बुधबार , अषोज ७, २०८३

हिमपातको सम्भावना: पर्वतारोहण र पदयात्रा गर्दा सावधानी अपनाउन मौसम विभागको आग्रह

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

image

काठमाडौं । देशका पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना भएकाले पर्वतारोहण तथा पदयात्रा गर्दा विषेश सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

यस्तै शुक्रबार देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

शनिबार प्रदेश १ को पहाडी थोरै स्थानहरुमा र बागमती, गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । शनिबार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ ।

सम्बन्धित समाचार