अभिनेता रमेश उप्रेती यतिबेला आफ्नो एक टिप्पणीका कारण विवादमा मुछिएका छन् । उनले एक अन्तर्वार्तामा बलात्कारको विषयमा सो टिप्पणी गरेका थिए ।
काठमाडौं । अभिनेता रमेश उप्रेती यतिबेला आफ्नो एक टिप्पणीका कारण विवादमा मुछिएका छन् । उनले एक अन्तर्वार्तामा बलात्कारको विषयमा सो टिप्पणी गरेका थिए ।
बलात्कार हुने बित्तिकै चिच्याउनुपर्ने र कराउनुपर्ने भन्दै उनले मङ्गलवार एक टिभी कार्यक्रममा भनेका थिए । उनको यो कुराप्रति केही अभिनेत्रीहरूले सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका छन् ।
उप्रेतीले भनेका थिए, ‘पहिलो कुरा त बलात्कार हुने बित्तिकै तत्काल या त कराउनुपर्यो, चिच्याउनुपर्यो वा भोलिपल्टै पुलिसमा गएर उजुरी दिनुपर्यो ।’ पल शाह प्रकरणमा उनले यो टिप्पणी गरेका हुन् ।
साथै उनले अन्तरवार्तामा पल शाह पीडक नभएको पनि दाबी गरेका छन् । अदालतमा उक्त मुद्दा विचाराधीन भइरहेको बेला उनको यस्तो बयानले उनी विवादमा मुछिएका हुन् ।
अभिनेत्री बेनिशा हमाल र स्वस्तिमा खड्काले यो कुरामा आपत्ति जनाएका छन् । इन्स्टाग्राम स्टोरीमा भिडियो क्लिप सेयर गर्दै उनीहरूले बलात्कार सम्बन्धी यस्तो सोच गलत रहेको जनाएका छन् ।
एक पत्रिकासँग कुरा गर्ने क्रममा उनले बलात्कार पीडितले घटनापछि तत्कालै कानुनको सहारा लिने वा प्रतिक्रिया जनाउनु पर्ने आफ्नो अडान रहेको बताउँदै यो अभिव्यक्तिलाई बलात्कारका अन्य केससँग जोड्न नहुने जनाए ।