काठमाडौं । झपक्कै फुलेका आँपका रुख । विभिन्न प्रजातिका फूल र हरियालीले छपक्कै सुन्दर बगैँचा । सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुँडालसमेत रहेका चिटिक्कका ढुंगेघर ।
आँखीझ्याल, फलाँटे ढोका । नजिकै कलकल झरेको पानीको धारो । पश्चिमतर्फको ठाँठकीको कुनामा ढिकी र जाँतो । तलतिर म्याग्दी नदी । वरिपरि गहुँ र केराउ फलिरहेको हरियाली फाँट । हेर्दै मन लोभिने खालको छ सीम गाउँ । म्याग्दीको मङ्गला गाउँपालिका-२ मा पर्ने यो गाउँ बेनी-दरबाङ सडकखण्डको नजिकै करिब पाँच सय मिटरको दूरीमा छ ।
१८७० को दशकमा बाग्लुङका श्रीप्रसाद कँडेलले तत्कालीन शासकबाट विर्ता स्वरूप यो गाउँ पाएको र उनले नै यहाँ घर निर्माण गरेको जानकार बताउँछन् । त्यतिबेलाको समयमा उपलब्ध निर्माण सामग्री र स्वरूपमा निर्माण गरिएका घर अहिले पनि यथावत् अवस्थामा नै रहेका छन् । विर्ता स्वरूप पाएको यो गाउँ कँडेलका सन्ततिले १९७४ मा पोखराका लप्टन कोमलसिंह खत्रीलाई बिक्री गरेको र त्यसयता यहाँ कोमलसिंहका सन्तानको बसोबास रहेको छ ।
तीमध्ये ‘बूढोघर’ नाम दिइएको तीनतले एउटा घर यहाँको सबैभन्दा पुरानो घर भएको हाल यहाँ बस्दै आएका लप्टन कोमलसिंहका नाति ६३ वर्षीय मनोजकुमार केसीले बताए । यी घर पुरातात्त्विक र प्राकृतिक खोज तथा अनुसन्धानका लागिसमेत निकै महत्वपूर्ण भएकाले आफूले सम्पदाको संरक्षण गरेको उनकाे भनाइ छ ।
घरको तल्लोपट्टि म्याग्दी नदी, माथिल्लोपट्टि बेनी-दरबाङ सडक, वरिपरि फराकिलो खेतीयोग्य फाँट, सिँचाइकुलो, ढुङ्गा बिछ्याएर बनाइएको चिटिक्कको बाटो, घर वरपर आँप र विभिन्न फलफूलको बगैँचा, खानेपानी, विद्युत् र सञ्चारको सुविधा भएको यो गाउँ अत्यन्त आकर्षक देखिन्छ । यहाँका घरको इतिहास दुई सय वर्ष पुरानो रहेको र आफूहरू यी सम्पदाको संरक्षण गर्नका लागि बसाइँ सरेर कतै पनि नगएको कोमलसिंहकी नातिनी बुहारी विष्णु केसीले बताइन् ।
खत्री परिवारका सदस्य अस्ट्रेलिया र अमेरिकामा छन् । जिल्लाकै प्राचीन सम्पदा र ऐतिहासिक महत्वको हुँदाहुँदै पनि सीम गाउँ ओझेलमा परेको र सरोकारवालाले कुनै चासो नलिएको खत्री परिवारका सदस्यको भनाइ छ । मल्लकालीन इतिहास, कला, संस्कृति र तत्कालीन समयको सामाजिक परिवेश झल्कने यो गाउँ र यहाँका घरको प्रचारप्रसार गरी यी सम्पदाको ऐतिहासिक महत्वलाई बुझाउन सक्ने हो भने यो गाउँ पर्यटकीय महत्वको गाउँ बन्न सक्ने प्रबल सम्भावना रहेको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले बताए ।
सीममा मात्रै होइन म्याग्दीका गौश्वारा, भिरमुनि, पुला, पन्थोक, रुम, देवीस्थानलगायतका गाउँमा प्राचीन वास्तुकलाका घर अझैसम्म पनि रहेका छन् । ती इतिहासको साक्षी र पुर्खाको नासोकारूपमा रहेका घरको संरक्षण नहुँदा अलपत्र अवस्थामा देखिने गरेका स्थानीयले बताएका छन् ।
रासस