा, पञ्चदेवल र सिद्धेश्वर महादेवको मन्दिरमा दर्शन गर्न सकिन्छ ।

लेले–दलचोकी

दलचाेकी, ललितपुर

लगनखेलबाट लेले सरस्वती कुण्डसम्म सार्वजनिक बसमा यात्रा गर्न सकिन्छ । त्यहाँबाट पैदलयात्रा सुरु हुन्छ । नल्लु डाँडाको उकालो–आरोलो र बीचबीचमा खोल्सा तर्दै पाथीभरा देवीको मन्दिर पुग्न सकिन्छ । पाथीभराबाट आधा घण्टामै २८९० मिटरको उचाइमा रहेको दलचोकी पुगिन्छ । तुवाँलो र बादल नलाग्ने विशेषतः शरद ऋतुमा यहाँ पुग्नु बेस हुन्छ । किनकि, मौसम सफा हुँदा यहाँबाट काठमाडौं आसपासका दर्जन बढी हिमालको दृश्य देख्न सकिन्छ ।

धुलिखेल–नमोबुद्ध

नमाेबुद्ध, काभ्रे

धुलिखेलबाट पुरानो नेवार बस्ती, हजार सिँढी पार गरेर शान्ति वन हुँदै नमोबुद्ध पदयात्रा गर्न सकिन्छ । यसको लागि भरपर्दो मोटरबाटोको पनि सुविधा छ । यहाँबाट गौरीशङ्कर, मकालु, चोयु, लाक्पा दोर्जे, लाङटाङलगायत हिमशृङ्खला स्पष्ट देखिन्छन् । यहाँ प्राचीन बस्ती, परम्परागत तिमाल गाउँको अवलोकनसमेत गर्न सकिन्छ । डाँडामा पौराणिक कथाअनुसार बुद्धले बाघलाई शरीर काटेर खुवाउँदै गरेका मूर्ति यत्रतत्र भेटिन्छ । नमोबुद्ध लभडाँडामा टाँगिएका ध्वजाहरूले पाखा नै रंगीन देखिन्छ । पहाडको टुप्पोमा बुद्ध स्तुपा लस्करै बनाइएका छन्  । यहाँ बसेर बिहानै शंखुपाटी चौर, मकैटार एक्लेखेत हुँदै बल्थली घुम्न सकिन्छ । सो, तपाईँले यस क्षेत्रमा गएर आफूले प्रेम गरेको अथवा मन परेको व्यक्तिलाई दिल खोलेर आफ्नो प्रेम व्यक्त गर्न सक्नुहुनेछ ।

पनौती–बल्थली

बल्थली

काठमाडौंको कोटेश्वरबाट बल्थलीको यात्रा तय गर्न सकिन्छ । बल्थलीको हाइकिङ पनौतीबाट सुरु हुन्छ । लस्करै देखिने टायलले छाएका घरहरू, तरेली परेका खेत, कलकल बग्ने खोल्सा, कुलो, पुल पुलेसा अत्यन्तै मनमोहक लाग्छन् । डाँडाबाट टार, खेत, गाउँ र धुलिखेल सहरको लोभलाग्दो दृश्य देखिन्छन् ।

ककनी

ककनी

काठमाडौंबाट २७ किलोमिटर उत्तर–पश्चिममा छ— ककनी । नुवाकोट जिल्लामा पर्ने ककनी क्षेत्र प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, पुरातात्त्विक एवं पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिन्छ । ककनीबाट दक्षिणमा देखिने दामन र सिमभन्ज्याङ, पूर्वमा देखिने काठमाडौं उपत्यका र आसपासका मनोरम छटाहरू उत्तरतर्फ देखिने थानसिङ फाँट र गणेश हिमाल मनमोहक मानिन्छन् ।
ककनीमा हुने स्ट्रबेरी, मुला तथा ट्राउट माछापालनले कृषि पर्यटनको सम्भाव्यता पनि बढाएको छ । शिवपुरी जङ्गलको पश्चिमी छेउमा अवस्थित ककनी ऐतिहासिक एवं पुरातात्त्विक हिसाबमा समेत महत्त्वपूर्ण मानिन्छ । वसन्ती दरबार र रुम्बा राजाको दरबार ककनीका ऐतिहासिक स्थल हुन् । वनभोज तथा शैक्षिक भ्रमणका लागि पनि ककनीले उत्तिकै प्रसिद्धि कमाएको छ ।

 सूर्यचाैर-शिवपुरी

प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीय ठाउँ सूर्यचौर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा पर्दछ । शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरमा पर्ने सूर्य चौर काठमाडौं उपत्यकाबाट करिब २५ किलोमिटरको दूरीमा रहेको छ । समुन्द्री सतहबाट २३ सय मिटरको उचाइमा अवस्थित सूर्यचौर प्रकृतिप्रेमीहरूका लागि प्राकृतिक सुन्दरता अवलोकन गर्न उत्कृष्ट गन्तव्य हो । जहाँबाट उत्तरतर्फ लामबद्ध हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।  माछापुच्छ्रे, गणेश, लाङटाङ, जुगल  लगायत हिमाललाई आँखै अगाडि देख्न सकिने भएकाले हिमालको दृश्यावलोकन गर्नका लागि पनि उत्कृष्ट गन्तव्य हो सूर्यचौर । सेता हिमशृङ्खला, काला चट्टानी पहाड, हरिया डाँडादेखि नागबेलीझैँ बगिरहेका नदीसम्म सूर्यचौरबाट अवलोकन गर्न सकिन्छ । भनौँ, जहाँबाट प्रकृतिका सबै रङ्गहरू हेर्न पाइन्छ । सुन्दरताका सबै रङ्गहरू नियाल्न पाइन्छ ।

राष्ट्रिय निकुञ्जभित्रको बाटोमा यात्रा गर्नुको आनन्द अर्कै छ । घना जङ्गलबिचको बाटो, चराचुरुङ्गीको चिरबिर, किरा फट्याङ्ग्राको आ-आफ्नै आवाज, झरनाको छङछङ, सबैको सम्मिश्रणबाट बनेको प्राकृतिक सङ्गीतको जादु, आहा १, जसले त्यहाँ पुग्ने जोकोहीलाई अर्कै संसारमा पुर्‍याइदिन्छ ।

सम्बन्धित समाचार