शनिबार , भाद्र २७, २०८३

‘चिसो मान्छे’ : सुदूरपश्चिमको सामान्य कथाको सुन्दर चित्रण

image

काठमाडौं । ‘आमा’, ‘पशुपति प्रसाद’ जस्ता सफल चलचित्र बनाउन सिपालु दीपेन्द्र के. खनालको निर्देशन र कथा रहेको चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक गरिएको छ ।  स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी आदि कलाकारहरूको अभिनय रहेको चलचित्रमा सुदूरपश्चिमको एउटा साधारण कथा देखाइएको छ ।

शर्मिला पाण्डेको लगानी रहेको चलचित्रमा कोरोना कालको समय चित्रण गरिएको छ । कोरोना कालमा एक सदस्यको मृत शरीर (चिसो मान्छे) लिएर घर फर्किँदै गरेको एक सुदूर पश्चिमेली परिवारको कथा चलचित्रमा रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । चिसो मान्छे लिएर फर्किने क्रममा चिसो मान्छेकी श्रीमती अर्को पुरुषसँग प्रेममा परेको र त्यो प्रेमको लागि गरेको सङ्घर्ष ट्रेलरमा देखाइएको छ ।

बाजुराली भाषा बोलिएको चलचित्रमा छाउपडी सम्बन्धी आवाज पनि उठाइएको छ । मृत्यु भएको श्रीमानको शव दाहसंस्कार नगर्दै अर्कोसँग प्रेममा परेकी मुख्य पात्रलाई ‘उ बेला भए सती जानुपर्थ्यो’ भनेर सम्झाउँदा ‘सती त अहिले पनि जानुपर्छ, त्यतीबेला शरीर डढ्थ्यो अहिले मन’ भन्दै उनी अहिलेको समयमा पनि विद्यमान विधुवाको पीडालाई देखाउँछिन् । समग्रमा सुदूरपश्चिमको सामान्य कथालाई सुन्दर तरिकाले चलचित्रमा प्रस्तुत गरिएको छ, जसले आम मानिसको जीवन बोकेको छ ।

चलचित्र असार ३ गतेबाट प्रदर्शनमा आउनेछ । वैशाख ३० गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र कोरोनाका कारण पछि सरेको थियो ।

भिडियो

Tags:

सम्बन्धित समाचार