आइतबार , अषोज ४, २०८३

अन्नपूर्ण हिमालको चुचुरोमा कतारकी राजकुमारी अल्थानी

image

काठमाडाैं । कतारकी राजकुमारी आस्मा अल्थानीले अन्नपूर्ण हिमालको आरोहण गरेकी छन् । यो आरोहण मौसममा आठ हजार मिटर माथिका हिमालको यो पहिलो सफल आरोहण हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका -४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको शिखरमा उनीसहित शनिवार ३० जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन् । राजकुमारी अल्थानीलाई आरोही गाइड निर्मल पुर्जासहितको टोलीले आरोहणमा सहयोग गरेको थियो ।

नेपाली समय अनुसार शनिवार करिब ३ बजेतिर उनीहरू अन्नपूर्णको शिखरमा पुग्न सफल भएको मौरिस हर्गोज ट्रेल व्यवस्थापन समितिका अध्यक्ष तथा नारच्याङका स्थानीय तेज गुरुङले जानकारी दिए । ई-लाइट ट्रेकिङ कम्पनीले उनलाई स्थानीय एजेन्सीको रूपमा समन्वय गरेको थियो ।

शनिवार ४ बजेतिर अन्य दुई टोलीका ८ जना शेर्पा र ६ जना विदेशी गरी १४ जनाले आरोहण गरेका छन् । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरि, कञ्चनजङ्घा, ल्होत्से, आमादब्लम , मनासलु, पाकिस्तानको केटु हिमालको आरोहण गरिसकेकी छन् ।

सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेकेकी थिइन् । यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि आठ वटा आरोहण दलबाट ५४ जना आरोहीले अनुमति लिएका छन् ।

सम्बन्धित समाचार