आधुनिक सहरी जीवनले बाँसका सामग्रीहरूको उपयोग गर्न छाडेको भान हुन्छ तर, यहि सहरको एक कुनाको गाउँले भने आजसम्म पनि आफ्नो पुर्ख्यौली पेसाको रुपमा बाँसका सामाग्रीहरू बनाइरहेको छ ।
तिहारको रमझम सुरु भएसँगै बाँसका सामाग्री र झाडु/कुचोहरूले बजार लिइरहेको देखिन्छ । पूजा सामाग्री भण्डारमा या सामान्य पसलमा बेच्न बाँसका सामग्रीहरू कहाँदेखि आएका होलान् ? कसले बनाएका होलान् ? म दाँत कोट्याउने टुथपिकदेखि टपरी गाँस्ने मसिनो सिन्कोसम्म उपयोगमा आइरहेको बाँसका सामाग्री बनाउने हातहरू खोज्ने मेसोमा लागेँ ।
धनतेरसको मौका छोपेर बडो मुस्किलले, बाँसका सामग्री बनाउने काठमाडौं उपत्यकाकै एक प्राचीन गाउँतर्फ लम्किएँ । बाटाभरि बाँसको इतिहास, बहुउपोयोगिताको सन्दर्भका विविध कुराहरू मनन गर्दै रहें ।
बाँस मानव विकासको इतिहासतिर फर्केर हेर्दा- फिरन्ते जीवन त्यागेर खेतीपाती गरी स्थायी घरजम गर्ने समयमा बहुउपयोगी प्राकृतिक वनस्पति बनेको थियो । सात हजार वर्षअघिका पुराना दस्तावेजले बाँसबाट बनेका सामान (तीर, कागज, किताब, निर्माण सामग्री) का कथा बताउँदछन् । वर्तमान नेपाली समाजको विविध चाडपर्व, जीवनशैली, संस्कार, संस्कृति, जन्म–मृत्युमा पनि बाँसको भरपुर उपयोग भएको देखिन्छ । नेपाली समाजमा बाँस र निगालो मान्छेको जीवन निर्वाहका लागि आवश्यक सबै थोक बनाउन मिल्ने प्राकृतिक वरदानझैं स्थापित छ । आधुनिक सहरी जीवनले बाँसका सामग्रीहरूको उपयोग गर्न छाडेको भान हुन्छ तर, यहि सहरको एक कुनाको गाउँ भने आजसम्म पनि आफ्नो पुर्ख्यौली पेसाको रुपमा बाँसका सामाग्रीहरू बनाइरहेको छ ।

गाउँ हो- बडीखेल ।
कुनै बेलाको पुरानो बस्ती ‘कोड्कु’ अहिले बडीखेलको रूपमा प्रसिद्ध छ । ललितपुर महानगरपालिकाको गोदावारि नगरपालिका अन्तर्गत रहेको बडिखेलका धेरै प्राय सबै वडामा बाँससम्बन्धी काम गरिन्छ ।
तिहारको बेला बडीखेलमै गएर व्यपारीहरुले नाङ्ग्लो तथा डोको खरिद गरी उपत्यका भित्र्याउने गर्छन् । अरू बेला भने आफैँले व्यापारीहरूसँग सम्पर्क गरेर माग बमोजिमका बाँसका सर-सामान पुर्याउनु पर्ने हुन्छ । तिहार (सिजनको बेला)मा एक व्यापरिले न्यूनतम १ हजारदेखि ४,००० रुपैयाँसम्म व्यापार गर्ने गरेका छन् ।
तराई लगायत विभिन्न ठाउँबाट बाँस आएपछि बडीखेलमा बाँसको सर-सामान बनाउने सम्बन्धित परिवारले खबर पाउने गरेका छन् । जसपछि उनीहरू बाँसको डिपोसम्म खरिद गर्नका लागि जाने गर्छन् । सुकेको बाँसले नाङ्ग्लो बनाउन अप्ठ्यारो हुने हुँदा हरियो बाँस नै खरिद गर्नुपर्ने हुन्छ ।
बाँसको चोया चिरेर राखेपछि त्यसलाई घाम हेरेर १/२ दिन सुकाउनु पर्छ, त्यसपछि त्यसलाई नाङ्ग्लो या ढाकी बनाउन पुनः भिजाउनु पर्छ । बनिसकेको नाङ्ग्लोलाई पुन: सुकाउनु पर्छ । त्यसपछि नाङ्ग्लोमा बिट हाल्न फेरी भिजाउनु पर्छ । र पुनः सुकाउनु पर्छ । मुख्यतः एउटा नाङ्ग्लो प्रक्रिया पुर्याएर बनाउन २ दिन जति लाग्छ, बुन्न अप्ठ्यारो नाङ्ग्लोलाई बेला-बेला भिजाउँदै तयार गर्नु पर्छ । फरक-फरक काम फरक फरक व्यक्तिले सम्हालेर बनाए भने अलिक चाडै बन्छ । एउटा बाँसबाट १० वटा जति नाङ्ग्लो र बिट बनाउन सकिन्छ ।
नाङ्ग्लो, डोको आदि बनाउन दुई थरिका बाँस प्रयोग गरिन्छ । एउटा नेपाली बाँस रहेको छ, जुन उपत्यका वरिपरि पनि पाइन्छ र अर्को तार बाँस (खट बाँध्ने बाँस) रहेको छ । नेपाली बाँस राम्रो भए तापनि आँख्ला नजिकै हुने भएकाले चोया छोटो हुन्छ, जसले बुन्न गाह्रो हुन्छ । तार बाँसको चोया भने बुन्ने क्रममा भाँचिने डर हुन्छ । तर, टिकाउ भने तार बाँस हुन्छ । मङ्सिरमा काटेको बाँस एक वर्ष थाँती राखेर त्यसलाई आकार दिने गरिन्छ । समग्रमा भन्दा एक वर्ष अगाडी नै किनिएको बाँस नाङ्ग्लो बनाउन प्रयोग गरिन्छ ।
बाँस छानेर ल्याउँदा रू. २८० र नछान्दा रू. २५० प्रति गोटासम्म पर्छ । त्यसपछि गाडीलाई प्रत्येक बाँस बराबर ५० रुपैँया दिनुपर्ने हुन्छ । बनिसकेका बाँसका सामग्री बजारमा बेच्न लैजाँदा पनि ढुवानीको पैसा तिर्नुपर्छ । तिहारमा मात्र व्यापारी बडीखेल गाउँसम्म पुग्ने गर्छन्, अरू बेला त बेच्नलाई निकै मुस्किल पर्ने गर्छ ।

बाँस संरक्षणार्थ तामा नखाने पहरी जाति:
पहरी जातिको पुर्ख्यौली पेसा भनेको बाँसको काम गर्नु नै रहेको छ । पहरीले अहिलेसम्म पनि बाँसको संरक्षण गर्नु पर्छ भनेर (बाँसको मुना) तामा त्यती उपभोग गरेका छैनन् । पहरी जातिले सदियौँ देखि बाँसको तामा काट्ने गरेका छैनन् । बाँस बिना आफ्नो पेसा नै सङ्कटमा पर्ने हुनाले यसलाई पहरी जातिले संरक्षण गर्ने गरेका छन् ।
आइतबार र मङ्गलवार बाँस काट्नु हुँदैन । नियम नमानी काटे ग्रह नक्षत्रको प्रभावले बाँसमा किरा पर्छ भन्ने मान्यता रहेको छ । पूर्णिमाको सात दिन भित्र बाँस काटे राम्रो हुने मान्यता पहरी जातिमा रहेको छ ।
पृथ्वीनारायण शाहको पालामा कीर्तिपुरको युद्धमा एक कीर्तिपुरेले सिधै राजालाई हमला गरे, जुन नियम विपरीत मानिन्थ्यो, सो समयमा राजाले राजालाई मात्र मार्न पाउने मान्यता रहेको थियो । सोही समयमा एक सेनाले उनलाई बचाएका थिए र पृथ्वीनारायण शाहले खुसी भएर उनलाई विश्वासिलो पहरेदार बनाएका थिए । त्यसैले सम्मान स्वरूप त्यो जातिलाई पहरी भनिएको स्थानीय कथन छ । त्यसैगरि पहराको छेउछाउ बस्ने हुनाले उनीहरूले बाँसको काम सिकेको र पहरी भनिएको भन्ने पनि बडीखेलका स्थानीयवासीबाट सुनियो ।
बडिखेलको नाङ्ग्लो तराईसम्म पुग्दछ
बाँसको कालीगडीका लागि प्रख्यात ललितपुरको बडिखेलमा अर्डर अनुसार जुनसुकै वडाका व्यक्तिले बाँसका जुनसुकै सर-सामान बनाउन सक्छन् तर, वडा नम्बर ६ मा बाँसको र्याक बढी बनाउने गर्छन् भने ५ नम्बरमा नाङ्ग्लो बढी बनाइने गरिन्छ । त्यसैगरि वडा नम्बर ८ मा डालो बढी बनाउने गरिन्छ । बडिखेलको नाङ्ग्लो तराईसम्म पुग्ने गर्दछ ।
त्यसैगरि, नाङ्ग्लो बाँध्न प्रयोग हुने प्लास्टिकको डोरी (कार्टुनहरू बेरेको प्लास्टिक) महाबौद्धदेखि खरिद गरेर ल्याउने गरिन्छ । पहिला-पहिला त्यस्ता डोरी बाटोमा फ्यालिएका हुन्थे, बाटोमा खोजेर ल्याउन पाइन्थ्यो । अहिले भने किलोको ७०/८० रुपैयाँले खरिद गरेर ल्याउनुपर्ने हुन्छ ।
तिहारको बेला सानो नाङ्ग्लो २०० रुपैयाँ पर्छ भने छिर्केलाई ४०० र सादालाई ३०० रुपैयाँ । त्यही नाङ्ग्लो अरूबेला १२० देखि १५० रुपैयाँसम्म बेच्नुपर्ने बाध्यता हुन्छ । सिजन सुरु नहुँदै कर्मचारी समेत राखेर तिहारकै लागि भनेर नाङ्ग्लो बनाउने गरेको देखिन्छ ।
राम्रोसँग काम गरे एक दिनमा एक व्यक्तिले १० देखि १२ वटासम्म बाँसका सामान बनाउन सक्छन् । तर, बाँसको सामान बनाउँदा निकै सतर्कतासाथ् बनाउनु पर्ने हुन्छ, अन्यथा चोयाले हात काट्न सक्छ ।

बाँसको चोयाले जीवन उनिरहेका केशव पहरी
केशव पहरी लामो समयदेखि बाँसको चोयाले आफ्नो जीवन उनिरहेका छन् । बडीखेलको आफ्नो घरको छतमा उनी घर-घरले अन्न निफन्ने नाङ्ग्लो र भण्डारण गर्ने डालो बुनिरहेका भेटिन्छन् । पुर्ख्यौली पेसालाई निरन्तरता दिइरहेका उनी बाँस खरिद गरी ल्याएर त्यसलाई धैर्यताका साथ एक आकारमा उन्ने गर्छन् । आफ्नो वरिपरिको क्षेत्रमा विगत ५/६ वर्षदेखि बाँस पाउन छोडेपछि उनले बाँस डिपोसँग सम्पर्क गरेर खरिद गरी बाँस ल्याउन थालेका छन् ।
केशव पहिला बगैँचा समबन्धि काम गर्ने गर्थे । तर, उक्त पारिश्रमिकले घर व्यवहार धान्न गाह्रो भएपछि उनी आफ्नै पेसामा रमाउन थालेका हुन् । उनी भन्छन्, ‘२० हजार पारिश्रमिक हुन्छ, जाऊ-आउ गाडी भाँडा ! खाजा खर्च कटाउँदा १० हजार पनि घरसम्म आउँदैन, त्यसैले अघाएर छोडेको हुँ ।’ आफ्नो काम गरेपछि अर्काको भनाइ सुन्न नपर्ने हुनाले पनि उनी आफ्नो काममा सन्तुष्ट छन् । उनी भन्छन्, ‘जागिरको लागि समयमा उपस्थिति जनाउनु पर्छ, घर फर्किँदा ७/८ बज्छ । परिवारसँग समय बिताउन पाइँदैन, त्यसमाथि भनेको बेला गाडी पाउँदैन । भनेको बेला तलब आउँदैन । तर, जे-जस्तो भए पनि यही ठिक छ मलाई ।’
१९८१ मा बङ्गलादेश एम्बेसीमा ९५० रुपैयाँ पारिश्रमिकबाट जागिर खान थालेका उनी यातायातको सुविधा नभएकाले त्यस बेला हिँडेरै कार्यालयसम्म पुग्ने गर्थे । त्यसपछि यलो पगोडा होटेल, युएन, कृष्ण प्रसाद भट्टराई बसेको घरको बगैँचा लगायतका ठाउँमा उनले आफ्नो सेवा दिएका छन् । केशवकी श्रीमतीले पनि बाँसको काममा उनलाई भरपुर सहयोग गर्ने गरेकी छिन् । अहिले उनको यही मात्र आम्दानीको स्रोत रहेको छ ।
पेसा सङ्कटमा
बडीखेलमा बाँसका नाङ्ग्लो र डालो व्यापार गरिरहेकी मीन माया (सासु) र रिना (बुहारी) बाँसको अभावले गर्दा आफ्नो पेसा सङ्कटमा पर्दै गएको बताउँछन् । सिजनको बेला आफ्नो सामानको राम्रो भाउ आउने भएपनि अरू बेला भने व्यापारीहरूले भनेको दाममा दिनु पर्ने बाध्यता रहने गरेको उनीहरूले सुनाए । पुर्ख्यौली पेसा अपनाएका मीन र रिना सासु बुहारी फुर्सदको समयमा मिलेर काम गर्ने गर्छन् ।
नेवारी समुदायमा हुर्केका उनीहरू प्रत्येक १५ दिनमा आउने चाडले पनि काममा अवरोध सिर्जना गरिरहेको बताउँछन् । खाएर-लाएर ३० हजार जति कमाइ हुने बताउने सासु-बुहारी बाँस किन्न नपरे सजिलो हुने बताउँछन् ।
गाउँ-घरमा बढिरहेको प्लटिङले गर्दा बाँसको अभाव भइरहेको र यसमा सम्बन्धित निकायको ध्यान नगएकोमा मीन र रिना चिन्तित छन् । पहिला सजिलै बारीमै पाउने बाँसको लागि पनि हानथाप गर्नु परेपछि यो पेसा धराशायी बन्ने हो भन्ने डर उनीहरूमा छ ।

बाँसको अति परिवर्तनशील गुण, स्वभाव र स्वरूपले कलात्मक सीप र शिल्प जाहेर हुने हस्तकला एवं पेशा संरक्षण हुनुपर्दछ । बाँसका झोला, बुक कभर, बाँसुरी, हेयर ब्यान्ड, ह्यान्गर, टोपी, संगीतका समाग्रीहरूको विश्व बजारको माग रहेको छ । सीपको पहिचान गरी यसको विकास, विस्तार गर्ने तथा व्यवसायिक बनाउनेतर्फ सम्बन्धित निकायहरू सचेत हुनुपर्दछ । नेपालीपन तथा स्वदेशी सामानलाई प्रोत्साहन गर्न कुनै कसर बाँकी राखिनुहुँदैन ।