मंगलबार , भाद्र ९, २०८३

वृद्धाको ज्यान लिएपछि हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग

image

एजेन्सी । पश्चिम चितवन क्षेत्रमा रहेको जङ्गली हात्ती गोविन्देलाई चितवन राष्ट्रिय निकुञ्जले मात नियन्त्रण गर्ने औषधिको प्रयोग गरेको छ । मङ्सिरमा मेघौली क्षेत्रमा हात्तीले एक वृद्धाको ज्यान लिएको थियो । सोही कारण हात्तीलाई निकुञ्जले मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको हो ।

यही पुस ३ गतेदेखि सोही क्षेत्रमा क्यामेरा ट्यापिङ्मा रहेको निकुञ्जको प्राविधिक टोलीले हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जनाएका छन् ।

उनका अनुसार निकुञ्जबाट बाहिर निस्किएर अन्य मानवीय क्षति गर्न सक्ने आशङ्कामा हात्तीलाई प्राविधिक टोलीले औषधि दिएको हो । अहिले गोविन्दे मात चढेको अवस्थामा नरहेको समेत उनले जनाएका छन् ।

पुस २० गतेसम्म बसेको सो प्राविधिक टोलीले सोही क्षेत्रमा घाइते बाघ रहेको आशङ्का गरेको थियो । त्यसको पहिचान र हात्तीको उचित व्यवस्थापनका लागि बाघ गणनामा प्रयोग गरिएका चार जोडी क्यामेरा प्रयोग गरिएका थिए । सोही क्रममा हात्तीलाई औषधि दिइएको हो । बाघ भने सो क्षेत्रमा नदेखिएको जनाइएको छ ।

सम्बन्धित समाचार