बुधबार , भाद्र १०, २०८३

बाँसबाट वार्षिक तीन करोड साठी लाख कमाउन सकिन्छ

image

यदि तपाईँको गाउँ टोलमा नेता आइपुगे र देशमा रोजगार सृजना गर्छु भनेर भने सुनेर नबस्नुस् । सोध्नुस् कसरी ? भनेर । प्रदेशमा तपाईँका बा , काका, भाइ छोरा छन् । मेयर बन्न आएका छैनन् ।

उनीहरूको भन्न सक्छन् कर्णालीमा पानी जहाज चलाउँछौ । माल्चानामा केबलकार पुगाउँछौ । बस् तपाई यति मात्रै सोध्नुस् । रोजगार कसरी सृजना हुन्छ ?

यदि म मेयर भए भने यसरी रोजगार सृजना गर्नेछु,

बाँसलाई हरियो सुन भनिन्छ । त्यसैले मरानी जमरा सिचाई आयोजनाले निर्माण गरेको नहर जम्मा (२३ किलोमिटर, कतै हाइ-टेन्सन र विद्युत्को तार पर्ने स्थान बाहेक ) दायाँबायाँ बाँस लगाउन सकिनेछ ।

त्यस्तै रोरा नदी, स्याउले खोला चुहा खोलाको छेउछेउमा, बलचौर जङ्गलको खाली भूभाग , अन्य सामुदायिक वनका खाली जग्गामा र कृषि रोडको छेउ, जहाँ विद्युत्को तार छैन त्यहाँ  पुरै बाँस खेती गर्न सकिन्छ, यसका लागि करिब तीन लाख बाँसका बेर्ना आवश्यक पर्नेछ । आज रोपेको एक बेर्ना बाँसले आगामी पाँच वर्षमा कम्तीमा पाँच वटा बाँस दिनेछ । यसरी हेरिल्याउँदा तीन लाख बेर्ना बाँस रोपेको खण्डमा आउँदो पाँच वर्षमा १५,००,००० बेर्ना पुग्नेछ । यदि हामीले दिनको पाँच हजारका दरले बाँस काट्यौ भने पनि उत्पादनमा कुनै असर पर्ने छैन ।

किन ?
पहिले केही विषयमा चर्चा गरौँ ।
बाँस खान मिल्छ, खेलाउन पनि मिल्ने, व्यवहारमा प्रयोग गर्न पनि मिल्ने र पूजामा पनि चाहिने र मर्दा पनि सबैभन्दा अगाडी बाँस नै चाहिन्छ । त्यसैले यसलाई जति धेरै जग्गा-जमिनमा फैलाउन सकियो, यसले उति मानिसलाई विभिन्न प्रकारका लाभहरू दिन्छ ।  सँगसँगै, मानिसको वन–जङ्गलप्रतिको आश्रित प्रतिशतलाई पनि घटाउँछ । यसो गर्दा, वातावरण जोगाउने हाम्रो दायित्व केही हदसम्म भए पनि पूरा हुन्छ ।

बाँसबारे केही कुरा:

१. जस्तोसुकै जमिनमा बाँस हुर्किन सक्छ । बाँस खेती लम्कीचुहामा पनि गर्न सकिन्छ ।
२.सिँचाइ नहुने र बाँदर लाग्ने ठाउँहरूमा पनि बाँस खेती गर्न सकिन्छ । बाँदरको पनि डर रहेन । (यो प्रश्न आउन सक्ने सम्भावना रहन्छ।)
३.सय ग्राम बाँसको तामामा ६०.३६ ग्राम कार्बोहाइड्रेट र २६५.६ किलो क्यालोरी ऊर्जा हुन्छ । तामाको व्यापार पनि गर्न सकिन्छ । लम्कीचुहालाई ‘तामाको हब’ बनाउन सकिन्छ ।
४.बाँस सबैभन्दा चाँडो हुर्किने बिरुवा हो । त्यसैले यो हाम्रो लागि उपयुक्त छ । बाँसबाट बन्ने सामाग्री र त्यसको उद्योगबारे तल चर्चा हुनेछ  ।
५.पूर्वीय आयुर्वेदमा बाँस विभिन्न रोगको उपचारका लागि प्रयोग भएको पाइन्छ । बाँसको मुनाबाट जुस निकाली औषधि बनाउन प्रयोग गरिन्छ। मानिसहरू दम, खोकी र पित्तथैली सम्बन्धी विकारहरूका लागी बाँसको उपयोग गर्दछन् ।

६. बाँसको बिरुवाको बारेमा एउटा अज्ञात तथ्य यो हो कि बाँसले अन्य बोटबिरुवाहरूको तुलनामा वायुमण्डलमा ३० प्रतिशत बढी अक्सिजन  छोड्छ, जुन बढ्दो वायु प्रदूषण र ओजन  कमीको सामना गरिरहेको बेला हाम्रालागि मितव्ययी साबित हुनसक्छ।

बाँसबाट के के बन्छ ?

मान्छेको दैनिक उपभोग गर्ने धेरै जस्तो वस्तु बाँसबाट नै बनेका हुन्छन् । जस्तै, नाङ्लो, डालो, थुन्से, चाल्नो, मान्द्रो, चित्रा, भकारी, पहाड चढ्दा प्रयोग हुने लट्ठी, ढडिया, दुवाली, जाल, कागज, ईथानल, मान्द्रो, खेलौना, आलमारी, ह्याङ्गर, टेबुल–कुर्सी, सोफालगायतका फर्निचर र घर खेतबारीका लागि बार बनाउन सकिन्छ ।

यहाँनिर एउटा प्रश्न उठ्छ यति ठूलो स्तरमा उत्पादन भएको बाँसको उपयोग कसरी गर्न सकिन्छ ?

अब बाँसबाट सञ्चालन हुने  केही उद्योगबारे चर्चा गरौँ ।

१.बाँसको उत्पादन अत्यधिक भएपछि हामी गुणस्तरीय कागज उत्पादनमा  गर्नेछौ । आँकडाअनुसार, नेपालमा बर्सेनि रु.५० अर्बभन्दा बढीको कागज आयात भइरहेको छ । यदि हामीले कागज यही उत्पादन गर्‍यौँ भने हामी राष्ट्रियरूपमै कागजको आयत गर्न पुरै कम गर्न नसके पनि सुदूर पश्चिम प्रदेशलाई कागजमा आत्मनिर्भर बनाउन सक्नेछौ । र, धेरैभन्दा धेरै रोजगारीको सृजना यही हुनेछ। यसरी हामी, बाँसलाई हाम्रो सीप र समृद्धिसँग सिँधै जोड्ने सक्नेछौ ।

२. बाँसबाट ईथानल बनाउने छौँ । जहिले पनि यसको उच्च माग रहिरहने छ । यसले पनि ठुलै मात्रामा रोजगार सृजना गर्नेछ ।

३. बाँसको प्रयोग गरी चम्चा, प्लेट, कप, थर्मस, बोतल (विभिन्न प्रकारका) बनाउने कुटीर उद्योग स्थापना गरी यही उत्पादन गर्न सकिन्छ । यहाँनेर पनि धेरै रोजगार सृजना हुनेछ ।

४. हिमाल चढ्ने, पहाड चढ्ने र विभिन्न काममा प्रयोग आउने लौरोका लागि हामी ‘कटबाँस’ जातको बाँसको पनि खेती गर्न सकिन्छ । र, आकर्षक बुट्टेदार लट्ठी बनाई त्यसको पनि निर्यात गर्न सकिन्छ ।

५. माल बाँसको पनि खेती गर्नेछौ (तीन लाख भित्र नै यसको खेती गरिने छ) । र, त्यो बाँसको प्रयोग गरी मलभान्सा (मिटिङ हल), पुस्तकालय, प्रतीक्षालय जस्ता एक तले घर बनाएर सिमेन्ट प्लास्टर र रङरोगन गरी हलुवा प्रकारका घरहरूको निर्माण गर्ने सकिन्छ । यसरी हामी सिमेन्ट र छडको आयत कम गर्न सक्छौँ ।

यहाँनेर प्रश्न आउँछ के बाँसबाट बनेको घर टिकाउ र भरपर्दो हुन्छ ?

यदि हामीले फलामको छडलाई बाँसले प्रतिस्थापन गर्ने हो भने छडले बनेको घर जत्तिकै बाँसले बनेको घर पनि बलियो हुन्छ ।

बाँसले स्टिलभन्दा कसरी बलियो हुन्छ ?
हो, बाँस स्टिलभन्दा बलियो छ, तन्य (tensile force ) शक्तिको सन्दर्भमा । स्टिलमा २३,००० पाउन्ड प्रतिवर्ग इन्चको तन्य शक्ति हुन्छ। तर, बाँसले २८,००० पाउन्डमा उल्लेखनीय नेतृत्वको साथ स्टिलभन्दा बाँस राम्रो हुन्छ । तन्य शक्तिले कङ्क्रिटलाई टुक्रिनबाट जोगाउँछ ।

बाँस यस अवस्थामा स्टिलभन्दा बलियो छ, किनकि यसको स्टिलभन्दा कडा प्याक गरिएको आणविक संरचना छ। (यस्ता नमुना घर हरेको वार्डमा हुनेछन्) ।

६.बजार क्षेत्र बाहेक अन्य ठाउँमा (गाउँ तिर) घर, करेसा र कोठे बारीको घेराबारा गर्न र घर कम्पाउन्ड सुरक्षा गर्न बाँसको प्रयोग गर्नेलाई पचास प्रतिशत अनुदान दिनेछौँ । यसरी निर्माणमा सस्तो पर्ने छ (सिमेन्टको आयत कम हुनेछ) भने वातावरणमैत्री समेत हुनेछ । यसरी गाउँ सुन्दर र आकर्षक पनि देखिनेछ । यसरी हरेक गाउँ ‘स्मार्ट गाउँ’ हुनेछ ।

७. पहिला पहिला फर्निचर बनाउँदा बाँसको किला प्रयोग गरेको पाइन्छ । जुन टिकाउ पनि छन् । यसको  उदाहरण आज पनि  धेरै घरहरूमा देख्न पाइन्छ । हामी बाँसको काटी प्रयोग गर्ने फर्निचर उद्योगलाई आधा अनुदानमा बाँस उपलब्ध गराउने छौँ । यसरी फलाम आयत कम गर्न सकिनेछ ।

बाँसको सामान्य प्रयोग 

१. यसका हरिया पातलाई गाईभैँसी र बाख्राका लागि घाँसका रूपमा प्रयोग गर्ने गरिन्छ । घाँस लैना बस्तुभाउलाई पेटभरि खुवाउँदा प्राकृतिक रूपले नै अम्रो झर्ने गर्छ भनेर  बुढापाकाहरू भन्ने गर्छन् ।

२.खोला किनारको माटो संरक्षण गर्नेछ ।

३. सुकेका बाँसका पातहरू कुम्हालेहरूले माटाका भाँडा निर्माण गर्ने ससाना कुटीर उद्योगमा भाँडालाई पोल्ने इन्धनका रूपमा प्रयोग गर्छन् । यसरी हामी माटाका भाडा अत्यधिक रूपमा निर्माण गर्नेछौ र माटाको भाडाको माग बजारमा अत्यधिक भएकाले यसको निर्यातमा कुनै समस्या पर्नेछैन ।

यसका लागि अरू गर्नुपर्ने कामहरू:

नेपालमा अरू औद्योगिक क्षेत्र विकास गर्न फलामको चिउरा चपाउनु सरह छ । त्यसैले हामी प्रदेशीनुको विकल्प छैन । तर ,हामीले विभिन्न प्राविधिक उत्पादन गरिरहेका छौँ । यसको असर भोलि देखा पर्नेछ । हामी प्राविधिक हैन, बेरोजगार उत्पादन गरिरहेका छौँ । अनुमानित आँकडाअनुसार अहिले नेपालमा पचास हजार नर्स बेरोजगार छन् । केही वर्ष भित्र देशको यही हालत रह्यो भने  सबै  इन्जिनियर क्षेत्रमा यो देखा पर्नेछ । त्यसैले हामीले युवा जनशक्तिलाई कृषि प्राविधिक/वैज्ञानिकतिर आजदेखि नै मोड्नु पर्ने छ । त्यसका लागि म बाँस तथा कृषि सम्बन्धी विश्वविद्यालय आगामी दस वर्षमा खोल्ने छु ।  नेपालमा बाँस सम्बन्धी कम्तीमा एउटा राम्रो क्याम्पस अत्यावश्यक पर्नेछ  ।

विश्वविद्यालयले बाँस सम्बन्धी अध्ययन–अनुसन्धान गर्नेछ र, अनेक सृजनशील पक्षहरूलाई सैद्धान्तिक र व्यावहारिक दुवै रूपले अगाडि बढाउन मद्दत गर्नेछ । देशलाई उद्योगतिर लैजानका लागि बाँस पहिलो प्राथमिकतामा  परेको छ ।

लगानीको पाटो:

विकल्प १.
यसरी बाँसका विभिन्न सामाग्री धेरै मात्रामा उत्पादन गर्दा केही वर्षमा ठुलै उद्योग आवश्यक पर्नेछ । उद्योगमा  संसारभर छरिएका नेपालीले लगानी गर्ने पाउने छन् । पछिल्लो समय पब्लिक कम्पनीमा शेयर लगानी गर्नेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गरेको देखिन्छ । त्यसैले कच्चा पदार्थ लगातार उत्पादन भइरहने र कच्चापदार्थको अभाव नहुने कम्पनी निर्माण गर्नमा कुनै गाह्रो हुन्छ मलाई लाग्दैन । यदि इच्छा शक्ति छ भने।

विकल्प २.
पब्लिक कम्पनीलाई करारमा बाँस खेती गर्न र कारखाना स्थापना गराउन लम्किचुहेला निजी जमिनहरू लिजमा लिएर उपलब्ध गराउन सक्नेछ।

अन्त्यमा –
बास बिक्री बाट नगरपालिकाको वार्षिक आम्दानी कति हुनेछ त  ?
एक बाँसको मूल्य कम्तीमा – रु १००
मानिलिऊ हामीले दिनमा १००० पिस मात्रै बाँस बेच्यौ भने  – १००*१०००= १,००,००० ( एक लाख प्रतिदिन )

३०*१,००,०००=३०,००,००० (तीस लाख प्रतिमहिना)

वार्षिक आम्दानी -१२*३०,००,००० = ३,६०,००,०००

नगरपालिकाको वार्षिक आम्दानी – ३,६०,००,००० (तीन करोड साठी लाख  )

यो हामीले कम्तीको आम्दानी निकालेका हौ । रोजगारी आफैँ सृजना हुनेछ ।

Tags:

सम्बन्धित समाचार