शुक्रबार , कार्तिक १४, २०८३

एक थप्पडले बर्बाद गरिदिएको थियो रामायणको ‘मन्थरा’को फिल्मी करियर

छायाङ्कन भइरहेको चलचित्र ‘जंग-ए-आजादी'को एक सिनमा कलाकार भगवान् दादाले ललितालाई थप्पड हान्नु पर्ने थियो । भगवान्को थप्पड ललितामाथि यसरी लाग्यो कि उनी ढलिन् र उनको कानबाट रगत आउन थाल्यो ।

image

८० को दशककी बलिउडकी लोकप्रिय अभिनेत्री ललिता पवारको जन्म भएको पनि १०६ वर्ष भएको छ । १८ अप्रिल १९१६मा नासिकमा जन्मिएकी ललिताको निधन २४ फेब्रुअरी १९९८ मा पुणेमा भएको थियो । ललिताले आफ्नो करियरमा धेरै चलचित्र र टेलिभिजन सिरियलमा काम गरेकी थिइन् । यद्यपि रामायणमा निभाएको ‘मन्थरा’को भूमिकाले उनलाई लोकप्रिय बनाएको थियो ।

ललिताको वास्तविक नाम अम्बा लक्ष्मण राव शागुन रहेको छ । उनी कहिल्यै पनि विद्यालय गइनन् किनभने त्यो समयमा छोरीलाई स्कुल पठाउन उचित मानिँदैन थियो । उनी ९ वर्षको उमेरमै बालकलाकारको रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनले पहिलो पटक ‘राजा हरिश्चंद्र’ नामक मौन चलचित्रमा काम गरेकी थिइन् । जसका लागि उनलाई १८ रुपैयाँ पारिश्रमिक दिइएको थियो ।

उनले १९३५ सम्म मौन चलचित्रमा काम गरिन् । त्यसपछि मौन चलचित्रबाट बाहिर निस्किएर उनले पहिलो पटक आवाज भएको चलचित्र ‘हिम्मत-ए-मर्दमा’ काम गरिन्, जसमा पहिलो पटक उनको आवाज सुनिएको थियो । उनी एक कुशल कलाकार मात्र नभएर राम्रो गायिका समेत थिइन् । १९३५ मा उनले चलचित्र ‘हिम्मते मर्दा’मा नायिकाको भूमिका निभाउनुका साथै ‘नील आभा में प्यारा गुलाब रहे, मेरे दिल में प्यारा गुलाब रहे’ बोलको गीत समेत गाएकी थिइन् ।

Lalita Pawar: That unforgettable 'evil woman'

तर, सफलताको शिखर चढ्ने क्रममा एकदिन यस्तो घटना घट्यो जसले उनको जीवन नै परिवर्तन गरिदियो । सन् १९४२ मा प्रदर्शनमा आएको चलचित्र ‘जंग-ए-आजादी’को शूटिङ सेटमा सो घटना घटेको थियो । छायाङ्कन भइरहेको चलचित्र ‘जंग-ए-आजादी’को एक सिनमा कलाकार भगवान् दादाले ललितालाई थप्पड हान्नु पर्ने थियो । भगवान्को थप्पड ललितामाथि यसरी लाग्यो कि उनी ढलिन् र उनको कानबाट रगत आउन थाल्यो । यसकै उपचार गर्ने क्रममा डाक्टरद्वारा दिइएको कुनै गलत दबाइका कारण ललिताको शरीरको दाहिने भागमा ‘लकुवा’ लाग्यो । जसको असर उनको एउटा आँखामा र अनुहारमा पनि पर्न पर्‍यो । उक्त घटना पछि उनले काम पाउन छोडिन् । केही वर्ष आफूलाई सम्हाल्दै र हौसला बनाउँदै गएपछि उनी पुनः चलचित्रमा फर्किइन् । तर, उनी नायिका नभएर नकारात्मक भूमिका निभाउने कलाकारको रूपमा फर्किएकी थिइन् ।

घट्नापछि सन् १९९४ मा उनले चलचित्र ‘रामशास्त्री’मा रिसाहा सासूको भूमिका निभाएकी थिइन् । उनको यो भूमिका दर्शकहरूले निकै रुचाए । त्यसपछि उनले यस्तै पात्रको भूमिका निभाउन थालिन् । उनले ‘जङ्गली’, ‘श्री 420’, ‘आनन्द’, ‘अनाडी’ लगायत ७०० भन्दा धेरै चलचित्रमा काम गरिन् ।

चलचित्रका अलावा उनले सानो पर्दामा पनि काम गरिन् । ८०को दशकमा उनले रामानन्द सागरको पौराणिक सिरियल ‘रामायण’मा काम गरिन् । यो सिरियलमा उनले मन्थराको भूमिका निभाएकी थिइन्, जसलाई दर्शकहरूले निकै रुचाएका थिए । आफ्नो उत्कृष्ट अभिनयका कारण उनले धेरै पुरस्कार समेत हासिल गरिन् । ललितालाई बलिउडको पहिलो ‘बिकिनी गर्ल’को रूपमा पनि याद गरिने गरिन्छ ।

नायिकाको रूपमा उनले काम गरेको पहिलो चलचित्र १९२७ मा बनेको ‘पतितोद्धार’ एक मौन चलचित्र थियो । सन् १९३२ मा मौन चलचित्र ‘कैलाश’मा उनले तीन पात्रको भूमिका निभाएकी थिइन् । चलचित्रमा उनले नायिका, आमा र खल नायिकाको भूमिका निभाएकी थिइन् । उनको तिनै भूमिकालाई दर्शकले रुचाएका थिए । त्यसैगरि उनले १९३० मा बनेको चलचित्र  ‘चतुर सुन्दरी’ १७ रोल निभाएकी थिइन्, जुन एक रेकर्ड हो । उनले ७० वर्षभन्दा धेरै समयसम्म चलचित्रमा काम गरिन्, जुन कुरा गिनिज वर्ल्डमा पनि रेकर्ड गरिएको छ ।

lalita pawa

ललिताको व्यक्तिगत जीवनको कुरा गर्ने हो भने उनलाई उनको पहिलो श्रीमान् गणपतले धोका दिएका थिए । गणपत उनकी सानी बहिनीसँग प्रेम गर्थे । ललिताले पछि निर्माता राजप्रकाश गुप्तासँग विवाह गरिन् । आफ्नो जीवनमा कुशल अभिनेत्री बनेकी उनले पुणेमा रहेको आफ्नो घर ‘आरोही’मा एक्लै बस्दा-बस्दै अन्तिम सास लिइन् । सो समय उनका श्रीमान् अस्पतालमा भर्ना भएका थिए र छोरा आफ्नो परिवारका साथ मुम्बईमा थिए । उनको मृत्युको खबर तीनदिनपछी छोराले घरमा फोन गर्दा नउठेपछि बाहिर आएको थियो ।

घरको ढोका फुटाएपछि पुलिसली ललिताको तीन दिन पुरानो शव फेला पारेको थियो । २४ फेब्रुअरी १९९८मा ८२ वर्षको उमेरमा उनले संसार छोडिन् । उनको अन्तिम चलचित्र सुनिल शेट्टी र पूजा बत्राको १९९७ मा आएको चलचित्र ‘भाइ’ थियो ।

सम्बन्धित समाचार