काठमाडौं । मौसम प्रतिकूलताका कारण रामेछापमा अलपत्र परेका पर्यटक सोलुखुम्बुको फाप्लु विमानस्थलमा झरेका छन् । सोलुखुम्बुको खुम्बुक्षेत्रमा जान लागेका करिब दुई हजार बढी पर्यटक विगत पाँच दिनदेखि तेञ्जिङ हिलारी विमानस्थल, लुक्लाको मौसम खराबी हुँदा रामेछाप विमानस्थलमा अलपत्र भएका थिए ।
अन्य वैकल्पिक मार्गबाट खुम्बु जानका लागि फाप्लु विमानस्थलमा पर्यटकहरुको ओइरो लागेको छ । सोमबार र मङ्गलबार गरी २५ भन्दा बढी उडान भएको फाप्लुमा करिब साढे तीन सय पर्यटक फाप्लुमा ओर्लिएका छन् । सोमबार रामेछापबाट १६ उडानमार्फत करिब २५० जना र मङ्गलबार पाँच वटा हवाईजहाजबाट ९० जना पर्यटक फाप्लुमा झरेको नेपाल नागरिक उड्डयन कार्यालय फाप्लुका प्रमुख भानुभक्त आचार्यले जानकारी दिए ।
फाप्लु झरेका पर्यटक अन्य वैकल्पिक मार्गको प्रयोग गरी खुम्बुतर्फ लागेका छन् भने केही फाप्लुमै बसेका छन् । मौसममा खराबीकै कारण उडान हुन नसक्दा लुक्लामा पनि चार सय बढी पर्यटक अलपत्र बनेका छन् । तेन्जिङ हिलारी विमानस्थल र गोरक्सेप क्षेत्रमा पर्यटकहरु मौसम सुधारको पर्खाइमा बसिरहेका बताइएको छ ।
यसअघि तारा, सीता र समिट एयरका रामेछाप–लुक्ला दैनिक ३० वटा नियमित तथा नन–सेडुल उडान हुँदै आएका थिए । बाक्लो कुइरोका कारण भिजिबिलिटी अत्यन्त न्यून रहेकोले उडान तथा अवतरणमा समस्या आएको नेपाल नागरिक उडड्यन प्राधिकरण लुक्लाका इन्चार्ज द्वारिकालाल अछामीले बताए ।