हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी आज धुमधामका साथ मनाइँदैछ । जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा-बन्धन बाँध्ने परम्परा छ ।
यस दिन तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राँखी बाँधेर मनाउने गर्छन् । यस्तै नेवारी समुदायमा क्वाति खाएर अर्थात् भ्यागुताको पूजा गरेर पर्व मनाउने प्रचलन छ ।
यस दिनमा बिहान नुहाइ धुवाइपछि जौं, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भन्ने गरिएको हो ।
नयाँ जनै फेर्ने
यसै दिन आत्माको शुद्धीकरण र शरीर रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ । मन्त्रिएको जनै फेर्ने भएकाले श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भन्ने गरिएको हो ।