साइकल यात्रीहरूलाई स्थानीय पर्यटकीय गन्तव्य घुमाउने, स्थानीय परिकार चखाउने र स्थानीय संस्कृतिसँग साक्षातकार गराइने हुँदा यसले आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने कार्कीले विश्वास लिएका छन् ।
बाँके तथा बर्दियाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘टुर दि ठाकुरद्वार २०२३’ आयोजना हुने भएको छ ।
स्थानीय भाषामा ‘चली ठाकुरद्वार’ बताइने यो कार्यक्रम विगत ५ वर्षदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको छ । नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा हुन गइरहेको यस कार्यक्रममा देश तथा विदेशबाट साइकल यात्रीहरू आउने नेपालगञ्ज साइक्लिङ क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र दीप कार्कीले जानकारी दिए । कार्यक्रममा देश तथा विदेशबाट झण्डै २५० जना साइकल यात्री यसपाली नेपालगञ्ज आउने सम्भावना रहेको उनले बताए ।
बर्दिया राष्ट्रिय निकुञ्ज पर्यावरणको हिसाबले एकदम राम्रो भए पनि प्रचार-प्रसारको कमीले पछाडि परेको छ । यस क्षेत्रलाई प्रवर्द्धन गर्ने र पर्यावरण पर्यटनको विकासमा टेवा पुर्याउने उद्देश्यले प्रत्येक वर्ष चली ठाकुरद्वार आयोजना गर्ने गरिएको छ ।
यही माघ २७ र २८ गते हुन गइरहेको यस कार्यक्रमले बाँके तथा बर्दियाको पर्यटनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । नेपालको पूर्वदेखि पश्चिमसम्मका साइकल यात्रीहरू आउने यस यात्रामा भारतबाट पनि ५० जना साइकल यात्री जोडिने भएका छन् ।
साइकल यात्रीहरूलाई स्थानीय पर्यटकीय गन्तव्य घुमाउने, स्थानीय परिकार चखाउने र स्थानीय संस्कृतिसँग साक्षातकार गराइने हुँदा यसले आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने कार्कीले विश्वास लिएका छन् । उनी भन्छन्, ‘साइकलको चेनले हामी विभिन्न कुरालाई जोड्छौँ ।’
नेपालगञ्ज साइकल उत्सव भनेर पनि चिनिने यस कार्यक्रमबाट उठेको रकमले एउटा कोषसमेत तयार हुने उनले जानकारी दिए ।
बाँके जिल्लाको नेपालगञ्जस्थित बागेश्वरी मन्दिरबाट सुरु भएको यात्रा बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै ठाकुर बाबा मन्दिरमा गएर सकिनेछ । स्वस्थानी कथा अनुसार सती देवीको जिब्रो पतन भएको सो स्थान बाक्केश्वरीबाट अपभ्रंश हुँदै बागेश्वरी भएको जनविश्वास रहेको छ । यस स्थानमा सर्वप्रथम किन्नरगणहरूले पूजा-आराधना गरेको मानिन्छ । एउटा ठूलो तलाउको किनारामा रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको हो ।
बर्दियाको ठाकुर बाबा मन्दिर बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालयनजिकै अवस्थित छ । थारु समुदायको यस ऐतिहासिक मन्दिरमा भगवान विष्णु रहेको र उनलाई ठाकुर भनी पुकार्ने भएकाले यो मन्दिरको नाम ठाकुर बाबा रहन गएको बताइन्छ । ३ सय वर्षअघि मल्लकालमा किसानले खेत जोत्ने क्रममा अष्टभुजा पोषण, विष्णु र हनुमान भगवानको ढुङ्गाको मूर्ति फेला परेको र सो ठाउँमा उचाल्न नसकेपछि सोही ठाउँमा राखिएको धार्मिक किंवदन्ती रहेको छ ।
पर्यापर्यटनको प्रचुर सम्भावना बोकेको बर्दिया राष्ट्रिय निकुञ्ज अहिले नेपालको सबैभन्दा धेरै पाटेबाघ देखिने क्षेत्र हो । साथै, यात्राका दौरान विभिन्न किसिमका चरा, विभिन्न प्रजातिका जनावरहरू समेत देख्न सकिन्छ । निकुञ्जमा पाटेबाघ बाहेक एक सिंगे गैँडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जङ्गली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा पाइन्छन् । यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाइँ सरी आउने चराहरूको अभिलेख गरिएको छ ।
बागेश्वरी मन्दिरबाट चियापान गरेर अघि बढेपछि खजुरा, मान खोला, भोला गौडी हुँदै बढैया ताल गएर बिहानको खाजा (ब्रेकफास्ट) गराइनेछ । त्यहाँबाट अघि बढेपछि केदारेश्वर धाममा पानी पिउने विश्राम (वाटर पोइन्ट) राखिनेछ भने ग्याङ खोला भएर सत्खलुवा तालमा पुगेर दिवा खाना खाइनेछ । बैदी चोक, रामापुर चेक पोइन्ट हुँदै बबई नदीमा पानी पिउने विश्राम लिँदै सैनवर चेक पोइन्टबाट अघि बढी भूरि गाउँमा खाजाको व्यवस्था गरिनेछ । ८१ किलोमिटरमा रहेको प्रतापपुरबाट ९० किलोमिटरको दुरीमा रहेको ठाकुरद्वारामा पुगेपछि यात्रा सकिनेछ ।

प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक यस साइकिल यात्रामा साइकिल यात्रीहरूले विभिन्न पर्यटकीय आयामहरूको भरपुर आनन्द लिन सक्नेछन् । यस साइकल यात्राले बाँके-बर्दियाको पर्यटन प्रवर्द्धनमा मदत गर्ने विश्वास लिइएको छ ।
देशभरिका साइकल यात्रीलाई चली ठाकुरद्वार-२०२३ मा सहभागी भइदिन उपाध्यक्ष कार्कीले आग्रह गरेका छन् ।