महायानी बौद्ध धर्मावलम्बीहरूको नयाँ वर्षको पहिलो दिनलाई ल्होसार भन्दछन् । भोट–बर्मेली भाषाहरूको शाब्दिक अर्थमा ‘लो’ वा ‘ल्हो’ भनेको वर्ष र सार भनेको नयाँ हो । व्यवहारमा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतार्थ मनाइने पर्वलाई लोसार वा ल्होसार भन्ने गरिन्छ । खासगरी नेपालको उत्तरी भेगमा बसोबास गर्ने शेर्पा, ह्योल्मो, गुरुङ, तामाङ तथा टिबेटियनलगायत बौद्ध धर्म मान्ने समुदायले लोसार पर्व मनाउने गर्दछन् । तोल, सोनाम र ग्याल्पो गरी तीन सम्प्रदायमा लोसार पुसदेखि फागुनभित्र मनाउने गरिन्छ ।
ग्याल्पो लोसार मुख्य रूपले नेपाल, तिब्बत, सिक्किम र भुटानका शेर्पा, लामा तथा भोटे समुदायले मनाउने पर्व हो । भारत, जापान, चीन, हङकङ, ताइवान, कोरिया, थाइल्यान्ड आदि मुलुकमा पनि लोसार मनाउने गरिन्छ । अहिले सांस्कृतिक घुलमिलका कारण कतिपय अन्य जातिहरूले पनि मनाउने गर्दछन् । यो पर्व फाल्गुण शुक्ल पक्षको प्रतिपदा तिथिमा मनाउने गरिए पनि यसको तयारी भने करिब डेढ महिनाअघिबाटै गरिन्छ ।
‘ग्याल्पो’ भनेको राजा हो । यो पर्व शासक वर्ग वा राजाहरूले मानेको इतिहास पाइन्छ । कतै कतै मंगोल बादशाह जङ्गिच खानले विजयोत्सव मनाई सुरु गरेको पनि बताइन्छ । बौद्ध ग्रन्थअनुसार शाक्यमुनि बुद्धले फागुन शुक्लपक्षमा आफ्नो ऋद्धिशक्तिले ६ जना गैरबौद्ध साधुहरूलाई पराजित गरेको उल्लेख भएकाले विजयोत्सव मनाइएको प्रसंग पनि किंवदन्तीका रूपमा चलेको पाइन्छ ।
तिब्बती पञ्चांगमा १२ जनावर, ५ धातु र २ लिंगअनुसार वर्षका नाम निर्धारण गर्ने विधान छ । यस नियमले १२० वर्षमा १ चक्र पूरा हुन्छ ।
लोसार सुरु हुनुभन्दा केही महिना अगाडिदेखि नै यसको तयारी गरिन्छ । सुरुमा घरमा लिपपोत गर्ने, रंग लगाउने, नयाँ लुगा सिलाउने, सौदा किनमेल गर्ने आदि कार्य गरिन्छ । एक–दुई साताअगाडि नै खाप्से (मैदा वा पिठोबाट बनाइने रोटीजस्तै परिकार) पोल्ने र लोफुत (अन्नको जमरा) उमार्ने कार्य गरिन्छ । कुनै भाँडामा माटो र बालुवा भरी त्यसमा गहुँको बीउ राखेर लोसारको पहिलो दिनसम्ममा उमारिन्छ। यसरी उम्रेको गहुँलाई नयाँ वर्षको नयाँ बालीको रूपमा पूजा गर्ने गरिन्छ ।
लोसारको दुई दिनअघि आफूलाई पायक पर्ने गुम्बामा गई गए सालको ग्रहदशा आउने सालमा नलागोस् भन्ने कामनाले ग्रहशान्ति तथा विसर्जनका लागि ‘ङिस्युगु पूजा’ गर्नुपर्दछ । यो पूजा गरेपछि गुम्बाहरूमा पनि लोसारको छुट्टी दिने गरिन्छ । त्यसपछि सबै श्रद्धालुहरूले आफ्नो घरको भित्री भागसम्म सफा गरी निस्केको फोहोरलाई खराब ग्रहदशाको प्रतीक मानेर दोबाटो, चौबाटो वा चोकमा विसर्जन गर्ने चलन छ । यसरी ग्रहदशा शान्त पारेपछि यही दिन साँझ नौ प्रकारका अन्न मिसाएको खाना गुथुक खाइन्छ ।
लोसारको एक दिनअघि घरको साजसज्जा गरी अष्टमंगल, धजा–पताका आदिले घर सजाउने गरिन्छ । यही दिन पूजाकोठामा पूर्णरूपले साजसज्जा गरी भगवानको प्रतिमा वा फोटोमा षेडशोपचारले पूजा गरिन्छ । प्रसादका रूपमा विभिन्न भोजन, नैवेद्य, पक्वान्न रोटी (पुंगी अम्जो), छिमार, छ्याङ फु लगायत विभिन्न रोटी, मिठाई, परिकार आदि सजाएर राखिन्छ । लोसारका दिन बिहानै नित्यकर्म गरेर घरमूलीले भगवानलाई यी सबै कुरा चढाएपछि छिमार, छ्याङ फु आदि लिएर ३ पटक आकाशतिर चढाएपछि आगन्तुकहरूलाई सगुन वितरण गरिन्छ । सगुनका साथै छिमार, डेसिल, खाप्से र अन्य खानाका परिकार खाँदै शुभकामना आदानप्रदान गरी लोसार मनाइन्छ । लोसारमा मान्यजनले सानालाई आशीर्वाद दिने र सानाले श्रद्धाभाव व्यक्त गर्ने गरिन्छ ।
खाप्से र गुथुकु
ल्होछारको सबैभन्दा महत्त्वपूर्ण कुरा भने खाप्से हो । मैदाको पिठोबाट बनाइएको एक प्रकारको यो मिठाई आजको दिन विशेष परिकार हो । हिमाली हावापानीको कुशल आङ्कलन गरेर आजका दिन उम्रिने गरी गहुँको बिउँ छरिएको हुन्छ, जसलाई लोपूलु भनिन्छ, यसरी उम्रिएको गहुँको टुसालाई आज नयाँ वर्षको नयाँ वाली का रूपमा लिइन्छ । यस वर्षभरि हिमालको हावापानीले हाम्रा हिमाली दाजुभाइ अनि दिदीबहिनी लाई साथ दिनेछन्, यी लोपूलहरुले सबैको कल्याण गरुन् ।
ल्होछारहको यस विशेष साँझमा खाइने एउटा विशेष परिकार जो विभिन्न नौ प्रकारका अन्न मिसाएर तयार पारिएको हुन्छ त्यसलाई गुथुकु भनिन्छ । यो परिकारलाई आफन्त, नातागोता तथा इष्टमित्र र घर गाउँले मिलेर एक आपसमा खुसी साटासाट गर्दै बाँडेर खाने गर्दछन् । गुथुक पिठोको छुट्टाछुट्टै डल्ला बनाई त्यसभित्र बेग्लाबेग्लै सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन राखेर पकाइएको हुन्छ । उक्त गुथुकको डल्लालाई खाने बेलामा कसको गुथुकभित्र के पर्यो भनेर सबैले खोलेर हेर्दछन् । जसमा सेतो कपडाको टुक्रापर्यो भने उसको मनोकामना पूरा हुने, गहुँ परेमा धन सम्पत्ति बढ्ने, कागजको टुक्रा परेमा विद्वता बढ्ने, खुर्सानी परेमा खरो स्वभावको हुने, कोइला परेमा कपट स्वभावको हुने, घ्यू परेमा चिप्लो स्वभाव हुने र नुन परेको खण्डमा बनेका योजनाहरू सफल हुने मान्यता शेर्पा समुदायमा रहेको छ ।
आँगन अनि घरको छत लगायत गुम्बा अनि चैत्यहरूमा भएका पुराना ध्वजाहरूलाई आज परिवर्तन गरिन्छ । हिमालका हावाहरूले मन्त्र लेखिएका यी कपडाका ध्वजाहरूलाई हल्लाउँदा एउटा अदभूत सङ्गीत भर्दछ । यी झन्डाहरूले संसार भरी शान्तिको एउटा अद्वितीय कामना अभिव्यक्त गर्दछन् । यस्ता झन्डाहरूका बारेमा केही थप जानकारी प्रस्तुत गर्यौँ । लामो लट्ठी या आडमा राखिएका एकनासको तलदेखि माथीसम्मको एउटै झन्डालाई दार्चोर भनिन्छ । अनि लामो डोरीहरूमा ससाना चारकुने झुन्डाइएका झन्डाहरूलाई भने लगंता भनिन्छ, तिब्बतीय भाषामा यसको अर्थ हवाई घोडा हो ।
लगंता घरघरमा टाँगने प्रचलन सुरु भएको किंवदन्ती
एक किंवदन्ती अनुसार भगवान् बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात् धर्म प्रचार गर्दै देवलोक पुग्छन् । देवलोक पुग्दा देवता र असुरहरूबिच लडाइँ भइरहेको थियो । तर लडाँईमा देवताहरू असुर सँग पराजित हुन्छन् । त्यही बेला भगवान् बुद्धले ल्हयी ओङ्बु ग्याचेन भगवान इन्द्रु का माध्यमबाट विजय शक्ति मन्त्र अर्थात् ग्याल्जेन चेमु दिन्छन् । त्यही मन्त्रको प्रभावले देवताहरूले असुरहरूलाई पराजित गर्छन् । यस विश्वासका आधारमा शेर्पा समुदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लगंता घरघरमा टाँगने प्रचलन सुरु भएको मानिन्छ ।
ग्याल्पो ल्होछारलाई ह्याल्मो ल्होछार पनि भन्ने गरिन्छ, तर दुवैको अर्थ भने एकै हो । आज नयाँ लुगा लगाउने र पानीका मुहानहरूमा गएर नाग देवताको पूजा गर्ने गरिन्छ । पूजा गरेपछि त्यहाँबाट ल्याइएको पानीले घरका कुलदेवताकलाई चढाउने गरिन्छ । साथै यस अवसरमा मिठो मसिना खानेकुराहरू खाई नाचगान गर्दै रमाइलो गरिन्छ । यो चाड नेपाल सहित चीन, मङ्गोलिया, बर्मा सिक्किम, भुटान लगायतका देशमा पनि मनाइन्छ । ग्याल्पो ल्होसार राष्ट्रिय पर्व भएकाले आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
खाप्सेको स्वाद झैँ गज्जब अनि ध्वजाहरूजस्तै शान्त र रङ्गिन हाम्रो जीवनमा शान्ति अनि सद्भावले यस वर्ष बास गरोस्, ग्याल्पो ल्होछारको शुभकामना ।