कालो भादगाउँले टोपी शीरमा सजाएर नेपालको झण्डा ओढी शाह शुक्रबार मतदातालाई धन्यवाद भन्न निस्किएका हुन् ।
काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन शाह धन्यवाद र्यालीमा निस्किएका छन् । आफ्नो जितपछि विजय उत्सव नमनाउने बताएका मेयर बालेन स्वत:स्फुर्त रुपमा सहभागि भएका समर्थक मतदाताहरूको साथमा धन्यवाद र्यालीमा निस्किएका छन् ।
उनी र उनका समर्थकले यस र्यालीलाई विजय जुलुस नभइ ‘धन्यवाद र्याली’ भनेका छन् । आफ्ना मतदाताहरूलाई धन्यवाद दिनका लागि मात्रै र्याली आयोजना गरिएको समर्थकहरूले बताएका छन् ।
कालो भादगाउँले टोपी शीरमा सजाएर नेपालको झण्डा ओढी शाह शुक्रबार मतदातालाई ‘धन्यवाद’ भन्न निस्किएका हुन् ।
लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७ सय ६७ मत प्राप्त गरेका छन् । उनको धन्यवाद र्यालीमा काठमाडौं महानगरपालिकाका अर्का स्वतन्त्र उम्मेदवार शुमन सायमी पनि उपस्थित छन् ।
सभागृहबाट सुरु भएको उनको धन्यवाद र्याली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर सर्भिस ट्र्याक दक्षिण हुँदै बबरमहल, बिजुलीबजार, युएन पार्क कोरिडोर, शान्तिनगर, तीनकुने, कोटेश्वोर, जडिबुटी, पेप्सीकोलाबाट फिर्ता हुनेछ ।
त्यस्तै कोटेश्वोर, तीनकुने, सिनामङ्गल, एयरपोर्ट, तीलगंंगा, गौशाला, चावाहिल, महारजगञ्ज, सामाखुशी, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, सितापाइला, कलंकी, बल्खु, कुलेश्वर, कालिमाटी, टेकु, त्रिपुरेश्वोर, सुन्धारा हुँदै खुल्लामञ्चमा पुगेर उक्त र्याली धन्यवाद सभामा परिणत हुनेछ ।