एजेन्सी । जनमुक्ति सेनाको ब्यारेक बसेका २८ वटा स्थानलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किरातीले युद्ध पर्यटनका रूपमा विकास गरिनुपर्ने बताएका छन् ।
मन्त्री किरातीले २८ औ जनयुद्ध दिवसको अवसरमा सोमबार झापाको शिवसत्ताक्षी नगरपालिकास्थित दोमुखामा पूर्व जनमुक्ति सेनाको सांस्कृतिक कार्यक्रममा यो कुरा उठाएका हुन् । देशमा गणतन्त्र ल्याउन जनमुक्ति सेनाले खेलेको भूमिका र छाडेको छापलाई विश्वसमक्ष प्रस्तुत गर्न र आउँदो पुस्तालाई हस्तान्तरण गर्न देशको पूर्व पश्चिम राजमार्ग केन्द्रित गरेर युद्ध पर्यटनका लागि सरकारले युद्ध संग्रहालय बनाउने तयारी सुरु गरेको उनले जानकारी दिए ।
संग्रहालयमा पर्यटक आकर्षित गरी विदेशी मुद्रा आर्जन गर्ने र आम्दानीको स्रोत बनाउने तयारी पनि सरकारले सुरु गरेको मन्त्री किरातीले जनाए । उनले पर्यटनको विकास गर्नका लागि स्थानीय रैथाने स्वाद र संस्कृति बिनाको अपरिहार्य रहेको बताउँदै नेपालमा पर्यटन अर्थतन्त्रको मुख्य खम्बा रहेको बताए । रैथाने स्वाद र मौलिकताको संरक्षण नगरी यसले पर्यटनको दिगो विकासमा टेवा नदिने उनले बताए ।
मन्त्री किरातीले देशमा जनमुक्ति सेनाले रगत नबगाएको भए अझै पनि जनता रैतिकै रूपमा रहने भन्दै जनमुक्ति सेनाले देशको परिवर्तनमा खेलेको भूमिकालाई कम आँक्न नहुने बताए ।
कार्यक्रममा प्रदेश सरकारका वन वातावरण तथा पर्यटनमन्त्री जीवन आचार्य, प्रदेश सांसद गीता तिम्सिना, नेकपा (माओवादी केन्द्र)का प्रदेश कमिटी अध्यक्ष हर्क नेम्बाङ्ग मिक्सो लगायतले देशको परिवर्तनका लागि जनमुक्ति सेनाको भूमिका र उनीहरूकै कारण देशमा गणतन्त्र लगायतका परिवर्तन सम्भव भएको बताए ।
कार्यक्रममा गायक शम्भु राई, प्रदीप देवान, आधुनिक देवान, बालकृष्ण गजमेर आदिले जनवादी गीत प्रस्तुत गरेका थिए ।