बुधबार , फागुण ६, २०८२

वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने चार जना पक्राउ

image

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका लागि विभिन्न आकर्षक गन्तव्य मुलुकहरूमा पठाइदिने बहानामा लाखौँ रुपैयाँ ठगी गर्ने चार जनालाई नियन्त्रणमा लिएको छ ।

बेरोजगारीको समस्यामा रहेका युवायुवतीहरूलाई राम्रो तलबको प्रलोभन देखाएर अष्ट्रिया, बेलायत, टर्की र रोमानिया जस्ता देशहरूमा पठाउने भन्दै रकम असुल गरी सम्पर्कविहीन भएका उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा झापाको अर्जुनधारा नगरपालिका घर भई हाल काठमाण्डौ बस्दै आएका ५१ वर्षीय धर्म प्रसाद राई र ४२ वर्षीय गोविन्द प्रसाद निरौला रहेका छन् । राईले एक जना पीडितलाई अष्ट्रिया पठाउने भन्दै ५ लाख ८५ हजार रुपैयाँ ठगी गरेको आरोप छ भने निरौलाले दुई जना व्यक्तिलाई टर्की पठाइदिन्छु भनी २ लाख ३ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, काठमाण्डौ तार्केश्वरकी ३५ वर्षीय निमा डोल्मा लामाले दुई जनालाई बेलायत पठाउने प्रलोभनमा ५० लाख रुपैयाँ ठगी गरेको खुलेको छ । अर्का पक्राउ परेका गोरखाका ४३ वर्षीय सुरज बहादुर श्रेष्ठले दुई जना पीडितबाट रोमानिया पठाउने नाममा ७ लाख ५० हजार रुपैयाँ असुल गरेको कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान सुरु गरेको प्रहरी टोलीले उनीहरूलाई फागुन १ र ४ गते काठमाण्डौका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

सम्बन्धित समाचार