सोमबार , साउन ११, २०८३

धैर्यता, मेहेनत र कलाको सङ्गम ‘मेहनती कला’

कोरोना महामारीपछि अहिलेको समय नेपालमा उत्साहित रूपमा पर्यटकहरू देखा परेका छन् । पर्यटकको आगमनमा वृद्धि भएसँगै उनी पनि आफ्नो व्यापार बढ्ने कुरामा आशावादी छन् ।

image

कोरोना महामारीले निम्त्याएको लकडाउनबाट चारैतिर जनजीवन निकै प्रभावित बनेको थियो । त्यही फुर्सदको समयमा धेरै विभिन्न किसिमका व्यवसायको जन्म भयो । यो समयमा धेरै सिर्जनात्मक कामको थालनी समेत भयो । यही समयले रमेश कुमार श्रेष्ठमार्फत ‘मेह

नती कला’को अवधारणा जन्मायो ।

यसअघि पनि कुनै पनि वस्तुलाई कलात्मक तरिकाले सिँगार्न रमेशलाई मन लाग्थ्यो, रुचि जाग्थ्यो । उनी पहिला ठेक्का लिएर आल्मुनियमसँग सम्बन्धित झ्याल-ढोका बनाउने काम गर्दथे । उक्त काम गर्दा उनीसँग केही अतिरिक्त किला-काँटीहरू जम्मा हुन्थे, जसलाई आफ्नो कलामार्फत एउटा फरक ढाँचामा ढाल्थे र सन्तुष्टि लिन्थे ।

उनको काठको कारखाना समेत रहेको छ, जहाँबाट उनले काठका टुक्राटाक्री बटुल्ने गर्थे । काठ चिर्ने क्रममा पन्छ्याइएका काठका कुड्का-कुड्कीलाई फुर्सदको समयमा सदुपयोग गरी केही न बनाइरहन्थे । सोही क्रममा लकडाउन भयो र यो काममा उनी अझ दत्तचित्त भएर लाग्ने मौका पाए ।

कोरोनाको अवस्था सामान्य भएपछि केही अनलाइन व्यापार गर्ने व्यक्तिहरू आएर उनलाई पहिलो अर्डर दिए । अर्डर अनुसार उनले आफ्नो कलालाई पहिलो पटक काठको गमला बनाएर व्यवसायीकरण गरे । उक्त अर्डरले उनीभित्र थप ऊर्जा थप्ने काम गर्‍यो र यसलाई उनले निरन्तरता दिन थाले ।

उनले तिहारमा काठको मैनबत्ती सहितको एउटा कलात्मक सामग्री तयार गरे र स्वयम् मार्केटिङ गर्दै हिँड्न थाले । यसैक्रममा उनको भेट एकजना फूलको (प्लास्टिकको) व्यापारीसँग भयो । उनले उक्त काठको मैनबत्तीबाट मैनबत्ती झिकेर फूल राखिदिए । उनी त्यसको सुन्दरता देखेर निकै आश्चर्यमा परे । उक्त घट्नाले उनीभित्रको कलाको चेतलाई अझ मलजल गर्ने काम गर्‍यो । त्यसपछि उनले हाँगाबिँगा, जरा सबैलाई कलात्मक तरिकाले सिँगार्न थालेको सम्झिन्छन् । हरेक वस्तुलाई कलात्मक आँखाले नियाल्न थाले र थप नयाँ-नयाँ आकार प्रकार तथा सौन्दर्यले भरिएका वस्तुहरू निर्माण गर्न थाले ।

धेरै किसिमका वस्तु निर्माण गर्न थालेपछि उनले आफैँ बाइकमा राखेर त्यसलाई बजार घुमाउन थाले । ठाउँ-ठाउँमा उनले आफ्ना कलात्मक वस्तुहरू प्रदर्शन तथा बिक्री गर्न थाले । वस्तुहरूको माग बढ्न थालेपछि उनले लाजिम्पाटमा पहिलो पसल राखे र औपचारिक रूपमा ‘मेहनती कला’ स्थापना भयो ।

काम गर्ने क्रममा, हेर्दा आकर्षक भएपनि यसमा धेरै मिहिनेत लाग्ने बुझेपछि र यो कलात्मक समेत भएकाले यसलाई ‘मेहनती कला’ नाम दिएको रमेशले सुनाए । आफ्नो यस काममा उनले आफ्नी जीवन सङ्गिनीबाट पनि राम्रो साथ र सहयोग पाएका छन् ।

विस्तारै उनले प्रविधिलाई आफ्नो आवश्यकता अनुरूप प्रयोग गरेर आफूलाई चाहिने थप ज्ञान हासिल गरे । युट्युबमार्फत आफ्नो कामसम्बन्धी थप ज्ञान हासिल गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘जति लगनशील भएर गर्दै गयो त्यति नै धेरै आइडिया आउने रहेछ ।’

आफूसँग भएको अतिरिक्त पेचकिला, आल्मुनियमका झ्याल-ढोकाका साथमा आउने अतिरिक्त एलेन्कीलाई गम् आदिले जोडेर पहिलो आर्ट बनाएको उनी सम्झिन्छन् । जुन उनले पछि कसैलाई उपहार स्वरूप प्रदान गरे । आफ्नो काम बारे उनी भन्छन्, ‘आफूसँग भएका अतिरिक्त सामग्री प्रयोग हुने भयो, फ्याँलिन तयार भएका सामग्री प्रयोग हुने भयो र यसबाट कलात्मक वस्तु पनि उत्पादन भयो ।’

बालखबाटै काम गरेर खाने बानी भएका उनी त्यतिबेलैदेखि कलात्मक कार्यमा रुचि राख्थे । बोडे मूल घर भएका रमेश कुमार श्रेष्ठ गोल्कुपाखामा जन्मी-हुर्किएका हुन् । उनले अहिलेको १२ त्यतिबेलाको ‘आईकम’सम्म अध्ययन गरेका छन् । कामको शिलशिलामा उनी एकपटक सशस्त्र प्रहरीमा समेत आबद्ध भए । तर, उनले अरू नै केही गर्नु थियो । जीवनमा विभिन्न काम गरेका उनको भोक बेग्लै थियो, तिर्खा फरक थियो । या भनौँ उनको आफूसँग परिचय हुनै बाँकी थियो, आफ्नो त्यो कलात्मक स्वरूप उनीभित्रै कतै लुकेर बसेको थियो । त्यसैले उनले सशस्त्र प्रहरीको जागिर पनि छोडिदिए । अन्ततः उनले आफ्नो कौशलताबारे बुझे र त्यसलाई प्रयोग गर्न थाले ।

 

एउटा, दुइटा हुँदै उनले विभिन्न किसिमका कलात्मक वस्तुहरू बनाउन थाले र अहिलेको अवस्थामा आइपुगे । उनी आफू काठका सामग्रीहरू बनाउने भए तापनि रुख काट्ने कार्यको विरोध गर्छन् । वातावरण जोगाउनु पर्छ भन्ने धारणा राख्ने उनी काटिएर आएका रुखका अन्यत्र काम नलाग्ने, फ्याँकिने टुक्रा, हाँगा तथा जराहरूमा नै कला भर्ने गर्छन् र त्यसलाई उपभोग गर्न मिल्ने बनाउँछन् ।

उनको पसलमा विशेषगरि काठले बनेका घडी, ऐना, कि-होल्डर, र्‍याक, क्यान्डील् होल्डर, भिजिटिङ कार्ड होल्डर, टेबल आदि धेरै सामग्री पाइन्छ । साथै ढुङ्गाबाट विभिन्न किसिमका सजावटका सामग्री समेत उनले बनाउने गरेका छन् ।

खान लाउन ठिक्कको व्यापार हुने गरेको बताउँदै उनी भन्छन्, ‘ठिकै छ, विस्तारै राम्रो होला नि ।’ केही समय अघि सोचे जस्तो व्यापार नहुँदा उनले इन्ड्राइभ गरेर समेत घरव्यवहार चलाउने गरेका थिए । देशको अवस्था राम्रो भए व्यापार बढ्ने विश्वास लिएका उनी भन्छन्, ‘देशको आर्थिक अवस्था सुदृढ भए जनतासँग पैसा हुन्छ र व्यापार पनि हुन्छ । अहिले त देशको अवस्था नै धाराशायी छ ।’

सरकारको पहलमा सम्बन्धित कामको तालिम दिने, उत्पादन भएका सामग्री माग बमोजिम निर्यात गर्ने या बिक्री गर्न सहज वातावरण सिर्जना गर्ने जस्ता कार्य भए यस्ता कलात्मक उत्पादनले थप रोजगारी सिर्जना गर्नेमा उनी विश्वस्त छन् । गाउँमा सर्वसुलभ रूपमा काठ पाइने हुँदा यसले गाउँका मान्छेहरूलाई समेत रोजगारी प्रदान गर्ने उनी बताउँछन् ।

मेहनती कलाका कलाकृति यसरी तयार हुन्छन्;

मेहनती कलाका प्रत्येक सामाग्री तयार हुन धैर्यता, मेहेनत र कला चेतको आवश्यकता पर्छ । प्रक्रियाको सामान्य कुरा गर्ने हो भने पहिला कारखानाबाट काठ ल्याएर त्यसलाई दिनभरि सुकाइन्छ । भिजेको काठ रहेको खण्डमा बढी समय सुकाउनु पर्छ । त्यसपछि ती काठलाई कस्ने र घोट्ने काम गरिन्छ । घोटिएका काठमा ३ देखि ४ पटक रङ्ग लगाउनुपर्छ । रङ्ग सुकेपछि बल्ल त्यसलाई एउटा आकार दिन सकिन्छ । रमेशका अनुसार एउटा कि-होल्डर बनाउन आधा दिन समय खर्चिनु पर्छ ।

उनी किरा नलागेको काठ मात्र प्रयोग गर्ने गर्छन्, बिग्रिएको काठ प्रयोग गरे त्यसले ग्राहकप्रतिको विश्वसनीयता घटाउने हुँदा यसमा सजग रहन्छन् । उनले अहिलेसम्म ग्राहकबाट कुनै किसिमको असन्तुष्टि व्यक्त नगरिएको कुरा पनि सुनाए । आफ्नो सामग्री खरिद गर्न आउने प्राय ग्राहकहरूले मेहेनतको कदर गर्ने गरेको र प्रशंसा गर्ने गरेको उनी बताउँछन् ।

नेपालमा कलासँग सम्बन्धित सामाग्रीको राम्रो बजार रहेको र यसलाई मनपराउनेहरूको सङ्ख्या बढिरहेका छन् भन्ने उनलाई लाग्छ । उनको पसलमा १०० देखि लिएर १८ हजारसम्मका सामग्रीहरू रहेका छन् । अहिलेसम्मकै ठुलो अर्डरको कुरा गर्ने हो भने केही समयअघि उनले करिब ७० हजारको अर्डर पाएका थिए । होटेल योगा होमले यो व्यापार दिएको उनले सुनाए ।

कोरोना महामारीपछि अहिलेको समय नेपालमा उत्साहित रूपमा पर्यटकहरू देखा परेका छन् । पर्यटकको आगमनमा वृद्धि भएसँगै उनी पनि आफ्नो व्यापार बढ्ने कुरामा आशावादी छन् । साथै हस्तकला महासङ्घसँग समन्वय गरेर आफ्नो कला अरूलाई पनि हस्तान्तरण गर्न उनी तयार छन् । करिब ४०/५० हजारको लगानीमै सुरु गर्न सकिने यो व्यवसायले रोजगारी सिर्जना गर्ने हुँदा यसको विशेष तालिम दिनका लागि उनले महासङ्घलाई आग्रह समेत गरेका छन् ।

जाँदा-जाँदै उनले सरकार र सम्बन्धित निकायले यस्ता कलात्मक उत्पादनलाई ध्यान दिएर बजारीकरण गर्न सहयोग गरे जीविकोपार्जन गर्न र देशमै रोजगारी सिर्जना गर्न मदत पुग्ने बताए ।

मेहनती कला काठमाडौंको सोह्रखुट्टे चौकबाट थोरै माथि उकालोमा रहेको छ ।


फोटो ग्यालेरी :

सम्बन्धित समाचार

काकाकुल काठमाडौं : ‘ढुंगेधारा सुकाउनेहरूले महँगो मूल्यमा ट्यांकीको पानी बेचिरहेछन्’

उसै त धरासयी अवस्थामा रहेको नगरको खानेपानी वितरण प्रणाली मौसम परिवर्तन र अत्यधिक जनसंख्या वृद्धिको चपेटामा परेर झनै शिथिल बनेको छ । बासिन्दाहरू चर्को मूल्यमा ट्याङ्किको पानी किनेर खान बाध्य छन् ।

तपाईँकाे पर्खाइमा ‘रम्मापुर मध्यवर्ती सामुदायिक होमस्टे’

होमस्टेको प्रवर्द्धन, व्यवस्थापन तथा सञ्चालनका लागि स्थानीय सरकारले खासै सहयोग नगरेको उनीहरूको गुनासो छ ।