काठमाडौं । मधेसको पर्यटन र औद्योगीकरणका विषयमा पहिलोपटक बाराको सिमरामा भएको ‘मधेस कन्क्लेभ’को प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुझाइएको छ । शुक्रबार नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा नेतृत्वको टोलीले पर्यटनमन्त्री किराँतीलाई प्रतिवेदन बुझाएको हो ।
टोलीमा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईं, नाट्टाका महासचिव कुमार थपलिया, पर्यटनविद् डा.हिमलाल घिमिरे, नेपाल उद्योग वाणिज्य महासङ्घका मेला महोत्सव समिति सभापति उमेश डाल्मिया, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अमरेश बैदवार लगायतको सहभागिता रहेको थियो ।
प्रतिवेदन बुझाउँदै नाट्टा मधेस प्रदेशका अध्यक्ष तथा मधेस कन्क्लेभका संयोजक मोहन शर्माले पहिलोपटक मधेसको पर्यटनबारे खुला र विषय केन्द्रित छलफल गरेर नेपालको पर्यटनमा मधेसको आयामका विषयमा गम्भीरसँग विचार, बहस तथा छलफल गरिएको बताए । भारतीय पर्यटकलाई लक्षित गरेर आगामी दिनमा गर्नुपर्ने काम र ल्याउनुपर्ने कार्यक्रमका विषयमा कन्क्लेभमा गम्भीरसँग बहस भएको भन्दै उनले सङ्घीय सरकारले पनि मधेसको पर्यटन विकास गर्न कन्क्लेभले सुझाएका विषयमाथि परामर्श गरेर कार्यक्रम बनाउनुपर्ने बताए ।
‘मधेसको मुख्य स्रोत भनेकै चुरे हो । मधेसमा चुरे जोगाएर पर्यटन विकास तथा संरक्षण गर्नुपर्छ । यसका लागि चुरेमा ग्रेटवाल तथा चुरे ड्याम निर्माण गर्नुपर्छ’, जितपुर सिमरा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेस प्रदेशको पर्यटन हवाई तथा यातायात समितिका सभापतिसमेत रहेका शर्माले भने, ‘मधेसको पर्यटन विकास नगरी भारतीय र विदेशी पर्यटक तान्न सकिँदैन, त्यसैले मन्त्रीज्यूले कन्क्लेभमा उठेका विषयलाई गम्भीरतापूर्वक बुझेर आगामी कार्यक्रममा समेटिदिनुपर्छ ।’
जवाफमा पर्यटनमन्त्री किराँतीले पर्यटन विकास गर्न सबैको प्रयास चाहिने भन्दै मधेसको पर्यटन विकास गर्न मधेस कन्क्लेभले भूमिका खेलेको विश्वास रहेको बताए ।
‘पर्यटन विकासका लागि सबैको साझा प्रयास चाहिन्छ, मधेसमा त्यो प्रयास तपाईँहरूले गर्नुभयो, यसका लागि धन्यवाद । निरन्तर प्रयास र काम गर्न सकियो भने नेपालमा पर्यटक बढाउन सकिन्छ,’ मन्त्री किराँतीले भने ।
नेपालमा रोजगारी सिर्जना गर्न मधेसमा रहेका औद्योगिक क्षेत्रको विकास र संरक्षण महत्त्वपूर्ण रहेको भन्दै कन्क्लेभका संयोजक शर्माले औद्योगिक क्षेत्रको विकास नभई पर्यटन क्षेत्र धेरै चलायमान हुन नसक्ने भन्दै उद्योग र पर्यटन सँगसँगै लैजानुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका मेला महोत्सव समितिका संयोजक उमेश डाल्मियाले मधेसको पर्यटन र उद्योग एकसाथ अगाडि बढाउन कन्क्लेभले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै अबका दिनमा सरकारको सहयोग झन् आवश्यक रहेको बताए ।
‘घुमौँ मधेस, बुझौँ प्रदेश’ भन्ने मूल नाराका साथ जेठ २६ र २७ गते नाट्टा मधेस प्रदेश, जितपुर सिमरा नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा बाराको सिमरास्थित होटल इच्छामा मधेस कन्क्लेभ सम्पन्न भएको थियो ।
मधेस प्रदेश सरकार अन्तर्गतको उद्योग विभाग वीरगन्ज र पर्यटन विकास कार्यालय वीरगन्जको मुख्य सहयोगमा भएको मधेस कन्क्लेभको उद्घाटन मधेस प्रदेश सरकारकी उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले गरेकी थिइन् ।
पर्यटन बोर्ड प्रवर्द्धक रहेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेश र वीरगन्ज उद्योग वाणिज्य सङ्घको समेत सहयोग र सहकार्य थियो । नाथम बर्दिबास हस्पिटालिटी पार्टनर रहेको कार्यक्रममा मधेसको औद्योगीकरण क्षेत्र र पर्यटनको विकास तथा आगामी सम्भावनाका विषयमा विषय विज्ञ तथा वक्ताहरू राखेर पहिलोपटक छलफल भएको थियो ।
मधेस कन्क्लेभमा मधेसको आर्थिक बहस, पछिल्लो समयको आर्थिक सङ्कट तथा त्यसका लागि सरकारले गर्नुपर्ने काम, मधेसको औद्योगिक कोरिडोर र पर्यटनका विषयमा विषय विज्ञ तथा वक्ताहरूले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, मधेस विश्वविद्यालयका उपकुलपति डा.दीपक शाक्य, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल पर्यटन बोर्डका सिइओ डा.धनञ्जय रेग्मी, नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईं, महासचिव कुमार थपलिया, होटल एशोसिएसन अफ नेपाल हानका अध्यक्ष विनायक शाह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, मधेस प्रदेशका उद्योगी व्यवसायी, पत्रकार, पर्यटन व्यवसायी, महिला उद्यमी, सङ्घ संस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।
कार्यक्रमको प्रतिवेदन सङ्घीय पर्यटनमन्त्री किराँतीसँगै मधेस प्रदेशका मुख्यमन्त्री, पर्यटनमन्त्री, मेयर लगायतलाई बुझाउने तयारी रहेको मधेस कन्क्लेभका संयोजक शर्माले जानकारी दिए । कन्क्लेभमा डा.हिमलाल घिमिरेले विषयविज्ञका रुपमा काम गरेका थिए ।
टोलीले काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासङ्घ अध्यक्ष चन्द्र ढकाल, पर्यटन बोर्डका सिइओ डा.धनञ्जय रेग्मी, राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक डा.महेश्वर ढकाल, विभागका योजना अधिकृत हरिभद्र आचार्य, मधेस प्रदेश सरकार पूर्व सचिव रामचन्द्र कँडेललाई भेटेर प्रतिवेदन बुझाइसकेको छ ।