शनिबार , अषोज २४, २०८३

अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्दै आकर्षण

image

काठमाडौं । विश्वमै ख्याति कमाएका पदयात्रामध्ये एक अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिलाको जस्तो चहलपहल देखिँदैन । मोटरबाटोका कारण पदमार्गमा हिँड्नेहरू घट्दै गएका छन् ।

हरियो वन छिचोल्दै चराचुरुङ्गीको मधुर चिरबिरसँगै गोरेटो बाटो पार गर्दै गरिने पदयात्राको रोमाञ्चकता अचेल कम हुँदै गएको पाइन्छ । पिठ्युँमा झोला बोकी लौरो टेक्दै उकालो-ओरालो गर्नेहरूको सङ्ख्या पातलिँदै जान थालेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने प्रायः सबै भित्री गाउँमा सडक सञ्जाल पुगिसकेको छ । जसले गर्दा सवारी साधनको सङ्ख्या र मानिसको कोलाहल बढेको छ । पदमार्ग मासेर बिस्तार गरिएका सडक सञ्जालले पदमार्गमा हिँड्नेहरू यति बेला मास्क लगाएर पदयात्रा गर्न बाध्य छन् ।

लमजुङबाट मनाङसम्म र म्याग्दीबाट मुक्तिनाथसम्म मोटर बाटो बनेपछि पदमार्गको अस्तित्व सङ्कटमा परेको हो । साथै यस क्षेत्रको सौन्दर्य हराउँदै गएको पर्यटकहरूले गुनासो गर्ने गरेका छन् । पैदलमार्गका सिँढी डोजरले भत्काएर मोटर बाटो निर्माण हुन थालेपछि अन्नपूर्ण क्षेत्रको पदयात्रा पर्यटन नै सङ्कटमा परेको पदयात्रा व्यवसायीको सङ्गठन टानको पश्चिमाञ्चलका पूर्वअध्यक्ष दीपकराज अधिकारीले जनाएका छन् ।

उत्तरी म्याग्दीका घोडेपानी, पुनहिल, नागी, खोपा, मुस्ताङको जोमसोम, उपल्लो मुस्ताङ, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक– घोडेपानी लगायतका लामो र छोटो दूरीका पदमार्ग ‘मोटर बाटोले ध्वस्त’ पारिसकेको दानका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचन बताउँछन् । उनका अनुसार बनेका बाटोसमेत राम्रा नहुँदा धुलो र ध्वनि प्रदूषणले पदयात्रीको सङ्ख्या दिनानुदिन घटिरहेको छ ।

नेपालको पर्यटनको एउटा प्रमुख आकर्षण मानिएको पदमार्गमा जथाभाबी बनेका सडकले ती मार्गको आकर्षण तथा गुणस्तर घटाइरहेको भन्दै पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । जथाभाबी बनेका सडकका कारण पर्यटकले त्यस मार्गमा बिताउने समय घटाउनुका साथै त्यहाँ दोहोर्‍याएर आउन वा उनीहरूले अन्यलाई सुझाउन समेत कम हुन थालेको दानाका होटल व्यवसायी सुवर्ण केसी बताउँछन् ।

पहिले रहेका पदमार्गलाई नै आधार मानेर सडक विस्तार गरिएकाले, पर्यटन संरक्षणका लागि तत्काल आसपासमा नयाँ मार्गहरू निर्माण आवश्यक रहेको विगत १६ वर्षदेखि पदयात्रा ‘गाइड’का रूपमा काम गरिराखेको उज्ज्वल ग्याम्दानले बताए । सडक सञ्जाल बिस्तारका क्रममा रुख कटान भएपछि पनि समस्या भएको उनी बताउँछन् ।

पदमार्ग मिचिएका ठाउँमा वैकल्पिक रूटहरू बनाउने काम समेत नहुँदा बिस्तारै त्यस्ता मार्ग नै हराउन थालेका पर्यटक गाइड शोभित गुरुङले बताए । पर्यटन व्यवसायीका अनुसार पदयात्री पर्यटकहरूको बसाई ८० प्रतिशतसम्मले कम भएको छ । पदमार्ग व्यवस्थापनका लागि पर्यटन बोर्ड र टान मिलेर काम गर्नुपर्न व्यवस्था छ ।

सम्बन्धित समाचार