सोमबार , जेठ १४, २०८१

चौथो पिँढीले पाइडल मार्दै प्यान्क

image

जीवनलाई स्वस्थ रूपमा दौडाउन साइकल एउटा प्रमुख कडी बन्न सक्छ । जीवन मात्र नभएर वातावरणको सुस्वास्थ्यका लागि समेत साइकल एउटा माध्यम बन्न सक्छ । कतै घरेलु कामकाज त कतै मनोरञ्जनका लागि पनि पाइडल चलाउन सकिन्छ ।

‘मान्छेले पहिला साइकल कुदाउँछ, दुःख गर्छ, धन कमाउँछ, एसोआरामको जीवन जिउने क्रममा सुविधा सम्पन्न गाडी चढ्छ, रोगले ग्रसित हुन्छ र अन्तिममा चिकित्सकको सल्लाह बमोजिम पुनः साइकल कुदाउन थाल्छ । साइकलको साइकल बडो गजबको छ ।’ भन्दै सुनाउँछन् ‘प्यान्क’का सञ्चालक टिरेक मानन्धर ।

प्यान्क (panc) यानिकी पन्च अष्ट नारायण साइकल । यानिकी यात्रा गरिरहेको एउटा प्राचीन आधुनिक व्यवसाय । कहिले ब्रेक लगाउने, कतै घण्टी बजाउने गर्दै साइकिल यात्रामा निस्किएको प्यान्क पाइडल चलाउँदा-चलाउँदै चौथो पिँढीमा कुदिरहेको छ ।

सन् १९२५ अघि पन्च नारायण बाजेको असनमा तरकारी पसल थियो । अष्ट नारायण बाजेभित्र साइकलको हुटहुटी आउनै थियो । त्यसैले होला त्यतिबेलासम्म काठमाडौं र पन्च नारायण बाजेको पसलले गतिलोगरि साइकल महसुस गर्न पाएको थिएन ।

अष्ट नारायण बाजे त्यतिबेलाको समयमा सामाजिक अभियन्ता जस्तै थिए । कंगमा पुल बनाउने (झोलुङ्गे पुल अहिले पनि छ) , स्वयम्भूमा भर्‍याङ बनाउने आदि सामाजिक कार्यहरूमा उनी सहभागी भइरहन्थे ।

विभिन्न मठ-मन्दिरहरूमा सकेको सहयोग गर्थे । त्यतीबेला नेपालमा राणा शासन थियो । सो समयमा सुरेन्द्र विक्रम शाह नेपालका राजा थिए भने दोस्रो पटक जङ्गबहादुर राणाले प्रधानमन्त्री पद सम्हालिरहेका थिए ।

अष्ट नारायण बाजे र साइकल

त्यो समय (१९२५) मा काठमाडौंमा एकाध मात्र साइकल थिए । राणाहरूले आफ्नो सौखका लागि बेलायतबाट मगाएर केही साइकल काठमाडौं भित्र्याएका थिए ।

कमलादीमा प्रथम पटक साइकल देखेर अष्ट नारायण निकै आकर्षित भएर । त्यो एउटा गीत छ नि ‘देखेर तिमीलाई, हेरेर तिमीलाई..’ सायद त्यस्तै भाव उनको मनमा खेल्यो होला ।

उनलाई साइकल नकुदाई भएन । मनमा साइकलप्रति एक किसिमको हुटहुटी उब्जियो । एकै नजरमा बसेको प्रेम जस्तै भनौँ न । उनले साइकल धनीसँग साइकल मागेर कुदाउने प्रयास गरे र कुदाए पनि । तर, ओरालो झर्ने क्रममा ठोक्किएर लडे । साइकलबाट लडेपछि उनको एउटा खुट्टा भाँचियो । यसरी दुर्घटनामा परेपछि साइकल धनीले दोस्रो पटक साइकल दिन अस्वीकार गरे । उनको प्रेम अस्वीकार भयो ।

उनलाई यो कुरा मनमा साह्रै बिझ्यो । आफूले चाह राखेको कुरा नपाएपछि उनी निराश भए । यद्यपि उनले मनमनै अठोट लिए ‘म साइकल जसरी भए पनि चलाउँछु ।‘

यो एकदम राम्रो साधन रहेछ भन्ने कुरा उनको मनमा परिसकेको थियो । दुर्घटनामा परे पनि उनले साइकल भने राम्रैसँग कुदाएका थिए । तर उनी र साइकलबिच थप एक समस्याले आङ तान्ने प्रयास गरिरहेको थियो । या भनौँ उनलाई साइकलबाट टाढा लैजाँदै थियो । दुर्घटनामा एउटा खुट्टा भाँचिएको हुँदा त्यसको उपचार गर्दा बाङ्गो हुनगयो । साइकलको प्रेममा उनी यति डुबेका थिए कि खुट्टाका कारण साइकल कुदाउन नपाउने कुराले उनलाई क्षतविक्षत बनायो । दुवै खुट्टाको तालमेल मिलाउन उनले एउटा निकै ठुलो निर्णय लिए । पढ्दा अचम्म लाग्ला तर उनले आफ्नो दोस्रो खुट्टा पनि भाँचिदिए । दुवै खुट्टाको ब्यालेन्स मिलेपछि उनले साइकल कुदाउन पाउने भए तर साइकल थिएन, भएकाले दिएनन् ।

यति धेरै प्रेम र बलिदानपछि साइकल त जसरी भए पनि कुदाउन पर्ने थियो । त्यसैले उनी साइकल कहाँ पाउने रहेछ भनी सोध खोज गर्न थाले । सोध खोजकै क्रममा साइकल कलकत्तामा पाइने कुरा ज्ञात भयो ।

सो समयमा भारतमा ब्रिटिसहरूको शासन थियो । अष्ट नारायणको मनमा एउटा ज्वाला दन्किरहेको थियो । साइकल जसरी पनि ल्याउनु पर्ने थियो । त्यो हुटहुटीकै बिच उनले केही पैसा जम्मा गरे र पैदल कलकत्ता जाने निर्णय लिए ।

सवारी साधनको सुविधा नभएकाले हिँडेरै सपना भेट्नु थियो । त्यसैले एक बिहान काठमाडौंसँग केही समयको लागि बिदा लिएर आँखा र मनभरि साइकलको रहर बोकेर उनी कुलेखानीको बाटो हुँदै अघि बढे । भीमफेदी, हेटौडा, वीरगन्ज र रक्सौल हुँदै कलकत्ता पुगे ।

कलकत्ता पुगेर उनले ६ वटा साइकल खरिद गरे । फिलिप्स ब्राण्डको सो साइकल लिएर उनी दङ्ग पर्दै काठमाडौंलाई आफ्नो साइकल देखाउन अघि बढे । भरियाहरूलाई साइकल बोकाएर उनी गएकै बाटो समाएर घर फर्किए ।

असनमा पन्च नारायणलाई नभनी भएको तरकारी पसल उठाएर उनले ल्याएको ६ वटा साइकल प्रदर्शनमा राखे । सुरुमा छोराको यो साइकल मोह र व्यापार गर्ने उद्देश्य देखेर पन्च नारायण रिसाए तर पछि अष्ट नारायणले सम्झाइ-बुझाइ गरे । ती ६ साइकल बेच्न त्यतीबेला ६ महिनादेखि १ वर्षसम्मको समय लाग्यो ।

त्यो समयमा एउटा साइकलको दाम २० रुपैयाँ थियो । २० रुपैयाँमा त्यसबेला जग्गा नै आउँथ्यो ।

बाजेले साइकल व्यवसाय राजधानीमा मात्र सीमित राखेका थिएनन् । नेपालभरि सप्लाई गर्ने गरेका थिए । यसरी ६ वटा साइकलबाट सुरु भएको प्यान्क साइकल अहिले सम्म सफलतापूर्वक सञ्चालन भइरहेको छ ।

त्यसपछि के भयो ?

त्यहाँबाट रेली ब्र्यांडका साइकलहरू आए । प्यान्कले त्यसको डिलरशिप लियो । असनमा रहेको उक्त पसलमा नेपालभरिबाट मानिसहरू साइकल खरिद गर्न आउने थाले । त्यसपछि फिलिप्स, एट्लास, हिरो आदि साइकलहरू थपिँदै गयो ।

अहिले पनि असनको कमलाछिलाई नेपालकै पुरानो साइकल बजार भनेर चिनिन्छ । चौथो पिँढीमा आइपुगेको प्यान्क साइकलको एक शाखा जमलमा रहेको छ ।

टिरेक मानन्धर र साइकल आकर्षणको उकाली ओराली

हाल पुर्ख्यौली साइकल व्यवसाय सम्हालिरहेका टिरेक मानन्धर पहिला प्रमुख सवारी साधनको रूपमा साइकल कुद्ने गरे तापनि महँगो दामका कारण बेच्न गाह्रो हुने गरेको सुनाउँछन् । ‘१९४७ मा भारत स्वतन्त्र भइसकेपछि भारतमा फ्याक्ट्रीहरू खुल्न थाले । भारतीय साइकल उत्पादन हुन थालेपछि साइकलको दाम सस्तो भयो ।‘ उनी भन्छन् ‘१९२५ देखी १९४७ सम्म साइकल बेच्नका लागि निकै गाह्रो समय थियो ।‘

बिस्तारै साइकल लोकप्रिय साधनको रूपमा प्रयोग हुँदै गयो । बुढो साइकल, लेडिज साइकल अनि फोनिक्स साइकल पनि ल्याएर बेचेको टिरेकले बताए । फोनिक्स चाइनिज साइकल हो । ‘केही मान्छेहरू अहिले पनि फोनिक्स साइकल पाएको भए पनि हुने भन्ने गर्छन् ।‘ टिरेक सुनाउँछन् ।

सन् १९९० पछि जब प्रजातन्त्र आयो, बैंकहरू खुल्न थाले । फ़ाइन्यान्स सिस्टम आइसकेपछि सबैले बाइक तथा गाडीहरू किन्न सुरु गरे । मानिसहरूले साइकल बिर्सिन थाले किनभने त्यतीबेला पनि नेपालको बजारमा साधारण साइकल मात्र उपलब्ध थिए ।

मानिसहरूले बाइक, गाडीको सुविधा पाउँदै गएपछि साइकल प्रतिको आकर्षण घट्दै गयो । साइकलमार्फत धेरै टाढा जान नमिल्ने, दैनिक प्रयोजनमा प्रयोग गर्न पनि गाह्रो भन्ने भाव मानिसमा आउन थाल्यो र साइकल कुदाउने कम हुँदै गए ।

सन् २००० मा टिरेकले मेकानिकल इन्जिनियरिङ सकेका हुन् । त्यसपछि सबै साथीहरू विदेशतिर लागे तर टिरेकलाई लाग्यो ‘हाम्रो यत्रो विरासत छ, मैले नै यसलाई निरन्तरता दिइन भने कसले देला ?’

उनका काकाहरूले थामिरहेको व्यवसायमा पहिलो लेभलका साइकल मात्र थिए । उनी यसलाई बृहत् बनाउन स्वइच्छाले साइकलका डिजाइनिङ तथा टेक्नोलोजीको अध्ययन गर्ने गर्थे । अध्ययनकै क्रममा साइकलसँग सम्बन्धित व्यवसायमा धेरै सम्भवाना रहेछ भन्ने उनलाई लाग्यो । त्यसैले सन् २००० बाट उनी व्यवसायमा आबद्ध भए ।

बिस्तारै साइकलको दोस्रो लेभललाई उनले बजारमा चिनाउन थाले । डाँडाकाँडामा मानिसहरूलाई साइक्लिङ गर्न लैजान सुरु गरे । जसले मानिसहरूको साइकलप्रतिको धारणा परिवर्तन गर्न मदत गर्‍यो । ‘यो त रमाइलो हुने रहेछ’ भन्ने मानिसहरूलाई लाग्यो ।

पहिला दैनिक प्रयोजनको लागि मात्र साधारण साइकल चलाइन्थ्यो भने अहिले साइकल यात्रा रमाइलो पनि हुने रहेछ, सस्तो हुने रहेछ, व्यायाम समेत हुने रहेछ र धेरै ठाउँ पुग्न सकिने रहेछ भन्ने मानिसहरूले बुझ्न थालेका छन् ।

धेरै साइकलहरू लगेर डाँडामा छोड्ने र मानिसहरूलाई साइकल यात्रा गराइ झार्ने काम टिरेकले गर्थे । पहिला झार्ने काम मात्र गराइयो भने पछि मानिसहरू उकालो चढ्न पनि थाले । सन् २००० देखि अहिलेसम्म सबैभन्दा बढी चल्ने साइकल रिक्रिएसन् साइकल हुन् ।

दैनिक प्रयोजनका लागि साइकल तराईमा मात्र चल्छन्, जुन अहिले विस्थापित हुँदै गइरहेको छ  ।

प्यान्क र सञ्चालक टिरेक मानन्धर

साइकल नबुझेपछि

अहिले सुविधा अनुसार साइकलको ७ लेभल छन् । पहिलो लेभलको साइकल भनेको फलामको साइकल (पुरानो जमानाको) हो । जुन शहरमा मात्र कुदाउन सकिन्छ ।

दोस्रो लेभलको साइकल भनेको अफरोड (कच्ची बाटो)मा कुदाउन मिल्ने साइकल । यी साइकललाई माउन्टेन बाइकको सुरुवाती लेभलको रूपमा समेत बुझिन्छ ।

तेस्रो लेभलको साइकलमा अल्मुनियमको माउन्टेन बाइकहरू रहेका छन् । जसलाई डाँडाकाँडा जाने साइकल समेत भनिन्छ । लेभल चारमा आल्मुनियम साइकलमा हाइड्रोलिक ब्रेक सक भएको साइकल पर्छन् । साधारण साइकलमार्फत डाँडाबाट झर्न गाह्रो हुन्छ । तर, यी साइकलमा गियर समेत धेरै हुने भएकाले डाँडाबाट झर्न समेत सजिलो हुने गर्छ ।

लेभल पाँचमा एयरसकहरू भएको साइकलहरू पर्छन् । जसबाट द्रुत गतिमा तल झर्दा पनि सहज हुन्छ। जसलाई ट्रेल बाइक भनिन्छ ।

लेभल छ मा दुईवटा सक भएको साइकल पर्छन् । तल झर्दा पनि साइकलले उफार्ने गरिन्छ, यस्ता उफार्न मिल्ने साइकल लेभल छ मा पर्छन् । त्यसलाई इन्ड्योरो लेभल समेत भनिन्छ ।

लेभल सातमा डाउन हिल साइकलहरू आउँछन् । यी ठुलो जम्पहरू हान्ने साइकल हुन् ।

पहिला एउटा मात्र लेभलको साधारण साइकल थियो भने अहिले प्यान्कसँग सातै लेभलको साइकल छन् ।

मानिसहरूले साइकल विभिन्न प्रयोजनका लागि चलाइन्छ भनेर नबुझ्नु नै साइकल व्यवसायमा लाग्दाको गाह्रो पाटो रहेको उनी सुनाउँछन् । उनी भन्छन् ‘मानिसहरूले साइकललाई हेर्ने नजर नै फरक राख्ने गरेका छन् । साइकल भनेको बुढो साइकल, लेडिज साइकल हो भन्ने पुरानो सोच अझै मानिसहरूमा रहेको छ ।‘

पहिला ‘साइकल साधारण बाटोमा कुदाउने हो’ । ‘यो गरिबले चलाउने हो’ भन्ने कुरालाई मानिसहरूको मस्तिष्कबाट परिवर्तन गर्न प्यान्कले रिक्रिएसन् गर्‍यो । तर, ‘यो त डाँडाकाँडा जाने साइकल’, ‘हेलमेट भएको साइकल’, ‘यो त महँगो साइकल’, ‘यस्ता साइकल त ४/५ लाख पर्छन्’ भन्ने उल्टो छाप दिमागमा परिरहेको छ ।

यसलाई सन्तुलनमा ल्याउन प्यान्कले विभिन्न अभियानहरूमार्फत जनचेतना समेत फैल्याउने काम गरिरहेको छ ।

नेपालको विषयमा आर्थिक रूपमा पनि साइकल फाइदाजनक देखिन्छ ।  बाइक गाडी चलाउँदा दैनिक रूपमा अरबौँ पैसा देश बाहिर जान्छ ।

दैनिक प्रयोजनको हिसाबमा हेर्दा अहिले काठमाडौँको कतिपय स्थानमा पार्किङको समस्या देखा परेको छ । जसले गर्दा मानिसहरूले वैकल्पिक साधन खोज्न थालेका छन् । अहिले कति मानिसहरू आएर ‘मलाई फोल्डीङ्ग गर्ने साइकल चाहियो, जुन पसलमा राख्न सकियोस्, त्यो पनि इलेक्ट्रिक चाहियो’ भन्न थालेका छन् ।

अहिले मानिसहरूले दैनिक रूपमा कुदाउन साइकल उपयुक्त रहेको बुझ्न थालेका छन् । पार्किङ, स्वास्थ्य, खर्च र प्रदूषणको हिसाबमा हेर्दा साइकल उपयुक्त रहेछ भनी बुझ्न थालिएको छ ।

प्यान्कले धेरै मेहनत गरेर इलेक्ट्रिक साइकल निकालेको छ । जसमा समतल बाटोमा पाइडल मार्ने र उकालोमा आफैँ कुद्ने सुविधा हुनाले धेरै अफिस जानेहरू पनि आकर्षित हुन थालेका छन् । विद्यार्थी, कर्मचारी र व्यापारी समेत लाभान्वित हुन थालेका छन् ।

कर्पोरेट लेभलमा समेत प्यान्कले प्रेजेन्टेसन दिइरहेको छ । विभिन्न व्यापारिक थलोमा प्यान्कको टिम गएर साइकलको फाइदा बारे बुझाउन थालेका छन् ।

इलेक्ट्रिक बाइक गाडी स्टोरमा कुरा गरिरहेका छन् । मानिसहरूले इलेक्ट्रिक मात्र पनि सुविधा होइन, यो जहाँपनि रोकिन सक्छ भन्ने बुझ्न थालेका छन् । त्यस्ता गाडी स्टोरमा साइकल राख्न भनी प्यान्कले डिलरमार्फत सुझाइ रहेको छ । मानिसहरूमा जनचेतना जगाउन थालिएको छ ।

कर्पोरेट, स्कुल, सरकारी कार्यालय लगायत विभिन्न निकायसँग समन्वय गरेर टेस्ट राइड गर्न दिइरहेको छ ।

बाटोमा कुदिरहेका गाडीले क्षमता अनुसारका मानिस नबोकेर ठाउँ ओगट्ने काम मात्र गरेका छन् । जसले ट्राफिक समस्या बढाएको छ । टिरेक भन्छन् ‘व्यस्त समयमा खालि हिँडेका गाडीलाई दण्डित बनाउनु पर्‍यो ।‘

साइकल चलाउने बित्तिकै म आफू तल्लो स्तरको भन्ने सोच राख्नु हुँदैन ।  यसमानेमा ज्ञानको कमी देखिन्छ । प्यान्कले यो मानसिकता परिवर्तन गर्न प्रयास गरिरहेको छ । र्‍यालीहरू सञ्चालन गरिरहेको छ । सञ्चार माध्यमले पनि यस विषयलाई गम्भीरतापूर्वक नलिएकाले मानिसहरूमा अन्यौलता छ ।

नक्कली पार्टपुर्जाले बढायो साइकलप्रति वितृष्णा

प्यान्कले साइकल कस्टमाइज गर्न सुरु गरेको छ । ओरिजनल सामानहरू राखेर तयार गर्नुलाई कस्टम गर्नु भनिन्छ । प्यान्कले आफ्नै कस्टम भनेर लन्च गरेको छ । ओरिजनल पार्टपुर्जा ल्याउने र खरिद कर्ताको गक्ष अनुसार जोडिदिने गरेको छ ।

मानिसहरूको अर्डर बमोजिम जोड्ने भएकाले मार्केट लिन गाह्रो भएको टिरेक बताउँछन् । प्यान्कले ‘सेफ वे’ नामक अस्ट्रेलियन ब्र्यांडका सामाग्री लिएर इलेक्ट्रिक साइकल तयार गरिरहेको छ ।

मानिसहरूमा इलेक्ट्रिक साइकलको नराम्रो छाप परेको छ । केही समय पहिला चाइनिज इलेक्ट्रिक साइकल आयो जसमा लिड एसिड प्रयोग गरिएको थियो । केही समयपश्चात् साइकल बिग्रियो, बनाउन मिलेन । जसले गर्दा मानिसहरूमा नकारात्मक असर पर्न गयो । यद्यपि प्यान्कले ब्र्यांडेड सामान प्रयोग गरी बनाइ रहेको छ । जसलाई ट्राई गरेर अनुकूल लागे खरिद गर्न या भाँडामा लिई चलाउन सकिन्छ ।

नेपालमा विभिन्न लेभलका अधिकांश साइकलहरू कपि र लोकल लेभलका छन् । जसले गर्दा मानिसहरूले ‘मैले गियर वाला साइकल लिएको बिग्रियो ।‘ ‘कामै लागेन. मैले फ्याल्दिएँ, थन्काइदिएँ ।‘ भन्दै अविश्वास देखाउन थालेका छन् । बजारमा गुड्ने ९० प्रतिशत साइकल लोकल नै हुन्छन् । ब्र्यांडेड किन्न गक्षले नभ्याउने, एक डेढ लाख पर्ने र लोकल किन्दा १५ देखि ३० हजारमा आउने हुँदा मानिसहरूमा गलत धारणा विकास भइरहेको छ ।

त्यहिभएर प्यान्कले प्यान्क नाम दिएर ब्र्यान्डेड सामान ल्याइ फिट गर्ने गरेको छ । मानिसलाई ५ लेभलको साइकल चाहियो भने लेभल ५ कै फ्रेम ल्याएर ३ लेभलमा जोडीदिने र बिस्तारै क्षमता बढाएर चार पाँच लेभलमा साटिदिने सुविधा ल्याउँदै छ ।

ब्र्यान्डेड नै सामान पनि फिर्ता हुँदैन तर प्यान्कले फिर्ता लिइदिएर आफ्नै ब्र्यांडबाट क्षमता वृद्धि गरिदिन्छ । मानिसहरूले क्वालिटी बुझे भने बाइक गाडी छोडेर साइकल चलाउने जमात बढ्नेमा टिरेक विश्वस्त छन् ।

साइकलका लागि फाइन्यान्सको सुविधा, जोखिम र समाधान

गाडी, बाइकको लागि फ़ाइन्यान्स सुविधा भए झैँ साइकल पनि हुनपर्छ भन्छन् टिरेक । इलेक्ट्रिक साइकल लिन मानिसहरू आउँछन्, जुन ५० हजारबाट सुरु हुन्छ । लिथेमाइम ब्याट्री प्रयोग हुनेलाई एक डेढ लाख पनि पर्छ । यस्ता साइकल किन्न एक्मुष्ठ पैसा नहुन पनि सक्छ । बैंकले फ़ाइन्यान्स गर्न मानेको छैन । महत्व पनि दिएको छैन ।

‘साइकलको ब्लु बुक हुँदैन । इन्स्योरेन्स छैन । यो हरायो भने के गर्ने ?’ भन्ने कुरा मानिसहरूले प्रमुख समस्याका रूपमा सुनाउने गरेको पाइएको टिरेकले सुनाए ।

त्यसको लागि पनि प्यान्कले इन्स्योरेन्स कम्पनीसँग सल्लाह गरिरहेको छ । साइकल जिपियस डिभाइस राख्ने प्रयास भइरहेको टिरेकले बताए । त्यो राखेपछि इन्स्योरेन्स कम्पनीले पनि साथ् दिने भनेका छन् । यो कुरा सम्भव भए बैंक फाइन्यान्स गर्न तयार हुनेछ ।

एउटा सजिलो उपाय के निस्किएको छ भने बैंकसँग कुरा गर्ने क्रममा हाइयर पर्चेजअन्तर्गत क्रेडिट कार्डमार्फत साइकल किन्न मिल्ने भएको छ । नर्मल क्रेडिट कार्ड लिँदा ३० दिनको समय हुन्छ तर प्यान्कले बैंकहरूसँग समन्वय गरेर १ वर्ष २ वर्षको समय लिएर क्रेडिट कार्ड मार्फत साइकल लिन मिल्ने वातावरण मिलाउँदैछ ।

साइकल संस्कृति

ललितपुरमा साइकल लेन बनेको छ तर मानिसहरूको मानसिकता परिवर्तन नभएसम्म लेन बनेर मात्र केही फरक नपर्ने टिरेक बताउँछन् ।  ‘हिजो नाकाबन्दीमा कसैलाई लेन चाहिएन । साइकलको संस्कृतिसँग यो कुरा जोडिन्छ ।‘ उनी भन्छन् ‘कुनै एकदिन या एकैरातमा संस्कृति परिवर्तन भएर आउने कुरा होइन । यो संस्कृति विकास गर्न सरकारले एकदिन मात्र साइकललाई प्राथमिकता दिए फरक पर्दै जानेछ ।‘

विभिन्न संघ संस्थाले यो कुरामा पहल गरिसकेका छन् । कतिले अन्य गाडीको पार्किङ खुम्च्याएका छन् भने साइकलमा आउनेलाई इन्सेन्टिभ दिने, प्रोत्साहन गर्ने, नुहाउने ठाउँ राखिदिने गरेर संस्कृतिको विकास गर्न थालेका छन् ।

जसले गर्दा मानिसहरूको खर्च पनि घट्यो । स्वास्थ्य पनि राम्रो भयो । कुनै एकदिन कार्यालयहरूले ‘साइकल डे’ भनेर या ‘पब्लिक यातायात प्रयोग गरेर आऊ’ भन्यो भने साइकल संस्कृतिको विकास हुँदै जानेछ ।

अहिले कतिपय ठाउँमा डाक्टरहरू साइकलमा जान थालेका छन् । संस्कृति बसेपछि बल्ल साइकल लेनको कुरा आउँछ ।

साइकलका समस्या

साइकलको मुख्य समस्या भनेको सुरक्षा हो । साइकल हराउँछ भनेर मान्छेहरू साइकल कुदाउन डराउँछन् । यसको समाधानका लागि ठाउँ-ठाउँमा पार्किङ राख्नुपर्‍यो । सम्बन्धित संस्थाले सुरक्षाको जिम्मा लिनुपर्‍यो ।

अर्को समस्या भनेको मानिसहरू पानी परेको बेला हिलो छ्याप्छ भन्छन् । यसको लागि मडगार्ड फूल राख्न सकिन्छ ।

आफ्नो शरीर अनुसार साइकलको ह्यान्डल, सिट आदि पनि मिलाउनु पर्ने हुन्छ । जसले साइकल यात्रा आनन्ददायी र आरामदायी बनाउँछ ।

धेरै भन्दा धेरै मानिसहरूमाझ साइकल प्रति आकर्षित भइरहेका छन् । यसलाई बढाउन जनचेतना फैल्याउन जरुरी छ ।

प्यान्कले इलेक्ट्रिक साइकल भाडामा दिन सुरु गरेको छ । मानिसहरूलाई आउनुहोस् हेर्नुहोस् भनी स्वागत गरिरहेको छ । हजारौँ थरिका साइकल हुन्छन्, मानिसहरूलाई आफूलाई कुन ठिक हुन्छ थाह नभएर पनि अलमल पर्ने गर्छ । त्यस्तो कुरा बुझाउन प्यान्कले टेस्ट राइड गर्न दिने गरेको छ । बिस्तारै लेभल बढेपछि क्षमता वृद्धि गरिदिने, विभिन्न लेभलका साइकल साट्दिने, भाडामा दिने, सर्भिसिङ, मेन्टेनेन्स गर्ने, इलेक्ट्रिक जोडिदिने, एसेसरिज दिने, कस्टमाइज गर्ने लगायत धेरै कुरा राखिएको भएर साइकलको इको सिस्टम प्यान्कले तयार गरेको छ ।

अष्टनारायण बजेको समयमा पनि ‘ट्राई एण्ड बाई’को सिस्टम थियो । ६ साइकल मध्ये २ वटा कुदाउन दिने गरिन्थ्यो । चलाउन नआउनेले ट्राई गर्थे, सिक्थे भाडामा लिएर कुदाउँथे ।

अब मानिसहरूले यसको फ्रेंस्चाइज (शाखा) लिए भने फैलिँदै साइकल संस्कृति मौलाउनेमा टिरेक विश्वस्त छन् ।

सम्बन्धित समाचार