चलचित्रमा माओवादी जनयुद्धको समयमा डेढ दशक अघि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथा देखाइनेछ । टिजरमा पनि छोरा खोज्दै हिँडेका बाआमाको आंशिक यात्रा देखाइएको छ ।
काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको निर्देशन रहेको पहिलो चलचित्र ‘पानीफोटो’को टिजर सार्वजनिक गरिएको छ । चलचित्र ‘पानी फोटो’मार्फत निर्देशनमा हात हालेका खगेन्द्र ‘टलकजंग भर्सेस टुल्के’ मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । नेपाली चलचित्र उद्योगमा उनले पशुपति प्रसाद, धनपति, डमरुको डण्डीवियो लगायतका चलचित्रबाट आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् ।
साउन १३ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्रको टिजर हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । खगेन्द्रले स्वयम्ले लेखेको नाटकलाई चलचित्रको स्वरूप दिइएको हो ।
चलचित्रमा माओवादी जनयुद्धको समयमा डेढ दशक अघि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथा देखाइनेछ । टिजरमा पनि छोरा खोज्दै हिँडेका बाआमाको आंशिक यात्रा देखाइएको छ । दशक अघि गुरुकुलमा मञ्चन भएको नाटक ‘पानी फोटो’लाई चलचित्रमा रुपान्तरण गरिएको हो । चलचित्रमा खगेन्द्रका अलावा अनुप बराल , मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का आदि कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रको छायाङ्कन काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्जामा गरिएको छ । दीपक बज्राचार्यको छायाङ्कन रहेको चलचित्रमा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पार्श्व सङ्गीत रहेको चलचित्र टुकी आर्ट्सले मञ्जुश्री फिल्म्ससंग सहकार्य गरेर बनाएको हो । चलचित्र रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्रको वितरक डीसीएन र स्टेसन फाइभ रहेका छन् ।
भिडियो