मंगलबार , चैत्र १७, २०८२

‘पशुपतिनाथ टु पञ्चकोशी’ यात्रा सम्पन्न

image

काठमाडौं। दैलेखमा रहेका पञ्चकोशी तिर्थस्थलहरूको प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले थालिएको पशुपतिनाथ देखि पञ्चकोशीसम्मको यात्रा सम्पन्न भएको छ । काठमाडौंको पशुपतिबाट सुरु भएको यात्रा देवघाट, लुम्बिनी, बागेश्वरी, काँक्रेविहार हुँदै दैलेखका पञ्चकोशी तीर्थस्थलसम्म पुगेको हो । चैत ५ गते सुरु गरिएको यात्रा मनघरी फाउन्डेसनको आयोजना र दैलेखी सेवा समाज काठमाडौँ, दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको सहकार्यमा गरिएको हो ।

यात्राका परिकल्पनाकार भरतबन्धु थापाका अनुसार पशुपति–पञ्चकोशी यात्राले दैलेखको पर्यटन विकास र पञ्चकोशी तथा ज्वाला क्षेत्रको प्रचारप्रसारमा सहयोग पुर्‍याउनेछ । यात्राले काठमाडौंको पशुपति आएका पर्यटकलाई दैलेख आउन मार्ग तय गरिएको उनले जनाए । साथै यात्राको मुख्य उद्देश्य प्राचीन महत्त्व र अनेक सभ्यताको इतिहास बोकेको दैलेखको प्रचारप्रसार गर्ने र यस क्षेत्रको अध्ययन अवलोकनका लागि विभिन्न स्थानबाट पर्यटकहरूलाई दैलेख ल्याउने रहेको उनले जनाए ।

यात्रामा जोडिएका कर्णाली प्रदेश सभा सदस्य घनश्याम भण्डारीले दैलेखमा एउटा मात्र सभ्यता नभएर अनेकौँ सभ्यता रहेको र यसलाई अध्ययन गरेर प्रचारप्रसार गर्नुपर्ने बताए । दैलेख धेरै जातीहरूको उद्गम स्थल, धेरैजसो भएको साथै यहाँका सम्पदाहरूले धार्मिक र प्राचीन सभ्यता बोकेको हुँदा यसको प्रवर्द्धनमा सबै लाग्नुपर्ने उनले बताए । यात्राका क्रममा भिडियो वृत्तचित्र बनाएको र यसलाई क्रमशः काठमाडौं, देवघाट, लुम्बिनी, बागेश्वरी र सुर्खेतमा प्रदर्शन गर्ने उनले जनाएका छन्। उनका अनुसार दैलेखका सम्पदा र सभ्यतालाई चिनाउन फोटो प्रदर्शनी गर्ने पनि योजना रहेको ।

उनले प्रदेश सरकारबाट दैलेख लगायत कर्णालीको सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन विकासका लागि नीति बनाउन जोड दिने बताए । पञ्चकोशीमा पर्ने अधिकांश तीर्थस्थल दुल्लुमा रहेकोले यसको संरक्षण र प्रचारप्रसारमा नगरपालिकाले सक्रिय भूमिका खेल्ने दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजनलले बताए ।

सम्बन्धित समाचार