राजा वीरेन्द्रसँग सवारीमा हिँड्दाको रोमाञ्चक यात्रा सम्झिँदै उनले ती दिनसम्म मलाई पनि डुलाए । राजाको सवारीमा हरेक विभागको प्रतिनिधि जाने गर्थ्यो, सोही क्रममा देवेन्द्रले पनि करिब ३ पटक उक्त सवारीमा सामेल हुने मौका पाएका थिए ।
खाना खाइसकेपछि पान चपाउनु मधेसको संस्कृति हो भन्दा फरक पर्दैन । मीठो-मसिनो, चिल्लो-चाप्लो, रोटी-भात, चोखा-तरुवा, समोसा-लिट्टी मुखमा जे परे पनि मधेसको मुखमा पान परेन भने अपूरो हुन्छ । साथीभाई बीच साँझ-बिहान पान भेट चलिरहन्छ । अहिले पान मधेसमा मात्र सीमित रहेको छैन । पूर्व मेचीदेखि महाकालीसम्मको मुखमा पान पुगिसकेको छ । आज म काठमाडौंमा पान पसलको व्यवसाय सम्हाल्दै बसेका एक रोचक व्यापारीको रोचक कुराकानी सुनाउन जाँदैछु ।
केही दिन अघि रञ्जना गल्लीमा डुल्दै गर्दा लामो समयदेखि पान व्यवसाय गर्दै देवेन्द्र लाल कर्णसँग मेरो भेट भयो । मैले उनीसँग बसेर केहिबेर कुरा गर्ने इच्छा राखेँ । उनले चिया मगाउँदै मलाई आतिथ्य प्रदान गरे । आफ्नो पान जस्तै रसिला उनको पसलमा आउने ग्राहकलाई उनले गर्ने व्यवहारले मलाई चकित बनायो । हामी कुरा गर्दै गयौँ, उनी बेला-बेला पान तथा अन्य वस्तुको खोजीमा आउने ग्राहकलाई कुरा रोक्दै माग बमोजिमका सामान पनि पस्किन्छन् । ग्राहकका पानमा चुना र कत्था दल्दै उनी आफ्नो पुराना दिन सम्झिँदै, मुस्कुराउँदै मलाई सुनाउँछन् ।
देवेन्द्र लाल कर्ण
मधेस प्रदेशको बारा जिल्लाको महागढीमाई नगपालिका मन्दिर छेउमा घर रहेका देवेन्द्रले गाउँको श्री भोला हाई स्कुलबाट मेट्रिक गरे र पछि वन विज्ञान अध्ययन संस्थान हेटौँडाबाट तीन वर्षे फोरेस्ट्री कोर्स गरे । त्यहाँबाट पास आउट हुने बित्तिकै उनले जागिर पाए, उनलाई दिक्तेल खटाइयो । सो समयमा उनको तलब २८० रुपैयाँ रहेको थियो । तर, उनका बुवाले उनलाई ‘भर्खरको केटाकेटी मान्छे जागिर खान के जान्छौ’ भन्दै दिक्तेल जाने अनुमति दिएनन् । त्यसपछि उनी थप अध्ययनका लागि काठमाडौं प्रवेश गरे । यति कुरा गर्दै उनले चिसोको खोजीमा आएका ग्राहकलाई चिसो दिए, फाटफुट गुट्खा खोज्न आएकालाई गुट्खा थमाए ।
उनले एम.पी.ए(मास्टर्स अफ पब्लिक एड्मिन्सट्रेसन्) सम्म अध्ययन गरेका छन् । त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गत जनप्रशासन कलेजबाट उनले डिग्री गरेका हुन् । उनले एम.पी.ए गरिसकेपछि एक वर्ष युनिभर्सिटीमै काम गरे र ४२ सालमा वन अनुसन्धान तथा सर्वेक्षण विभागमा निस्किएको भ्याकेन्सीमा उनले नासु पदमा नाम मात्र निकालेनन्, आफ्नो कार्य अवधिमा तीन पटकसम्म बढुवा समेत भई उपसचिवको कार्यभार सम्हाल्दा-सम्हाल्दै रिटायर्ड भए । २८ वर्षको उमेरमा नियुक्ति पाएका उनी ५८ वर्षको उमेरमा उमेरको हकले रिटायर्ड भएका हुन् । ३४ वर्षको उमेरमा घरपरिवारको रोजाईमा विवाह गरेका उनका दुई सन्तान रहेका छन् । यसै बीच न्यूरोडका केही व्यापारीहरू उनको पसलमा झुल्किए, हाम्रो कुरा रोकियो । उनले दुईवटा मीठा पान नरिवलको धुलोमा चोपेर तयार गरे, एउटा पानमा भने कत्था दलेर छोडिदिए ।
पान पसल स्थापनाको रोचक कथा
पान पसल स्थापना निकै रोचक कथा छ भन्दै उनले सुनाउन थाले, म उनको कुरामा लट्ठिएर सुन्दै गएँ । देवेन्द्रका दाई अध्ययनका लागि काठमाडौं आएर बि.कम पढ्ने क्रममा दरबारसँग नजिकिएका थिए । ब्याचलर पढ्ने क्रममै राजा महेन्द्रका कान्छा भाइ वसुन्धरासँग उनको चिनजान भयो । २०२४ सालमा वसुन्धराले नेपाल सिपिङ्ग कर्पोरेसन स्थापना गरे र दुई पानीजहाज पनि खरिद गरे । त्यतीबेला सम्म देवेन्द्रका दाईले मास्टर्स गरिसकेका थिए, त्यसैले वसुन्धराले उनलाई सिपिङ्ग कर्पोरेसनको जिएम बनाएर सबै काम सम्हाल्दै सिए गर्न कलकत्ता जान आग्रह गरे । अघि कत्था दलेको पानमा सुपारी र अन्य सामाग्री राख्दै देवेन्द्रले आफ्नो दाईले दरबारको माया धेरै पाएको बताए । उनका दाई बेग्लै विचारधाराका मान्छे थिए, उनी पारिश्रमिक नलिएर शेयरको हिसाबमा काम गर्ने गर्थे । सो समयमा जहाजको काममा उनले १० प्रतिशत शेयर मागेका थिए र पाएका थिए । हिमालय शमशेर र वसुन्धराको निधन भएपछि २०३५ सालको अन्त्यपछि दाईको दरबारसँग सम्बन्ध बिग्रियो ।
‘अन्तको पान पनि खाने हो ?, तपाई पनि के कुरा गर्नुहुन्छ’ भन्ने वार्तालाप गर्दै केही व्यक्ति आइपुगे । एउटा जर्दा र एउटा १६० पान बनाउँदै, ग्राहकसँग बोल्दै, उनी सम्झनाका पोकाहरू फुकाउँदै जान्छन् । धिरेन्द्र सरकारको अङ्गरक्षक भरत गुरुङले देवेन्द्रका दाईले भैरहवाको लुम्बिनी चिनी मिलमा पाइरहेको २५ प्रतिशत शेयरमा १० प्रतिशत मागे, जुन देवेन्द्रका दाईले दिन अस्वीकार गरे । देवेन्द्रका दाईले ‘तपाईंलाई चाहिन्छ भने सरकारसँग माग्नुहोस्’ भनेपछि दुईबीच मनमुटाव भयो । त्यसपछि भरत गुरुङले राजासमक्ष तराईको मान्छेसँग पार्टनरशिपमा काम गर्न असजिलो भयो भन्दै गुहार लगाउन थाले । राजाले देवेन्द्रका दाइलाई बोलाएर ‘अब देखि तिमी पारिश्रमिकमा काम गर’ भन्दै एकलाख तलब तोके तर उनले सो कुरा अस्वीकार गर्दै म तपाईंको बुवाको पालादेखि जसरी काम गरिरहेको छु त्यसरी नै गर्न दिने भए गर्छु नत्र गर्दिन भन्दै अब बाट दरबार नफर्किने बताएर बिदा भए । उक्त घट्नापछि उनी दिल्ली गएर बस्न थाले । ‘दाई एउटा खोकीको लागि पान दिनु न’ भन्दै एउटी युवती झुल्किन्छिन् । मलाई पानले उपचार पनि हुन्छ भन्ने थाह थिएन, अचम्म लाग्यो । देवेन्द्र त वैध पनि रहेछन् जस्तो लाग्यो ।
यता देवेन्द्रलाई घरपरिवार चलाउन गाह्रो हुँदै गयो । अचानक आएको जिम्मेवारीबाट उनी आत्तिए । आएको समस्यासँग जुध्नै पर्यो, जीवनलाई अगाडी बढाउनै पर्यो । त्यसैले उनले २७५ रुपैयाँको फलफूल, तराजु र ढक किनेर व्यापार सुरु गरे । ढोकाटोलमा बस्ने एकजना मामा भन्ने गरेका आफन्तलाई उनको हालत देखेर दया जाग्यो । उनले देवेन्द्रलाई ठाउँ खोजेर किराना पसल गर्ने सल्लाह मात्र दिएनन्, त्यसको लागि चाहिने सामान पनि उपलब्ध गराउने वाचा गरे । नाफा खाएर सावाँ फर्काउने सर्तमा उनले जनकल्याण परिषद् नजीक किराना पसल शुरु गरे ।
उनले किराना पसल त शुरु गरे तर नेवारहरूको बस्ती भएकाले अधिकांशले उधारो खाने, पैसा नदिने गर्न थाले । उनी भन्छन् ‘उधारो नदिऊ भने पसल नचल्ने, दिऊँ भने पैसा नआउने ।’ ‘तेरो पैसा खाएर भाग्छु ?, भएपछि दिइहाल्छु नि’ भन्ने खालका वाक्यांश उनीहरूले प्रयोग गर्थे । ‘दाई एउटा २५को पान बनाइदिनु न’ भन्ने एक अधवैंशेको मागले हाम्रो कुरा रोक्यो । सबै सामानको दाम बढेकाले २५ को पान दिन नसकिने उनले सुनाए । ती ग्राहक पान खान नपाएर आफ्नो बाटो लागे । पसलमै उभिएका दुई जना ग्राहकले ‘दिए भइहाल्थ्यो नि’ भने तर दिन नसकिने देवेन्द्रले जवाफ दिए । टोलका प्राय:जसो सबै घरमा उधारो बढ्न थाल्यो, पैसा उठ्ने चामचुम केही देखिएन । सोही समयमा एक जना पटनाका पान व्यवसाय गर्ने व्यापारीसँग उनको भेट भयो । उक्त व्यापारी र देवेन्द्र एउटै पसलमा चिया पिउँदै थिए, सोही क्रममा उक्त चिया पसलेले हाम्रो तराईतिरको मान्छेलाई यस्तो-यस्तो समस्या परेको छ भनेर उक्त व्यापारीलाई सुनाए । व्यापारीले मेरो काम गर्ने भए म सहयोग गर्छु भन्ने कुरा राखे, जसमा देवेन्द्रले पनि सहमति जनाए ।
करीब ३६ सालतिरको कुरा हो त्यतिबेलाको समयमा उक्त व्यापारीले करीब ४५० रुपैयाँको सामान देवेन्द्रलाई दिने भए । यसरी उनको पान पसल त शुरु भयो तर उनको बढ्दो व्यापार देखेर घर मालिक भने ठुस्किन थाले र दिनदिनै पसल खाली गर्न भन्न थाले । हाल रञ्जना गल्लीमा रहेको उनको पसल भएको ठाउँमा अर्कैको पान पसल थियो तर उसले चलाउन भने सकेको थिएन । करीब ६ महिना देखि उक्त पसल बन्द नै थियो । यसैक्रममा उनीसम्म उक्त पसल खालि भएको र बन्द रहेको कुरा आइपुग्यो । ३६ सालमै उनले सो पसल ६० हजार रुपैयाँमा खरिद गरे । उक्त रकम उनले ढुकुटी खेलेर पाएका थिए, जसका लागि उनले प्रतिदिन १ हजार रुपैयाँ दिनु पर्थ्यो । तर उक्त घरमा सर्नासाथ बिस्तारै उनका सबै समस्या समाधान हुँदै गए । एक वर्षभित्र उनले ढुकुटीको पैसा पनि तिरे र सबै कुरा सामान्य हुँदै गयो ।
उनका अनुसार एकजना ब्राह्मणले सो समयमा आज तुरुन्त पूजा गरेर पसल सुरु गरिहाल्ने सल्लाह दिएका थिए, ब्राह्मणले ‘१० रुपैयाँको मिठाई किनेर ल्याऊ म पूजा गरिदिन्छु’ भनेका थिए । सोही कारणले आफ्नो पसल चलेको हो कि भन्ने उनलाई लाग्छ । उनले ब्राह्मणको कुरा मानेर उक्त व्यक्तिसँग साँचो मागे र सटर उघारे । अचम्म के भयो भने पूजा गर्दा नगर्दै उनको पसलमा मान्छेहरूको भिड लागिसकेको थियो । पसलमा चुरोट खोज्दै एक व्यक्ति आए तर आफ्नो पसलमा चुरोट राख्ने नगरेको उनले ती व्यक्तिलाई सुनाए ।
त्यसपछि उनको जीवनमा सबै ठीक हुँदै गयो, उनले डिग्री पनि गरे, सरकारी जागिर पनि खाए । पसल खोलेको केही समयमा उनले करीब ४ जना कर्मचारीलाई आफ्नो पान पसलमा रोजगारी दिएका थिए । रजनीगन्धाको खोजीमा आएको व्यक्तिलाई रजनीगन्धा र तुलसी दिँदै गर्दा उनले केहिबेर कुरा रोके । अन्य केहीलाई पान बनाएर दिए । यद्यपि कोरोना कालपछि भने उनी एक्लैले पसल हेर्दै आएका छन् । सरदार लुधराज पाण्डे उनका घरबेटी(राज गुरु, जो नेपालका पिएचडी गरेका पहिलो व्यक्ति हुन्)बाट पनि राम्रो साथ मिल्यो । उनकै पहलमा २०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भएको कुरा पनि देवेन्द्रले बीचमा जोडे ।
राज सवारीमा हिँडेका देवेन्द्र
जागिरको शिलशिलामा विदेश समेत घुमेका देवेन्द्रले ५६ सालमा साइन्स एण्ड टेक्नोलोजीको कन्फ्रेन्समा आफ्नो स्टल राखेका थिए । करीब एक महिनासम्म चलेको उक्त सेमिनारको प्रत्यक्ष प्रसारण समेत गरिएको थियो । उक्त समारोहमा उनले जीआइएसको पार्ट प्रस्तुत गरेका थिए । जीआइएस भनेको ग्लोब इन्फोरमेसन सिस्टम हो, जसबाट संसारको ज्ञान लिन सकिन्छ । देहरादुनबाट ६ महिनाको जीआइएस सम्बन्धी तालिम लिएका उनलाई त्यस सम्बन्धी निकै रुचि थियो । ‘सेतो मछिन्द्रनाथ जाने बाटो कता हो दाई ?’ भन्ने प्रश्नमा उनी रोकिए । हात ईशारा गर्दै उनले बाटो देखाइदिए । बेला-बेला बाटो सोध्ने बटुवाहरू आएर हाम्रो कुराकानी रोकिरहन्थे । ज्योग्राफी शास्त्रमा पिएचडी गरिरहेका तत्कालिन् राजकुमार दिपेन्द्रले सो कार्यक्रम अवलोकन गर्ने क्रममा आधा घण्टा लगाएर आफूले राखेको स्टल सम्बधि जानकारी दिएको कुरा उनले बडो गर्वका साथ सुनाए ।
राजा वीरेन्द्रसँग सवारीमा हिँड्दाको रोमाञ्चक यात्रा सम्झिँदै उनले ती दिनसम्म मलाई पनि डुलाए । राजाको सवारीमा हरेक विभागको प्रतिनिधि जाने गर्थ्यो, सोही क्रममा देवेन्द्रले पनि करिब ३ पटक उक्त सवारीमा सामेल हुने मौका पाएका थिए । पाँच विकास क्षेत्र रहेको समयमा राज वीरेन्द्रले प्रत्येक विकास क्षेत्रको अवलोकन गर्थे, सोही क्रममा देवेन्द्रले मौका पाएका थिए । उनी सवारीमा पुर्वाञ्चल धनकुटा, मध्यको हेटौँडा र पश्चिमको सुर्खेत पुगेको सम्झिन्छन् ।
काम प्रति इमान्दार देवेन्द्र
देवेन्द्रले आफ्नो कार्यभारमा आफूभन्दा तलका कर्मचारीलाई मात्र रिझाएनन्, आफूभन्दा माथिका लाई पनि सधैँ चकित बनाए । दिएको काम तोकिएको समयभन्दा अघि सिद्ध्याउने देवेन्द्र सबैका प्रिय थिए । मिनिरल वाटर (पानी)को खोजीमा आएका एक ग्राहकलाई फ्रिजबाट पानी निकालेर उनले दिए । मैले पनि उनले पिउनलाई राखेको बोतलबाट पानी घुट्क्याएँ । उनले काम गर्ने विभागमा राम्रो काम गर्ने कर्मचारीलाई ग्रेडको हिसाबले पुरस्कृत गर्ने चलन थियो । जहाँ उनले आफ्नो १० वर्षे कार्यकालमा अन्तिम ग्रेडसम्मको पुरस्कार समेत पाए । आफ्नो काम इमानदारिता पूर्वक गर्ने देवेन्द्रले १० ओटा पुरस्कार पाएको कुरा मलाई स-विस्तार सुनाए ।
राजा र पानको किस्सा
तत्कालीन राजा वीरेन्द्र जहिल्यै बेलुकी ११ बजे सिभिल ड्रेसमा हनुमान ढोका आउने गर्थे । उनी आफ्नो कुल देवता तलेजु भवानीको दर्शन गर्न हनुमान ढोका पुग्ने गर्थे । कुल देवताको दर्शन गरिसकेपछि सिभिल ड्रेसमा रहेका बडीगार्ड सहित राजा देवेन्द्रको पसलमा सादा पान खान आउँथे । तर, राजा आफ्नो पसलमा पान खान आउने गरेको कुरा सुरक्षाको दृष्टिकोणले अरूलाई सुनाउन भने पाइँदैन थियो । सहकारीको केही खाता पुस्तकमा उनले व्यापारको केही रकम राखे । स्याम्पुको बिक्रेता आइपुगे, उनले केही माला स्याम्पु लिए र त्यसको पैसा तिरेर बिक्रेतालाई बिदा गरे । वीरेन्द्रका दाइ रवीन्द्र शाह पनि उनको पसलबाट जर्दा पान खाने गर्थे । राज परिवारका धिरेन्द्र शाहले पनि आफ्नो पान खाने गरेको उनी सम्झिन्छन् । कहिलेकाहीँ चाडवाड र विशेष दिनमा दरबारबाट केही विशेष पानको अर्डर समेत आउने गरेको उनी सम्झिन्छन् । दरबारबाट प्राय: सादा र मिठा पानको माग गरिन्थ्यो ।
रवीन्द्र शाहसँगको एक घटना सम्झिँदै उनले अर्को एक कप चिया मगाए र चियाको चुस्कीसँगै भन्दै गए । रवीन्द्र शाह पान खान आउँदा, उनको पसलभन्दा केही पर गाडी रोक्ने गर्थे । देवेन्द्रले उनको गाडी देख्ने बित्तिकै उनको रोजाईको पान बनाएर गाडीसम्म लगिदिने गर्थे । एकपटक देवेन्द्र आफ्नो कामले सुर्खेत जाँदा, रवीन्द्र शाहको गाडी उनको पसल अघि रोकियो । तर कर्मचारीले उनलाई चिन्न सकेनन्, १०/१५ मिनेट पर्खिँदा समेत आफ्नो पान नपाएपछि उनी रिसाएर त्यहाँबाट हिँडे । त्यसपछि उनले आफ्ना बडीगार्ड मार्फत पान मगाएर खाए । देवेन्द्र सुर्खेतबाट फर्किएपछि रवीन्द्र शाहका बर्डीगार्डसँग उनको भेट भयो । उनीहरूले देवेन्द्रलाई तिमीसँग राजा रिसाउनु भएको छ भनेर सुनाए । तिम्रा मान्छेले राजालाई वास्ता नगरेपछि यस्तो भएको भन्दै उनीहरूले स-विस्तार सबै घटना सुनाए । उनले बडिगार्डहरुलाई कर्मचारीले चिन्न नसकेर त्यसो भएको बुझाए । यद्यपि सो समयपछि रवीन्द्र देवेन्द्रको पसलमा देखिन छोडे ।
राजनीतिज्ञहरूको जमघट स्थल
उनको पसल राजनीतिज्ञहरूको जमघट स्थल समेत रहेको थियो । विभिन्न राजनीतिज्ञसँग जोडिएका केही किस्साहरू देवेन्द्र बीच-बीचमा याद गर्छन् । केपी भट्टराई, गणेशमान सिंह, टङ्क प्रसाद आचार्य, बासु रिसाल आदि राजनीतिज्ञहरूको समूह आफ्नो पसलमा नियमित जसो आएर पान खाने गरेको उनी सम्झिन्छन् । उनीहरूसँग देवेन्द्रको राम्रो सम्बन्ध रहेको थियो । पसलमा आएर उनीहरू निकै लामो समयसम्म मीठा-मीठा गफ गर्ने र पान खाने गर्ने गरेको देवेन्द्रलाई हिजो जस्तो लाग्छ ।
केही घण्टाको मिठो वार्तालाप सक्दै र फेरी भेट्ने वाचा गर्दै मैले बिदा लिन चाहेँ । उनले आफ्नो नम्बर मलाई दिए र फेरी आउन आग्रह गरे । नम्बर साटासाट गरेपछि हामी छुट्टियौँ ।