आइतबार , अषोज २५, २०८३

सन् २०२२मा १६ हजार पर्यटकले अन्नपूर्ण पदमार्गमा भ्रमण गरे

सन् २०१७ बाट पर्यटक आगमनमा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना सङ्क्रमणको पहिलो लहर आएयता पदमार्ग क्षेत्र नै प्रभावित भएको थियो ।

image

एजेन्सी ।  सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटक विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा घुमेका छन् । जसमध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ ।

सबैभन्दा धेरै फ्रान्सका दुई हजार १२ पर्यटक आएको बताइएको छ । यस केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार सन् २०२१ मा भन्दा सन् २०२२ मा १३ हजार छ सय २७ जना बढी पर्यटक आएका हुन् ।

सन् २०२१ मा एक हजार पाँच सय ६२ पुरुष र सात सय ११ जना महिला गरी दुई हजार दुई सय ७३ जना पर्यटक आएका थिए । कोरोना महामारीका कारण प्रभावित हुँदै आएको यस पदमार्गमा अघिल्लो वर्षहरूमा भन्दा गत वर्षमा पर्यटक वृद्धि भएको उनले बताए । उनले भने, ‘लामो समय कोरोना सङ्क्रमणका कारण प्रभावित भएपनि विस्तारै सङ्क्रमणको जोखिम कम भएसँगै पर्यटक आगमन हुन थालेको छ ।’ सरकारले आवश्यक प्रचारप्रसार गर्न नसक्दा सन् २०२२ मा उक्त सङ्ख्यामा मात्र पर्यटक आए अन्यथा त्योभन्दा दोब्बर-तेब्बर नै हुने थियो ।

सन् २०२० मा एक हजार नौ सय ७६ जना पर्यटक आएका थिए । त्यस्तै, केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार छ सय ४७ जना पर्यटक, सन् २०१८ मा २९ हजार चार सय ८४ जना पर्यटक, सन् २०१७ मा २१ हजार ६८ जना पर्यटक पदमार्गमा आएका थिए ।

सन् २०१७ बाट पर्यटक आगमनमा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना सङ्क्रमणको पहिलो लहर आएयता पदमार्ग क्षेत्र नै प्रभावित भएको थियो । यस पदमार्गमा आउने पर्यटकमध्ये, छिमेकी मुलुक चीन, भारत, जापान, अष्ट्रेलिया, बेलायतलगायतबाट आउने पर्यटक बढी रहेको उक्त केन्द्रका पर्यटन सहायक गुरुङले बताए । केही समयसम्म दैनिक एक सय ५० जनाभन्दा बढी आउने गरे पनि चिसो बढेसँगै यति बेला भने एक दुई दिन विराएर दुई चार जना मात्र आउने गरेको केन्द्रले जनाएको छ ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतार रहेको छ । यस पदमार्ग लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । पर्यटक हिमाल, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न अन्नपुर्ण पदमार्गमा आउने गर्छन् । केहि पर्यटक मनाङबाट थुम्रापास गरी मुस्ताङ तथा पोखरा समेत जाने गर्छन् ।

मनाङमा रहेका विभिन्न हिमाल चढ्न तथा हेर्नका लागि पनि पर्यटक आउने गरेको पाइन्छ ।

सम्बन्धित समाचार