शुक्रबार , मंग्सिर २३, २०७९

वाइन पिउँछौ ? (मनोवाद)

image

तिमिलाई भन्नू थियो – ‘आऊ ।’
मैले भनिदिएको पनि थिएँ क्यार !
तिमी आएनौँ ।

तिमी यति नजिक थियौँ कि तिमीले मलाई सुन्न सकिनौ । आफैँलाई सुन्न नसक्ने रोगले गिजोलिएका थियौँ सायद हामी ।
यसपछि के थियो?
मलाई लाग्यो, ‘तिमीलाई जानू थियो ।’
म पनि गइदिएँ ।

त्यसपछिका दिनहरूमा, म प्रेम जोसुवा सुन्न थालेँ । थाहा पाएँ- तिमी जोसन कुँवरको लति हुँदै गएछौ । गुनासो रहेन । दुवै पागलहरूसँग न्यू भर्सनको वैचारिकि छ । ‘सुने सुन्, नसुने भुत्रैसिति’ टाइपका छन् उनीहरू ।

र, यो भन्नुपर्ने कुरा हो – यी स्रष्टाद्वय परम्परा बसाइरहेका थिए, पछ्याइरहेका थिएन । यसैले दुवै न्यु भर्सनका परम्परावादी हुन् । परम्परा अनि भर्सन ? लौ हेर, प्रेम जोसुवाको सङ्गीतको संगतको असर ! हाहा..

थियो, एकफेर भेटौँ लागेको थियो । तर, लाग्यो- भेटेर पो के गर्नु ? भेटेपछि भेटघाट बढ्ने डर सायद तिमिमा थियो । तिम्रो डरमा भर मलाई थियो । डरमा भर हुनेहरूको घर हुँदैन । भएन, यसैले एकफेर पनि भेट भएन । भेट भए सोध्नु हुन्थ्यो, ‘वाइन पिउँछौ?’

***

अलि पछि एउटाले भन्यो, ‘शहरमा चील देखिएका छैनन् कविज्यू, लौन ।’ मैले उसलाई मेरो ‘an eagle’ भन्ने कविता पढेर सुनाइदिएँ, ‘आफूलाई चरा ठान्नेहरूले यो पनि बुझुन्, आकाश एक विशाल पिँजडा हो- चराहरूको लागि ।’

यसपछि उसको र मेरो आकाशको कुनै पनि चोक्टो मुन्याड भेट भएको छैन । सायद ऊ ग्लोबल वार्मिङको कुरा गर्दै थियो त्यतिबेला । चील, गिद्ध लोप हुँदै छन् क्यारे नि त ! तर, मलाई यो ‘स्लो पोइजन’ टाइप्सको यस विषयमा बोल्नु नै थिएन, कविता सुनाएरै लखेटिदिएँ । यो सजिलो छ, ‘कवि ज्यू, कवि ज्यू’ भन्दै पछि लागेर हैरान पार्नेहरूलाई बसाएर दुईचार खेप कविता सुनाइदिनुपर्छ, त्यसपछि ऊ बाटोमा भेटिँदा पनि मुन्टो बटारेर हिँड्छ ।

सुन्दैछु, आजभोलि ऊ ‘शहरमा कविता छैनन्’ भन्दै हिँड्छ अरे । मेरो सदीक्षा छ कि, ऊ तिमिसँग ठोक्किओस् । मलाई थाहा छ, उसको हुलिया तिमी चिन्दछौ किनभने मेरा कविता सुनेर लखेटिनेहरूको हुलिया तिमीले पहिल्यै चिनेकी हौँ ।

‘शहरमा कविता छैनन्’ भनेर ऊ प्रगतिवादी भइटोपल्दै पनि होला । यो फेसनको असर हो, खासै प्रतिक्रियावादी बन्नुपर्दैन तर, उसलाई नयाँ बसपार्क पुगेर गाउँको गाडी चाहिँ चढाइदिनु । हातमा पुष्टकारी र कुरुमुरे थमाइदिँदै भन्नू कि- “गाउँमा कविता भेटियो भनेर उतै पोलेर खानु तर गाउँका कवितालाई शहर नल्याउनु । गाउँ ‘शहर’ शीर्षकको कविता होइन ।”

***

आकाशदेखि माथि पनि आकाशै छ । जमिनदेखि मुनि पनि जमिनै छ ।
कताको उचाइ, कताको गहिराई ?
चरा हुनु वा कमिलो हुनुले के फरक पर्छ र ?
जस्तो: तिमि बाटो हुनु वा म पैताला हुनुले, के फरक पर्छ र ?

तिमिलाई तिम्रो व्यैक्तिकता सहितको यात्राको शुभकामना !
म ?
म शिवपुरी जङ्गलमा पुतली हेर्दै हुनेछु, तिमि रंगिन दुनियाँलाई अंगालीरहनू !

***

यो सब छोड यार ! कुरालाई बीट मार्यौँ ।

जिन्दगीको सना-मसिना कुराहरूलाई ‘बेहद खुबसूरती’ र ‘सलिके’ सहित राख्न खोज्नु मूर्खता रहेछ । अझ सम्झनाहरूसँग पौठेजोरी खेल्दिनँ भन्नु त कति हो कति मूर्खतापूर्ण !

एउटा चिनजानलाई चिन्दिनँ, जान्दिनँ भनेर तिमिले बोलिहिँडेको झुटको अनुहारसँग पनि म परिचित नै छु ।
एउटा अम्बललाई त्यागें भनेर गफ लगाउँदै गर्दा त्यसको साइड इफेक्टको कुरा नगरी कहाँ सुख छ र ?

र, यो,.. यो सबै..सबै !

(सम्बोधनमा ‘तिमी’ त भनेँ तर त्यो तिमी को हो मलाई थाहा छैन । त्यो तिमी ‘तिमी’ हौँ भने ‘म हुँ’ भनेर मलाई भन्नू ल !)

***

यस्तैयस्तै बहुलठ्ठीपनको सिकार होइरहँदा बशीर साहेब (बद्र) खुब याद आउँछन् । भलै, आजभोलि उनी खुद् डिमेन्सियाको सिकार भएका हुन्, आफ्नै शेरहरू भुल्दै हुन् । तर, मलाई उनको एउटा शेर याद आइरहेछ:

मैं चुप रहा तो और ग़लत फ़हमियाँ बढ़ीं
वो भी सुना है उसने जो मैं ने कहा नहीं

शेर याद आउँदैछ भने म यो शेर किन नभनौँ?

सर झुकाओगे तो पत्थर देवता हो जाएगा
इतना मत चाहो उसे वो बेवफा हो जाएगा
हम भी दरिया हैं हें अपना हुनर मालूम है
जिस तरफ भी चल पड़ेंगे रास्ता हो जाएगा

अस्तु !

Tags:

सम्बन्धित समाचार