सोमबार , फागुण २१, २०८०

हात्ती सफारीकाे विकल्प खोजिँदै

image

पर्यटकीय गन्तव्य चितवनको सौराहा हात्ती सफारीका लागि परिचित छ । हात्तीमाथि चढेर निकुञ्ज घुम्दै जङ्गली जनावर हेर्नका लागि वर्षेनी यहाँ हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । तर पछिल्लो समय हात्तीमाथि चढेर घुम्ने प्रचलन कम हुँदै गएपछि यहाँका व्यवसायीले विकल्प खोज्न थालेका छन् ।

विश्वका विभिन्न देशमा हात्ती माथि गरिने सफारी राम्रो मानिँदैन । बरु यसको विकल्पमा हात्ती सेञ्चुरी सुरु गरिएको पाइन्छ । हात्तीलाई खुल्ला ठाउँमा छाड्ने प्रक्रियालाई हात्ती सेन्चुरी भनिन्छ । कतिपय देशमा हात्तीसँग पर्यटक घुमाएर पर्यटन व्यवसाय गरेको पाइन्छ ।

सौराहाका पर्यटन व्यवसायीबीच सामूहिक योजना नबनेपछि केहीले पर्यटकलाई हात्तीसँगै घुमाउन सुरु गरिसकेका छन् । एकै ठाउँमा खुल्लमखुल्ला हात्तीलाई छोडेर तीनै हात्तीसँग पर्यटकलाई विभिन्न गतिविधिमा समावेश गरी मनोरञ्जन दिन थालिएको छ ।

सौराहाको सपना भिलेजका सञ्चालक ध्रुव गिरीले ६ वटा हात्तीलाई खुल्ला ठाउँमा छोडेर पर्यटकीय गतिविधि गर्दै आएका छन् । हात्ती सफारी बन्द गरेर उनले पर्यटकलाई हात्तीका विभिन्न गतिविधिमा समावेश गरी हात्ती सफारीभन्दा बढी आम्दानी गरिरहेका छन् । उनको भनाइमा बिहानीमा ‘एलिफेन्ट सनराइज बुस वाक (झाडीमा हात्तीसँगै घुम्ने) प्याकेज तयार गरिएको छ ।

यो प्याकेज अन्तर्गत पर्यटक काँसको झाडीमा हात्तीको अघि–पछि घुम्छन् । उनीहरूले बिहानी खाजा (ब्रेक फाष्ट) हात्तीसँगै खुलारुपमा लिन्छन् । गिरीका अनुसार यो प्याकेजबापत पर्यटकसँग रु तीन हजार पाँच सय लिइन्छ । हात्ती सफारी गर्दा रु दुई हजार पाँच सय मात्रै आउने भन्दै उहाँले सफारीभन्दा बढी आम्दानी हात्ती सेञ्चुरीबाट हुने गरेको सुनाए ।

गिरीले आफ्नै करिब २२ बिघा जमिनमा हात्ती पालन गरिरहेका छन् । दिनभर हात्तीसँग रमाउन चाहने पर्यटकका लागि अर्को प्याकेज ‘डे विथ एलिफेन्ट’ पनि छ । यो प्याकेज अन्तर्गत ‘सनराइज बुस वाक’ पनि पर्छ । बिहानको खाजापछि होटलमा फर्किएसँगै पर्यटक हात्तीको सरसफाइमा जुट्छन् ।

उनीहरूले हात्तीको दिसा सफा गर्ने, केरा ल्याउने, हात्तीका लागि दाना बनाउने र खुवाउने गर्दछन् । उनीहरूले दिउँसोको खाना पनि हात्तीसँगै रमाएर खान्छन् भने बेलुकाको खाना पनि हात्तीसँग रमाउँदै लिने गर्छन् । यो प्याकेजका लागि प्रति पर्यटकले रु १५ हजार लाग्छ ।

समूहमा काम गर्न सबै इच्छुक नभएपछि विगत तीन वर्षदेखि आफूले ‘हात्ती सेञ्चुरी’ सुरु गरिरहेको गिरीको भनाइ छ । “हात्तीलाई बाँधेर पाल्नु पर्दैन र सफारी पनि गर्नु पर्दैन । त्योभन्दा बढी सञ्चुरी मेडलबाट आम्दानी गर्न सकिन्छ”, उनले भने । सौराहाका अन्य व्यवसायीले सङ्गठितरुपमा सेञ्चुरी मोडलमा हात्तीको प्रयोग गर्न केही वर्षदेखि गृहकार्य गरिरहेका छन् ।

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराईका अनुसार थाइल्याण्ड गएर यो मोडलबारेमा अध्ययन गरिएको थियो । हात्ती सेञ्चुरीका लागि एक अमेरिकी संस्थाले सहकार्यको प्रस्ताव पनि गरेको भन्दै उहाँले त्यसले पूर्णता भने पाउन नसकेको बताए । तत्कालिन समयमा कोरोना महामारी न्यूनिकरण तथा रोकथामका लागि लागू भएको बन्दाबन्दीका कारण उक्त प्रयास स्थगित भएको उनको भनाइ छ ।

उनले भने, “हात्ती बिनाको पर्यटन सौराहामा सम्भव छैन, त्यसैले हामीले यसको विकल्प सोच्नैपर्छ ।” हात्ती सफारी दिगोरुपमा सम्भव नरहेको भन्दै उनले ढिलो चाँडो हात्ती सेञ्चुरीमा जानुको विकल्प नभएको बताए ।

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे युरोपेली, अमेरिकन, अष्ट्रेलियनलगायतका देशका पर्यटकले प्याकेजमा हात्ती सफारी छाडेको उनको भनाइ छ । जनावरमाथि चढेर उनीलाई सास्ती दिनु हुँदैन भन्ने मान्यता अनुसार त्यसो गरिएको हो । थाइल्याण्ड, कम्बोडिया, भियतनामलगायतका देशमा हात्ती सेञ्चुरी राम्रो भएको घिमिरेको भनाइ छ । उनले भने, “हात्तीले खाएको, नुहाएको, हात्तीसँगै हिँडेको जस्ता गतिविधिको अवलोकन गराइ पर्यटकबाट आम्दानी गर्न सकिन्छ ।”

सौराहामा हाल ‘युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था’ सञ्चालनमा छ । संस्था अन्तर्गत हाल ३० वटा हात्ती छन् । संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहामा निजी हात्तीको सङ्ख्या ४२ वटा छ । कोरोना महामारी सुरु हुनुअघि हात्तीको सङ्ख्या ८० थियो । संस्थामा मात्र कोभिडअघिसम्म ६५ हात्ती रहेकोमा कोभिडपछि यो सङ्ख्या घटेर ३० मा सीमित भएको उनको भनाइ छ ।

व्यवसायीहरूले हात्ती पाल्न नसकेपछि बाहिरबाट ल्याइएका हात्ती फिर्ता गरेको उनको भनाइ छ । एउटा हात्ती पाल्न मासिक करिब रु एक लाख २० हजार खर्च हुने खतिवडाले जानकारी दिए । एउटा वयस्क स्वस्थ हात्तीको मूल्य औसतमा रु एक करोड ५० लाख पर्छ । (रासस)

सम्बन्धित समाचार