उनीहरू बिहान झिसमिसेमै उठ्छन् । रातभर निदाएको नाम्लोलाई झकझक्याएर बडो प्रेमसँग काँधमा सजाउँछन् र, निस्कन्छन्- आफ्नो जीवनको अर्को एक दिन बोक्न ।
‘पोहोर साल लडाई चल्यो सामन्तलाई मास्न
के गर्यौ नेता मिली भएन हामीलाई बस्न
संसारमै गरिबको छैन राज्य भन्छ
तर पनि यो देशमा ल्याउन हामीलाई मन छ
झरनाको चिसो पानी…
भारी खेप्ने खेतालाको यही हो जिन्दगानी..
झरनाको चिसो पानी….’
कुनै समय निकै लोकप्रिय रहेको रक्तिम परिवारको यस् गीतले भरिया दाइको कथा मात्र सुनाउँदैन, आम मानिसको आँसु र पसिनाको मूल्यमाथि भइरहेको अवमुल्यनलाई पनि इंकित गर्दछ । वर्षौँदेखि आफ्नो पसिनाको उचित मोल नपाएर पिल्सिरहेका थुप्रै भरिया दाइलाई हामी हाम्रै वरिपरि भेट्न सक्छौँ । व्यापारी र सरकारले बेवास्ता गरेको र हेय भावले हेर्ने गरेको भुइँमान्छे आज पनि उही पुरानै पारिश्रमिकमा पिसिरहेको छ, आफ्नो जीवनरुपी जाँतो ।

बिहान झिसमिसेमै उठ्छन् । रातभर निदाएको नाम्लोलाई झकझक्याएर बडो प्रेमसँग काँधमा सजाउँछन् र, निस्कन्छन् उनीहरू, आफ्नो जीवनको अर्को एक दिन बोक्न । इतिहासमा राजा महाराजाको गाडी समेत बोकेका उनीहरूलाई आज पनि दुई छाक खानकै लागि पूँजीपतिहरूको राशन ओसारपसार गरेर गुजारा चलाइरहेका छन् ।
भरिया अड्डा : काष्ठमण्डप कि बांगेमुढा ?
काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा रहेको काष्ठमण्डपमा भूकम्पअघि भरियाहरूको अड्डा जम्ने गर्थ्यो । पर्यटकीयस्थलको रुपमा ज्यादा चहलपहल हुने हुँदा भरियाहरू यस स्थान वरपर बसी साहुको काम कुर्ने, त्यसकै वरिपरी रहेका होटेलमा खाने र त्यहि ठाउँमा निदाउने गर्थे । ७२ सालको भूकम्पमा काष्ठमण्डपको काखमा निदाइरहेका उनीहरुमध्ये कतिलाई अब कहिल्यै जीवनको भार बोक्न नपर्ने गरि मृत्युले थिचेको थियो । यसपश्चात्, काष्ठमण्डप आसपास ‘कसैले बोलाउला र भारी बोक्न जाउला’ भनेर पर्खिरहेका आशातित आँखाहरू पातलिन थालेका छन्।
प्राय मानिसले दुःखको पेसा भन्ने कुरा ‘भरिया पेसा’ वर्तमान नेपाल सरहदभित्रको सबैभन्दा पुरानो सहर (३ हजारदेखि ३५ सय वर्ष पुरानो) काठमाडौंको भित्रि गल्लीहरूमा कहिलेदेखि सन्चालनमा आयो भनेर यकिन भन्न गाह्रो छ । उनीहरूको मुख्य जम्मा हुने थलो बांगेमुढा रहेको इतिहास भेटिने गर्दछ ।
नाग–नागिनीहरूको आराधनाका विधि र सामग्री प्रयोग गरि ‘वास्याःद्यः’ अर्थात् ‘दाँत दुखाइ निको पार्ने द्यौता’ को रुपमा पुजिने बांगेमुढामा कसरी भरिया अड्डा भयो भन्नेबारेमा मल्ल के.सुन्दर भन्छन्, “भीमफेदीसम्म रेलमार्फत ल्याइएको समानको काठमाडौं ढुवानीका लागि नियमित रुपमा भरियाहरू आवश्यक पर्थ्यो । त्यसैको स्थायी व्यवस्था गर्न तत्कालीन सरकारद्वारा स्थानीय व्यक्तिहरू रत्नबहादुर गुरुवाचार्य र रामप्रसाद कसजूलाई जम्मा दिइयो । सोही क्रममा एउटा केन्द्र नै खडा गरियो, जुन कालान्तरमा भरिया अड्डाको रूपमा चिनियो । भारी बोक्न काम पाउने आशामा सहर पसेका भरियाहरू नाम्लो र डोको बोकेर बिहानैदेखि त्यस अड्डासामुन्ने ताँती कस्थे ।” (बांगेमुढा मक्किएको मुढो मात्र होइन, मल्ल के. सुन्दर)

वर्तमान समयमा भरियाहरू क्षेत्रपाटी, रन्जना गल्ली, नरदेवी मन्दिर र वरपरको क्षेत्रमा विभिन्न किसिमका भारी बोकेर भिडभाडलाई छिचोल्दै, तर्किदै, धपेडीदै, लखेटीदै जीर्ण अवस्थामा रहेका पुराना पाटी एवम् सत्तलहरूमा सुस्ताइरहेका देख्न सकिन्छ । असनपश्चात् काठमाडौका विभिन्न व्यापारिक क्षेत्र तथा ठुला तरकारी बजारहरूमा सयौँको संख्यामा उनीहरूलाई देख्न सकिन्छ ।
देशका अनेकन् ठाउँमा सडक सञ्जाल विस्तार भएपश्चात् किनाराकृत हुन् पुगेको यस पेसालाई काठमाडौंभित्र धादिङ, काभ्रेपलाञ्चोक आसपासका जनजाती समुदायले हालसम्म निरन्तरता दिइरहेका छन् । अव्यवस्थित सहरको मार खेपिरहेको काठमाडौंले आर्थिक उपार्जनको यस पाटोसँग जोडिएका यी-यस्ता मजदुर वर्गको चासो दिन सकेको छैन । भरियाको हकहितको लागि काम गर्ने संघसंस्थाहरू प्रभावकारी देखिँदैनन् । पछिल्लो समय, सवारी साधान (पठाओको प्रयोग समेत बढेको छ)कै प्रयोग गरि सामान ओसारपसार गर्न थालेसँगै यस पेसा पलायनमुखी हुने जोखिम पनि देखिन्छ । काठमाडौंको भित्री गल्लीहरूमा सवारीसाधन निषेध एवम् यस्ता पेशाकर्मीहरूको हकहितमा सामाजिक सुरक्षा योजना निर्माण गर्न सकेको खण्डमा भरिया पेशा पुनर्जीवित हुन् सक्ने अनुमान भने गर्न सकिन्छ । तर, त्यो अवस्था आउने कुरामा हाल शंकाको छुट छ ।

व्यापारअनुसार भरियाको वर्गीकरण
व्यापारीका व्यापार अनुसार उनीहरूको वर्गीकरण भएको छ । केही भरियाहरू खाद्यान्न सम्बन्धी भार मात्र उचाल्छन् भने केही कपडा तथा अन्य सामग्री ओसारपसारमा संलग्न छन् । कतिपय भैर्याहरू घरेलु उपभोग्य वस्तुहरू जस्तै: ग्याँस, चामल, जस्तै सामानहरू ओसारपसार गर्दछन् भने केही भरियाहरू गहना पसलको सेफ विधिपूर्वक बोक्न उस्ताद छन् । कतिपयले भने वर्षमा १२ पटक कुमारीलाई बोक्ने जिम्मा पाउने गरेका छन् ।
असार महिनाको बिहीनीपख न्युरोड रञ्जना गल्ली हुँदै अघि बढ्दा लाल बहादुर श्रेष्ठसँग भयो । मैले उनको पारिश्रमिकबाट वार्तालाप थालेँ । उनी निराश भए र उचित पारिश्रमिकको माग गर्दा व्यापारीहरू रिसाउने, झगडा गर्ने गर्ने गरेको कुरा सविस्तार सुनाए । आफूभन्दा अजंगको भारी बोकेर कुनै भवनको पाँचौँ तलासम्म पुर्याउँदा जम्मा १00 रुपैयाँ पाउने गरेको कुरा सुनाउँदै गर्दा उनको अनुहारको चमक उडेको थियो ।
श्रेष्ठका अनुसार, कसै-कसैले खुसी भएर ५०० सम्म पनि दिने गरेका छन्, तर यो कहिलेकाहीँको कुरा भयो । सबै कुराको भाउ बढिरहँदा आफू र आफ्नो साथीहरूको पारिश्रमिक नबढ्दा हातमुख जोर्नसम्म उनलाई धौ-धौ परेको छ । क्षेत्रपाटी नजिकैको गाडीबाट एक क्विन्टलको सामान झारेर इन्द्र चोकसम्म पुर्याउँदा उनको हातमा जम्मा १०० देखि १५० रुपैयाँ पर्ने गरेको छ ।

दोलखाबाट आएर ४० वर्षदेखि भारी बोकिरहेका श्रेष्ठ भन्छन्, “सबै कुरा उकालो लाग्दा हाम्रो ज्याला कहिल्यै माथि नपुग्ने भयो ।“ लकडाउनमा राखेको सबै बचत पुँजी सकिएर अरूको आस गरेर बस्नुपर्ने दिन पनि उनले देखे । कहिबेर उनको भारी जिन्दगी सुनेपछि म उनीबाट बिदा भएँ र अघि बढेँ ।
श्रेष्ठको जस्तै अवस्था अन्य भरियाहरू पनि रहेको पाइन्छ । खाना खान घर जाँदा यता काम छुट्ने डरले उनीहरू प्राय बिहानको छाक होटेलमै खान्छन् । खाजा, चिया खाना लगायत सबै कुराको मूल्य वृद्धि हुँदा अहिले उनीहरूको जीवनलाई अभावले थिच्दै गइरहेको छ । दिसापिसाब गर्ने समयमा समेत भारी छुट्ला भनेर उनीहरू दिसापिसाब रोकेर बसिरहेका हुन्छन् । दिसापिसाबको लागि रत्नपार्क पुग्नुपर्दछ, त्यहाँ पुगेर फर्कदाको २०-२५ मिनेटको समयमा भारी छुट्ने डर उनीहरूमा सदैव रहन्छ ।
भरिया र पसिना
‘पसिना बगेर
दुनियाँ बदलिने भए
भरियाको दुनियाँ
उहिल्यै बदलिसक्थ्यो मनसरा’
कवि निभा शाहको ‘मनसरा’ शिर्षकको कविताको यो कवितांशले अहिलेसम्म परिवर्तन हुन नसकेको भरियाको जीवनलाई देखाउँछ । स्वास्थ्य, सुरक्षा र शिक्षा जस्ता आधारभूत कुरा पूर्तिका लागि अर्काको भारी बोकिरहेकाहरूलाई आफ्नो पेटको भारी बिसाउन नै चर्को छ । त्यसमाथि, एक्काइसौँ शताब्दीको कथित शिक्षित समाजले उनीहरूलाई सम्मान गर्दैन, हेलाहितो गरेर नै आफ्नो अहंकार प्रदर्शन गरिरहन्छ । हरेक पेशा सम्मानित हुनुपर्दछ भन्ने कुरा यस शहरमा देख्न नपाइने कुराको यो अर्को प्रमाण हो ।

लकडाउनकै समयमा धादिङका सूर्यबहादुर तामाङको निधनको खबरले पत्रपत्रिकाहरू भरिए । केही मुखहरूले ‘च्च-च्व’ गरे अनि बिर्सिए । कीर्तिपुरको सडकपेटीमा उनी मृत अवस्थामा फेला परेका थिए । सडकपेटीमै बास बस्ने उनले काम नपाएर ज्यान गुमाए । हातमा नाम्लो बोकेर अस्ताएका सूर्यबहादुरको अवस्थाले भरियाको जीवन कस्तो छ भनेर बुझ्न गाह्रो नहोला । यो त जानकारीमा आएको घटना भयो, जानकारीमा नआएका अझ कति होलान् !
केही अगाडी पुगेपछि मेरो भेट नाम्लो मुसारेर बसिरहेका नवराज श्रेष्ठसँग भयो । रामेछापबाट आएका उनी कहिलेकाहीँ ८० रुपैयाँ पारिश्रमिकमा पनि चित्त बुझाउँछन् । पारिश्रमिक बढाउने कुरा चलेपनि अहिल्यै बढी नसकेको उनले सुनाए । मुख्यत: व्यापारीले आफ्नो पारिश्रमिक बढाउन नमानेको उनी बताउँछन् । उनी भन्छन्, “साहुहरू दिएको दाममा बोक्ने भए बोक्, होइन भने नबोक् भन्छन् ।”
उनका अनुसार व्यापारीहरूले ५ तलासम्म पुर्याए १०० रुपैयाँ, अलिक तलै भए ७० पनि दिने गरेका छन् । दिनभरि बोकेको भारीले बल्ल-बल्ल खान पुग्ने अवस्था रहेको छ । न्यूनतम पारिश्रमिक १५० देखि २०० रुपैयाँ कायम गरिदिए थोरै अवस्था सुदृढ हुन्थ्यो भन्ने उनलाई लाग्छ । लकडाउनको बेलामा आफ्ना सहकर्मीहरू आर्थिक अभावले हिँड्दै घर फर्केको घटनाको उनी साक्षी हुन् । सोही हाल उनको पनि थियो, लकडाउनमा उनले पनि चर्को आर्थिक संकट झेले । पछिल्लो चुनावपश्चात् आकासिएको मूल्यवृद्धिले उनको जीवनबाट सन्तोष खोसेको छ ।
रामेछापका ज्ञान बहादुर गौतम ६५ वर्षका भएका छन् । बुढ्यौलीका दिनहरूमा पनि उनले सुख पाएका छैनन् । दिनमा ७०० सम्म कमाइ गर्ने उनलाई उनीहरुको हित चिताउने संस्था ‘नेपाल भारवाहक मजदुर सङ्घ‘ छ भन्ने पनि थाह छैन । नरदेवी मन्दिर आसपास भेट्टीने उनी उक्त सङ्घले ज्याला बढाएको छ भन्ने पनि जान्दैनन् । संघले न्यूनतम ज्याला रु. १५० पुर्याएको छ ।
नुवाकोटका ५८ वर्षिया जित बहादुर लामालाई बाङ्गेमुढा छेउमा रहेको फलैँचामा भेट्न सकिन्छ । खेतिपातिको बेला घर जाने गरेका उनी बाँकीको समयमा नाम्लो बोकेर काठमाडौं छिर्छन् । उनी जस्तै धेरै भरियाले भार बोक्ने कामलाई वर्षको ‘पार्ट टाइम वर्क’को रूपमा प्रयोग गर्दै आएका छन् । दिनको ८०० सम्म कमाइ गर्ने उनी बिरामी हुँदा हेर्ने कोहि नभएकोमा निकै दु:खी हुन्छ्न् । गाउँ गएको बेलामा पनि उनी भारी बोक्न भने छोड्दैनन् । उनी विरक्ति भरिएको मुस्कान चिप्पाउँदै भन्छन्, “यता नि भारि बोक्ने, उता नि भारि बोक्ने ।”

व्यापारीका कुरा
बिहानको खाना खाने बेलासम्मको समय भरियाहरूसँग व्यतित गरेपश्चात् म व्यापरीका कुरा सुन्न गएँ । व्यपारीहरूसँग कामको मन्दी र व्यापारमा घाटा भइरहेका कारण भनेबमोजिम पारिश्रमिक दिन नसकिएको ओठे जवाफ प्रष्ट रुपमा पाएँ । काम धेरै भएको बेला भरियाहरू सन्तुष्ट रहेको र अहिले काम नै कम हुन थालेपछि पारिश्रमिक बढाउन माग गरिएको उनीहरूको मत छ ।
आर्थिक रूपमा कमजोर हुँदै गइरहेको देशको अर्थतन्त्र, बढ्दो महँगाइ र देश उत्पादनमूलक नभएका कारण सो सबै भइरहेको उनीहरूको बुझाइ रहेको छ । उनीहरूका अनुसार पसल राखिएको ठाउँको बहाल तिर्न र कर्मचारीलाई तलब दिन नै हम्मेहम्मे परेको छ । एक कप चिया पनि सोचेर पिउनु पर्ने अवस्था रहेको छ । राजनीति भित्र रहेको चरम भ्रष्टाचारले गर्दा आजको यो आर्थिक अवस्था सिर्जना भएको उनीहरूले सुनाए । त्यसकै असर भरियाको पारिश्रमिकमा पनि परेको मलाई बुझाइयो ।
दिनभरि भारि बोकेर थाकेको शरीर बिसाउने उनीहरुको काठमाडौंमा कुनै निश्चित वासस्थान छैन । न स्वास्थ्यको हेरचाह गरिदिने कोही छ । सरकार पनि मतगणना र मतदानको बेलामा मात्र उनीहरुलाई सम्झन्छ । उनीहरुसँग सम्बन्धित खुलेका संघ/संस्था पनि बन्द कोठामा छलफल गरेर, बन्द कोठामै कार्यन्वयन गर्छन् भन्दा फरक पर्दैन ।
