शुक्रबार , मंग्सिर २३, २०७९

झुट्टा सूचना दिने रेडियाे प्रस्ताेतालाई एक अर्ब डलर जरिवाना

image

अमेरिकाका एकजना दक्षिणपन्थी रेडियो प्रस्तोता एलेक्स जोन्सलाई सन् २०१२ मा भएको स्यान्डी हुक स्कूल गोलीकाण्ड झुट्टा थियो भनेर मिथ्या दाबी गरेका अभियोगमा अदालतले दोषी करार गर्दै करिब एक अर्ब डलर जरिवाना सजाय तोकेको छ ।

उक्त गोलीकाण्डका ८ पीडितका परिवारहरूले कनेटिकट राज्यमा भएको मानहानी मुद्दाका दौरान ती रेडियो प्रस्तोताका झुट्टा दाबीहरूले एक दशकसम्म आफूहरूलाई मार्ने धम्की तथा अन्य प्रताडना आइपरेको बताएका थिए ।

जोन्सले के दाबी गरेका थिए ?

सन् २०१२ मा भएको गोलीकाण्डको वर्षौँसम्म पनि जोन्सले उक्त हत्याकाण्ड वास्तवमा सरकारले नै बन्दूकसम्बन्धी कानुन कडा बनाउन मञ्चन गरेको नाटक भन्ने गरेका थिए।

उनीविरुद्ध मुद्दा हालेकामध्ये एकजना रोबी पार्करले उक्त मुद्दाले उनलाई आफ्नो आवाज राख्न सघाएको तथा जोन्सको मिथ्या सूचनाविरुद्ध लड्न सघाएको टिप्पणी गरेका छन् ।

अदालतको आदेशविरुद्ध जोन्सले पुनरावेदन गर्ने बताइएको छ ।

स्यान्डी हुक इलेमेन्टरी स्कूलमा भएको घटनामा २० बालबालिका तथा ६ जना वयस्कको ज्यान गएको थियो ।

विभिन्न षडयन्त्रका सिद्धान्तबारे बोलिरहने जोन्सले त्यस्तै विषयवस्तुले भरिएको इन्फोवार्स वेबसाइट तथा रेडियो टक शो चलाउँथे ।

वर्षौसम्म उनले स्यान्डी हुकको घटना सरकारले ‘अमेरिकी जनताको हातबाट बन्दूक खोस्न’ मञ्चन गराएको झुट्टा नाटक भएको र त्यसमा ‘कसैको ज्यान नगएको’ दाबी गरेका थिए ।

घटनामा मारिएकाका अभिभावकहरूलाई उनले ‘नाटक अभिनेता’ भनेका थिए अनि कैयन् मारिएका मानिस कहिल्यै अस्तित्वमा नै नभएको दाबी गरेका थिए ।

अहिले आएर उनले उक्त घटना शतप्रतिशत सत्य भएको स्वीकार गरेका छन् ।

अगस्टमा टेक्ससमा एउटा छुट्टै मानहानी मुद्दाका बेला जोन्सले उक्त स्वीकारोक्ति गरेका थिए ।

बुधवार कनेटिकटको वाटरबरीस्थित अदालतमा – जुन स्थान गोलीकाण्ड भएको स्थानबाट ३२ किलोमिटरमात्र पर छ – फैसला सुनाइँदा कतिपय परिवार निकै भावुक देखिएका थिए। कतिपयको आँखामा आँसु पनि भरिएका थिए ।

पीडामा थपिएको पीडा

तीन सातासम्म चलेको मुद्दामा कतिपय अभिभावकहरूले भावपूर्ण बयान दिएका थिए ।

कतिपयले आफूहरूले अनलाई घृणाको बाढी नै बेहोर्नुपरेको बताएका थिए भने कतिपयले सुरक्षाका लागि बासस्थान छाडेर अन्यत्र जानु परेको बताएका थिए ।

मारिएका एक बालकका पिता मार्क बार्डनले मानिसहरूले उनको छोरा ड्यानियलको समाधिस्थल अपवित्र पारिदिएको, ‘पिसाब फेरिदिएको र त्यहाँ खन्न खोजेको’ वर्णन गरेका थिए ।

अदालतमा सुनुवाइका बेला दिइएका जानकारीअनुसार जोन्स तथा उनको कम्पनी फ्री स्पीच सिस्टम्सले उनीहरूको इन्फोवार्स क्याटलगमार्फत् पौष्टिक सप्लिमेन्ट्स, सर्भाइभल गिअर तथा अन्य सामग्री बेचेर दशौ लाख डलर कमाएका थिए ।

बुधवारको फैसला आउँदै गर्दा जोन्सले प्रसारण गरेका थिए र अदालती प्रक्रियाको खिल्ली उडाएका थिए । उनले आफ्ना समर्थकहरूलाई तत्काल चन्दा दिन आह्वान गर्दै त्यो पैसा उनको कानुनी लडाइँको खर्च बेहोर्न भने प्रयोग नगरिने बताएका थिए ।

“यो पैसा यी मानिसहरूलाई जाने छैन । यस्ता ठगीविरुद्ध अनि कम्पनीलाई स्थिर बनाउन यो पैसा प्रयोग हुनेछ,” उनले भने ।

उनका वकिल नर्म प्याटिसले फैसलाविरुद्ध पुनरवेदन गरिने बताए ।

पीडितहरूतर्फका वकिल क्रिस मट्टेइले अदालतमा जोन्सका क्रियाकलापले पारेको चोटको व्याख्या गर्दै भनेका थिए: “जब प्रत्येक परिवार वेदनामा डुबेका थिए तब एलेक्स जोन्सले उनीहरूलाई झन् खुट्टाले कुल्चिदिए ।”

जोन्सले चाहिँ अदालती प्रक्रियालाई पनि ‘निरङ्कुश न्यायधीश’ले सञ्चालन गरेको ‘देखावटी सुनुवाइ’ भनेका थिए । आफ्ना समर्थकहरूको कार्यको दोष आफूलाई लगाउन नहुने उनले बताएका थिए ।

“मैले सयौँपटक माफी मागिसकेँ । अब माफी माग्न पुग्यो,” गत महिना उनले अदालतमा भनेका थि ए।

अर्को मुद्दामा पनि सजाय

अगस्टमा टेक्ससमा चलेको उस्तै मुद्दामा पनि जोन्सलाई स्यान्डी हुकका अभिभावकहरूलाई करिब पाँच करोड डलर क्षतिपूर्ति तिर्न आदेश भएको थियो ।

त्यस मुद्दामा वादीहरूले इन्फोवार्सले फैलाएको मिथ्या सूचनाले उनीहरूलाई मानसिक प्रताडना भएको भन्दै १५ करोड डलरको क्षतिपूर्ति मागेका थिए ।

कनेटिकट मामिलाका एकजना वकिलले परिवारहरूले कम्तीमा ५५ करोड डलर क्षतिपूर्ति पाउनु पर्ने भनेका थिए – किनकी सन् २०१२ देखि २०१८ बीचमा जोन्सले प्रसार गरेका स्यान्डी हुकसम्बन्धी सामग्री ५५ करोड पटक हेरिएका थिए ।

अन्तत: जुरीले १५ बेग्लाबेग्लै आदेश दिँदै २ करोड ८० लाख डलरदेखि १२ करोड डलरसम्म गरि कुल ९६ करोड ५० लाख डलर क्षतिपूर्ति तिर्न आदेश दिए ।

गालीगलौज तथा मानहानीका साथै भावनात्मक पीडाको क्षतिपूर्तिका निम्ति उक्त सजाय दिइएको बताइएको छ। जोन्सलाई थप सजाय समेत हुनसक्ने बताइएको छ ।

तर परिवारले खासमा कति रकम पाउलान् भन्ने अनिश्चित् छ । बुधवार जोन्सले ‘पैसा नभएको’ बताएका थिए ।

उनी र उनका कम्पनीले टेक्ससमा टाट पल्टिएको निवेदन दिएका छन् । एकजना फोरेन्सिक अर्थशास्त्रीले उनी र उनको कम्पनीसँग २७ करोड डलर भएको बताए । तर जोन्सले त्यो अस्वीकार गरेका छन् ।

टेक्ससमा मुद्दा खेपेपश्चात् जोन्स र उनका टोली निजी जेट विमान चढेर कनेटिकट पुगेका थिए ।

न्यूयोर्क टाइम्सका अनुसार जोन्स र उनका टोली त्यहाँ पौडीपोखरी तथा टेनिस कोर्ट भएको एक भिला भाडामा लिएर बसेका थिए ।

जोन्सले स्यान्डी हुकसँगै सम्बन्धित अर्को तेस्रो मुद्दा पनि टेक्सस यसै वर्षको अन्त्यतिर खेप्नु पर्नेछ ।

बीबीसी 

Tags:

सम्बन्धित समाचार