बुधबार , कार्तिक १२, २०८३

सिद्धार्थ आर्ट ग्यालरीमा किरणका चित्रहरू

image

काठमाडाैं । वरिष्ठ चित्रकार किरण मानन्धरले बनाएका चित्रहरूको सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनी सुरु भएको छ । विगत ६७ वर्षदेखि निरन्तर चित्रकलामा सक्रिय मानन्धरका ४७ चित्रकलाहरू प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी आइतबार सुरु भएको हो ।

उनका चित्रहरु नेपाल लगायत विदेशका विभिन्न देशका मानिसहरुको भित्ता तथा म्युजियमहरुमा सजिइसकेका छन् ।

यस प्रदर्शनीमा उनको करिव ४७ चित्रकलाहरु समावेश गरिएको छ । उनका अमूर्त चित्रकलाहरु बढी प्रख्यात छन् भने उनले अहिले बनाएका चित्रकलाहरु सबैका लागि नौलो विषय हो । यस चित्रकलामा प्रयोग गरिएको भगवानका चित्रहरुले कुनै पनि धर्म तथा सम्प्रदायलाई प्रश्रय दिने भन्दा पनि ती देवी तथा देवताहरुमा भएको शक्ति जस्तै कलाकारहरुले पनि काम गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको देखिन्छ ।

कलाको उत्थानका लागि वा कलाको हितका लागि आफ्नो लगनशीलता देखाउनुपर्दछ । जुन जुन समयमा जे जे गर्नुपर्ने अवस्था त्यसमा कलाकारहरु ती देवी देवताका शक्ति जस्तै गरी अगाडि निस्कनु पर्ने बुझाइलाई विम्वको रुपमा प्रयोग गरेको मानन्धर बताउँछन् ।

नेपालको देवी देवताहरुको चित्रलाइ आधुनिक ढंगबाट प्रस्तुत गरिएको र यस प्रदर्शनी सम्पूर्ण देशवासी, आप्mनो कुलदेवता तथा नेपाली भूमिलाई गर्न सकेको आफ्नो योगदानका हिसावले पदर्शनीको शीर्षक समर्पण राखिएको मानन्धरले बताए ।

प्रदर्शनीमा राखिएको भैरवलाई आक्रोशको विम्वका हिसाबले प्रस्तुत गरिएको छ । कुनै पनि मानिसले जुनकुनै काम गर्दा चाहे त्यो किसान होस् या कुनै अन्य काम गर्ने व्यक्ति, उसमा भैरवको जस्तो आक्रोश भएन भने उसले सफलता पाउन सक्दैन । त्यसैले कुनै पनि काम गर्न भैरवको जस्तो आक्रोश हुनुपर्छ, जसले सफलता चुम्छ भन्ने हिसावले भैरवको चित्र सामयिक हिसावले कोरिएको छ ।

हाम्रा समाजमा भएको विभिन्न देवी देवतालाई विम्वको रुपमा प्रयोग गर्दै मानन्धरले आफ्ना कला सिर्जना दर्शक सामु पस्किएका छन् । ‘लाखे’ लाई काठमाडौं बासीले रक्षकको रुपमा लिने गरेका छन् । त्यससँग सम्बन्धित धेरै किंवदन्तीहरू छन् । मन, मस्तिष्क शुद्ध भयो भने चार धाममा धाइराख्नु पर्दैन, आफूले गरेको कामबाट त्यो सन्तुष्टि र आशिर्वाद मिल्दछ, भन्ने कुरामा किरण विश्वास राख्छन् ।

यस प्रदर्शनीको अर्काे विशेषता भनेको पहिले–पहिले कलाकारले बोरालाई नै सामग्रीको रुपमा प्रयोग गर्थे भने यस पटक क्यानभासमा नै आलोपन ल्याउन सिधै रङ्गहरूलाई प्रयोग गरेका छन् । जसमा पहेंलो रङ्गलाई विशेष प्रयोग गरिएको छ । जुन ब्रह्माणीको चित्र रहेको छ । किरणका अनुसार नेपालमा राजाको समयमा राणा राम्रो भन्ने गरेको जस्तै, गणतन्त्र आइसकेपछि राजतन्त्र नै ठीक लागे जस्तै हो । नेपालमा रावणलाई नराम्रो मानिन्छ भने श्रीलंकामा रावणलाई उनको विद्वताको कारण पुजा गरिन्छ । भूगोल, समाज, समय अनुसार विषयवस्तुहरुले मानसपटलमा फरक धारणा बनाउन मदत गर्दछ । त्यसैले नयाँ प्रयोग यस प्रदर्शनीमा गरिएको हो ।

जसरी विष्णुले अपतार धारण गरिसकेपछि बराहले आफूले गर्नुपर्ने काम फत्ते गर्नुभयो । हामी कलाकारहरुले पनि विभिन्न समयमा विभिन्न अवतार लिएर आफ्नो काम सिद्धताका साथ फत्ते गर्नुपर्छ । जुन विल्कुलै नयाँ रहोस् । जसरी बराह अवतारसँग अरुको तुलना हुँदैन ।

जसरी उनका प्राय चित्रहरुमा देखिने चित्रहरुमा एउटा आँखा मात्र हुने गर्दछ ठिक त्यस्तै गरी उनले अहिलेको काममा पनि एउटा आँखा भएका चित्रहरु बनाएका छन् । उनका अनुसार, एउटा आँखा, दुईटा आँखा वा तेस्रो आँखा जे भने पनि त्यसले हेर्ने हो, फरक ढङ्गबाट हेर्न सक्नुपर्छ ।

चक्र, शंख गधा पद्य्म धारण गरेको विष्णुको वाहन गरुढ हुन् । कहिलेकाहिँ ती आयुध तथा वाहनहरुमा आकर्षणमा ल्याउनको लागि पनि रङ्गहरुको धब्बा जसलाई प्याचेज भनिन्छ, यी कुराहरुको प्रयोग गरी विष्णुको त्यस अवतारलाई बनाएको कलाकार मानन्धर बताउँछन् । विष्णुको छातीमा रहेको पात्रलाई पनि बडो आकर्षक ढंगबाट प्रस्तुत गरिएको छ ।

करिव ७ दशकदेखि कलाकार किरण मानन्धरको कला यात्रा जारी छ । उनले प्रयोग गरेका रङ्गहरुमा कालो, पहेंलो, सेतो रातो बढी छन् । उनलाई कालो रङ्ग आफु जस्तै लाग्छ, किनकी सबै रङ्गहरुको समिश्रण नै कालो हो । त्यस्तै पहेंलो रङ्गलाई भने कलाकार सुनसँग तुलना गर्नदछन् । बैभव अनि भव्यतालाई यस रङ्गले विम्बित गर्ने उनको भनाइ रहेको छ । त्यसै गरी सेतो रङ्गले चाँदीको तथा रातो रङ्गले ज्वाला वा आक्रोशलाई देखाउने गर्दछ ।

          

सम्बन्धित समाचार