शुक्रबार , फागुण १८, २०८०

ब्रोम्दिङ किन जाने ? कहाँबाट कसरी जाने ?

image

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ मा अवस्थित ब्रोम्दिङ डाँडा अहिले पर्यटकहरूमा परिचित हुन थालेको छ । यही कार्तिक १५–१६ मा पहिलो ब्रोम्दिङ पर्यटन महोत्सव सम्पन्न भएसँगै “लुकेको हिरा”को रुपमा रहेको ब्रोम्दिङ डाँडा संसारमाझ आएको छ । आन्तरिक एवम बाह्य पर्यटकहरुका लागि जिज्ञासासहितको रोजाइको गन्तव्य बनेको छ, ब्रोम्दिङ ।

बेनीघाट रोराङ गाउँपालिका र पर्यटन क्षेत्रमा कार्यरत पत्रकारहरूको समूह एनटिपी मल्टिमिडिया ग्रुपको आयोजना, हिमाल मल्टिमिडियाको सहआयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, मोटरसाइकल यात्रामार्फत नेपालको पर्यटन प्रवद्र्धनमा काम गर्दै आएको एक्सपल्स राइडर्स नेपाल क्लवसँगको सहकार्यमा पहिलो ब्रोम्दिङ पर्यटन महोत्सव भव्यताका साथ सम्पन्न भयो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यता, बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाको विशेष आतिथ्यता, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, नेपाल उद्योग वाणिज्य महासंघ पर्यटन समितिका उपसभापति एवम् नाट्टाका पूर्वअध्यक्ष अच्युत गुरागाईँ, नाट्टा मधेश प्रदेशका अध्यक्ष मोहन शर्मा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा महोत्सव सम्पन्न भएको थियो ।

बेनीघाट रोराङका जनप्रतिनिधि, कर्मचारी, छिमेकी गाउँपालिकाका जनप्रतिनिधिहरू, राजनितिक दलका प्रतिनिधिहरूको व्यापक सहभागिता थियो । एक्सपल्स राइडर्स नेपाल क्लबबाट काठमाडौं ३० वडा मोटरसाइकलसहितको र्याली आएको थियो । त्यसैगरी विभिन्न सञ्चारमाध्यमबाट थुप्रै सञ्चारकर्मीहरुको उपस्थिति थियो । गायक डेविड शङ्कर, गायीका बेनिशा पौडेलले महोत्सवमा प्रस्तुति दिएका थिए ।

पर्यटनको अथाहा सम्भावना भएर पनि लुकेर बसेको ब्रोम्दिङ डाँडा, डाँडा परिसर र सिङ्गो वडाको पर्यटकीय सम्भावनाको अध्ययन तथा प्रवर्दन गर्ने उदेश्यले आयोजना गरेको महोत्सवमा दुई हजारभन्दा बढी स्थानीय समुदायको उपस्थिति रह्यो । मकवानपुर जिल्लासँग सिमाना जोडिएको हुनाले मकवानुपरका कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाका थुप्रै स्थानीय समुदायले महोत्सवमा उपस्थिति जनाएका थिए ।

महोत्सव सम्पन्न भएसँगै ब्रोम्दिङ डाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । विभिन्न सहर, देश तथा विदेशमा रहेका आन्तरिक तथा बाह्य पर्यटकहरूले ब्रोम्दिङ किन जाने ? के–के छन् ? कहाँबाट कसरी जाने/पुग्ने ? लगायतका जिज्ञासाहरू राखिरहेका छन् । यी जिज्ञासाहरूको सम्बोधन गर्ने प्रयास स्वरुप यो सामाग्री तयार पारिएको हो ।

ब्रोम्दिङ किन जाने ?

प्राकृतिक सुन्दरताको अवलोकन र शान्तिपूर्ण वातावरण

ब्रोम्दिङ डाँडा महाभारत पर्वत श्रृङ्खलामा पर्दछ । समुन्द्री सतहबाट एक हजार आठसयदेखि दुई हजार एक सय मिटरको उचाइमा रहेको ब्रोम्दिङ डाँडा प्राकृतिक सुन्दरताको अवलोकन गर्नका लागि उत्तम गन्तव्य हो । जहाँबाट उत्तरतर्फ दन्तेलहर जस्तै हिमश्रृङ्खला, हरियाली पहाड, गाउँबस्तीहरूको अवलोकन गर्न सकिन्छ भने दक्षिणतर्फ हेटौँडा, विरगन्जदेखि भारतको रक्सौल बजारसम्म नियाल्न सकिन्छ । दक्षिणतर्फ ब्रोम्दिङभन्दा अग्ला पहाड अन्य छैनन्, जसले गर्दा दक्षिणको तराईको फाँटहरुदेखि उत्तरमा एकसय असी डिग्रीमा हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । ब्रोम्दिङ डाँडा आफैँमा सुन्दर र मनोरम त छँदैछ । डाँडाबाट सुर्याेदय र सूूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न पाइन्छ । दोलखाको शैलुङलाई भुलाउने सुन्दर थुम्काहरू, मकवानपुरको दामन भुलाउने टाकुरा, पोखराको साराङ्कोट भुलाउने आँखै अगाडी हिमश्रृङ्खला र दुवैतर्फ सुन्दर ठूला ठूला लमतन्न परेर बसेका गाउँहरूले ब्रोम्दिङ पुग्ने जोकोहीलाई मोहित बनाउने गर्दछ । ब्रोम्दिङ डाँडामा पुग्ने प्रत्येक पाहुनालाई स्वागत गर्न आतुर हुन्छन् गाउँ र गाउँलेहरू ।

ब्रोम्दिङ सहरबाट अलिक टाढा छ, र शान्त छ । सहरको कोलाहलबाट उम्कनेहरुका लागि उत्कृष्ट गन्तव्य हो, ब्रोम्दिङ । व्यस्त राजमार्ग, सहर बजारबाट टाढा एकान्तमा बसेको ब्रोम्दिङ शान्तिको खोजी गर्नेहरुका लागि स्वर्ग नै हो । स्वच्छ र शान्त वातावरणमा प्रकृतिसँग रमाउनका लागि गज्जबको गन्तव्य हो, ब्रोम्दिङ ।

संस्कृति र जीवनशैली

ब्रोम्दिङ डाँडामा विशुद्ध तामाङ समुदायको बसोबास रहेको छ । सो समुदायको संस्कृति, भाषा, भेषभुषा, रहनसहन र जीवनशैलीको अध्ययन गर्न पाइन्छ । उनीहरूको जीवनशैली र दिनचर्यासँग आफूलाई पनि समाहित गरेर गाउँले जीवन परिवेशको आनन्द लिन सकिन्छ । विनोदप्रिय तामाङ समुदायमा पुगेपछि नाचगान छुट्टाउने कुरै भएन । नयाँ पाहुनाको आगमन भएसँगै मौलिक गीतसंगीत र गानबजानमा रमाउँछन् र पाहुनालाई पनि पुलकित बनाएर पठाउँछन् । मौलिक तामाङ सेलो, घाँसे गीत, काठेभाका लोकदोहोरी बढी रुचाउँछन् ।

संघीय राजधानी काठमाडौं, पर्यटकीय नगरी पोखरा, बागमती प्रदेशको राजधानी हेटौँडा, औद्योगिक नगरी विरगन्ज लगायत सहरबाट तीनदेखि पाँच घण्टामा पुग्न सकिने ब्रोम्दिङले त्यहाँ पुगेपछि सहरलाई चटक्कै भुलाइदिन्छ ।

ब्रोम्दिङका बासिन्दा कृषिमा निर्भर छन् । उनीहरूको दिनचर्या जस्तै घाँस दाउरा, गोठाला, मेलापात लगायत गतिविधिले गाउँले जीवनको झल्को दिन्छ । जसले सहरबाट पुगेका पाहुनाहरुलाई नयाँ जीवनशैली र रहनसहनसँग परिचित हुने अवसर प्रदान गर्दछ । सहरबाट खासै टाढा नभएपनि सहरलाई भसक्कै बिर्साएर पाहुनालाई उन्मत्त बनाउँछ, ब्रोम्दिङ । यो ब्रोम्दिङको मुख्य विशेषता हो ।

अग्र्यानिक खानपानको स्वाद

सहरबाट थोरै टाढा बसेको र बजारको हावाले खासै नछोइसकेको ब्रोम्दिङ डाँडाको अर्काे विशेषता भनेको अग्र्यानिक खानापानको स्वाद हो । पर्यटन भन्ने वित्तिकै खानपानले निकै महत्व राख्दछ । कुनै ठाउँमा घुम्न जाने भनेपछि पहिले नै सोधिहाल्ने गर्छन, त्यहाँ के खाना पाइन्छ ?

धान नफल्ने भएकाले मकै, कोदो, फापरको ढिँडो, कोदो र फापरको रोटी ब्रोम्दिङको मुख्य खाना हो । सिजनअनुसार मस्याङ, विभिन्न प्रजातिका सिमी, राजमा, आलु, मुला, काउली, बन्दागोभी, विभिन्न सागसब्जी लगायतका तरकारीहरू उत्पादन हुन्छ । लसुन, प्याज, अदुवा, धनियाँ, बेसार, खुर्सानी, जिम्मु लगायत मसलाजन्य उत्पादनहरु हुन्छ । त्यसैगरी पेय पदार्थमा मकै र कोदोको शुद्ध लोकल रक्सी, निगार(जाँडको झोल), जाँड(छ्याङ), तोङ्बा आदि पाइन्छ ।

मासुजन्य पदार्थमा शुद्ध लोकल कुखुराको मासु, खसी, बोका, राँगाको सुुकुटी पाइन्छ । ब्रोम्दिङ डाँडामा पुग्ने पाहुनाहरु लोकल रक्सी(आइराक), लोकल कुखुराको मासु र ढिँडोसँग बढी मोहित हुने गरेका छन् ।

घरबास(होमस्टे)को प्रवन्ध हुँदै

आफ्नो गाउँठाँउ, डाँडा, पाखापखेरा पाहुनाहरूको रोजाइमा पर्न थालेपछि स्थानीय समुदायले घरबासको प्रवन्ध गर्न थालेका छन् । ब्रोम्दिङ डाँडामा सामुदायिक होमस्टे निर्माणकार्य अघि बढेको छ । निकट भविष्यमै ब्रोम्दिङ डाँडामा घरबासको तयारी हुने स्थानीयले बताएका छन् । होमस्टेको औपचारिक घोषणा नभइसकेपनि अहिले ब्रोम्दिङमा पुग्ने पाहुनालाई राम्रै गाँसबासको व्यवस्था छ । बाहिरबाट आउने पाहुनाहरूलाई खाने, रम्ने र बस्ने सुविधा दिइरहेका छन् । ब्रोम्दिङमा आउने पाहुनाहरूले गाँसबासको चिन्ता लिनुनपर्ने स्थानीय बाबुलाल तामाङले बताए । वडा सदस्य समेत रहेका उनले भने, “हामीले घरबासको निर्माण थालेका छौँ, निकट भविष्यमै घोषणा हुनेछ । तर, अहिले पनि यहाँ आउने पाहुनाहरूले गाँसबासको चिन्ता लिनुपर्दैन, हामी व्यवस्था गर्छौँ र गरिरहेका छौँ ।”

त्यसैगरी ब्रोम्दिङ गाउँका स्थानीय चन्द्रमान तामाङले ब्रोम्दिङ डाँडामा पुग्ने पाहुनालाई गाँसबासको व्यवस्था गर्दै आएका छन् । गाउँमा पाहुना आउन थालेपछि आफूहरु निकै उत्साहित भएको तर पाहुनालाई कसरी सेवासुविधा दिने भन्ने विषयमा अलमल भइरहेका बेला सामुदायिक होमस्टेको अवधारणा अघि बढेपछि खुशी लागेको चन्द्रमान बताउँछन् । उनले अहिले आफ्नो घरलाई २० जनासम्म पाहुनालाई गाँसबास दिनसक्नेगरी घरबासको रुपमा रुपान्तरण गरेका छन् ।

ब्रोम्दिङ पुग्दा छुटाउन नहुने सुन्दर गाउँ, जरुङ

ब्रोम्दिङ पुग्दा छुटटाउनै नहुने अर्काे गन्तव्य हो सुन्दर जरुङ गाउँ । बेनीघाट रोराङ गाउँपालिका–१ को सबैभन्दा ठूलो र सुन्दर गाउँ हो जरुङ । जरुङ गाउँमा पनि विशुद्ध तामाङ समुदायको बसोबास रहेको छ । ब्रोम्दिङ डाँडा र जरुङ गाउँको बीचमा हावापानी, खानपान, जीवनशैली र रहनसहनमा निकै भिन्नता छ । एकसय बीस भन्दा बढी घरधुरी रहेको जरुङ गाउँ समुन्द्री सतहबाट बाह्रसय देखि तेह्रसय पचास मिटरको उचाइमा फैलिएको छ । न्यानो शमशितोष्ण हावापानी पाइने हुनाले जरुङ गाउँमा बेँसीमा फल्ने सुन्तला, अम्बा, केरा लगायत लेक र बेँसीमा फल्ने थुप्रै प्रकारका फलफूल तथा तरकारीहरू पाइन्छ । जरुङ गाउँमा पनि घरबास(होमस्टे)को व्यवस्था गर्ने तयारी थालिएको छ । ब्रोम्दिङ डाँडा पुग्ने पाहुनाहरू जरुङ गाउँमा पनि पुग्न थालेपछि स्थानीय होमस्टेको व्यवस्था गर्न लागेका छन् । स्थानीय श्री जरुङ सिम्टार आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेको शिक्षक वीर बहादुर तामाङले आफ्नो घरलाई होमस्टे बनाउन लागेको बताएका छन् । होमस्टेको लागि दुई वटा घर तयार रहेको र सजावटको काम भइरहेको उनले बताएका छन् ।

ब्रोम्दिङ पुग्दा छुटाउन नहुने गन्तव्यहरू

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १ मा अवस्थित छ, ब्रोम्दिङ । ब्रोम्दिङ डाँडा मात्रै नभएर सिङ्गो वडा नै पर्यटकीय महत्त्वले भरिएको वडाध्यक्ष जीवन सिं तामाङ बताउँछन् । “ब्रोम्दिङ डाँडा मात्रै होइन, सिङ्गो वडा नै पर्यटकीय गन्तव्य हो । ब्रोम्दिङमा आउनुुहुने पाहुनाहरूले ब्रोम्दिङ मात्रै घुमेर फर्किनुभयो भने पक्कै पछुताउनुपर्ने छ । वडामा जरुङ, सिम्टार, लवाङ, सुन्दरनागी, थमभन्ज्याङ जस्ता सुन्दर गाउँहरू त छँदैछन्, ती गाउँहरू आ–आफ्ना विशेषताहरू छन् । जस्तो कि हिमालयको श्रृङ्खला हेर्न ब्रोम्दिङभन्दा थमभन्ज्याङ राम्रो छ । वडामा खैलिङ्गेश्वरी, ऋषेश्वर महादेव, भूमिथान, पचलीभैरव, लगायत धार्मिक पर्यटकीय स्थलहरू पनि छन्,” उनले भने,“यति मात्रै होइन, यस वडामा थुप्रै झरनाहरु छन्, गुफाहरु छन्, खोलाहरु छन् । खोलामा असला माछा पाइन्छ । पाहुनाहरु फिसिङमा पनि रमाउन सक्छन् । त्यसैले म पाहुनाहरुलाई फेरी पनि भन्न चाहन्छु, ब्रोम्दिङ मात्रै घुमेर नफर्किनुहोला ।”

ब्रोम्दिङ पुग्नेले नछुटाउनुहोला डाँफे मुनाल पार्क

ब्रोम्दिङ डाँडा धादिङको बेनीघाट रोराङ गाउँपालिका, मकवानपुरको कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाको सङ्गमस्थल हो । ब्रोम्दिङ पुग्दा छुटाउन नहुने र प्रायः पाहुनाले नछुटाउने गन्तव्य हो डाँफे मुनाल पार्क । मकवानपुरको कैलाश गाउँपालिकाले ब्रोम्दिङ डाँडा रेन्जमा दुई जिल्लाको सिमा क्षेत्रमा निर्माण गरेको डाँफेमुनाल पार्क पर्यटकीय आकर्षण हो । पार्कसँगै रहेको ऐतिहासिक विष्णुकुण्डमा गुरु रिम्पोछेको मुर्ति पनि स्थापना गरिएको छ । त्यसैगरी पार्क नजिकै पिङ स्थापना गरिएको छ । पार्क परिसरमा सतीको चिहान समेत रहेको छ । सतीघाट सती प्रथाको अध्ययनका लागि खोजको विषय बनेको छ ।

कसरी पुग्ने ब्रोम्दिङ ?

सबैभन्दा पहिला त ब्रोम्दिङ पुग्न गाह्रो छैन । तपाईँ कुन ठाउँमा हुनुहुन्छ भन्ने कुराले बढी अर्थ राख्छ । काठमाडौं, पोखरा, भरतपुर, हेटौँडा, विरगञ्ज लगायत नेपाल ठूला पर्यटकीय एवम् औद्योगिक सहरहरूबाट तीनदेखि पाँच घण्टाको यात्रामा पुग्न सकिन्छ ब्रोम्दिङ । काठमाडौंबाट पुथ्वी राजमार्ग हुँदै धादिङको गजुरी, मलेखु, आदमघाट लगायत बजारबाट प्रवेश गरेर पुग्न सकिन्छ । काठमाडौंबाट गजुरी बजारसम्म ६३ किलोमिटर रहेको छ । गजुरीको चालिसेदेखि २६ किलोमिटरको दुरी (अफरोड) करिब डेढ घण्टामा पार गरेर ब्रोम्दिङ डाँडा पुग्न सकिन्छ । त्यसैगरी चर्चित माछा बजार मलेखुबाट मलेखु खोलाको तिरैतिर २९ किलोमिटर पार गरेर पनि ब्रोम्दिङ पुग्न सकिन्छ । आदमघाट बजारबाट प्रवेश गरेर पनि ब्रोम्दिङ पुग्न सकिन्छ । तर, पृथ्वी राजमार्गबाट प्रवेश गर्दा सबैभन्दा छोटो र सहज बाटोको लागि चाहिँ गजुरीको चालिसेबाट प्रवेश गर्दा राम्रो हुन्छ ।

काठमाडौंको कलंकीदेखि वडाको सबैभन्दा ठुलो गाउँ जरुङसम्म नियमित बस सञ्चालन हुन्छ । बसको यात्रा गरेर पनि पुग्न सकिन्छ । तर, बसको यात्रा गर्दा अलि बढी समय लाग्छ । जरुङ गाउँ देखि ४० मिनेट उकालो लागेपछि ब्रोम्दिङ पुग्न सकिन्छ ।

चन्द्रागिरी चित्लाङ हुँदै पुग्न सकिन्छ, ब्रोम्दिङ

काठमाडौंबाट चन्द्रागिरी, चित्लाङ, टिस्टुङ पालुङ, शिखरकोट, डाँडेबास हुँदै ब्रोम्दिङ डाँडा पुग्न सकिन्छ । काठमाडौंबाट ब्रोम्दिङ पुुग्नका लागि सबैभन्दा रमाइलो मार्ग हो यो । करिब ९० किलोमिटर चार–पाँच घण्टामा पार गरेर यस मार्ग हुँदै ब्रोम्दिङ पुग्न सकिन्छ । काठमाडौंको थानकोट चेकपोष्टबाट चन्द्रागिरी डाँडातर्फ प्रवेश गरेर करिब दुई घण्टामा थाहा नगरपालिका र कैलाश गाउँपालिकाको सिमाना रहेको सुन्दर डाँडेबास बजार पुग्न सकिन्छ । चन्द्रागिरी, चित्लाङ, टिस्टुङ, पालुङ आफैँमा चर्चित पर्यटकीय गन्तव्यहरु हुन् । टिस्टुङ उपत्यकाको बज्रयोगिनीमा रहेको कुन्छाल गाउँ अर्काे पर्यटकीय पर्यटकीय गन्तव्य हो । नेपालको पहिलो राजवंशी गोपालीहरुको सन्ततीहरुको बसोबास रहेको कुन्छाल गाउँले त्यस मार्गमा यात्रा गर्ने जोकोहीलाई मोहित पार्ने गर्छ । यस मार्गबाट ब्रोम्दिङको यात्रा गर्दा थुप्रै गन्तव्यहरूको अवलोकन गर्न सकिन्छ । डाँडेबाससम्म कालोपत्रे भएको छ ।

डाँडेबासदेखि करिब दुई घण्टा (३५ किलोमिटर) अफरोड यात्रा गरेपछि ब्रोम्दिङ पुगिन्छ । महाभारत पर्वत श्रृङ्खलाको डाँडैडाँडाको यात्रा, प्राकृतिक सुन्दरता, उत्तरतर्फ लामबद्ध दन्तेलहर जस्तै हिमश्रृङ्खला, तँछाडमछाड गर्दै उभिरहेका पहाडहरु, हरियाली वनजङ्गल, चराचुरुङ्गीहरुको आवाज, वन्तयजन्तुहरुसँग साक्षात्कार गर्दै यात्रा गर्दा रोमाञ्चकता बाहेक अरु भेटिँदैन । प्रकृतिसँग रमाउन, प्रकृतिका रङ्गहरुमा रङ्गिदै आफूलाई भुलाउन यो मार्ग उत्तम मार्ग हो ।

हेटौँडाबाट पनि साढे दुई देखि तीन घण्टामा पुग्न सकिन्छ ब्रोम्दिङ

बागमती प्रदेशको राजधानी हेटौँडाबाट मनहरी, राक्सिराङ हुँदै करिब (४२ किलोमिटर) तीन घण्टाको यात्रा गरेर ब्रोम्दिङ डाँडा पुग्न सकिन्छ । हेटौँडाबाट भिमफेदी, कैलाश गाउँपालिका हुँदै यात्रा गर्न पनि सकिन्छ ।

पोखराबाट पृथ्वी राजमार्ग हँुदै (१३० किलोमिटर) धादिङको गजुरी बजार पुगेर ब्रोम्दिङ डाँडातर्फ प्रवेश गर्न सकिन्छ ।

कस्ता सवारीसाधनमा पुग्न सकिन्छ ब्रोम्दिङ ?

जुनसुकै मार्गबाट यात्रा गरेपनि ब्रोम्दिङ पुग्नको लागि अफरोड यात्रा गर्नुपर्ने हुन्छ । चार पाङ्ग्रे साना सवारीसाधन (ट्याक्सी, कार) मा गाह्रो पर्छ । मझौला खालका ग्रामिण क्षेत्रमा चल्ने बस, अन्य चारपाङ्ग्रे तथा सबै खालका दुई पाङ्ग्रे सवारी साधन लिएर ब्रोम्दिङ पुग्न सकिन्छ ।

सम्बन्धित समाचार