शुक्रबार , अषोज १४, २०७९

‘ऐना झ्यालको पुतली’ अर्थात् ठेट नेपाली सिनेमा

चलचित्रमा पहिलो पटक महिनावारी भएकी किशोरीलाई परिवारबाट गरिने व्यवहार देखाइए तापनि उसको सम्पूर्ण मानसिक अवस्था र शारीरिक व्यथा देखाउन भने कञ्जुस्याँइ गरिएको हो कि भन्ने भान हुन्छ ।

image

सुजित बिडारीको ‘ऐना झ्यालको पुतली’ ठेट नेपाली सिनेमा हो । सरल र छरितो चलचित्र हो यो । निर्माण पक्षले कलात्मक चलचित्रको लागि गरेको मिहिनेत देखेर खुसी लाग्छ । बिडारी आफैं सिनेमाका लेखक, पटकथाकार र निर्देशक हुन् । एक ग्रामीण परिवारको कथा आर्टिस्टक अन्दाज-ए-बयाँ सहित देखाउनु चानचुने कुरा होइन । कथा सामान्य हो तर, कथालाई कसरी भन्नुपर्छ भन्ने कुरा बिडारीले बुझेका रहेछन् । हजुरआमाले कथा  भनेसरह भाँती पुर्याएर उनी कथा भनिरहेका छन् ।

सिनेमा निर्माण एउटा सामूहिक कार्य हो, यसैले यस फिल्म निर्माणमा जोडिएका सबैसबै धन्यवादका पात्र छन् । सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, विशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ लगायत सम्पूर्ण कलाकारहरूले चलचित्रमा आफ्नो अभिनयमा मिहिनेत गरेका छन् । संखुवासभामा छायांकन गरिएको फिल्मको मुख्य कलाकार सबै नन्-एक्टर छन्, तर यो कुरा फिल्म हेरिरहँदा पत्तै पाइदैन । कलाकारहरू आ-आफ्नो भूमिकामा अब्बल दरिएका छन् ।

चलचित्रमा २०५० सालतिरको परिवेशलाई राम्रोसँग उनिएको छ । मैले जस्तै त्यतिबेला आफ्नो बाल्यकाल बाँचेकाहरुले चलचित्रमा आफूलाई नै देख्नेछन् । चलचित्रमा प्रयोग गरिएको पार्श्व सङ्गीतले दर्शकलाई त्यो समयको यात्रामा लैजान थप मदत गरेको छ । चलचित्रमा सो समयमा रेडियो नेपालमा बज्ने भजन, सङ्गीत र विज्ञापनको प्रयोगले सम्बन्धित समयको परिवेश हुबहु जस्तै उतारेको छ ।

सुन्दर छायांकनका लागि चलचित्रका छायाँकारलाई धन्यवाद दिनैपर्छ । निलो रङ्गको स्कुल ड्रेस, त्यतीबेलाका पाठ्यपुस्तक, टिभी भएको घरमा शनिवार आउने हिन्दी चलचित्र हेर्न गएको पल, पैसा तिरेर अन्य चलचित्र हेर्ने हुटहुटी, बाकस/बुवाको गोजी/पुजा थान आदिबाट पैसा चोर्दै गरेको वसन्तको पात्रमा आफ्नो बाल्यकाल देखिन्छ ।

दिदिभाइको ठुस्का-ठुस्की, भाइको चकचक, दिदिको शालीनता र दिदिभाइको सुमधुर प्रेमलाई बडो गजबसँग प्रस्तुत गरिएको छ । साथै मदिराको लत लागेका श्रीमानले दिएको दिक्दारी झेल्दै घरको जिम्मेवारी उठाइरहेकी महिलाको कथा  चित्रण निकै अब्बल छ । बाल्यकालमा गरिने उटपट्याङ, साथीसंगीसँगको प्रेम र झगडा हेर्दा एकछिन मन ती पुराना दिनतिर फर्किन्छ ।

बजिरहेको समाचारका माध्यमबाट त्यतिबेलाको राजनीतिक अवस्था र सशस्त्र द्वन्द्व भर्खरै सुरु हुन लागेको कुरा पनि बुझाइएको छ । जसबाट चलचित्रमा सशस्त्र द्वन्द्वभन्दा अघिको कथा प्रस्तुत गरिएको बुझ्न सकिन्छ । घरको अभाव देखिरहेका बालख आँखाहरूले धन कमाउन बुनेको काठमाडौं जाने सपना र, यही सपनाका कारण छुट्टिएका दुई साथीको मित्रताले घरी हसाउँछ भने घरी आँखा रसाउँछ । चलचित्रमा पहिलो पटक महिनावारी भएकी किशोरीलाई परिवारबाट गरिने व्यवहार देखाइए तापनि उसको सम्पूर्ण मानसिक अवस्था र शारीरिक व्यथा देखाउन भने कञ्जुस्याँइ गरिएको हो कि भन्ने भान हुन्छ ।

चलचित्रमा तपाई हामीले भोगेका साना-साना धेरै कथा बडो न्यायपूर्वक उनिएको छ । ८ कक्षा पास गरिसकेपछि थप शिक्षाका लागि आफ्नो गाउँ छोडेर बाहिर जानुपर्ने अवस्थामा एक किशोरीले बारम्बार भोगेका अड्चनहरू नै चलचित्रको मुख्य कथा रहेको छ । विद्याका लागि सङ्घर्ष गरिरहेकी किशोरीको नाम विद्या राखिनुले पनि चलचित्रमा सानो सानो कुरालाई कसरी ख्याल गरिएको छ भन्ने बुझिन्छ । ऐना झ्याल बाहिरको संसार हेरेर उड्न चाहिरहेकी पुतलीलाई आर्थिक अभावले थुनेर दिइरहेको छटपटाहट चलचित्र हेर्दै गर्दा महसुस गरिन्छ ।

दक्षिण कोरियाको वुशान फिल्म फेस्टिभलको सन् २०२० मा भएको पच्चीसौं संस्करणमा प्रदर्शनका लागि यो सिनेमा छानिएको थियो । वुशान फिल्म फेस्टिभल सिनेमा प्रेमीहरूबीच विश्वव्यापी रूपमा चर्चित छ र त्यहाँ प्रदर्शन गरिने सिनेमालाई दर्शकहरूले गम्भीर रूपमा लिन्छन् । तर, नेपालतिरका सिनेमा व्यवसायीहरू सो कुरा बुझ्दैनन्, यसैले फिल्मले धन्नै हल नपाइसकेको अवस्था निम्तिएको थियो ।

चेक गणतन्त्रमा आयोजित ६१औं जिन फिल्म फेस्टिभलमा पनि यो फिल्म आधिकारिक रूपमा छानिएको थियो । त्यस्तै‚ स्वीट्जरल्यान्डको ३४औं फायरवर्ग इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि यो फिल्म प्रदर्शित भयो । अस्ट्रेलियामा आयोजित एशिया प्यासिफिक अवार्ड कम्पिटिशनका लागि पनि यो फिल्म छानिएको थियो । बाङ्लादेशको ढाकामा भएको २०औं ढाका इन्टरनेशनल फिल्म फेस्टिभलमा भने ऐना झ्यालको पुतलीले सर्वोत्तम निर्देशक (बेस्ट डिरेक्टर)को अवार्ड नै जितेको थियो । अब सोही फिल्म नेपाली हलहरूमा प्रदर्शित भइरहेको छ । यसलाई कुनै पनि हालतमा छुटाउनु हुँदैन । यो फिल्मले नेपाली सिनेमाको इतिहासमा एक कोसेढुंगा बन्न सक्छ ।

सरल कथालाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको चलचित्र एकपटक हेर्नै पर्ने नेपाली चलचित्रहरूमा पर्छ । यसरि विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलमा छनोट भएको चलचित्र सकिएसँगै केहिबेर दर्शकहरू आफ्नो सिटबाट उठ्न सकेका थिएनन् । रञ्जना सिनेप्लेक्समा मसँगै उपस्थित दर्शकहरूले ताली बजाएर राम्रो चलचित्र बनाएकोमा निर्माण पक्षलाई धन्यवाद समेत दिएका थियौँ ।

Tags:

सम्बन्धित समाचार