"मलाई उसले नाइजेरिया लैजान्छ होला भनेको त आफ्नै घर पो लिएर गयो । त्यहाँ उसले मसँग सम्बन्ध राख्यो- मलाई कहिलेकाही कुट्ने र भोक-भोकै पनि राख्ने गर्थ्यो । म फेरी गर्भवती हुन पुगेछु," अजोकेले बताइन् । त्यसपछि तनावको क्रम जारि नै रह्यो । जस्टिनले साँच्चै उनको परिवारलाई चिनेको रहेछ । उनको परिवारसँग भेट त भयो तर, उनीहरूले उनलाई स्वीकारेनन् ।
कोटनोउ, बेनिन । ‘एसोसिएसन सेन्ट क्यामिल दे लेलि’को फिक्का सेतो रंगको गेटबाट भित्र छिरेपछि त्यहाँ देखिने हस्याङ्गफस्याङ्गगले तपाईँको ध्यान सर्लक्कै खिच्छ ।
कोही चकटीमा आराम गरिरहेका त कोहि आफुलाई भेट्न आएका आफन्तजनसँग गफ गर्दै गरेको देख्न सकिन्छ । भित्र छिर्नासाथ बाँयापट्टि एउटा आँगन छ, जहाँ दर्जनौको संख्यामा त्यहाँका आवासीहरू सुसारेको पर्खाइमा बसिरहेका छन् भने अगाडी रहेको खुल्ला चौरमा महिलाहरू एक अर्काका कपाल बाट्दै गफ गरिरहेका छन् । यो सबै गतिविधिबाट पर रहेर ढाडस खोज्न आउनेहरूका लागि भने अग्रभुमिमा एउटा गिर्जाघरको पनि व्यवस्था रहेको छ ।
सेन्ट क्यामिल सेन्टर अथवा केवल ‘सेन्ट क्यामिल’ नामले चिनिने सो स्थान एउटा ठुलो परिवारको साझा घरजस्तै लाग्छ, यस्तो घर जसले पश्चिमी अफ्रिकाका ३०० जति सहाराविहीनहरूलाई पालेर राखेको छ । मानसिक व्यथालाई कलङ्क ठान्ने समाजका कतिपयको लागि त सेन्ट क्यामिल एकमात्र यस्तो ठाउँ हो, जहाँ उनीहरू सुरक्षित महसुस गर्नसक्छन् ।

टोकानस्थित सेन्ट क्यामिल सेन्टरको आँगन
मानसिक स्वास्थ्य संसारभर नै ओझेलमा परेको विषय हो, झन् त्यसमाथि अफ्रिकामा त यो समस्या अत्यन्तै जटिल छ । उसै त स्रोत तथा तालिमप्राप्त सहयोगीको चरम अभाव भएको यस क्षेत्रमा गरिबी, अन्धविश्वास अनि अनेकथरीका प्रतिबन्ध थप चिन्ताको विषय हो। केही स्वास्थ्यकर्मीहरू नै मानसिक बिमारीलाई ‘भूतप्रेत र बोक्सीको प्रकोप तथा भगवानले दिएको सजाय’को रुपमा लिने गर्दछन् । परिणामस्वरूप रोगीलाई औषधिउपचार प्रदान गर्नुको सट्टा श्रापममुक्त बनाउन बाँधेर झारफुक गर्न लैजाने चलन व्याप्त छ । मानसिक रोगले ग्रस्त महिलाहरू अन्यको तुलनामा बढी मात्रामा यौन दुर्व्यवहार तथा घरेलु हिंसाको सिकार हुनेगरेका छन्, यससँग सम्बन्धित थुप्रै पीडादायी कथाहरू सेन्ट क्यामिलका महिलाहरूको व्यथामा झल्किन्छन् ।
“घरबारविहीन तथा मानसिक अवस्था ठिक नभएका महिलाहरू बलात्कारको शिकार हुन्छन् । यसको मुख्य कारण भनेको यहाँ रहेको एउटा कामुत्तेजक जनविश्वास हो । पुरुषले मानसिक अवस्था ठिक नभएकी महिलासँग सम्बन्ध राखेमा धन आर्जन हुने देखि भूत-पिशाचबाट बच्ने अन्धविश्वास यहाँ व्याप्त छ,” सेन्ट क्यामिलका संस्थापक ग्रेग्वायर अहोन्ग्बोनन बताउँछन् । “हामीले यस्तो अवस्थाका महिला कतै देख्नासाथ उनीहरुको उद्दार गरेर उनीहरूलाई सुरक्षित वासस्थान प्रदान गर्न अग्रसर हुनुको मुख्य कारण त्यहि नै हो,” उनले भने ।
सिएनएनको टोलि टोकानस्थित सेन्ट क्यामिलमा पुग्दा त्यहाँ १२० जना यस्ता महिलाहरू आश्रित थिए।

गेट, सेन्ट क्यामिल सेन्टर
सत्तरी वर्षका अहोन्ग्बोनन आफैँ गाडी लिएर सहाराविहिनहरूको उद्धारमा निस्कने गरेका छन् । आफ्नो अनि आफ्नो संस्थाको परिचय दिने, उनीहरूलाई वासस्थान तथा औषधिमूलो प्रदान गर्ने र उनीहरूको स्वास्थ्य परिक्षणपश्चात कोहि घरपरिवार नातागोता भए खोजि गर्ने जस्ता कार्यहरू उनले गर्दै आइरहेका छन् ।
उनीहरूको त्यहाँ रहँदा-बस्दाको सबै खर्च संस्थाले नै उठाउँछ । आफन्तले ल्याएर भर्ना गर्ने हो भनेचाहिँ योगदानस्वरुप एकपटकका लागि मात्र ९ अमेरिकी डलर तिर्नुपर्ने प्रावधान छ । बेनिनी सरकारले उनीहरूलाई कुनै किसिमको आर्थिक सहयोग गर्दैन तर, संस्थाले निर्यात गर्ने सामग्रीहरूमा भने भन्सार छुट गरिएको छ । हालसालैदेखि राज्यले कुनै स्थानीय निकायले ल्याएर भर्ना गर्ने व्यक्तीको हकमा चाहिँ तीन महिनाका लागि प्रतिव्यक्ति ४.९३ डलर बराबरको उपदान प्रदान गर्न थालेको छ । कोटनोउको प्रधान क्याथलिक पादरी कार्यालयले दानमा दिएको जग्गामा संस्थाको भवन रहेको छ र स्वदेश तथा विदेशका दयालु मनहरूले सहयोगस्वरूप विभिन्न सामग्रीहरू उपलब्ध गराउने गरेका छन् ।
“खासमा हाम्रो कुनै निश्चित आयस्रोत छैन । हाम्रा प्रिय मित्रगण एवम् दानवीरहरूको दान र इश्वरको कृपाले मात्र हामी टिकिरहेकाछौंं,” अहोंग्बोनन भन्छन् ।
आइभरी कोस्ट तथा टोगोमा समेत सेवा विस्तार गरेको सेन्ट क्यामिलले राज्य तथा मानवकल्याण संस्थाहरूले समेत त्यसै छोडेको खाडल पुर्ने काम गरेको डाक्टर जिब्रिल अब्दुलमलिक बताउँछन् । खुट्टा तान्ने प्रवृत्तिका केहि तत्त्वहरूबाट बच्न भने केही खास कानुनी संयन्त्र आवश्यक रहेको उनको बुझाई छ ।

सेन्ट क्यामिल सेन्टर पुग्ने बाटो, कोटनोउ
समाजबाट तिरस्कृत यी महिलाहरूको यस्तो अवस्था देख्दा मानसिक स्वास्थ्यको मामलामा प्रशासन हदैसम्म कमजोर रहेको पुष्टि हुन्छ । उनीहरू एकपटक सुरक्षित स्थानसम्म पुगिसकेपछि आफूखुशी त्यहाँबाट कहिले निस्कने भन्ने विषयमा कुनै प्रष्ट प्रावधान नरहेको र यस विषयमा सरकारी निकाय गैरजिम्मेवार देखिएको अब्दुल मलिक बताउँछन् ।
निकै कम संघसंस्थाहरू मानसिक समस्यासँग जुझिरहेका व्यक्तिहरूलाई सहयोग गर्न उद्दत देखिन्छन् । धेरै संस्थाहरू मानसिक रोग भन्दा एचआईभी तथा मलेरिया जस्ता रोगको क्षेत्रमा काम गर्न बढी अग्रसर रहन्छन । यस्तो अवस्थामा सेन्ट क्यामिलले चालेको यो कदम साँच्चै नै प्रशंसनीय रहेको उनी बताउँछन् ।
अब्दुल मलिक थप्छन, “सरसर्ती हेर्दा पश्चिम अफ्रिकाका १० मध्ये केवल १ या २ मानसिक बिरामी मात्र स्वास्थ्य सेवा प्राप्त गर्नसक्ने अवस्थामा छन् । बाँकि रहेकामध्ये पनि महिला, गर्भवती, बच्चाका आमा अथवा एड्सका बिरामी भए त उनीहरूको अवस्था कल्पनै मात्र पनि गर्न सकिदैन।”
सेन्ट क्यामिलमा सहारा लिएर बसेका तीन जना महिला- ओडेट, अजोके र एबिगेल आफ्ना गर्भावस्था, मानसिक बिमारी एवम् जिउनका लागि आफुले गर्नुपरेको संघर्षका कथाहरू हामीलाई सुनाउन तयार भए । उनीहरूको गोपनीयता एवम् परिस्थितिको सम्मान गर्दै उनीहरूले नै बताएको नाम प्रयोग गरेर यो कथा प्रकाशन गरेको छौँ । साथै, उनीहरूको पूर्ण सहमतिमा नै कथा सार्वजनिक गरिएको हो।

खम्बामा अडेसा लागेर बसेकी ओडेट
ओडेट
देब्रे हातले तालु कन्याउँदै गिर्जाघरको खम्बामा अडेसा लागेर बसेकी ओडेट थकित मुद्रामा देखिन्थिन् । उनी भर्खरै अस्पतालमा गर्भापरिक्षण गराएर फर्केकी रहिछन् ।
“म लगातार बिरामी परिराख्छु, खान मन लाग्दैन, उल्टी हुन्छा, निन्द्रा पर्दैन” ओडेट भन्छिन् । सीएनएनसँग कुरा गर्दा उनको सात महिनाको गर्भ थियो । “म बच्चा त जन्माउन चाहन्छु तर, आफुसँग राख्न चाहन्नँ । मेरो रोग आफैँमा यति खतरनाक छ, त्यसमाथि बच्चा, मैले के गर्नु ?”
फेब्रुअरीमा ओडेटलाई सडकमा अलमल्ल परेर हिँडिरहेको अवस्थामा भेटेको सेन्ट क्यामिलका एक कर्मचारी बताउँछन् । निकै नाजुक अवस्थामा फेला परेकी उनलाई उद्दार गरेर अस्पताल पुर्याइयो र त्यहाँबाट उनी सेन्ट क्यामिलको संरक्षकत्त्वमा पुगिन् । त्यहाँ मनोचिकित्सक निकोल अहोन्ग्बोननले ओडेट सिजोफ्रेनिया तथा रक्तअलपत्ताबाट पिडित रहेको पत्ता लगाइन् ।

सेन्ट क्यामिल सेन्टरस्थित महिला आवासगृह
उनलाई आफ्नो उमेर त याद थिएन तर, आफु लामो समयसम्म सेन्ट बेनोईट बजारमा बसेको उनले बताइन् । त्यहाँका पसलेहरू पसल बन्द गरेर उनलाई त्यहीँ छाडेर जान्थे । उनी डराउँथिन् । घरिघरि उनलाई बच्चाहरू रोएको र कोहि बोल्न आएको जस्तो लाग्थ्यो तर, आँखा खोल्दा त्यहाँ कोहि पनि हुँदैनथे ।
त्यसअघिका कुराहरूको उनलाई खासै सम्झना छैन । उनको परिवार ‘आजे गों’ भन्ने ठाउँमा रहेको भनेर उनले बताए पनि सो ठाउँमा खोजी गर्दा उनको परिवारलाई भेट्न ।
अहोन्ग्बोननका अनुसार मानिसक रोगले आक्रान्त भएका बिरामीलाई परिवारसँग मिलन गराउनु निकै कठिन हुनेगर्दछ, सबैभन्दा ठुलो चुनौती भनेको परिवार भेटेपनि उनीहरूले बिरामीलाई स्वीकार्न नचाहनु हो ।
ओडेट आफू वर्षौंसम्म सोही बजारमा यौन दुर्व्येवहारको सिकार भएको र धेरैपटक गर्भवती पनि हुन पुगेको बताउँछिन् । सीएनएनले बजारका केहि महिला व्यवसायीहरुसँगको कुराकानीमार्फत सो कुराको पुष्टि पनि गरेको छ ।
सिस्टर पास्कलिन

सिस्टर पास्कलिन, ४० वर्ष, हेड नर्स । २००४ मा यहाँ आएकी पास्कलिन एगोटोन बाइपोलार डिसअर्डरको बिरामी थिइन् । उपचारपश्चात संस्थाका संस्थापक ग्रेग्वायर अहोङ्बोननको खर्चमा उनी नर्स बनिन् ।
सेन्ट क्यामिलकि हेड नर्स सिस्टर पास्कलिन ओडेटले सुरुवाती दिनहरूमा आफू गर्भवती नै नभएको भन्दै रुने कराउने गर्ने गरेको बताउछिन्। अहिले भने उनले होस् सम्हाल्दै औषधिहरू पनि सजिलै लिँदै आइरहेकी छिन् ।
पास्कलिन आफैँ पनि कुनैबेला त्यस्तै अवस्थाबाट निस्केर आएकी हुनाले उनले ओडेटको मर्म बुझेकी छिन् । उनी भन्छिन्,”कतिपय परिवारका सदस्यहरू पैसाको लोभले बिरामीलाई गेटमा नै छोडेर भाग्छन् ।” अहोन्ग्बोननको खर्चमा नर्स बनेकी उनी बाइपोलार डीसअर्डरबाट ग्रसित भई त्यहाँ भर्ना हुँदा पनि आफ्नो परिवारको साथ् पाईरहँदा आफुलाई भाग्यमानी ठान्छिन् ।
फेरी ओडेटमै फर्कियौँ,
मे १० का दिन ओडेटले मिति नपुग्दै छोरी जन्माइन् । उनी बच्चा नराख्ने पक्षमा नै छिन्, त्यसैले संस्थाका कर्मचारीहरू अब के गर्ने भन्नेबारे सोचिरहेका छन् ।
ओडेट अब आफ्नो परिवार फेला परेर उनीहरूले नस्वीकारेसम्म त्यहीँ रहनेछिन् । परिवारले नस्वीकारे उनी पनि सेन्ट क्यामिललाई नै घर मानेर बस्नेछिन् ।

गिर्जाघरमा बसिरहेकी अजोके
अजोके
खैरो र सुनौलो रंगको काँधसम्म आउने कपाल भएकी अजोकेलाई सजिलै चिन्न सकिन्छ। चार सन्तानकी आमा समेत रहेकी ३५ वर्षीया अजोकेलाई गर्भवती छँदा अहोन्ग्बोननको टिमले एकरात सडकमा नग्न अवस्थामा भेटेर उद्दार गरेदेखि सेन्ट क्यामिल नै उनको घर भएको छ ।
सोधपुछको क्रममा उनको घर नाइजेरियाको लागोसमा रहेको पत्ता लाग्यो । उनको पहिले विवाह भएको केहि समयपछि श्रीमानको घरबाट निकालेर बुढीसासुको घरमा बस्न पठाइएको र उनको पनि मृत्यु भएपछी उनलाई अलपत्र पारेर छोडिएको रहेछ ।
“मलाई आफु बिरामी भएको भन्ने थाहै थिएन । मलाई निन्द्रा चाहिँ लाग्दैनथ्यो । मेरा श्रीमान् र सासुले मैले अनौठो व्यवहार देखाइरहेको त बताउँथे”, अजोके भन्छिन् ।

अजोके थेरापीमा सहभागी हुँदै । उनीहरू यहाँ सँगीत सुन्ने तथा आफ्नै शैलीमा त्यसको व्याख्या गर्ने गर्दछन् ।
पहिलो दुईपटक त्यस्तो भए-नभएको उनलाई याद थिएन तर, तेस्रोपटक गर्भवती हुँदा भने उनी एकरात अचानक ब्युँझेको र बच्चा रोएको सुनेको दाबी गर्छिन् । “म कहिले आफैसँग कुरा गर्थेँ त कहिले कोही बोलेको, बच्चा रोएकोजस्तो सुन्थेँ ।”
श्रीमानले दुई सन्तान आफैसँग राखेपछि घरवारविहीन तथा छिन्नभिन्न बनेकी उनी भौतारिँदै हिडेर लागोसबाट १४० किमि टाढा बेनिन आइपुगिन् ।
संस्थामा परिक्षणमार्फत उनी सिजोफ्रेनियाका साथसाथै एचआइभी संक्रमित पनि रहेको खुल्यो ।
“अजोकेको प्रसव निकै कठिन रह्यो । उनको रोगबारे थाहा पाएपछि डाक्टरहरू उनलाई छुन पनि डराए,” अहोंग्बोनन सम्झन्छन् ।
उनले अस्पतालमा बच्चा जन्माइन् अनि बच्चालाई एडप्सनका लागि राखियो ।
“आमाको मनोदशा हेरेर हामी बच्चालाई एडप्सनका लागि दिने हो या कोहि परिवारका सदस्यले लैजाने हो भन्नेबारे विचार गर्छौं । आमाको अवस्था सामान्य जस्तै भए हामी हाम्रो संरक्षकत्त्वमा बच्चा उनैसँग रहन दिन्छौँ”, अहोंग्बोनन भन्छन्, “आमा पूर्णरुपले ठिक भएपछी बच्चा कसैलाई एडप्ट गर्न दिने हो या आफैंले राख्ने हो, उनैले निर्णय गर्छिन् । हामी सम्पूर्ण रुपले सहजीकरण गर्छौं र यसको बदलामा कहिल्यै केहि लिने गरेका छैनौँ ।”

सेन्ट क्यामिलको अफिस भवन, जहाँ नयाँ बिरामीहरूलाई राखिन्छ
डाक्टर अब्दुल मलिकका अनुसार अजोके जस्ता पीडितहरूले आफ्नो बच्चा र अझ आफ्नै शरीरबारे पनि के गर्ने भन्ने निर्णय लिन पाउँदैनन् । घानालाई छाडेर बाँकी पुरै पश्चिम अफ्रिकामा मानसिक स्वास्थ्यसम्बन्धी कानुन साह्रै फितलो छ । “मानव अधिकारको संरक्षण तथा स्वेच्छाले निर्णय लिन पाउनेसम्बन्धी कुनै प्रावधान छैन । गुणस्तरीय स्याहार, बच्चा आफैँले पाल्ने अधिकार, गर्भनिरोधक उपकरणहरू प्रयोग गर्नेबारे विकल्प उनीहरूलाई प्रदान नै गरिँदैन ।”
अजोकेको मानसिक अवस्थामा सुधार आउँदै गएपछि उनले आफुलाई घरको न्यास्रो लागेको बताइन् । उनी संस्थामा आएको २ वर्षपछि अर्थात २०१८ मा उनले ‘जस्टिन’ भनेर बोलाउने एक व्यक्ति उनलाई भेट्न आइरहन थाले । साथै, उनलाई नाइजेरियाको उनको परिवारसम्म पुर्याउने वाचा पनि गरे । अहोन्ग्बोननको इच्छाविपरित अजोके जस्टिनलाई लुकिछुपी भेट्न जाने गर्न थालिन् ।
“मलाई उसले नाइजेरिया लैजान्छ होला भनेको त आफ्नै घर पो लिएर गयो । त्यहाँ उसले मसँग सम्बन्ध राख्यो- मलाई कहिलेकाही कुट्ने र भोक-भोकै पनि राख्ने गर्थ्यो । म फेरी गर्भवती हुन पुगेछु,” अजोकेले बताइन् ।
त्यसपछि तनावको क्रम जारि नै रह्यो । जस्टिनले साँच्चै उनको परिवारलाई चिनेको रहेछ । उनको परिवारसँग भेट त भयो तर, उनीहरूले उनलाई स्वीकारेनन् ।
“मेरो परिवार मलाई कसैले नदेखोस भन्ने चाहन्थ्यो किनकि उनीहरूलाई पागल छोरी भएको परिवारका रुपमा चिनिन्थ्यो । कसैलाई पनि हामीसँग कुनै किसिमको सम्बन्ध राख्नु थिएन,” अजोके भन्छिन् ।

‘ईश्वर छ र त सबै कुरा सम्भव छ’ – रचनात्मक थेरापी सेसनमा सहभागी अजोके आफुलाई लागेको कुरा कापीमा लेख्दै ।
जुलाई २०१९ मा उनले चौँथो सन्तान जन्माइन् र सो बच्चा पनि एडप्सनका लागि राखियो ।
३ वर्ष बितिसक्दा पनि अजोके घर फर्किएर आफ्ना सन्तानसँग बस्न चाहन्छिन् तर, उनको परिवार यो कदापि मान्दैन । अब यो संस्था नै उनको एक मात्र घर हो। “मलाई यहाँ औषधि खान दिइन्छ, जुन मलाई स्वस्थ रहन अत्यावश्यक छ । मैले उनीहरूलाई छोड्न मिल्दैन ।”

२०१५ मा संस्थालाई गर्भवती एबिगेलबारे जानकारी गराइएको थियो । उनलाई सिजोफ्रेनिया छ ।
एबिगेल
सेन्ट क्यामिल आउनुपूर्व एबिगेलको जीवन हिंसाग्रस्त थियो । उनलाई पनि आफ्नो विगतको धेरै कुराहरू याद छैन, खास गरि बाल्यकालको । हुर्कँदै जाँदा उनले पनि मान्छेहरूको आवाज सुन्ने गर्थिन् रे !
घरपरिवारले उनमा भूत-प्रेत, आत्माको प्रभाव रहेको ठान्दथे र सानो छँदादेखि नै उनले आफ्नो बचाव आफैँ गर्नुपर्थ्यो । खानेकुराको जोहो गर्ने क्रममा कोटनोउ आइपुगेकी उनी त्यहीँ व्यवसायीहरूले बसालेको एउटा बस्तीमा बसोबास गर्न थालिन् ।
“म त्यहीँ बस्न थालेँ । कोहि मलाई खोज्न आएनन्”, उनले भनिन् । उनको हातमा प्लास्टिकको निलो रंगको प्लास्टिकको झोला थियो र त्यसमा उनले खाने बटुको (कचौरा) थियो । झोलाको रङ उनले लगाएको जामा र घाँटीको मालासँग मिल्दोजुल्दो थियो ।
एबिगेलाको एक्लोपन तथा नाजुक अवस्थाको केहि पुरुषहरूले फाइदा उठाए । “मलाई अझै याद छ कसरि उनीहरू मलाई पिट्थे, मलाई नसालु पदार्थ खुवाएर मेरो बलात्कार गर्थे”, हातका बाग्ला माथि सार्दै घाउका खत देखाउँदै उनले भनिन् ।

एबिगेल यहाँ आउनुअघि उनीमाथि हुनेगरेको हिंसाका डामहरू
२०१५ मा एकजना पुरुषले सेन्ट क्यामिललाई एबिगेलबारे जानकारी गराए । त्यतिबेला उनको ५ महिनाको गर्भ थियो ।
“हामीलाई कसैले एउटा बस्तीमा एबिगेल नामकी गर्भवती महिला यस्तो अवस्थामा छिन् भन्ने कुराको जानकारी दिए”, सिस्टर पास्कलिन बताउँछिन् ।
अजोके जस्तै एबिगेल पनि सिजोफ्रेनिया र एचआइभी संक्रमित छिन् । सेन्ट क्यामिलले तुरुन्तै उनलाई आमाबाट बच्चामा रोग सर्न नदिने उपचार व्यवस्था उपलब्ध गरायो ।
एबिगेलले आफ्नो बच्चालाई कसैले एडप्ट गरेर विदेश लिएर गएको कुरा सीएनएनलाई जानकारी गराइन् । “म यहाँ खुशी छु। उनीहरूले मलाई खानेकुरा र औषधि दिन्छन्, मलाई भान्सामा सघाउन पनि मनपर्छ,” एबिगेल साह्रै रमाउँदै भन्छिन् ।

(तस्वीर सौजन्य: यागाजी एमेजी, सीएनएन)
सिजोफ्रेनिया गम्भीर प्रकृतिको मानसिक रोग हो । यो रोग लागिसकेपछि बिरामीले वास्तविकतामा विश्वास गर्दैनन् । उनीहरूमा आफ्नै छुट्टै अनुभूति हुन्छ । जसले गर्दा उनीहरूले असामान्य व्यवहार देखाउन थाल्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कुल जनसंख्याको करिब एक प्रतिशत मानिस सिजोफ्रेनियाबाट प्रभावित भएको पाइन्छ । नेपालमा पनि मानसिक रोगीमध्येमा अधिकांशमा सिजोफ्रेनिया भएको पाइन्छ ।
यो दुइटा ग्रीक शब्द मिलेर बनेको छ- स्किजो र फ्रेनिया । स्किजो को अर्थ टुक्रिएको र फ्रेनिया को अर्थ मन हो । दुवैको समष्टिगत अर्थ टुक्रिएको मन हो । सिजोफ्रेनिया भएपछि शंका र भ्रम उत्पन्न हुने, नभएका आवाज सुन्ने, दृश्य देख्ने, हुँदै–नभएका कुरामा विश्वास गर्ने, विचार र व्यवहारमा सन्तुलन ल्याउन नसक्नेजस्ता लक्षण देखिन्छन् । जसले गर्दा उनीहरूमा कसैले आफूलाई पछ्याइरहेको, मार्ने योजना बनाइरहेको, नकारात्मक टिप्पणी भइरहेको, आफू शक्तिशाली अर्थात् भगवान् हुँ भन्ने अनुभूति हुन्छ । त्यस्तै, पेटमा सर्प वा अन्य जनावर तथा खानेकुरामा विष छ, भन्नेजस्ता भ्रमहरू पैदा हुन्छन् ।
यहाँ पश्चिम अफ्रिकी मूलक बेनिनमा यौन हिँसा र एक्लोपनले पिरोलेका तीन महिलाहरूको गर्भावस्था र सिजोफ्रेनियासँग संघर्ष गरिरहँदाको आततायी कथा प्रस्तुत गरिएको छ। यो कथा सिएनएनको लागि एडि भ्यानेसा ओफियोङ्गले लेखेकी हुन्, जसलाई नेपाली भाषामा निशान अधिकारीले अनुवाद गरेका हुन् । (सम्पादक)