सोमबार , भाद्र ८, २०८३

पर्यटकले भरिन थाले ‘पहाडकी रानी’-बन्दिपुर र ‘स्मार्ट भिलेज’ -घले गाउँ

वर्षातका कारण दशैँअघिसम्म सुनसान रहेको बन्दिपुरका होटल तथा होमस्टेहरू अहिले विदेशी पर्यटकले नै भरिएको बन्दिपुर मोहोरिया सामुदायिक होमस्टेका सचिव सुरेन्द्र बहादुर थापाले हिमाल दर्पणलाई बताए ।

image

काठमाडौं । मौसम खुल्न थालेसँगै पर्यटकीय गतिविधि पनि बढेको छ । दशैँ अघिसम्म सुनसान प्रायः रहेको तनहुँको बन्दिपुर, लमजुङको घलेगाउँ लगायतका होमस्टे तथा होटलहरू पर्यटकले भरिन थालेका छन् ।

पहाडकी रानी उपनामले समेत चिनिने बन्दिपुरमा अहिले पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । वर्षातका कारण दशैँअघिसम्म सुनसान रहेको बन्दिपुरका होटल तथा होमस्टेहरू अहिले विदेशी पर्यटकले नै भरिएको बन्दिपुर मोहोरिया सामुदायिक होमस्टेका सचिव सुरेन्द्र बहादुर थापाले हिमाल दर्पणलाई बताए ।

‘दशैँमा पानी परेर सुनसान भयो । अहिले मौसम पनि खुल्न थाल्यो । विदेशी पर्यटकहरूले भरिन थालेको छ’, थापाले भने, ‘अब तिहार आसपासमा आन्तरिक पर्यटक धेरै आउँछन् । हामी स्वदेशी विदेशी पाहुनालाई स्वागत गर्न तयार छौँ । पाहुनालाई गाँस बासको व्यवस्था गर्न हामी तयार नै छौँ ।’

नेवारी कला, संस्कृति र श्रमले पोतिएकी ‘बन्दीपुर’

भक्तपुरे शैलीमा बनेका इँट्टाका घर । बुट्टा भरेका आँखीझ्याल । कलाले सिँगारेका टुँडाल । शान्त बजार, त्यहीँ बजारको बीचमा ढुंगाको छपनीले चिठेको बाटो, जहाँ मोटर गाडी गुडाउन बन्देज छ । भीमसेनको मन्दिर । आँखै अगाडि जुगल, लाङटाङ, गणेश, मनास्लु, हिमचुली, अन्नपूर्ण, धौलागिरी र कान्जिरोवा लगायत हिमालको दृष्य । तनहुँको प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरका विशेषताहरु हुन् यी ।

नेवार संस्कृतिमा लिपिएको बन्दीपुरको सहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ । रहनसहन, थिति र संरचनाका साथसाथ प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन् । बन्दीपुर वरिपरिका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पाइन्छ । हिमालयको फराकिलो दृश्य बन्दीपुरको विशेषता हो । बजारबाट दश मिनेट परको टुँडिखेलबाट हिमालको हिउँमात्र देखिँदैन, ३०० कि।मी। फराकिलो क्षितिजमा फैलिएका फाँट, पहाड पनि देखिन्छन् ।

बन्दिपुर, तनहुँ जिल्लाको पुरानो सदरमुकाम हो । यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लम्जुङ्ग, गोर्खा र मनाङ्गको लागि दक्षिणबाट सामान ल्याउने मुख्य व्यापारिक नाकाको रुपमा विकास भएको थियो । यस ठाउँबाट वि।स, २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांकृतिक सम्पदा र प्राकृतिक मनोरमताको प्रचारप्रसारसंगै बन्दिपुर व्यापारिक नाकाबाट पर्यटकीय स्थानको रुपमा विश्वभर नै प्रसिद्धि छ ।

बन्दीपुरबाट पूर्वपट्टि भक्तपुरको उत्तरमा पर्ने जुगल देखिन्छ । पश्चिमतिर चाहिँ लाङटाङ, गणेश, गोरखा ९मनास्लु हिमचुली तथा बौद्धसहित, अन्नपूर्ण, धौलागिरि र काञ्जिरोवा हिमाल फेददेखि टुप्पोसम्मै देखिन्छन् । तलतिर मर्स्याङ्दी नदीले बनाएका उपत्यका हेर्दा लाग्छ, बन्दीपुर उपत्यका माथि झुण्डिइरहेको छ । बन्दीपुरले प्राकृतिक भ्यु टावरको उपमा यसै पाएको होइन ।

बन्दीपुरबाट दुई घण्टा हिँडेर पातालीद्वार वा स्वर्गद्वारी गुफा पुग्न सकिन्छ । यहाँको सिद्ध गुफा नेपालकै सबैभन्दा ठूलो गुफा मानिन्छ । बन्दीपुर वरिपरिका डाँडा हाइकिङका दृष्टिले पनि उपयुक्त मानिन्छन् । बन्दीपुर प्याराग्लाइडिङका लागि पनि चर्चित छ । ११५० मिटर उचाइमा रहेको भञ्ज्याङ चौतारा, बुरुञ्चे डाँडाबाट ग्लाइडरहरू तल फाल हाल्ने गर्छन् । पोखराका कम्पनीहरूले यहाँको प्याराग्लाइडिङको व्यवस्थापन गरेका छन् ।

सेती नदीमा राफ्टिंग गर्न दमौली आउनेहरूले पनि बन्दीपुरमा एक दिन बास बस्ने गरेका छन् । मुग्लिनबाट आधा घण्टा जतिमा गाडीमा पृथ्वी राजमार्गको डुम्रेबजार पुगिन्छ । त्यहाँबाट दुई किमि पश्चिममा पिप्ले, जहाँबाट आधा घण्टा मोटर यात्राबाट पुरानो पहाडी सहर बन्दीपुर पुग्न सकिन्छ ।

पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि बन्दीपुर अत्यन्त उपयुक्त गन्तव्य हो । मंसिरतिर जानुभयो भने हिमाल हेर्दै बन्दीपुरे सुन्तलाको स्वाद लिन पाउनुहुन्छ । मध्यजेठदेखि मध्यअसारसम्म आउने आगन्तुकको बजारमा मानिसले मात्र होइन, बाटैभरि चौबीस जातिका सुनगाभाले पनि स्वागत गर्छन् ।

बन्दीपुरमा घुम्नको लागि बसोबासको समस्या छैन । टुँडिखेलमा सुविधासम्पन्न रिसोर्ट मात्र छैन, पुराना नेवारी घरहरूलाई पनि मध्यमस्तरको बसोबासका निम्ति उपयुक्त होटलका रूपमा विकसित गरिएको छ । यहाँका कतिपय घरहरूमा खाना र बिहानको खाजा खाने गरी सस्शुल्क पाहुना भएर बस्न सकिने व्यवस्था पनि छ । बन्दीपुरका प्रमुख आकर्षणहरूमा खड्गदेवी माई मन्दिर पनि एक हो ।

मुलुककै पहिलो स्मार्ट भिलेज–घलेगाउँ

त्यसैगरी लमजुङको चर्चित घले गाउँमा पनि पर्यटकको गतिविधि बढ्न थालेको छ । पर्यटकको संख्या दिनानुदिन बढ्न थालेको घले गाउँ होमस्टेका सञ्चालक दिर्ग घलेले जानकारी दिए । ‘अब पर्यटक आउने मुख्य सिजन पनि सुुरु भयो । वर्षातका कारण अलि ढिला भयो पर्यटकको चहलपहल बढ्न । यद्यपि अहिले अचानक पर्यटकको संख्या बढेको छ । हामी पनि निकै उत्साहित छौँ ।’ घलेले भने ।

लमजुङ जिल्लाको उत्तरपश्चिमा पर्ने क्व्होलासोथार गाउँपालिकामा अवस्थित घले गाउँ नेपालकै पहिलो स्मार्ट भिलेज हो । यो सुन्दर घले गाउँ सार्क राष्ट्रको ‘नमुना गाउँ’को रूपमा समेत परिचित रहेको छ । यो गाउँ समुन्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय वर्ष पुरानो मानव वस्ती हो । लमजुङको यस घलेगाउँ नमुना पर्यटन गन्तव्य बनिसकेको छ । यो गाउँ गुरुङ समूदायको अत्यधिक बसोबास भएको गाउँ हो।

नामाकरण र इतिहास

चौबिसे राज्यकालमा घले राजाले यस ठाउँमा शासन गरेका थिए । तिनै राजाको नामबाट यस गाउँको नाम घले गाउँ राखिएको हो । साथै उनै राजाको सम्मान स्वरूप गाउँमा घले राजाको मूर्ति समेत बनाइएको छ ।

परम्परागत गुरुङ सस्कृती, घांटु, सोरठी, सेर्गा नाच यस गाउँको प्रमुख विशेषता हो । गाउँमा उत्तरकन्या मन्दिर, क्होंबो, चियाबारी, भ्यू टावर आदि सम्पदा अवस्थित रहेका छन् ।

नमुना चिया वगान, प्रांगारिक खेती, परम्परागत गुरुङ सङ्ग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएको होम स्टे आदिका लागि प्रख्यात घले गाउँको प्रमुख आय श्रोत नै पर्यटन व्यवसाय हो । हिमालको काखमा रहेको सार्क भिलेज ग्रामिण पर्यटकीय गाउँ घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेश लगायतका हिमश्रृङ्खलाहरू अवलोकन गर्न सकिन्छ ।

होमस्टे व्यवस्था

घले गाउँमा गुरुङका ८० र दलितका ४५ घरहरू रहेका छन् । वि.सं. २०५७ सालमा १२ घरबाट होमस्टे सुरु गरिएकोमा अहिले अधिकांश घरमा होमस्टे सञ्चालन गराइएको छ । होमस्टेमा एकै रात दुई सय जना अटाउँछन् । घरघरमा वाइफाई सुविधा समेत रहेको छ ।

यातायात व्यवस्था

घलेगाउँ पुग्न लमजुङ जिल्लाको सदरमुकाम वेसीशहरबाट ३ घण्टाको कच्ची सडकमा मोटर यात्रा गर्नुपर्छ । राजधानी सहर काठमाडौंबाट बेशिसहर १७२ किमिको दूरीमा रहेको छ । यस्तै बेशिसहर देखि घले गाउँ २४ किमिको दूरीमा अवस्थित रहेको छ । बेशीसहरबाट जिप रिजर्भ गरेर गाउँ जान सकिन्छ । तर बेशिसहरबाट घले गाउँ हिडेर जाँदा लगभग ६ घन्टा लाग्छ ।

ग्रामीण पर्यटनको नमूना गन्तव्य घलेगाउँमा घुम्नलायक चियाबारी, गुरुङ संग्रहालय, भ्यूटावर, उत्तरकन्या मन्दिर, कोइवो धिँ लगायत सम्पदा छन् । त्यस्तै छिमेकी गाउँहरू घनपोखरा, भुजुङ र बागलुङपानीमा हाइकिङ गर्न मिल्छ ।

गाउँका अगुवा प्रेम घलेको अगुवाइमा २०५६ साल चैत २० गतेदेखि घलेगाउँमा ग्रामीण पर्यटनको अभ्यास हुँदै आएको छ । पर्यटन व्यवस्थापन समितिले बर्सेनि वैशाख २३ देखि २५ गतेसम्म ‘घलेगाउँ महोत्सव’ आयोजना गर्छ । विसं २०५७ बाट मनाउन थालिएको महोत्सवमा व्याडमिन्टन, बास्केटबल र फुटबल प्रतियोगिता गर्नुकासाथै सांस्कृतिक कार्यक्रम पनि देखाइन्छ ।

घलेगाउँलाई २०७६ साल मंसिर १७ गते स्मार्ट भिलेज घोषणा गरिएको हो । गाउँमा सडक, विद्यालय, खानेपानी, बिजुली, टेलिफोन, इन्टरनेट, होटल, होमस्टे लगायत आधारभूत सुविधा छ ।

सम्बन्धित समाचार