मंगलबार , अषोज ६, २०८३

उपेक्षामा ‘गुरिल्ला पदमार्ग’, मेटिँदै रुट 

सशस्त्र द्वन्द्वकाे बेला माओवादी छापामारले बढी प्रयोग गरिएको पदमार्गलाई २०७२ सालमा ‘गुरिल्ला पदमार्ग’ नामकरण गरिएकाे थियाे ।

image

दश वर्षे सशस्त्र द्वन्द्व उद्गमस्थल रोल्पा, रुकुमबाट माओवादी छापामारले प्रयोग गरेको बाटोलाई प्रवर्द्धन गर्दे एउटा द्वन्द्व पर्यटनमैत्री पदमार्ग बनाउने उद्देश्यका साथ सो पदमार्गको नामकरण गरेपनि पदमार्ग प्रवर्द्धनमा कसैको ध्यान जान सकेको छैन । बागलुङ, म्याग्दी, रोल्पा, रुकुम र सुर्खेत जिल्लालाई समेटिएको पदमार्ग घोषणाको सात वर्ष बित्दासमेत पूर्वाधारमा फड्को मार्न सकेको छैन ।

भेडा चराउने गोठालाको बाटोमा द्वन्द्वको क्रममा छापामार हिँड्ने, हातहतियार बोक्ने, शहीद र घाइतेको उद्धार गर्न प्रयोग गरिएको बाटो शान्ति सम्झौतापश्चात् एकीकृत विकास गर्न गुरिल्ला पदमार्ग घोषणा गरियो । पदमार्गमा पर्ने केही स्थानीय तहले सामान्य पूर्वाधारको कामबाहेक अन्य केही काम नगरेकाले प्रचलनमा आउन नसकेको ३५ दिन लगाएर यात्रा गर्नुभएका पोखराका दिवस गुरुङले गुनासो गरे। उनले केही स्थानमा पदमार्ग मेटिँदै गएको दुखेसो पोखे । उनले नक्सामा देखिएको पदमार्ग पूर्वाधारको अभावमा मेटिँदै गएको छ बताए । गाउँ तथा सहरसँग जोडिएको स्थानमा पदमार्गको नामकरण, सामान्य रेलिङ बनेपनि जङ्गल र दुर्गम स्थानमा काम नभएको उनको अनुभव छ ।

गुरिल्ला पदमार्गमा पर्ने ढोरपाटन सिकार आरक्ष, जलजलाजस्ता विविध प्राकृतिक सम्पदाले भरिपूर्ण स्थल संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको बताइएको छ । पदमार्गका लागि आवश्यक सूचना बोर्ड छैन । त्यसैले त्यहाँ पुग्ने पर्यटक हराउने गरेकाले मुख्य काम सूचना बोर्ड राख्न आवश्यक देखिएको पदमार्गमा यात्रा गर्न रुचाउने बागलुङका स्थानीय मनिष रायमाझीले बताए ।

रायमाझीसहित चार युवाको समूहले १४ दिनमा सो पदयात्रा गरेको थियो । रायमाझीले सूचना बोर्ड नहुँदा बागलुङको ढोरपाटनस्थित फागुने धुरै हुँदै ठकार पुग्नै समस्या भएको सुनाए । ढोरपाटन सिकार आरक्ष क्षेत्र सकिएपछि पदमार्गमा समस्या नभएको उनको भनाइ छ । “प्रकृतिको सुन्दरता बिगार्न हुँदैन, प्रचारको अभावमा उक्त क्षेत्रमा विरलै पदयात्री हिँड्छन्, घना जङ्गल र नदी नाला तर्दे जानु यात्रा निकै कठिन छ”, रायमाझीले भने । रायमाझीसहित सुवास केसी, राहुल पाण्डे र राजीव थापाले सो पदमार्गमा यात्रा गर्दा निकै आनन्द लागेको सुनाए।

ढोरपाटनको बुकी, फागुने, पूर्वी रुकुम, ठाकुर, पेल्मा, माईकोट, पूर्व रुकुमको टक्सेरा गाउँ, लुकुम, रोल्पाको थवाङ, जेल्बाङ, सकुल्वाङ हुँदै लिवाङलगायताई समेटिएको पदमार्गलाई प्रवर्द्धन गर्न सरोकारवालाले विशेष कार्यक्रम ल्याउन आवश्यक देखिन्छ । ढोरपाटन सिकार आरक्ष फैलिएको बागलुङ, म्याग्दी र पूर्वी रुकुमलाई छिचोलेर जाने गुरिल्ला पदमार्गमा केही सूचना बोर्ड राखे पनि थप सूचना बोर्ड राख्न आवश्यक देखिएको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

नामकरणको आठ वर्ष पुग्नै लाग्दा उक्त पदमार्ग चर्चामा आउन नसक्नु, ढोरपाटन सिकार आरक्षमा आएका विदेशी पर्यटक उक्त पदमार्गप्रति आकर्षित हुन नसकेको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य कृष्ण केसीले बताए । यो पदमार्ग सरकारको प्राथमिकतामा नपरेको उनको गुनासो छ । “पदमार्ग विकासका लागि रोल्पा रुकुमलेनै बढी जोड दिन आवश्यक छ, माओवादीको आधार इलाकाबाट थुप्रै नेता मन्त्री बने तर गुरिल्ला पदमार्ग न बजेटमा आयो नत नीति तथा कार्यक्रममा”, केसीले भने ।

पदमार्गमा १० वर्षे द्वन्द्व प्रयोग भएका बाटा, सेल्टर, तालिम केन्द्र, कब्जा गरिएका चौकी साथै मगर संस्कृतिको अवलोकन गर्न सकिन्छ । मुख्य आकर्षक क्षेत्र भने जलजला र बागलुङको ढोरपाटन सिकार आरक्षण भएको पदयात्रीले अनुभव छ । म्याग्दीबाट थालिने पदयात्रा अन्त्यसम्म पुग्न २१ दिन, ढोरपाटनबाट १४ र रोल्पाबाट यात्रा गर्दा १० दिनमै सकिन्छ । रासस

सम्बन्धित समाचार