एजेन्सी । पर्यटन प्रवर्द्धनका लागि भारतबाट आएका प्रतिनिधि मण्डल र होटल संघ नेपालबीच छलफल भएको छ । उदयपुर होटल संघका अध्यक्ष धीरज दोशीको नेतृत्वमा कोरोना महामारीपछिको पर्यटनलाई पुनरुत्थान गर्ने विषयमा उक्त छलफल भएको हो ।
काठमाडौंमा यही आइतबार भएको यस छलफलमा प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले दुई देशबीचको पर्यटन प्रवर्द्धन बलियो ढंगबाट गरिनुपर्ने कुरा राखिन् ।
उदयपुर होटल संघ भारतका अध्यक्षमार्फत नेपालमा भारतीय पर्यटकहरूलाई भ्रमणका लागि प्रचारप्रसार गरिदिन आग्रह गर्दै उनले नेपालको सातै प्रदेशलाई समेटेर तयार पारिएको नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी पुस्तक हस्तान्तरण गरिन् ।
उदयपुर होटल संघका अध्यक्ष दोशीले होटल संघ नेपालले गरेको आतिथ्यताको प्रशंसा गर्दै आउँदा दिनमा होटल संघसँग सहकार्य गर्दै दुई देशबीचको पर्यटन प्रवर्द्धनमा सशक्त ढंगले अघि बढ्ने बताए ।