काठमाडौं । आत्मबल भए संसारमा असम्भव भन्ने कुरा नरहेको रोल्पाका हरि बुढामगरले साबित गरिदिएका छन्। घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका पूर्व गोरखा सैनिकसमेत रहेका बुढामगरले कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहयोगमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
चैत २२ गते सगरमाथा आरोहणका लागि काठमाडौँबाट आधार शिविरतर्फ प्रस्थान गरेका उनले शुक्रवार दिउँसो ३ बजे सगरमाथाको दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गरेका हुन् । शारीरिक अशक्त भएका व्यक्ति पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास आफूजस्तै अन्य साथीमा जगाउनका लागि आरोहणमा गएका उनले घुँडामाथिसम्म खुट्टा गुमाएका पहिलो आरोहीका रूपमा विश्व कीर्तिमान कायम गरेका छन् ।
उनले चार जना सहयोगीको मद्दतमा आरोहण पूरा गरेका हुन् । पर्यटन विभागका अनुसार घुँडामुनि खुट्टा नभएका उनी तेस्रो आरोही हुन् । यसअघि चिनियाँ पर्वतारोही सिया बोयू र न्युजिल्यान्डका मार्क इङ्ग्लिसले तिब्बती मोहडाबाट सगरमाथाको आरोहण गरेका थिए ।
बेलायती सेनामा कार्यरत रहेका बेलामा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका बुढामगर कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने र आधार शिविरबाट ‘स्काई ड्राइभिङ’ गर्ने पहिलो व्यक्तिसमेत हुन् ।