शनिबार , भाद्र २७, २०८३

घुमौं बाजुराको सुन्दर बडिमालीका

बडीमालीका नेपालको प्रमुख मन्दिरहरुमध्ये एक हो । यहाँ प्रत्येक वर्ष मालीका चतुर्दशीका दिन बिशेष पूजा हुन्छ । बडीमालीकामा दुई जना पुजारीहरुले पूजा गर्दछन् ।

image

धार्मिक तथा पर्यटकको गन्तव्य बन्दै आएको बाजुराको बडीमालीका पर्यटकको लागि महत्तवपुर्ण मानिन्छ । समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाईमा रहेको बाजुराको बडीमालीका हरियाली सौन्दर्य मात्र नभई इतिहासको कालखण्डदेखि धार्मीक रुपमा  विश्वास गरिदै महत्वपुर्ण मानिन्छ ।

धार्मिक रुपले निकै चर्चा र महत्व पाएको बडीमालीका सुदुर पश्चिम प्रदेशको बाजुरा जिल्लामा पर्दछ । त्यहाँबाट नजिकै देखिने सुन्दर हिमाल हिउँसँग खेल्न पाउने सौभाग्य र रमणीय प्राकृतिक दृश्यहरु बडीमालीकाको गहना हो ।

बडीमालीकाको सौन्दर्यको रुपमा बिशेष गरेर त्यहाँका विशाल फाँटहरु हुन् । बडीमालीका नेपालको प्रमुख मन्दिरहरुमध्ये एक हो । यहाँ प्रत्येक वर्ष मालीका चतुर्दशीका दिन बिशेष पूजा हुन्छ । बडीमालीकामा दुई जना पुजारीहरुले पूजा गर्दछन् ।

दुई पुजारी मध्ये एक जना कालीकोटबाट आउँछन भने अर्को बाजुराका पुजारी छन् । बडीमालीका मन्दिर तथा फाँटसम्म जाने बाटो भने निकै अप्ठ्यारो छ । पर्यटकको लागि बाटोको सुबिधा नभएको कारण पर्यटक आगमन त्यति पर्याप्त हुन सकेको छैन । उक्त मन्दिरमा प्रत्येक वर्ष जनैपूर्णीमाकाे दिन ठूलो मेला लाग्ने गर्दछ । सो समय स्थानीय ब्यापारीहरुले पसल राख्ने गर्छन् । अन्य समयमा भने त्यहाँ पसलहरु खासै पाईदैन । बडीमालीका दर्शन गरेपछि आफ्नो मनोकांक्षा पुरा हुने जन बिश्वास रहेको छ । मन्दिरबाट देखिने सुन्दर हिमालको दृश्यले यहाँको सौन्दर्यलाई झनै बढाएको छ ।

किंवदन्ती 
पाैराणिक कथा अनुसार महादेवकी पत्नी सतिदेवीका पिता दक्ष्य प्रजाप्रतिले यज्ञ गर्दा महादेव र सतिदेवीलाई बोलाएनन् । सतिदेवी दक्ष प्रजापतिको यज्ञ स्थलमा गएर पितासँग आफ्ना पति महादेवलाई नबोलाउनाका कारण सोधिन् । दक्ष प्रजापतिले महादेव भाँग, धतुरो, सेवन गर्ने श्मसानमा बास बस्ने गलामा सर्पको माला लगाउने, जटाधरी भेषमा रहने शरिर भरि खरानी घस्ने, बाघको छालाको पहिरन गर्ने हुनाले यो यज्ञमा अशाेभनीय हुने भएकाले नबोलाएको भनि उत्तर दिए ।

आफ्नो पतिको यस्तो अपमान सहन गर्न नसकेर सतिदेवीले यज्ञकुण्डको अग्निमा हाम फालेर प्राण त्याग गरिन् । त्यसपछि महादेव रिसाएर विरभद्रादी शिवगणलाई पठाएर दक्ष्यलाई मारी दक्ष्यको यज्ञ तहस नहस पार्न लगाए । त्यसपछि महादेव पत्नी वियोगमा पागल भएर सतिदेवीको मृत शरिर बोकेर पूरा विश्व घुम्न थाले । सोही बेला भगवान बिष्णुले आफ्नो चक्र सुदर्शन प्रहार गरि किरा पारेर मृत शरिर कुहाए । यसरी जहाँ जहाँ अंग पतन हुँदै खस्न थाले त्यहाँ त्यहाँ एक-एक सिद्ध पिठ बन्दै गए । त्यसै क्रममा मल्ला गीरि पर्वतमा सतिको बायाँ कुम पतन भयो । सोही मल्लागीरीलाई अहिले मालीका भनिन थालीयो । यहाँ मल्लीका वा मालीका देवी शक्ति स्वरुपले रहन थालिन् । त्यसैले सो स्थानमा बडिमालीका मन्दिर स्थापना गरि पूजा गर्न थालियो ।

प्राचिनकालमा भगवतीले महिषासुर नामको दैत्यको बध गरिसकेपछि कालिकोटको द्वारेढुंगामा विश्राम गरेर बसिरहेकी थिईन् । सोही बेला एक जना दाउरा खोज्न गएका दलित भोकले ब्याकुल भई देवीसँग बहरको मासु र हरियो गहुँको रोटी माग्यो । देवीले दलितको इच्छा पूरा गरि दिईन् । दलितले एक्लै खान नसकिने भएकोले आफ्नो परिवारका अन्य सदस्यलाई बोलाएछन् । उसको घर टाढा भएको कारण कसैले सुन्न सकेनन् । दलित रिसाएर हे परमेश्वरी ! मेरा घरको सबै जना मरुन् । देवीले उनको सो इच्छा पनि पूरा गरिदिईन् । त्यसपछि बहरको मासु लिएर दलित घर गएछन् । घरमा हेर्दा सबै जना मरेका देखे । दलित रिसाएर द्वारेढुंगा  पुगे । देवी उनलाई देखेर ढोका बन्द गरेर भागिन् । दलित रिसाएर देवीको घरमा बहरको फिलाले हानेको छाप अझै द्वारेढुंगामा देखिन्छ । त्यसपछि देवी सधैंको लागी त्यो ठाऊँ छोडेर त्रिवेणी, पञ्चपुरी पाटन मल्ल पुरी हुँदै बडिमालीका गएर बसिन् । त्यसैले दलितहरु बडिमालसीका जाँदैनन् । अन्य भक्तजनहरु देवी गएकै बाटो हुँदै जाने गर्दछन् ।

प्राकृतिक सौन्दर्यता 
बडिमालीका धार्मिक मात्र नभई पर्यटककीय हिसाबले पनि महत्वपुर्ण मानिन्छ । अनुपम हरियाली तथा हिमाल अनि फाँटहरुले भरिपूर्ण सौन्दर्य नै बडिमालीकाको गहना हो ।

कसरी जाने 
गाडीबाट बडिमालीका जान धनगडी वा नेपालगन्जबाट अछामको साँफेबगर पुग्नुपर्दछ । त्यहाँबाट ब्रह्तोलाको शेराबजारसम्म गाडीको सुविधा छ ।

हवाईजहाजबाट जाने हो भने नेपालगञ्जबाट बाजुरा बिमानस्थल कोल्टी पुगिन्छ । कोल्टीबाट एक दिन पैदल यात्रा हिडेपछि मार्तडी बाजुराको सदरमुकाम पुगिन्छ । मार्तडीबाट २-३ हिडेर मन्दिर पुग्न सकिन्छ । आफूलाई आवश्यक पर्ने चामल पिठो ओड्ने ओछ्याउने कपडा पकाउने भाँडा, खाने भाँडाका साथै अन्य सरसमान बोकेर जानुपर्दछ । छिमेकी मुलुक भारतबाट पनि  तिर्थालुहरु यहाँ घुम्नका साथै दर्शन गर्न आउँछन् ।

कालिकोट, जुम्ला, अछाम, मुगु, बाजुरादेखि तिर्थालु हरु जाने गर्छन । बाजुरा र कालिकोटको सिमानामा रहेको बडिमालीका मन्दिरमा कालिकोट रास्कोटबाट पुजारी जाने गर्छन् पूजा गर्ने दिन बडिमालीका माइ कालिकोटको रास्कोट सीप्टिमा रहेको मन्दिरमा पनि माइ मान्ने गरिन्छ । कालिकोटबाट २ दिन हिडेर पुगिन्छ ।

सम्बन्धित समाचार