सन् २०१७ बाट पर्यटक आगमनमा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना सङ्क्रमणको पहिलो लहर आएयता पदमार्ग क्षेत्र नै प्रभावित भएको थियो ।
एजेन्सी । सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटक विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा घुमेका छन् । जसमध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ ।
सबैभन्दा धेरै फ्रान्सका दुई हजार १२ पर्यटक आएको बताइएको छ । यस केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार सन् २०२१ मा भन्दा सन् २०२२ मा १३ हजार छ सय २७ जना बढी पर्यटक आएका हुन् ।
सन् २०२१ मा एक हजार पाँच सय ६२ पुरुष र सात सय ११ जना महिला गरी दुई हजार दुई सय ७३ जना पर्यटक आएका थिए । कोरोना महामारीका कारण प्रभावित हुँदै आएको यस पदमार्गमा अघिल्लो वर्षहरूमा भन्दा गत वर्षमा पर्यटक वृद्धि भएको उनले बताए । उनले भने, ‘लामो समय कोरोना सङ्क्रमणका कारण प्रभावित भएपनि विस्तारै सङ्क्रमणको जोखिम कम भएसँगै पर्यटक आगमन हुन थालेको छ ।’ सरकारले आवश्यक प्रचारप्रसार गर्न नसक्दा सन् २०२२ मा उक्त सङ्ख्यामा मात्र पर्यटक आए अन्यथा त्योभन्दा दोब्बर-तेब्बर नै हुने थियो ।
सन् २०२० मा एक हजार नौ सय ७६ जना पर्यटक आएका थिए । त्यस्तै, केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार छ सय ४७ जना पर्यटक, सन् २०१८ मा २९ हजार चार सय ८४ जना पर्यटक, सन् २०१७ मा २१ हजार ६८ जना पर्यटक पदमार्गमा आएका थिए ।
सन् २०१७ बाट पर्यटक आगमनमा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना सङ्क्रमणको पहिलो लहर आएयता पदमार्ग क्षेत्र नै प्रभावित भएको थियो । यस पदमार्गमा आउने पर्यटकमध्ये, छिमेकी मुलुक चीन, भारत, जापान, अष्ट्रेलिया, बेलायतलगायतबाट आउने पर्यटक बढी रहेको उक्त केन्द्रका पर्यटन सहायक गुरुङले बताए । केही समयसम्म दैनिक एक सय ५० जनाभन्दा बढी आउने गरे पनि चिसो बढेसँगै यति बेला भने एक दुई दिन विराएर दुई चार जना मात्र आउने गरेको केन्द्रले जनाएको छ ।
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतार रहेको छ । यस पदमार्ग लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । पर्यटक हिमाल, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न अन्नपुर्ण पदमार्गमा आउने गर्छन् । केहि पर्यटक मनाङबाट थुम्रापास गरी मुस्ताङ तथा पोखरा समेत जाने गर्छन् ।
मनाङमा रहेका विभिन्न हिमाल चढ्न तथा हेर्नका लागि पनि पर्यटक आउने गरेको पाइन्छ ।